रिलायन्सबाट बाहिरिँदै विदेशी लगानीकर्ता, विदेशी हिस्सेदारी एक दशकको न्यूनतम स्तरमा

काठमाडौं । भारतीय अरबपति मुकेश अम्बानीको नेतृत्वमा रहेको भारतकै सबैभन्दा मूल्यवान कम्पनी रिलायन्स इन्डस्ट्रीज (आरईएल) मा विदेशी संस्थागत लगानीकर्ता (एफआईआई) गत दुई वर्षदेखि लगातार सेयर बेचिरहेका छन् । यसका कारण कम्पनीमा विदेशी हिस्सेदारी एक दशकको न्यूनतम स्तरमा झरेको छ । सेप्टेम्बर २०२२ देखि एफआईआईले लगभग हरेक त्रैमासिकमा रिलायन्सको सेयर हिस्सेदारी घटाउँदै आएका छन् । वित्त वर्ष २०२३ को दोस्रो त्रैमासिकमा २३.६ प्रतिशत रहेको एफआईआई हिस्सेदारी वित्त वर्ष २०२५ को तेस्रो त्रैमासिकमा झरेर १९.६ प्रतिशतमा सीमित भएको छ । यसबीच रिलायन्समा घरेलु संस्थागत लगानीकर्ताको हिस्सेदारी भने पछिल्ला दुई वर्षमा १५ प्रतिशतबाट बढेर १९.१ प्रतिशत भएको छ । सोमबार रिलायन्सको सेयर बीएसईमा १.९६ प्रतिशत गिरावटसहित १,२२१.५० रुपैयाँमा कारोबार भइरहेको थियो। एफएफआईको बाहिरिनु र कमजोर रिटर्न पछिल्ला दुई वर्षमा एफआईआईको बाहिरिनुका कारण रिलायन्सले १२ प्रतिशत कमजोर रिटर्न दिएको छ । जेफ्रिजले भनेको छ कि कम्पनीको स्टक अब कोभिडपछिको न्यूनतम स्तरमा छ । अर्कोतर्फ मोर्गन स्टान्लीले आरआईएलको पीई (पी÷ई) अनुपात हाल पाँच वर्षको औसत नजिक पुगेको जनाएको छ । तेस्रो त्रैमासिकको परिणामहरूमा सुधारका संकेत देखिएका छन् । खुद्रा व्यापार (रिटेल) व्यवसायमा उछाल र ईबीआईटीडीएमा सुधारको अपेक्षामा ब्रोकरेजहरूले स्टकको रेटिङ बढाएका छन् र लक्ष्य मूल्य अघि बढाएका छन् । विश्लेषकहरूको भनाइमा म्याक्रो र माइक्रो आर्थिक परिदृश्यले २०२६ मा राम्रो रिटर्नको संकेत गर्दैछ । किन बढ्न सक्छ रिलायन्सको सेयर मूल्य ? मोर्गन स्टान्लीका विश्लेषकहरूका अनुसार रिलायन्स न्यू इनर्जीतर्फ शिफ्ट हुँदैछ । साथै रिटेलदेखि डेटा सेन्टरसम्मको फोकस पनि बढिरहेको छ । विश्लेषक मयंक महेश्वरीले भनेका छन्, ’अर्को दुई वर्षमा आरईएलको जनरल एआई पूर्वाधारमा नयाँ ऊर्जा थपिँदै जानेछ । यो कम्पनीका लागि ठूलो आम्दानीको स्रोत बन्नेछ । रिफाइनिङ र रिटेल क्षेत्रहरूमा पनि मागमा सुधार देखिएको छ ।’ एचएसबीसीको धारणा परिवर्तन ग्लोबल ब्रोकरेज फर्म (एचएसबीसी) ले गत चार वर्षदेखि आरईएललाई होल्ड रेटिङ दिएको थियो, तर अब आफ्नो धारणा परिवर्तन गर्दैछ । एचएसबीसीका अनुसार रिटेलमा भइरहेको परिवर्तन, नयाँ ऊर्जा व्यवसायको सुरुआत र डिजिटल व्यवसायको प्रगतिले उत्प्रेरकको काम गर्नेछ । ओ-टु-सी (तेलदेखि रसायन) कारोबारमा गिरावट आइसकेको छ र अब थप गिरावटको सम्भावना नभएको जनाइएको छ । ब्रोकरेजलाई आशा छ कि आरआईएलको पूँजीगत खर्चको तीव्रता कम हुनेछ र मुक्त नगद प्रवाह (फ्री क्यास फ्लो) वृद्धि हुनेछ । रिलायन्सको लक्ष्य मूल्य कहाँसम्म पुग्न सक्छ ? बोफा (बीओएफए) का विश्लेषकहरूले भनेका छन् कि पछिल्ला छ महिनामा रिलायन्सको सेयरको खराब प्रदर्शनको एक कारण रिटेल व्यवसायमा कमजोरी हो । तर, आगामी दिनमा यसमा सुधारको अपेक्षा गरिएको छ । बोफाले रिलायन्सको लक्ष्य मूल्य १,७२३ भारु राखेको छ। मोर्गन स्टान्लीले भने रिलायन्सको लक्ष्य मूल्य २,०२१ भारु राखेको छ । (एजेन्सीहरूको सहयोगमा) सान्दर्भिक सामग्री  विश्वकै सबैभन्दा ठूलो डेटा सेन्टर बनाउँदै मुकेश अम्बानी अडानीले अम्बानीलाई पछि पारे, रियालन्स इन्डस्ट्रिजसँगको गत वर्षको सम्झौता दोब्बर ५ सय भारुबाट व्यवसाय सुरु गरेका धीरुभाईले कसरी खडा गरे रिलायन्स कम्पनी ? भारत छिर्दै चिनियाँ कम्पनी, मुकेश अम्बानीसँग व्यापार सुरु अमेरिकामा अडानीको मुद्दा कसले लड्छ ? कानुनी फर्मको नाम खुलासा भारतमा २ करोड बढी क्रिप्टो प्रयोगकर्ता, साना सहरमा पनि बढ्दै क्रेज

मस्क, बेजोस र जुकरबर्गभन्दा धेरै धनी, तर सूचीमा नाम नभएका यी धनाढ्य

काठमाडौं । ब्ल्याकरकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लेरी फिन्क टेस्लाका सीईओ एलन मस्क, अमेजनका संस्थापक जेफ बेजोस र मेटाका सीईओ मार्क जुकरबर्गभन्दा धनी छन् । तर, धनीहरूको कुनै पनि सूचीमा उनको नाम देखिँदैन । ब्ल्याकरक अमेरिकाको बहुराष्ट्रिय इन्भेस्टमेन्ट कम्पनी हो । यो विश्वकै ठूलो एसेट म्यानेजमेन्ट कम्पनी हो । यो कम्पनीले ७.४ ट्रिलियन अमेरिकी डलर बराबरको सम्पत्ति व्यवस्थापन गर्छ । डिसेम्बर २०२४ सम्म ब्ल्याकरकको मार्केट क्याप १५८.०७ ट्रिलियन डलर रहेको छ । ब्ल्याकरक विश्वको १०२ औं ठूलो कम्पनी हो । ७२ वर्षीय फिन्कको राजनीतिक र व्यावसायिक क्षेत्रहरूमा ठूलो प्रभाव छ । वाशिङ्गटन र वाल स्ट्रिटमा उनलाई वित्तीय क्षेत्रका सबैभन्दा प्रभावशाली व्यक्तिहरूमध्ये एक मानिन्छ । यद्यपि सर्वसाधारणले उनलाई धेरै कम चिन्छन् । आर्थिक संकटको समयमा उनले ठूलो भूमिका खेलेका थिए । लेरी फिन्कसँग अपार सम्पत्ति छ, तर उनी फेमबाट टाढा रहन्छन् । उनको कम्पनी ब्ल्याकरकले धेरै देशहरूको जीडीपीभन्दा बढी सम्पत्ति व्यवस्थापन गर्छ । कम्पनीले विश्वभरका व्यवसायहरूमा लगानी गर्छ । यो म्युचुअल फन्ड क्षेत्रमा पनि काम गर्छ, जहाँ सर्वसाधारणले आफ्नो पैसा लगानी गर्छन् ।   २००८ को वित्तीय संकटमा खेलेका थिए महत्त्वपूर्ण भूमिका यति धेरै धन–दौलत हुँदा पनि लेरी फिन्कबारे धेरै कम मानिसलाई थाहा छ । सन् २०१० मा भ्यानिटी फेयरले लेखेको एउटा लेखले यो विरोधाभास उजागर गरेको थियो । उक्त लेखमा राजनीतिक र व्यवसायिक क्षेत्रमा फिन्कलाई वित्त क्षेत्रका सबैभन्दा प्रभावशाली व्यक्तिहरूमध्ये एक मानिने तर सर्वसाधारणले उनलाई चिन्न नसक्ने उल्लेख थियो । २००८ को वित्तीय संकटको समयमा फिन्कको भूमिका अत्यन्तै महत्त्वपूर्ण थियो । जब अमेरिकी अर्थतन्त्र डुब्न लागेको अवस्थामा थियो, वाल स्ट्रिटका ठूला कम्पनीहरूजस्तै जेपी मोर्गन चेइसका जेमी डिमन, मोर्गन स्टान्लीका जोन म्याक, र एआईजीका रोबर्ट विलमस्टाडले सहयोग र सल्लाहका लागि फिन्कलाई नै खोजेका थिए । अमेरिकी ट्रेजरी र फेडरल रिजर्भ बैंक अफ न्युयोर्कले पनि उनलाई सहयोगका लागि अनुरोध गरेका थिए । हालै दावोसमा वल्र्ड इकोनोमिक फोरममा फिन्कले बिटकोइनबारे आफ्नो धारणा राखे । ब्लुमबर्गसँगको कुराकानीमा उनले बिटकोइनको मूल्य ७ लाख अमेरिकी डलरसम्म पुग्न सक्ने बताएका थिए । किन फिन्क धनीहरूको सूचीमा शीर्ष स्थानमा छैनन् ? सम्पत्तिको स्वामित्व मस्क, बेजोस र जुकरबर्गजस्ता व्यक्तिहरूसँग व्यक्तिगत रूपमा ठूलो सम्पत्ति छ, जुन उनीहरूको नाममा छ । तर, लेरी फिन्कसँग ब्ल्याकरक कम्पनीमार्फत ठूलो सम्पत्ति व्यवस्थापन गर्ने जिम्मेवारी छ । यो सम्पत्ति व्यक्तिगत रूपमा उनको होइन, लगानीकर्ताहरूको हो । धनीहरूको सूचीको मापदण्ड धनीहरूको सूची सामान्यतया व्यक्तिगत शुद्ध सम्पत्ति (नेट वर्थ) को आधारमा तयार गरिन्छ । यो व्यक्तिको नाममा भएको सम्पत्ति जस्तै– सेयर, नगद र सम्पत्ति, इत्यादिलाई समेट्छ । फिन्कसँग व्यक्तिगत रूपमा धेरै सम्पत्ति नभएकाले उनी सूचीमा शीर्ष स्थानमा नआएका हुन् । ब्ल्याकरकको प्रकृति ब्ल्याकरक एक सम्पत्ति व्यवस्थापन (एसेट म्यानेजमेन्ट)कम्पनी हो । यसको मतलब यसले मानिसहरूको पैसा लगानी गर्छ र त्यसमा प्रतिफल दिन्छ । लेरी फिन्क यस कम्पनीका सीईओ हुन् र उनी यसका लागि राम्रो तलब पाउँछन् । तर, उनको व्यक्तिगत सम्पत्ति कम्पनीको व्यवस्थापनमा रहेको कुल सम्पत्तिको तुलनामा निकै कम छ । (एजेन्सीहरूको सहयोगमा)

निसान-होन्डा मर्जरमा मित्सुबिशी सहभागी नहुने

काठमाडौं । जापानको मित्सुबिशी मोटर्स निसान र होन्डा मोटर्सबीच हुने मर्जरमा सहभागी नहुनेबारे विचार गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । मित्सुबिशी मोटर्सले दुवै कम्पनीहरूसँग सहकारी सम्बन्ध जारी राख्दै सूचीबद्ध कम्पनीको रूपमा रहन योजना बनाएको  बताइएको छ । निसान र होन्डाले गत वर्ष एउटा मर्जरबारे औपचारिक छलफल सुरु गर्ने घोषणा गरेका थिए । उक्त मर्जर वार्षिक रूपमा ७४ लाख सवारीसाधन उत्पादन गर्दै विश्वको तेस्रो ठूलो अटो समूह हुनसक्ने सम्भावना रहेको बताइएको थियो । मित्सुबिशी मोटर्समा निसानको २४ प्रतिशत हिस्सा छ । मित्सुबिशी मोटर्सले विज्ञप्ति जारी गर्दै होन्डा र निसानले विचार गरिरहेको व्यवसाय एकीकरणमा आफू कसरी सहभागी हुनेबारे सञ्चारमाध्यमहरूले रिपोर्ट गरेको तर ती रिपोर्टहरू कम्पनीद्वारा घोषणा गरिएको जानकारीमा आधारित नरहेको बताएको छ । कम्पनीले यस चरणमा विभिन्न सम्भावनाहरूको अध्ययन गरिरहेको र आफ्नो दिशा अझै तय नभएको पनि स्पष्ट पारेको छ । योमिउरी समाचारपत्रले शुक्रबार रिपोर्ट गरेअनुसार मित्सुबिशी मोटर्सले प्रस्तावित सहकार्यमा सहभागी नहुनेबारे विचार गरिरहेको छ । कम्पनी तुलनात्मक रूपमा सानो आकारको भएकाले संयुक्त होल्डिङ कम्पनीको व्यवस्थापन निर्णयमा प्रभाव पार्न नसक्ने चिन्ताले सहकार्यमा सहकार्य नहुने देखिएको हो । योमिउरीको रिपोर्टबारे सोध्दा निसान र होन्डाका प्रवक्ताहरूले मित्सुबिशी मोटर्सको वक्तव्यलाई उद्धृत गर्दै थप टिप्पणी गर्न अस्वीकार गरे । निसान र होन्डाले गत वर्षकाे डिसेम्बरमा उनीहरू २०२५ को जुनसम्ममा छलफलहरू सकाई २०२६ को अगस्टसम्ममा एउटा होल्डिङ कम्पनी स्थापना गर्ने योजनामा रहेको उल्लेख गरेका थिए । त्यसपछि दुवै कम्पनीको सेयरहरू सूचीबाट हटाइने पनि जनाइएकाे थियाे । योमिउरीको रिपोर्टले मित्सुबिशी मोटर्सले हालको संरचना कायम राख्ने र दक्षिणपूर्वी एशियाली बजारमा आफ्नो हिस्सा विस्तारमा केन्द्रित रहने बताएको छ । होन्डा र निसानबीच मर्ज हुने, हालसम्मकै ठूलो अटोमोटिभ कम्पनी बन्ने होन्डासँगको मर्जरले निसान ‘नरसंहार’ को शिकार हुनसक्ने बीवाईडीको इन्डोनेसिया प्लान्ट यस वर्षको अन्त्यमा सम्पन्न हुने, बर्सेनि डेढ लाख ईभी उत्पादन हुने चीनमा इभीको वर्चश्व बढ्दै, अरू विदेशी कम्पनी टिक्न सकस