सन् २०२४ मा टोयोटाको १ करोड ८ लाख गाडी बिक्री
काठमाडौं । टोयोटा मोटरले सन् २०२४ मा १ करोड ८ लाख गाडी बिक्री गरेको छ । कम्पनीले बिहीबार घोषणा गर्दै लगातार पाँचौं वर्ष विश्वकै सबैभन्दा धेरै बिक्री हुने अटोमोबाइल निर्माता बनेको जानकारी गराएको छ । जापानी अटोमोबाइल कम्पनी टोयोटाको विश्वव्यापी बिक्रीमा ३.७ प्रतिशत गिरावट आएको छ । यसमा साना गाडी निर्माता डाइहात्सु र ट्रक निर्माता हिनो मोटर्सको बिक्री पनि समावेश छ । टोयोटाको बिक्री घट्नुको मुख्य कारण जापानमा भएको ठूलो गिरावट हो ।डाइहात्सुमा प्रमाणीकरण परीक्षण प्रक्रियासम्बन्धी विवादका कारण कम्पनीलाई ठूलो असर परेको थियो । जापानमा दोहोरो अंकको गिरावटका कारण विश्वव्यापी बिक्रीमा असर परेको छ। जापानबाहेक अन्य अन्तर्राष्ट्रिय बजारमा टोयोटाको बिक्री राम्रो देखिएको छ । फक्सवागन दोस्रो स्थानमा जर्मन अटोमोबाइल कम्पनी फक्सवागन समूहले यस वर्ष दोस्रो स्थान हासिल गर्यो । २०२४ मा यसको बिक्री २.३ प्रतिशतले घटेर ९० लाख गाडीमा सीमित भयो । कम्पनीले चीनमा बढ्दो प्रतिस्पर्धा र लागत कटौतीको चुनौती सामना गरिरहेको छ । हाइब्रिड गाडीको माग बढ्यो, इलेक्ट्रिक गाडीको बिक्री कम टोयोटाको हाइब्रिड गाडीहरू कुल बिक्रीको ४०.८ प्रतिशतले बिक्री भएको छ, जुन हालसम्मकै उच्च हो । ब्याट्री–इलेक्ट्रिक गाडीको बिक्री भने जम्मा १.४ प्रतिशतमात्र रह्यो । चीनमा भने मूल्य प्रतिस्पर्धाका कारण टोयोटाको बिक्री ६.९ प्रतिशतले घटेको छ । टोयोटाले हाइब्रिड गाडीहरूमा राम्रो सफलता हात पार्दा पनि जापान र चीनमा मूल्य प्रतिस्पर्धाका कारण केही कठिनाइहरू सामना गर्नु परेको छ । तर, करोड ८ लाख गाडी बिक्री गर्दै टोयोटाले फेरि पनि विश्वको नम्बर १ अटोमोबाइल निर्माता बन्ने स्थान सुरक्षित गरेको छ । सान्दर्भिक सामग्री : २०२५ मा ईभी कारको बिक्री २ करोड नाघ्ने चीनमा हरेक वर्ष १ करोड २८ लाख ईभी बिक्री निसान-होन्डा मर्जरमा मित्सुबिशी सहभागी नहुने
अमेरिकन एयरलाइन्सको विमान आकाशमा हेलिकप्टरसँग ठोक्कियो, विमानमा ६० यात्रु र ४ क्रु सदस्य
काठमाडौं । अमेरिकाको वाशिङ्टन डीसीमा अमेरिकन एयरलाइन्सको एक विमान आकाशमै हेलिकप्टरसँग ठोक्किएको छ । फेडरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए) ले यसबारे जानकारी दिएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको छ । यो दुर्घटना स्थानीय समयअनुसार राति ९ बजे रीगन वाशिङ्टन नेशनल एयरपोर्ट नजिकै भएको हो । हेलिकप्टरसँग ठोक्किएपछि विमान पोटोम्याक नदीमा खसेको बताइएको छ । रीगन एयरपोर्टले सोशल मिडिया प्लेटफर्म एक्स (पहिलाको ट्वीटर) मा लेख्दै हालका लागि सबै उडानहरू रोकिएको जानकारी दिएको छ । अमेरिकन एयरलाइन्सले पुष्टि गरेको छ कि विमानमा ६० यात्रु र ४ क्रु सदस्य सवार थिए । वाशिङ्टन डीसीको आपतकालीन उद्धार टोली घटनास्थलमा पुगेको छ । विमान हेलिकप्टरसँग ठोक्किएपछि पोटोम्याक नदीमा खसेको हो । घटनाबारे थप विवरण आउन बाँकी नै छ ।
जापानमा आत्महत्या गर्ने विद्यार्थीको सङ्ख्या बढ्दो क्रममा, पुरुषको सङ्ख्या बढी
टोकियो । जापानमा सन् २०२४ मा विद्यालयस्तरका विद्यार्थीले आत्महत्या गर्ने क्रम नरोकिएको तर सामान्य वृद्धि देखिएको भेटिएको यहाँको स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कले देखाएको छ । मन्त्रालयका अनुसार सन् २०२३ मा ५१३ जना विदार्थीले आत्महत्या गरेकोमा सन् २०२४ मा यो सङ्ख्या ५२७ पुगेको थियो । यद्यपि, सबै उमेर समूहका मानिसको आत्म हत्या दर सन् २००३ को तुलनामा ७.२ प्रतिशतले कमी भएको देखिएको छ । सन् २००३ मा ३४ हजार ४२७ जनाले आत्महत्या गरेकोमा यो सङ्ख्या बीस बर्षपछि अर्थात् सन् २०२४ मा २० हजार २६८ मा झरेको थियो । जापानमा आत्महत्या गर्ने २० वर्षभन्दा कम उमेरका बालबालिकाको सङ्ख्या भने सन् २०२३ मा ८१० जना रहेकामा सन् २०२४ मा घटेर ८०० जनामा झरेको पछिल्लो तथ्याङ्कले देखाएको छ । ‘हामी यसलाई गम्भीरतापूर्वक लिन्छौं,’ जापानको मन्त्री परिषद्का सहायक मुख्य सचिव केइचिरो टाचिबानाले नियमित पत्रकार सम्मेलनमा भने । उनले भने, ‘बालबालिकाको जीवन रक्षाका लागि आवश्यक कदम चाल्न र कसैलाई पनि आफ्नो ज्यान लिन दबाब नदिइने समाजलाई साकार पार्न हामी सक्दो प्रयास जारी राख्नेछौं ।’ स्वास्थ्य मन्त्रालयले थप तथ्याङ्क उपलब्ध भएपछि मार्चमा तथ्याङ्कको विश्लेषण जारी गर्ने अपेक्षा गरिएको थियो। जापानमा हरेक वर्ष अगष्टको अन्त्यदेखि सेप्टेम्बरको सुरुसम्म हरेक गर्मीयामको बिदाको अन्त्यमा किशोर किशोरीले आत्महत्या गर्ने क्रम बढ्दै गएको छ । यसका कारण सरकार र सञ्चार माध्यमले समस्याहरूसँग सङ्घर्षरत किशोर किशोरीलाई आत्महत्या रोज्नबाट रोक्न सार्वजनिकरूपमा आह्वानलाई बढावा दिएका छन् । अधिकांश विद्यार्थीले आत्महत्या गर्नुको वास्तविक कारण भने खुल्न सकेको छैन । विगतको विश्लेषणले किशोर किशोरीहरूलाई अध्ययन, बदमाशी, सम्बन्ध, क्यारियर छनौट र स्वास्थ्य समस्याहरूसँग सम्बन्धित धेरै दबाबहरूको सामना गरिरहेको देखाएको छ। सन् २००३ मा जापानमा आत्महत्या गर्ने पुरुषको सङ्ख्या महिलाकोभन्दा एक तिहाइले बढी थियो । त्यसयता पुरुष आत्महत्या दर घटेको छ यद्यपि, यो अझै पनि महिलाको तुलनामा दोब्बर छ । सरकारले सञ्चालन गरेका व्यापक जागरूकता अभियान, मानसिक स्वास्थ्य सेवा र कठोर कार्यस्थल संस्कृति सुधार गर्ने प्रयासलाई पुरूषको आत्महत्या दर नियन्त्रणका लागि श्रेय दिइन्छ । रासस