स्टेलान्टिस र सीएटीएलले स्पेनमा ईभी ब्याट्री प्लान्ट निर्माण गर्ने, ४.३ बिलियन डलरको लगानी

काठमाडौं । अटोमोबाइल कम्पनी स्टेलान्टिस र चिनियाँ ब्याट्री कम्पनी सीएटीएलले संयुक्त रूपमा ब्याट्री प्लान्ट निर्माण गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुवै कम्पनीले मंगलबार संयुक्त रूपमा स्पेनमा ४.१ बिलियन यूरो (४.३ बिलियन डलर) को ठूलो आकारको लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री प्लान्ट निर्माण गर्ने योजना घोषणा गरेका हुन् । ५०-५० को संयुक्त उद्यम ५० गिगावाट घण्टाको उत्पादन क्षमतामा पुग्न सक्ने जनाइएको छ, जुन युरोपको इलेक्ट्रिक सवारीसाधन बजार र सरकारी समर्थनको विकासमा निर्भर छ । यो उत्तरपूर्वी स्पेनको प्लान्ट स्टेलान्टिसको जारागोजा साइटमा निर्माण हुने र २०२६ को अन्त्यसम्म सञ्चालनमा आउने अपेक्षा गरिएको छ । स्टेलान्टिसले यो प्लान्टले युरोपमा ‘सर्वोत्तम एलएफपी मान्यता’ सुदृढ गर्ने जनाएको छ । र यसले उच्च गुणस्तर र किफायती इलेक्ट्रिक सवारीसाधन उत्पादनमा टेवा पुर्‍याउने उद्देश्य राखेको छ । यो कदम युरोपका अटोमेकरहरूका लागि चुनौती हो । पहिला नै यूरोपमा किफायती मोडलहरूको अभाव र चार्जिङ स्टेशनहरूको विस्तारमा ढिलाइ भइरहेको छ । स्टेलान्टिसका अध्यक्ष जोन एल्कानले भने, ‘हाम्रो पार्टनर सीएटीएलसँगको यो महत्त्वपूर्ण साझेदारीले स्वच्छ र नवीकरणीय ऊर्जा क्षेत्रमा नयाँ ब्याट्री उत्पादन ल्याउनेछ, जसले दिगो विकासलाई प्रवर्द्धन गर्नेछ ।’ सीएटीएलका अध्यक्ष रोबिन झेङले भने, ‘हाम्रो उन्नत ब्याट्री प्रविधि र स्टेलान्टिसको लामो अनुभवले यो परियोजना सफल हुने विश्वास छ ।’ एल्कानले स्पेनी अधिकारीहरूलाई उनीहरूको समर्थनको लागि धन्यवाद पनि दिएका छन् । स्टेलान्टिसको सेयर मंगलबार बिहान ०.३ प्रतिशतले बढेको छ । स्टेलान्टिस र विश्वको सबैभन्दा ठूलो ब्याट्री उत्पादकहरूमध्ये एक सीएटीएलले युरोपमा विद्युतीय सवारी उत्पादनको लागि एलएफपी ब्याट्री सेल र मोड्युलहरूको स्थानीय आपूर्तिको लागि गत वर्ष नोभेम्बरमा गैर-समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । ‘मलाई विश्वास छ कि हाम्रो अत्याधुनिक ब्याट्री टेक्नोलोजी र उत्कृष्ट अपरेशनले जारागोजामा स्थानीय रूपमा व्यवसाय सञ्चालन गर्ने स्टेलान्टिसको दशकौं लामो अनुभवसँग मिलेर उद्योगमा ठूलो सफलताको कथा सुनिश्चित गर्नेछ,’ सीएटीएलका सीईओ र अध्यक्ष रोबिन जेङले भने । ‘सीएटीएलको लक्ष्य शून्य-कार्बन प्रविधिलाई विश्वभर पहुँचयोग्य बनाउनु हो, र हामी हाम्रा साझेदारहरूसँग थप नवीन सहयोग मोडेलहरू मार्फत सहयोग गर्न तत्पर छौं,’ उनले थपे ।

सिंगापुरको तापक्रम ३६ डिग्री नाघ्यो

काठमाडौं । नोभेम्बर सन् २०२४ सिंगापुरको मौसमको लागि कीर्तिमान तोड्ने महिना साबित भएको छ । यहाँ नोभेम्बरमा औसत ४१९.० मिलिमिटर वर्षा भएको राष्ट्रिय वातावरण एजेन्सी (एनइए) ले घोषणा गरेको छ । यो कुल वर्षाले नोभेम्बर सन् १९९२ मा सेट गरिएको ३९०.१ मिमीको अघिल्लो रेकर्ड तोडेको छ । गत शनिबार सिंगापुरमा डिसेम्बरको सबैभन्दा तातो दिन भएको वातावरण एजेन्सीले जनाएको छ । पूर्वी सिंगापुरको तापक्रम ३६.२ डिग्री सेल्सियस पुगेको छ, जुन अघिल्लो सन् २०१६ डिसेम्बर ६ मा तोकिएको ३५.९ डिग्रीभन्दा बढी थियो ।

एनभीडीयाको सेयर घट्यो, चीनद्वारा एकाधिकारविरोधी कानुन उल्लङ्घनको अनुसन्धान सुरु

काठमाडौं । अमेरिकी मल्टीनेसलन टेक कम्पनी एनभीडीयाको सेयर घटेको छ । एनभीडीयाविरुद्ध एकाधिकारविरोधी कानुन उल्लङ्घनको आरोपमा चीनले अनुसन्धान सुरु गरेसँगै एनभिडियाको सेयरमा दबाब परेको हो । सेयर लगभग २.५५ प्रतिशत ले घटेको हो । राज्य बजार नियमन प्रशासन (एसएएमआर) ले एनभीडीयाको इजरायली प्राविधिक कम्पनी मेलानोक्सको अधिग्रहण र यसका सम्बन्धित सम्झौताहरूमा सम्भावित उल्लङ्घनको विषयमा अनुसन्धान थालेको हो । एनभीडीयाले सन् २०२० मा मेलानोक्सलाई अधिग्रहण गरेको थियो, जसले डाटा सेन्टर र सर्भरहरूको लागि नेटवर्क समाधान प्रदान गर्दछ। एसएएमआरले भनेको छ, ‘हालैका दिनहरूमा एनभीडीयाले चीनको एकाधिकारविरोधी कानुन उल्लङ्घन भएको आशंकामा र मेलानोक्स सेयर अधिग्रहणसँग सम्बन्धित सर्तहरूलाई लिएर अनुसन्धान सुरु गरिएको हो ।’ यस समाचारले अमेरिका र चीनबीचको चिप निर्माणको प्रतिस्पर्धालाई थप तताएको छ । अमेरिकी राष्ट्रपति कार्यालयले चिप बिक्रीमा कडा प्रतिबन्ध लगाउने प्रयास गरेको छ, जसले चीनको सैन्य क्षमतामा सुधार रोक्ने उद्देश्य राख्छ । एनभीडीयाले भनेको छ, ‘हामी नियामक निकायहरूबाट आएका सबै प्रश्नहरूको जवाफ दिन तयार छौं ।’ यो वर्ष कृत्रिम बाैद्धिकता (एआई) चिप्समा उच्च मागका कारण एनभीडीयाको सेयर १८० प्रतिशतले वृद्धि भएको थियो ।च्याटजीपीटीको लोकप्रियता र व्यापक प्रविधि क्षेत्रमा लगानीकर्ताहरूको रुचिले सेयर बजारमा सुधार ल्याएको छ ।