झन् सशक्त बन्दै बीवाईडी, अर्को वर्ष नयाँ पुस्ताको ब्लेड ब्याट्री लन्च गर्ने
काठमाडौं । चिनियाँ इलेक्ट्रिक गाडी (ईभी) कम्पनी बीवाईडीले सन् २०२५ मा नयाँ पुस्ताको ब्लेड ब्याट्री सार्वजनिक गर्ने योजना बनाएको छ । उक्त ब्याट्रीले राम्रो दूरी प्रदर्शन गर्ने अपेक्षा बीवाईडीले गरेको छ । ‘मलाई लाग्छ, आउँदाे वर्ष २०२५ मा बीवाईडीले हाम्रो उत्कृष्ट ब्लेड ब्याट्रीको नयाँ पुस्ता प्रस्तुत गर्नेछ,’ बीवाईडी सेन्ट्रल एसियाका प्रबन्ध निर्देशक तथा युरोपियन अटो सेल्स डिभिजनका प्रमुख काओ शुआङले भने । ‘यसले हाम्रा गाडीको यात्राको दूरी बढाउनेछ र ब्याट्री लाइफ पनि लम्ब्याउनेछ,’ उनले थपे । शुआङले यो कुरा हालै सम्पन्न भएको संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन संरचना महासन्धिको २९औं सम्मेलन (कोप २९) को क्रममा अजरबैजानको बाकुमा बताएका हुन् । उनका अनुसार बीवाईडीले आफ्नो ब्याट्री लाइफ व्यवस्थापन प्रणालीमा ध्यान केन्द्रित गर्दैछ र विभिन्न उद्योगका साझेदारसँग मिलेर ब्याट्री पुन: प्रयोग प्रणाली विकास गर्न काम गरिरहेको छ । उदाहरणका लागि, गाडीमा प्रयोग भएको ब्याट्रीको पहिलो जीवनपछि तिनीहरूलाई ऊर्जा भण्डारणजस्ता विभिन्न प्रकारका काममा प्रयोग गर्न सकिन्छ । काओले भने, ‘बीवाईडीले विश्वभर नयाँ ऊर्जा गाडी (एनईभी) उत्पादन र नवीनतम प्रविधिहरू मानिसहरूका लागि उपलब्ध गराउँदै राम्रो उदाहरण प्रस्तुत गरेको छ ।’ ‘यो प्रतिबद्धता विभिन्न देशहरूमा जे भए पनि अडिग रहनेछ,’ उनले थपे । बीवाईडीले पहिलो पुस्ताको ब्लेड ब्याट्री मार्च २०२० मा सार्वजनिक गरेको थियो । लिथियम आयरन फस्फेट (एलएफपी) रसायनमा आधारित यो ब्याट्री सुरक्षाको विषयमा केन्द्रित भइ बनेकाे छ र अहिले एनईभी निर्माता कम्पनीका सम्पूर्ण मोडलहरूमा प्रयोग भइरहेको छ । बीवाईडीले विगत केही वर्षमा आफ्नो ब्याट्री अपडेट गरेको थिएन । यो बीचमा ब्याट्री कम्पनी (सीएटीएल) जस्ता अन्य कम्पनीहरूले नयाँ ब्याट्री उत्पादन सार्वजनिक गरेका छन् । जुन १३ मा स्थानीय मिडिया ३६ केआरले बीवाईडीसँग नजिकको स्रोतलाई उद्धृत गर्दै कम्पनीको दोस्रो पुस्ताको ब्लेड ब्याट्री चाँडै सार्वजनिक हुन सक्ने बताएकाे थियाे । अक्टोबर ३० मा स्थानीय अटोमोटिभ मिडिया एक्ससुजिङका प्रधान सम्पादक वु यिङले बीवाईडीको लक्जरी उप-ब्रान्ड याङवाङको यू ७ सेडानलाई दोस्रो पुस्ताको ब्लेड ब्याट्रीद्वारा सञ्चालन गरिने जानकारी दिएका थिए । याङवाङ बीवाईडीको उप-ब्रान्ड हो, जसलाई जनवरी ५, २०२३ मा सार्वजनिक गरिएको थियाे । एक लाख ३८ हजार अमेरिकी डलर मूल्यको उक्त गाडी अल्ट्रा लक्जरी बजारलाई लक्षित गरी सार्वजनिक गरिएको हो । यसको पहिलो मोडल यू ८ अफ-रोड एसयूभी हो । याङवाङले यस वर्षको जनवरी १० मा ब्रान्डको पहिलो सेडानको हर्सपावर एक हजारभन्दा बढी हुने र यसको मूल्य १ मिलियन युआन बराबरको हुने घोषणा गरेको थियाे । बीवाईडीको स्थापना सन् १९९५ फेब्रुअरीमा भएको थियो । सुरुमा बीवाईडी रिचार्जेबल ब्याट्री उत्पादनमा केन्द्रित थियो । सन् १९९८ मा यो विश्वकै दोस्रो ठूलो ब्याट्री उत्पादक कम्पनी बन्यो । बीवाईडी मोटोरोला र नोकियालाई ब्याट्री उपलब्ध गराउने प्रमुख कम्पनीसमेत बनेको थियाे । सन् २००३ मा बीवाईडी इन्धनबाट चल्ने सवारीसाधन उत्पादनका साथ अटोमोटिभ इन्डष्ट्रीमा प्रवेश गरेको थियो । हालै १ करोड न्यु इनर्जी भेहिकल उत्पादन गर्ने पहिलो कम्पनी बन्न बीवाईडी सफल भएको छ । बीवाईडीले ५० लाख एनईभी उत्पादन गर्न १५ वर्षको समय लगाएको थियो । तर अर्को ५० लाख सवारीसाधन उत्पादनको लक्ष्य भने १५ महिनामै हासिल गर्न सफल भयो । आगामी दिनमा बीवाईडीले अटोमोटिभ सिस्टमका लागि इन्टेलिजेन्ट टेक्नोलोजीमा एआईलाई एकीकृत गर्न र ड्राइभिङ सिस्टम अपग्रेड गर्न १०० अर्ब युआन लगानी गर्ने घोषणासमेत गरिसकेको छ । ३० वर्ष पहिले २० कर्मचारीबाट सुरुवात भएको बीवाईडी हाल विश्वभर करिव १० लाख कर्मचारीसहितको बहुराष्ट्रिय कम्पनीमा रूपान्तरण भएको छ । (एजेन्सीहरूको सहयोगमा) यो पनि पढौं- चीनमा इभीको वर्चश्व बढ्दै, अरू विदेशी कम्पनी टिक्न सकस
अमेरिकाको ऋण ३६ ट्रिलियन, आगामी दशकमा ५४ ट्रिलियन पुग्ने, नागरिकको टाउकोमा कति ?
काठमाडौं । डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपति बन्नुअघि नै अमेरिकाको ऋण रेकर्ड स्तरमा पुगेको छ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिकाको ऋण ३६ ट्रिलियन डलर पुगेको हो । यो वर्ष दुई ट्रिलियन डलरले ऋण बढेको छ । पछिल्ला ३१६ दिनमा अमेरिकाको ऋण ६.३ अर्ब डलर अर्थात् दैनिक ८ करोड ५० लाख रुपैयाँभन्दा धेरै बढेको छ । यसको मतलब प्रत्येक अमेरिकी नागरिकसँग १ लाख ८ हजार डलर ऋण छ । जीडीपीको प्रतिशतको रूपमा घाटा खर्च दोस्रो विश्वयुद्धको स्तरमा पुगेको छ । कोरोना महामारी सुरु भएयता अमेरिकाको ऋण १६ ट्रिलियन डलरले बढेको छ । अमेरिकाको इतिहासमा सरकारले यति धेरै ऋण पहिला कहिल्यै लिनुपरेको थिएन । पछिल्लो २४ वर्षमा अमेरिकाको ऋण ६ गुणा बढेको छ । सन् २००० मा अमेरिकाको ऋण ५.७ ट्रिलियन डलर थियो । यो २०१० मा १२.३ ट्रिलियन र २०२० मा २३.२ ट्रिलियन थियो । यूएस कंग्रेसको बजेट कागजातअनुसार आगामी दशकसम्म देशको ऋण ५४ ट्रिलियन डलर पुग्ने अनुमान गरिएको छ । देशको ऋण जीडीपीको करिब १२५ प्रतिशत छ। अमेरिकाले दैनिक १ अर्ब ८ करोड डलरभन्दा बढी ब्याज तिर्न खर्च गर्नुपर्ने अवस्था आएको छ । सरकारको आम्दानी घटेको र खर्च बढेको स्पष्ट छ । के हुन्छ असर ? अमेरिकाको अर्थतन्त्र र राष्ट्रिय सुरक्षाका लागि यति धेरै ऋण राम्रो कुरा नभएको विज्ञहरू बताउँछन् । अबको केही वर्षमा अमेरिकाको ऋण-जीडीपी अनुपात २०० प्रतिशत पुग्न सक्ने अनुमान गरिएको छ । अर्थात् देशको ऋण अर्थतन्त्रको दोब्बर पुग्नेछ । यदि यस्तो भयो भने ऋण चुक्ता हुनेबित्तिकै अमेरिकाको अर्थतन्त्र ध्वस्त हुनेछ । जसका कारण सरकारले अनुसन्धान तथा विकास, पूर्वाधार र शिक्षामा कूल खर्चभन्दा ब्याज तिर्न बढी खर्च गर्नुपर्नेछ । देशको अर्थतन्त्र राम्रो अवस्थामा रहेका बेला ऋण बढ्नु चिन्ताको विषय हो । सामान्यतया अर्थतन्त्र कमजोर हुँदा सरकारले आर्थिक वृद्धि बढाउन खर्च बढाउँछ । बढ्दो ऋणका कारण रिपब्लिकन र डेमोक्र्याट दुवै पार्टीबीच प्रायः विवाद हुन्छ । तर सत्य यो हो कि दुवै पार्टीको कार्यकालमा देशको ऋण बढेको छ । यसको असर देशको क्रेडिट रेटिङमा पनि देखिन थालेको छ । गत वर्ष अगस्टमा फिचले अमेरिकाको सार्वभौम ऋणको रेटिङ ‘डबल ए प्लस’ (AA +) बाट घटाएर ‘त्रिपल ए’ (AAA) गरेको थियो । मुडीजले पनि अमेरिकाको एएए कटौती गर्न सक्ने चेतावनी दिएको थियो । खर्च कसरी कम हुनसक्छ ? ट्रम्पले सरकारी खर्च कटौती गर्न र सरकारी दक्षता बढाउन नयाँ विभाग डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी स्थापना गर्ने घोषणा गरेका छन् । यसको कमाण्ड विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क र विवेक रामास्वामीलाई दिइएको छ । ट्रम्पको चुनावी प्रचारका क्रममा मस्कले सरकारी बजेटमा अर्बौं डलर बचत गर्न सक्ने बताएका थिए । उनले सरकारी खर्च घटाउने कुरा गरेका छन् । यसमा सार्वजनिक प्रसारण र गर्भपतन अधिकार समूहहरूलाई दिइएको पैसा समावेश छ । (एजेन्सीको सहयोगमा)
अमेरिकी प्रतिबन्धसँग निडर हुवावे : एक वर्षभित्र हार्मोनी ओएसमा १ लाख एप्स पुर्याउने
काठमाडौं । अमेरिकाले कालोसूचीमा राखेको चिनियाँ प्रविधि कम्पनी हुवावेले आगामी महिनामा आफ्नो हार्मोनी अपरेटिङ सिस्टमका लागि १ लाख एप्लिकेसनहरू लक्षित गरिरहेको बताएको छ । हुवावेका अध्यक्ष स्यु झिजुनले शनिबार एक सम्मेलनमा बताएअनुसार हार्मोनीमा आधारित १५ हजारभन्दा बढी एपहरू कम्पनीसँग उपलब्ध छन्, जसले उपभोक्ताको आधारभूत आवश्यकता पूरा गर्न सक्छन् । तर, थप व्यक्तिगत र विशेष प्रकारका एपहरूको आवश्यकता रहेको छ । ‘हाम्रो विश्लेषणअनुसार उपभोक्ताको आवश्यकता पूरा गर्न हार्मोनी इकोसिस्टमलाई परिपक्व बनाउन १ लाख एप्स मुख्य लक्ष्य हो र यो आगामी ६ देखि १२ महिनाभित्रको प्राथमिक उद्देश्य हो,’ स्युले भने । यो महत्त्वाकांक्षी एप लक्ष्यले स्वदेशी प्रविधिको विकासको अत्यावश्यकतालाई उजागर गरेकाे छ । चीनले व्यापारदेखि प्रविधिसम्मका क्षेत्रमा अमेरिकासँगको तनावको सामना गरिरहेको छ । निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप कठोर हुने धम्की दिइसकेका छन् । अमेरिकी प्रतिबन्धहरूले गुगलको एन्ड्रोइडको समर्थन बन्द गरिदिएसँगै हुवावेले पाँच वर्षअघि आफ्नो अपरेटिङ सिस्टम सुरु गरेको थियो । स्मार्टफोनदेखि ल्यापटपसम्मका उत्पादनहरू बेच्ने शेन्जेनस्थित कम्पनीले पछि हार्मोनीको एक ओपन-सोर्स संस्करण पनि विकास गर्यो । अमेरिकी प्रतिबन्धका कारण हुवावेले आफ्नै अपरेटिङ सिस्टम विकास गर्न गतिलाई तीव्र बनाउन बाध्य भएको छ,’ स्युले भने । उनका अनुसार धेरै प्रगति भए तापनि कुनै पनि अपरेटिङ सिस्टम, चाहे जति नै उन्नत किन नहोस्, यदि कसैले प्रयोग नगरेमा त्यसको कुनै मूल्य हुँदैन । स्युले विकासकर्ताहरूलाई एप्सको विविधता बढाउन कडा मेहनत गर्न आग्रह गर्दै सरकारी निकायहरू, सरकारी कम्पनीहरू र सामाजिक संस्थाहरूलाई कार्यस्थलमा हार्मोनीलाई अपरेटिङ सिस्टमको रूपमा प्रयोग गर्न आह्वान गरे । हुवावेले हार्मोनीलाई अगस्ट २०१९ मा अनावरण गरेको थियो, जब वासिङ्टनले सुरक्षा चिन्ताका कारण कम्पनीलाई व्यापार प्रतिबन्धमा राखेको थियो । हुवावेले भने आफ्नो उपकरणले कुनै जोखिम पैदा नगर्ने दाबी गरेको छ । ‘फर्कने बाटो छैन, यही विजयको बाटो हो,’ स्युले भने, ‘हुवावेले हार्मोनी इकोसिस्टमको विकासमा अडिग रूपमा लगानी गर्नेछ र असम्भवलाई सम्भव बनाउन प्रयास गर्नेछ ।’