श्रीलङ्कामा डलर सञ्चिति बढ्दै, सवारी आयात प्रतिबन्ध हटाउने
काठमाडौं । भन्सार शुल्कमार्फत राजस्व बढाउन खोजेको श्रीलङ्काले सन् २०२५ देखि चरणबद्ध रूपमा सवारीसाधन आयात गर्न अनुमति दिने राष्ट्रपति रनिल विक्रमासिङ्घेले बताएका छन् । उनले सवारी साधन आयातमा लगाइएको प्रतिबन्धलाई क्रमशः हटाउन अनुमति दिँदै राष्ट्रको भण्डार निर्माण भइरहेको बताए । डिसेम्बर सन् २०२३ को अन्त्यमा कूल सञ्चिति ४ अर्ब ४० करोड डलरबाट बढेर सन् २०२४ जुनको अन्त्यमा ५ अर्ब ७० करोड अमेरिकी डलर पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ । गत हप्ता श्रीलङ्कामा अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) प्रतिनिधिमण्डलले मोटर वाहनहरूमा आयात प्रतिबन्धको योजनाबद्ध छूटले सन् २०२५ मा राजस्व परिचालनलाई समर्थन गर्ने बताएको थियो । कर प्रशासन सुधारहरूले सन् २०२५ अप्रिलसम्ममा निर्यातकर्ताहरूका लागि राम्रोसँग काम गर्ने भ्याट फिर्ता प्रणाली स्थापना गरी अनुपालनलाई अझ सुधार गर्न सक्ने आइएमएफले जनाएको छ । यसअघि अर्थराज्यमन्त्री रञ्जित सियाम्बालापिटियाले आयात प्रतिबन्ध कसरी फुकुवा गर्ने भन्ने विषयमा अगस्ट दोस्रो सातामा निर्णय हुने बताएका थिए ।
बङ्गलादेशमा नोबेल पुरस्कार विजेता युनुसले आज नयाँ सरकारको सपथ लिने
काठमाडौं । बङ्गलादेशका सेना प्रमुख जनरल वेकर–उज–जमानले नोबेल पुरस्कार विजेता मुहम्मद युनुस स्वदेश फर्किएपछि आज बिहीबार साँझ नयाँ अन्तरिम सरकारले सपथ लिने भएका छन् । ‘हामी बुधबार सपथ ग्रहण समारोह आयोजना गरेका छौं, करिब ८ बजे (जिएमटी १४ बजे) गर्न सक्छौँ, सपथ ग्रहण समारोहमा करिब ४ सय व्यक्ति उपस्थित हुने सम्भावना छ,’ उनले भने । युनुस अन्तरिम सरकारको नेतृत्व गर्न बङ्गलादेशमा आउँदा उनले ‘लोकतान्त्रिक प्रक्रिया’ मार्फत बङ्गलादेशको नेतृत्व गर्ने सेना प्रमुखले बताए । ‘उहाँ यस्तो गर्न अत्यन्त उत्सुक हुनुहुन्छ, मलाई विश्वास छ, उहाँले हामीलाई सुन्दर लोकतान्त्रिक प्रक्रियामार्फत लैजान सक्षम हुनुहुनेछ र यसबाट हामी लाभान्वित हुनेछौँ,’ सेना प्रमुखले भने । नवनियुक्त प्रहरी प्रमुखद्वारा माफी यसैबीच बङ्गलादेशका नवनियुक्त प्रहरी प्रमुखले बुधबार घातक विरोध प्रदर्शनका क्रममा अधिकारीहरूको आचारणका लागि माफी मागेका छन् । साथै उनले हत्याको ‘निष्पक्ष’ छानबिन गर्ने वाचा गरेका छन् । ‘हामी विद्यार्थी, सर्वसाधारण र प्रहरीको हालैका हरेक हत्याको निष्पक्ष छानबिन गर्न प्रतिबद्ध छौँ,’ प्रहरी महानिरीक्षक मोहम्मद मैनुल इस्लामले भने । ‘अहिलेको आन्दोलनमा हाम्रा यसअघिका जिम्मेबार अधिकारीहरूले देशवासीको अपेक्षा अनुरूप आफ्नो जिम्मेबारी पूरा गर्न सकेनन्,’ प्रधानमन्त्री पदबाट हटेपछि आफ्नो नियुक्ति भएको एक दिनपछि उनले भने ‘म स्वयं प्रहरी प्रमुखका रूपमा यसका लागि बङ्गलादेश प्रहरीका तर्फबाट माफी माग्छु ।’
इयुले युक्रेनलाई ४ अर्ब २० करोड युरो प्रदान गर्ने
ब्रसेल्स । युरोपेली संघ (इयु) ले युक्रेनको सुधार प्रयास सन्तोषजनक ठानेपछि युक्रेनलाई ४ अर्ब २० करोड युरो प्रदान गर्न तयार भएको इयुको परिषद्ले जनाएको छ । परिषद्ले इयुको युक्रेन सुविधाअन्तर्गत युक्रेनलाई अनुदान र ऋणको नियमित भुक्तानीको पहिलो किस्तालाई अनुमति दिएको एक प्रेस विज्ञप्तिले जनाएको छ । परिषद्ले सर्त र सुधारहरू पूरा भएको जनाएको छ । सुधारहरूमा सार्वजनिक वित्तीय व्यवस्थापन, राज्यको स्वामित्वमा रहेका उद्यमहरूको सुशासन, व्यापारिक वातावरण, ऊर्जा र खानी समावेश छन् । कोष जारी हुने युक्रेन सुविधा सन् २०२४ मार्चमा लागू भएको हो । यसले सन् २०२४ देखि सन् २०२७ अवधिका लागि ५० अर्ब युरोसम्मको आर्थिक सहयोगको प्रक्षेपण गर्दछ ।