युद्धको भारले थिचियो अमेरिका, इरानमा करिब ५८ खर्ब खर्च

काठमाडौं । इरानसँगको युद्धमा संयुक्त राज्य अमेरिकाले हालसम्म ३७.५ अर्ब अमेरिकी डलर (५७ खर्ब, ८९ अर्ब रुपैयाँ) खर्च गरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । युद्धमा ३७.५ अर्ब अमेरिकी डलर खर्च भइसकेको अमेरिकी रक्षा सचिव पिट हेगसेथले जानकारी दिए । मंगलबार वाशिङ्टनमा आयोजित संसदीय सुनुवाइमा उनले युद्धसँग सम्बन्धित हालसम्मको खर्च तथा सेप्टेम्बर ३० सम्म हुने अनुमानित खर्च समेत जोडेर यो रकम पुगेको जानकारी दिएका हुन् । तर पेन्टागनले उक्त हिसाब कसरी निकालेको हो भन्नेबारे स्पष्ट जानकारी दिएको छैन । यसअघि मार्चमा रोयटर्सलाई एक स्रोतले युद्धको पहिलो छ दिनमै कम्तीमा ११.३ अर्ब डलर खर्च भएको ट्रम्प प्रशासनको अनुमान रहेको जनाएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना इरान युद्धसँग सम्बन्धित खर्चका लागि मुख्य रूपमा प्रयोग हुने गरी करिब ९० अर्ब डलर अतिरिक्त बजेट स्वीकृत गर्न कंग्रेससँग माग गरेका थिए । यसले युद्धप्रति असन्तुष्ट सांसदहरूसँग फेरि बजेट विवाद चर्किने संकेत गरेको छ । आगामी मध्यावधि निर्वाचन हुन अब करिब छ महिना मात्रै बाँकी रहेकाले रिपब्लिकन पार्टीलाई प्रतिनिधिसभा र सिनेटमा आफ्नो बहुमत जोगाउन कठिन हुने अनुमान गरिएको छ ।  डेमोक्र्याटहरूले भने महँगीसँगै अलोकप्रिय इरान युद्धलाई प्रमुख चुनावी मुद्दा बनाउने प्रयास गरिरहेका छन् । अमेरिका र इजरायलले फेब्रुअरी २८ देखि इरानमाथि आक्रमण सुरु गरेयता ट्रम्प प्रशासनले युद्धको अवस्था र आफ्नो रणनीतिबारे पर्याप्त जानकारी नदिएको भन्दै रिपब्लिकन र डेमोक्र्याट दुवै दलका सांसदहरूले असन्तुष्टि जनाएका छन् । संसदीय विनियोजन समिताकी वरिष्ठ डेमोक्र्याट सिनेटर प्याटी मरेले ट्रम्पले युद्ध थप चर्काउने तथा युद्ध अपराध हुन सक्ने गतिविधिको संकेत दिएको आरोप लगाइन् ।  उनका अनुसार ट्रम्पले इरानका नागरिक पूर्वाधारलाई समेत निशाना बनाउन सक्ने चेतावनी दिएका छन्, जसलाई आलोचकहरूले सम्भावित युद्ध अपराधको रूपमा हेरेका छन् । डेमोक्र्याट सिनेटर किस्र्टन गिलिब्रान्डले पनि ट्रम्प प्रशासनको भनाइमा स्पष्टता नभएको आरोप लगाउँदै भनिन्, ‘युद्ध सकिएको हो कि होइन भन्ने कुरा तपाईंहरूको अभिव्यक्तिबाट बुझ्नै सकिँदैन ।’ युद्धले रक्षा बजेटमा दबाब हेगसेथले तत्काल थप बजेट नपाए अमेरिकी सेनाको प्रशिक्षण कार्यक्रमसमेत कटौती गर्नुपर्ने अवस्था आउने चेतावनी दिएका छन् । उनका अनुसार युद्धले करिब १ ट्रिलियन डलरको अमेरिकी रक्षा बजेटमा ठूलो दबाब सिर्जना गरेको छ । संयुक्त चिफ्स अफ स्टाफका अध्यक्ष जनरल ड्यान केनले पनि सैनिकहरूको तलब व्यवस्थापन गर्न सकिए पनि उपकरण मर्मत र भविष्यका सैन्य क्षमता विकासमा समस्या आउन सक्ने स्वीकार गरे । हेगसेथले सांसदहरूसँग अतिरिक्त बजेट मात्र नभई सन् २०२७ का लागि १.५ ट्रिलियन डलरको रक्षा बजेट पनि स्वीकृत गर्न आग्रह गरे । उनले भने, ‘मेरो विश्वासमा रक्षा विभागलाई १।५ ट्रिलियन डलरको बजेट नदिनु नै हाम्रो राष्ट्रले सामना गर्ने सबैभन्दा ठूलो सुरक्षा जोखिम हुनेछ ।’ युद्ध फेरि चर्कियो यस महिनाको सुरुआतमा अमेरिका र इरानबीचको कमजोर युद्धविराम भंग भएपछि दुवै पक्षले दैनिक रूपमा एकअर्कामाथि आक्रमण गरिरहेका छन् । सप्ताहन्तसम्म इरान युद्धमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या १८ पुगेको छ भने करिब ४३० सैनिक घाइते भएका छन् ।  पेन्टागनका अनुसार जुलाई ७ यता मात्रै १०० सैनिक घाइते भए पनि तीमध्ये ९६ प्रतिशत पुनः सेवामा फर्किसकेका छन् । गत सातादेखि ट्रम्पले इरानका ऊर्जा पूर्वाधार, पुल, खार्ग टापुको तेल केन्द्र तथा ‘पिकएक्स माउन्टेन’ नामक गहिरो भूमिगत आणविकसँग सम्बन्धित स्थलमा समेत आक्रमण विस्तार गर्न सकिने चेतावनी दिँदै आएका छन् । मंगलबार ट्रम्पले उक्त पर्वतीय आणविक केन्द्रलाई ‘निकट भविष्यमै ध्वस्त पारिने’ बताएका छन् । अन्य सामग्रीहरू : इरान युद्ध अपडेट : विश्वलाई असर पार्ने पाँच महत्त्वपूर्ण घटनाक्रम गोप्य रूपमा सुन थुपार्दै चीन, सरकारी तथ्यांकभन्दा धेरै सुन भएको दावी ५ सयभन्दा बढी रोहिङ्ग्या समुद्रमा बेपत्ता

इरान युद्ध अपडेट : विश्वलाई असर पार्ने पाँच महत्त्वपूर्ण घटनाक्रम

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम समाप्त भएको घोषणा गरेको १० दिन बितिसकेको छ । त्यसयता दुवै पक्षले पुनः सैन्य आक्रमण सुरु गरेका छन्, जसले मध्यपूर्वको सुरक्षा अवस्था र विश्व भू–राजनीतिमा फेरि अनिश्चितता बढाएको छ । अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सीईएनटीओएम) ले लगातार १० रात इरानमाथि हवाई आक्रमण गरेको छ । अमेरिकाले यी आक्रमणहरू इरानले हर्मुज जलडमरूमध्यमा व्यावसायिक जहाजमाथि आक्रमण गर्न प्रयोग गर्ने सैन्य क्षमता कमजोर पार्न गरिएको जनाएको छ । युद्धको पछिल्लो अवस्थाबारे जान्नुपर्ने पाँच मुख्य कुरा यस्ता छन् :   १. हर्मुज जलडमरूमध्यबाट जहाज आवागमनमा तीव्र गिरावट युद्ध फेरि सुरु भएपछि विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक हर्मुज जलडमरूमध्यबाट हुने जहाज आवागमन उल्लेखनीय रूपमा घटेको छ । लोयड्सका विश्लेषकहरूका अनुसार धेरै जहाजले आफ्नो पहिचान संकेत (ट्रान्सपोन्डर) बन्द गरेर यात्रा गरिरहेका छन् । व्यापारिक तथ्यांक कम्पनी केप्लरका अनुसार गत सप्ताहन्तमा केवल ३० वटा जहाज मात्र उक्त जलडमरूमध्य पार गरेका थिए । जबकि अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि आक्रमण सुरु गर्नुअघि दैनिक १०० भन्दा बढी जहाज यस मार्गबाट आवतजावत गर्थे । यद्यपि ट्रम्प प्रशासनले भने अमेरिकी सैन्य सुरक्षामा हर्मुज जलडमरूमध्य खुला रहेको र दैनिक लाखौं ब्यारेल तेल सुरक्षित रूपमा निर्यात भइरहेको दाबी गरेको छ । २. तेलको मूल्य फेरि उकालो युद्ध चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ । ब्रेन्ट कच्चा तेलको मूल्य जुलाई २० मा एक महिनापछि पहिलो पटक प्रति ब्यारेल ९० अमेरिकी डलर नाघेको छ । त्यस्तै, अमेरिकी कच्चा तेल (डब्ल्यूटीआई) को मूल्य पनि एक महिनायताकै उच्च स्तरमा पुगेको छ । अमेरिकी ऊर्जा सूचना प्रशासन (एफआईए) का अनुसार हर्मुज जलडमरूमध्यबाट दैनिक करिब २ करोड ३ लाख ब्यारेल कच्चा तेल तथा पेट्रोलियम पदार्थ ओसारपसार हुन्छ । यो विश्वभर समुद्री मार्गबाट हुने तेल व्यापारको करिब २५ प्रतिशत हो । यस मार्गबाट निर्यात हुने करिब ९० प्रतिशत तेल एसियाली बजार विशेषगरी चीन र भारत पुग्ने गर्छ । इनर्जी एस्पेक्ट्सकी संस्थापक तथा बजार विश्लेषक अमृता सेनका अनुसार यदि आपूर्ति अवरोध अगस्टसम्म जारी रह्यो भने खाडी क्षेत्रको उत्पादन घट्न सक्छ र तेलको मूल्य फेरि तीन अंक (१०० डलरभन्दा माथि) पुग्ने सम्भावना छ । ३. इरानसँग अझै पनि जवाफी आक्रमण गर्ने क्षमता अमेरिकी आक्रमणका बाबजुद इरानसँग अमेरिका, उसका साझेदार र मध्यपूर्वमा रहेका अमेरिकी सम्पत्तिलाई क्षति पुर्याउने क्षमता अझै कायम रहेको विश्लेषण गरिएको छ । इरानसँग सम्बन्धित आक्रमणका कारण व्यावसायिक जहाजहरू पनि जोखिममा परेका छन् । ग्रीक कम्पनी डाइनाकमद्वारा सञ्चालित एउटा जहाज हर्मुज जलडमरूमध्यमा अज्ञात प्रहारपछि आगलागी भएको इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन् । तेहरानले अझै पनि क्षेप्यास्त्र र ड्रोन प्रहार गर्न सक्ने क्षमता राखेको छ । अमेरिकी सैन्य अड्डा रहेका देशहरूमा भएका पछिल्ला आक्रमणमा थप तीन अमेरिकी सैनिक मारिएको बताइएको छ । यसपछि राष्ट्रपति ट्रम्पले तेहरानले यसको ‘धेरै गुणा मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएका छन्। साथै उनले हर्मुज जलडमरूमध्य इरानबाहेक सबैका लागि खुला रहने बताएका छन् । ४. युद्ध अन्त्य गर्ने सहज विकल्प देखिँदैन अमेरिकी सञ्चारमाध्यम एक्सिओसका अनुसार कतार र पाकिस्तानले अमेरिका तथा इरानबीच १० दिनको युद्धविराम प्रस्ताव गरेका छन् । तर वार्ता असफल हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै वासिङ्टनले थप सैन्य तयारी पनि गरिरहेको छ । उक्त रिपोर्टअनुसार इजरायलले केही दिनभित्र युद्धलाई अझ व्यापक र समन्वित सैन्य अभियानमा विस्तार गर्ने तयारी गरिरहेको छ । पर्यवेक्षक रिसर्च फाउन्डेसनका भू–राजनीति विज्ञ क्लेमेन्स चेका अनुसार अहिलेको अवस्था नियन्त्रणभित्र देखिए पनि क्रमशः थप खतरनाक बन्दै गएको छ । उनका अनुसार अमेरिकासँग अहिले कुनै पनि सजिलो विकल्प छैन । उसले या त इरानको दीर्घकालीन दबाब सहनुपर्नेछ वा युद्ध अझ विस्तार गर्नुपर्नेछ अथवा केही विशेष छुट दिनुपर्ने अवस्था आउन सक्छ । उनले हर्मुज जलडमरूमध्य इरानका लागि ‘चाहेको बेला खोल्न र बन्द गर्न सकिने रणनीतिक हतियार’ जस्तै रहेको भन्दै हर्मुजसँगै बाब अल–मन्देब जलडमरूमध्य पनि अवरुद्ध भए विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने चेतावनी दिएका छन् । ५. अर्को महत्त्वपूर्ण समुद्री मार्ग पनि जोखिममा सोमबार राति यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाविरुद्ध समुद्री नाकाबन्दी तत्काल लागू गर्ने घोषणा गरेका छन् । यसले इरानका कारण हर्मुज जलडमरूमध्यमा देखिएको तेल आपूर्ति संकटलाई अझ गम्भीर बनाउन सक्ने अनुमान गरिएको छ । हुथीहरूले यसअघि पनि अमेरिका–इरान युद्धका क्रममा बाब अल–मन्देब जलडमरूमध्य बन्द गर्ने चेतावनी दिँदै आएका थिए । यो मार्ग पनि अन्तर्राष्ट्रिय व्यापार तथा साउदी अरेबियाको तेल निर्यातका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ। हर्मुज जलडमरूमध्य अवरुद्ध भएपछि साउदी अरेबियाले दैनिक लाखौं ब्यारेल तेल पाइपलाइनमार्फत लाल सागरस्थित निर्यात टर्मिनलतर्फ पठाइरहेको छ । यसले हालसम्म विश्व तेल बजारमा केही राहत दिएको छ। तर यदि बाब अल–मन्देब पनि बन्द भयो भने त्यो वैकल्पिक मार्गसमेत अवरुद्ध हुनेछ र विश्वव्यापी तेल आपूर्ति संकट अझ गहिरिने विश्लेषकहरूको चेतावनी छ । (सीएनबीसीबाट अनुदित तथा सम्पादित)  

कङ्गोमा इबोलाबाट मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

काठमाडौं । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा ९३० पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शनिबारसम्म देशभर दुई हजार ३४४ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्र ३७ जनाको मृत्यु भएको छ, जुन एकै दिनमा भएको उच्च मृत्युमध्ये एक हो । पूर्वी कङ्गोमा गत मे १५ मा घोषणा गरिएको यो इबोला प्रकोप हालसम्मकै तीव्रगतिमा फैलिएको प्रकोप भएको अधिकारीले बताएका छन् । यसपटक फैलिएको ‘बुन्डिबुग्यो’ प्रजातिको इबोला भाइरस अन्य प्रकारको तुलनामा कम देखिने भए पनि यसविरुद्ध हालसम्म स्वीकृत खोप वा उपचार विधि उपलब्ध छैन । सबैभन्दा बढी प्रभावित इतुरी प्रान्तमा सुरक्षा चुनौतीका कारण रोग नियन्त्रण तथा उपचारका प्रयास प्रभावित भइरहेका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार प्रकोप घोषणा भएयता स्वास्थ्य केन्द्र र उपचार टोलीमाथि कम्तीमा १२ वटा आक्रमण भएका छन् । यसैबीच, तलब नपाएको विरोधमा केही स्वास्थ्यकर्मीले काम छाडेका छन् । भाइरस सङ्क्रमणका कारण कम्तीमा ३६ जना स्वास्थ्यकर्मीको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल ७२४ जना सङ्क्रमित आइसोलेसन तथा अस्पतालमा उपचाररत छन् । प्रभावित क्षेत्रमा रोग नियन्त्रण, सङ्क्रमितको उपचार र निगरानीका प्रयासलाई तीव्र पारिएको जनाइएको छ ।