लेबनानमा इजरायली आक्रमणमा परी ६ जनाको मृत्यु
काठमाडौं । युद्धविराम सम्झौताको बाबजुद दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा छ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको सरकारी मिडियाले जनाएको छ । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले सोमबार राति भएको इजरायली आक्रमणले राजधानी बेरुतबाट ९५ किलोमिटर टाढाको सहर कफर डोनिनको एउटा घरमा प्रहार गरेको रिपोर्ट गरेको छ । घाइतेहरूलाई उपचारको लागि तटीय सहर टायरको अस्पतालमा लगिएको एनएनएले जनाएको छ । इजरायल र लेबनानबीच अप्रिल –१७ मा युद्धविराम भएको भए पनि इजरायलले दक्षिण लेबनानमा आफ्नो आक्रमणलाई तीव्र बनाएको जनाइएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार लेबनान गत मार्च –२ मा मध्यपूर्व युद्धमा तानिए पछि दुइ हजार ८०० भन्दा बढी मानिस मारिएका छन् । लेबनानी नेताहरूले हाल बेरुतका लागि अमेरिकी राजदूतलाई इजरायललाई युद्धविरामको समयमा आक्रमण रोक्न दबाब दिन आग्रह गरेका छन् भने इजरायलले पनि गोली हानाहान भएको रिपोर्ट गरेको छ । इजरायली सेनाले सप्ताहन्तको समयमा लेबनानसँगको सीमा नजिकैको लडाइँमा आफ्नो एक जना सैनिक मारिएको उल्लेख गर्दै युद्ध सुरु भए देखि १८ जना सैनिक र एक जना नागरिकको मृत्यु भएको बताएको छ । यसै बीच मंगलबार एनएनएले अन्य दक्षिणी लेबनानी सहरहरूमा पनि नजिकै इजरायली आक्रमण भएको रिपोर्ट गरेको छ भने इजरायली सेनाले पूर्वी लेबनानको बेका उपत्यकाको सोहमोर सहर खाली गर्न आदेश दिएको छ ।
फिलिपिन्सकी उपराष्ट्रपति सारा डुतेर्तेविरुद्ध महाभियोग लगाइने
काठमाडौं । फिलिपिन्सका सांसदहरूले सोमबार उपराष्ट्रपति सारा डुतेर्तेविरुद्ध महाभियोग लगाउने प्रस्तावहरू सिनेटमा पठाउने सम्बन्धमा भएको मतदानमा बहुमत सदस्यले पक्षमा मतदान गरेका छन् । यो महाभियोग प्रस्ताव दर्ताका लागि पूर्वअभ्यास हो । उपराष्ट्रपतिले सन् २०२८ मा गर्ने गरी घोषणा गरेको राष्ट्रपतीय निर्वाचनमाथि प्रश्न गर्दै महाभियोग प्रस्तावको तयारी गरिएको हो । महाअभियोगका धाराहरूमा पूर्व राष्ट्रपति रोड्रिगो डुतेर्तेकी छोरीमाथि भ्रष्टाचार, घूसखोरी र पूर्व सहयोगी फर्डिनान्ड मार्कोसविरुद्ध भ्रष्टाचारको आरोप लगाइएको छ । फिलिपिन्सको संविधानअनुसार, महाभियोगमाथि सिनेटमा सुनुवाइ सुरु हुन्छ । सुनुवाईसँगै डुतेर्तेको पद स्वतः निलम्बित हुन्छ भने उनी आरोपउपर दोषी ठहरिएमा उनको पद स्थायीरूपमा गुम्नुका साथै कुनै पनि निर्वाचित पदका लागि प्रतिस्पर्धा गर्न उनी अयोग्य बन्नेछिन् ।
चरमपन्थी हमलामा ज्यान गुमाउने पाकिस्तानी प्रहरीको संख्या १५ पुग्यो
पाकिस्तानको खैबर पख्तुनख्व प्रान्तअन्तर्गत बन्नू जिल्लामा रहेको एक प्रहरी चौकीमा भएको चरमपन्थी हमलामा ज्यान गुमाउने प्रहरीको संख्या बढेर १५ पुगेको छ । बन्नू मेडिकल एन्ड टिचिङ इन्स्टिच्युटका प्रवक्ता नोमान खानले मृतकको संख्या पुष्टि गरेका हुन् । उनका अनुसार ज्यान गुमाउने सबै व्यक्ति प्रहरी कर्मचारी थिए । यसका साथै तीन जना घाइतेलाई पनि अस्पताल ल्याइएको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको बताइएको छ । यसअघि बन्नू रेञ्ज प्रहरी अधिकारी सज्जाद खानको कार्यालयद्वारा जारी विज्ञप्तिमा फतेह खेल चौकीको भवनको भग्नावशेषबाट १२ जना प्रहरीकर्मीको शव निकालिएको तथा तीन जनालाई जीवितै उद्धार गरिएको उल्लेख गरिएको थियो । समाचार एजेन्सी रोयटर्सका अनुसार बन्नू शहरको बाहिरी क्षेत्रमा रहेको प्रहरी चौकीमा विस्फोटक पदार्थले भरिएको सवारीसाधन ठोक्किएको थियो । एक सुरक्षा अधिकारीले विस्फोटपछि चरमपन्थीहरू चौकीभित्र प्रवेश गरी प्रहरीमाथि गोली प्रहार गरेको दाबी पनि गरेका छन् ।