विश्वका वायुसेवा कम्पनीले २०२४ मा ३० अर्ब डलर आम्दानी गर्ने

दुबई । विश्वका वायुसेवा कम्पनी (एयरलाइन्स) ले सन् २०२४ मा करिब पाँच अर्ब यात्रु बोक्ने अपेक्षा गरिएकाे र यो संख्या कोभिड-१९ महामारी अघिको उच्च रेकर्डभन्दा पनि बढी भएको अन्तर्राष्ट्रिय हवाइ यातायात संघ (आईएटीए) ले सोमबार जनाएको छ । आईएटीएले यस वर्ष विश्वका वायुसेवा कम्पनीहरूले ३० अर्ब अमेरिकी डलर आम्दानी गर्ने अपेक्षा गरेको छ । आईएटीएका महानिर्देशक विली वाल्शले दुबईमा उक्त संस्थाको वार्षिक साधारण सभामा भने, ‘अपेक्षित लाभ ‘हालको गहिरो महामारी घाटा’ लाई ध्यानमा राख्दै एक ठूलो उपलब्धि हो, व्यक्ति र अर्थव्यवस्थाको महत्वाकांक्षा र समृद्धिको लागि उड्डयन निःसन्देह पनि महत्त्वपूर्ण छ, एयरलाइन्सको नाफालाई मजबुत बनाउनु र वित्तीय लचिलोपन बढाउनु महत्वपूर्ण छ ।’ विश्वभरिका ३०० भन्दा बढी एयरलाइन्सहरू समावेश रहेको आईएटीएले वैश्विक ट्राफिकको ८३ प्रतिशतको लागि लेखांकन गर्छ । आईएटीएले संयुक्त अरब इमिरेट्सको वित्तीय हब दुबईमा संस्थाको ८०औं वार्षिक साधारण सभा आयोजित गर्दैछ । बलियो आँकडाको बाबजुद पार्टपुर्जाहरूको अभाव र श्रम र जलवायु परिवर्तनसँग सम्बन्धित चुनौतीहरूको कारण एयरलाइन्सहरूले लागतमा तीव्र वृद्धिको सामना गरिरहेका छन् । आईएटीएका अनुसार यो वर्ष उनीहरूको कुल खर्च पनि ९.४ प्रतिशतले बढेर ९३६ अर्ब डलर पुग्ने अनुमान गरिएको छ । एयरलाइन्स उद्योगको कुल आम्दानी यस वर्ष करिब १० प्रतिशतले बढेर ९९६ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको आईएटीएले जनाएको छ । एजेन्सी

इन्डोनेसियामा ज्वालामुखी विस्फोट

जकार्ता । पूर्वी इन्डोनेसियामा आइतबार ज्वालामुखी विस्फोट भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । विस्फोटपछि सात किलोमिटर माथि आकाशमा खरानीले बादलजस्तै ढाकेको सामाजिक सञ्जाल र स्थानीय सञ्चारमाध्यमद्वारा सार्वजनिक तस्वीर तथा भिडियोमा देख्न सकिन्छ । यो ज्वालामुखीबाट यस वर्षको सुरुदेखि अहिलेसम्म भएका करिब १०० वटा विस्फोटको पछिल्लो घटना हो । उत्तरी मालुकु प्रान्तको हलमहेरा टापुमा रहेको माउन्ट इबुमा स्थानीय समयअनुसार दिउँसो १२ः४५ बजे विस्फोट हुँदा खरानीको बाक्लो बादल हावाले धेरै माथि र टाढासम्म पुगेको भूगर्भ विभागका प्रमुख मोहम्मद वाफिदले बताए । मे महिनाको मध्यदेखि देशको उच्च सतर्कता तहमा रहेको ज्वालामुखीबाट निस्केको विस्फोट ६ मिनेट १३ सेकेन्डसम्म चलेको उनले बताए । राष्ट्रिय विपद् न्यूनीकरण एजेन्सी (बीएनपीबी) का प्रवक्ता अब्दुल मुहारीले आइतबार एक विज्ञप्ति जारी गर्दै ज्वालामुखीको निगरानी केन्द्र र त्यसको छेउमा रहेको उद्धार गृहतर्फ हावाले खरानी पुर्‍याएको तर उद्धार गरिएका व्यक्तिमा कुनै त्रास नरहेको उनले बताएका छन् । ‘मानिसहरूलाई बाहिरी गतिविधिबाट जोगिन र घरभित्र आश्रय लिन सल्लाह दिइएको छ भने बालुवा मिसिएको खरानी अझै पनि वर्षा भइरहेको छ,’ अब्दुलले बताए । उनले श्वासप्रश्वासमा समस्या आउन नदिन मास्कको प्रयोग गर्न आग्रह गरे । मे १६ मा ज्वालामुखीलाई उच्च सतर्कता तहमा पुर्‍याइएपछि अधिकारीहरूले स्थानीय र पर्यटकहरूलाई ज्वालामुखीको केन्द्र चारदेखि सात किलोमिटर (२.५–४.३ माइल) को बीचमा बहिष्करण क्षेत्रमा प्रवेश नगर्न चेतावनी दिएका थिए । स्थानीय विपद् न्यूनीकरण निकायको तथ्यांकअनुसार अधिकारीहरूले त्यसको केही समयपछि नै त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सुरु गरेका थिए भने आइतबारसम्म दुई हजार ५०० भन्दा बढी मानिसहरूलाई आश्रयस्थलमा सारिएको थियो । इबु इन्डोनेसियाको सबैभन्दा सक्रिय ज्वालामुखी स्थलमध्ये एक हो । यहाँ गत वर्ष २१ हजारभन्दा बढी विस्फोट भएका थिए । जियोलोजी एजेन्सीका अनुसार इबुमा सन् २०२३ मा दैनिक औसत ५८ वटा विस्फोट भएका थिए । इन्डोनेसिया, एक विशाल द्वीपसमूह राष्ट्र, प्रशान्त ‘रिंग अफ फायर’ रहेको कारण बारम्बार भूकम्पीय र ज्वालामुखी गतिविधिको सामना गर्नुपर्छ । गत महिना उत्तरी सुलावेसी प्रान्तको माउन्ट रुआङमा आधा दर्जनभन्दा बढी पटक विस्फोट हुँदा आसपासका टापुका हजारौं बासिन्दालाई अन्यत्र जान बाध्य बनाएको थियो ।

उत्तर कोरियाबाट फोहोर भरिएका थप ६०० बेलुन दक्षिणतर्फ पठाइयो

सियोल । उत्तर कोरियाले करिब ६०० फोहोरले भरिएका बेलुनहरू सीमामा पठाएको सियोलको सेनाले आइतबार बताएको छ । सुरक्षाकर्मीहरूले चुरोटका बट्टादेखी प्लास्टिकसम्म रहेको उक्त फोहोरको बेलुन सङ्कलन गरिरहेका छन् । ‘उत्तर कोरियाले शनिबार साँझ ८ बजे देखि दक्षिण कोरियातर्फ पुनः फोहोरका बेलुनहरू पठाउन सुरु गरेको हो’, सियोलको ज्वाइन्ट चिफ्स अफ स्टाफ (जेसिएफ) ले एक विज्ञप्तिमा बताएको छ । आइतबार बिहान करिब १० बजे सम्म प्रति घण्टा लगभग बीस देखि पचासका दरले लगभग ६०० बेलुनहरू हावामा उडिरहेको पहिचान गरिएको थियो । बेलुनहरू राजधानी सियोल र ग्योन्गी छेउछाउका क्षेत्रसहित दक्षिण कोरियाको उत्तरी प्रान्तहरूमा अवतरण गरिरहेका छन् । यो सामूहिक रूपमा दक्षिणको लगभग आधा जनसंख्या बसोबार गर्ने क्षेत्र हो । उत्तर कोरियाले यस हप्ताको सुरुबाट फोहोर बोकेका सयौं बेलुनहरू दक्षिणतर्फ पठाउन थालेको हो । सियोलले प्योङहाङको उक्त कार्य तुच्छ भएको भन्दै यदि यस्तो तर्कहीन उक्साहट नरोके कडा प्रतिकारको चेतावनी दिएको छ। ‘हाम्रो सेनाले बेलुनको छोडिएका स्थानहरुबाट निगरानी गरिरहेको छ र सार्वजनिक सुरक्षालाई प्राथमिकता दिँदै खसेका बेलुनहरु सङ्कलन गर्दैछ’, उत्तर कोरियाले मगंलबारदेखि करिब ९०० फोहोर भरिएका बेलुन दक्षिणतर्फ पठाएकोमा कुनै खतरनाक पदार्थ फेला नपरेको जेसिएफले बताएको छ । रासस