दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम

  भारत । भारतको राजधानी नयाँ दिल्लीमा तापक्रम अहिलेसम्मको उच्च अर्थात् ४९.९ डिग्री सेल्सियस (१२१.८ फरेनहाइट) पुगेको छ । तापक्रम वृद्धिसँगै पानीको अभाव हुन सक्ने चेतावनी अधिकारीहरूले दिएका छन् । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले मंगलबार नरेला र मुङ्गेशपुरस्थित दिल्लीका दुई उपनगरीय क्षेत्रमा उच्च तापक्रम मापन गरेको हो । मौसम विभागका अनुसार यहाँको तापक्रम अपेक्षाभन्दा नौ डिग्री बढी रहेको छ । तीन करोडभन्दा बढी जनसङ्ख्या रहेको यस सहरमा बुधबार पनि यस्तै तापक्रम हुने पूर्वानुमान गरिएको छ र मानिसहरूलाई सतर्क रहन सूचना जारी गरिएको छ । सन् २०२२ को मे महिनामा दिल्लीको केही भागको तापक्रम ४९.२ डिग्री सेल्सियस (१२०.५ फरेनहाइट) पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा गर्मी याममा तापक्रम उच्च रहने भएपनि पछिल्ला बर्षहरूमा लामो र अत्यधिक गर्मी हुने गरेको छ । वर्षौंको वैज्ञानिक अनुसन्धानले जलवायु परिवर्तनका कारण गर्मी लामो हुने, बारम्बार हुने र तीव्र हुने गरेको जनाएको छ । खानेपानीको अभाव नयाँ दिल्लीका अधिकारीहरूले गर्मी बढेसँगै पानीका स्रोतहरू पनि घट्दै केही क्षेत्रमा आपूर्ति कटौती हुने र खानेपानीको अभाव हुनसक्ने चेतावनी दिएका छन् । भारतीय जल मन्त्री आतिशी मार्लेनाले पानीको अनावश्यक प्रयोग रोक्न ‘सामूहिक जिम्मेवारी’ लिन आह्वान गरेका छन् । ‘पानीको अभावको समस्या समाधान गर्न हामीले धेरै क्षेत्रमा पानीको आपूर्ति दिनको दुई पटकबाट घटाएर दिनमा एक पटक गर्ने जस्ता धेरै उपायहरू अपनाएका छौं,’ आतिशीले भने । उनले भने, ‘यसरी बचत गरिएको पानीलाई मिलाएर पानीको निकै अभाव भएका र दैनिक १५ देखि २० मिनेट मात्र पानी आपूर्ति क्षेत्रमा पुर्याइनेछ ।’ मौसम विज्ञान विभागले गर्मीले स्वास्थ्यमा विशेष गरी शिशुहरू, वृद्धहरू र दीर्घकालीन रोगहरू भएकाहरूको स्वास्थ्यमा असर पार्नसक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । धेरैले राजस्थान राज्यको तापक्रम ५०.५ डिग्री सेल्सियस मापन गरिएको र त्यहाँबाट आएको उष्ण लहरका कारण तापक्रम बढेको बताएका छन् । राजस्थानको मरुभूमि फलोदीमा सन् २०१६ मा ५१ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । पश्चिम बङ्गाल राज्य र उत्तरपूर्वी राज्य मिजोरममा आइतबार भारत र बङ्गलादेशमा आएको चक्रवात ‘रेमाल’बाट आएको आँधीबेहरी र भारी वर्षाका कारण ३८ जनाभन्दा बढीको मृत्यु भएको छ । बङ्गलादेशको मौसम विज्ञान विभागले यो चक्रवात ‘देशको इतिहासमा सबैभन्दा लामो मध्ये एक’ भएको बताएको छ । रासस

जापानका अनुसन्धानकर्ताले बनाए विश्वको पहिलो काठको उपग्रह निर्माण

जापान । जापानी अनुसन्धानकर्ताहरूले विश्वको पहिलो काठको उपग्रह बनाएका छन् । क्योटो विश्वविद्यालय र लगिङ कम्पनी सुमितोमो वन विज्ञान विभागका वैज्ञानिकहरूले बनाएको प्रयोगात्मक उपग्रहको प्रत्येक भाग मात्र दश सेन्टिमिटर रहेको छ । विकासकर्ताहरूले म्याग्नोलिया काठबाट बनेको लिग्नोस्याट नामक उपग्रह अर्को हप्ता अन्तरिक्ष एजेन्सी जाक्सालाई हस्तान्तरण गर्ने योजना बनाएका छन् । यसलाई सेप्टेम्बरमा केनेडी स्पेस सेन्टरबाट स्पेसएक्स रकेटद्वारा अन्तरिक्षमा पठाइनेछ । त्यहाँबाट उपग्रहलाई यसको शक्ति र स्थायित्व परीक्षण गर्न जापानी आईएसएस प्रयोग मोड्युलबाट प्रक्षेपण गरिनेछ । ‘उपग्रहले अनुसन्धानकर्तालाई तथ्याङ्क पठाउनेछ जसले दबाबका सङ्केत र उपग्रहले कतिसम्मको तापक्रम थेग्न सक्छ भनेर जाँच गर्न सक्छन्’, सुमितोमो वन विज्ञान विभागका प्रवक्ताले बुधबार भने । धातुबाट नबनेका उपग्रहहरू मुख्यधारमा रहनुपर्छ, अन्तरिक्ष यात्री र क्योटो विश्वविद्यालयका विशेष प्राध्यापक ताकाओ डोईले पत्रकार सम्मेलनमा भने । सिर्जनाकर्ताहरुले उपकरण वायुमण्डलमा पुनःप्रवेश गर्दा काठको सामग्री पूर्ण रूपमा जलेको हुने र यसका कारण उपग्रह पृथ्वीमा फर्कँदा हानिकारक धातुका कणहरु उत्पादन नहुने बताएका छन् । ‘यी धातुका कणले वातावरण र दूरसञ्चारमा नकारात्मक प्रभाव पार्न सक्छ,’ विकासकर्ताहरूले काठको उपग्रहको निर्माँण पूरा भएको घोषणा गर्ने क्रममा बताए । रासस

जापानको वाह्य सम्पति ३ ट्रिलियन अमेरिकी डलर पुग्यो

काठमाडौं । जापानको वाह्य सम्पति २०२३ मा रेकर्ड ४७१.३१ ट्रिलियन येन (३ ट्रिलियन अमेरिकी डलर) मा पुगेको छ । जुन एक वर्ष अघिको तुलनामा १२.२ प्रतिशतले बढेको हो । कमजोर येनले विदेशी स्टक, बन्ड र येन शर्तमा अन्य होल्डिङको मूल्य बढाएको कारण वाह्य सम्पती बढेको जनाइएको छ । यो संख्या लगातार छैटौं वर्ष बढ्दै जाँदा, जापानले येनको हिसावले लगातार ३३ औं वर्ष विश्वको सबैभन्दा ठूलो ऋणदाताको रूपमा आफ्नो स्थान कायम राखेको छ । त्यसपछि २०२३ को अन्त्यसम्म जर्मनी र चीन छन् । जापान सरकार, कम्पनीहरू र व्यक्तिगत लगानीकर्ताहरूको कुल वाह्य सम्पती ११.१ प्रतिशतले बढेर १,४८८.३४ ट्रिलियन येन पुगेको छ । जबकि वाह्य ऋण १०.६ प्रतिशतले बढेर १,०१७.०४ ट्रिलियन येन पुगेको मन्त्रालयले जनाएको छ ।