टाटा समूहको सम्पत्ति पाकिस्तानको जीडीपीभन्दा बढी
नयाँदिल्ली । टाटा ग्रुप अफ कम्पनीको कुल सम्पत्ति ३ खर्ब ६५ अर्ब अमेरिकी डलर पुगेको छ । यसले टाटालाई भारतको सबैभन्दा बलियो कम्पनी त बनाउँछ नै । साथै, यसको सम्पत्ति पाकिस्तानको कुल गार्हस्थ उत्पादन (जीडीपी) भन्दा पनि बढी छ । रिलायन्स समूहका प्रमुख मुकेश अम्बानी विश्वकै धनी व्यक्ति बनेका छन् वा अर्बपति व्यवसायी गौतम अडानीले उनलाई पछाडि छोडेका छन् भन्ने कुरा तपाईंले प्रायः सुन्नुभएको होला । तर, यसमा तपाईंले टाटाको धेरै चर्चा सुन्नुहुन्न । चियादेखि ज्यागुअर ल्यान्ड रोभर कारसम्म र नुन बनाउनेदेखि विमान उडाउने र होटल समूह चलाउनेसम्मका विभिन्न क्षेत्रमा टाटाको प्रभाव देखिन्छ । यस वर्ष फेब्रुअरीमा टाटा समूहको बजार पुँजीकरण करिब ३ खर्ब ६५ अर्ब डलर थियो, जबकि हालै अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० ले पाकिस्तानको जीडीपी करिब ३ खर्ब ४१ अर्ब डलर हुने अनुमान गरेको छ । यदि टाटा कन्सल्टेन्सी सर्भिसको मात्रै कुरा गर्ने हो भने यसको सम्पत्ति १ खर्ब ७० अर्ब डलर छ, जुन भारतको दोस्रो ठूलो कम्पनी हो। यसको सम्पत्ति पाकिस्तानको अर्थतन्त्रको झन्डै आधा हो । टाटा कम्पनीको स्थापना टाटालाई यहाँसम्म आइपुग्न १ सय ५० वर्षभन्दा बढी समय लाग्यो । तर, धेरै क्षेत्रमा यो भारतको पहिलो कम्पनी भएको छ । ८ फेब्रुअरी, १९११ मा लोनावाला बाँध शिलान्यास गर्दा टाटा समूहका प्रमुख सर दोराबजी टाटाले सन् १८६८ मा यस कम्पनीको जग बसाल्ने आफ्ना पिता जमशेदजी टाटाको सोचको बारेमा कुरा गरेका थिए । यो अब १० भर्टिकल्ससँगै ३० कम्पनीहरूको एक समूह हो । यसले ६ महादेशका १ सयभन्दा बढी देशमा आफ्नो सेवा प्रदान गर्दै आएको छ । दोराबजी टाटाले भनेका थिए, ‘मेरा बुबाका लागि धन कमाउनु एउटा सोचाइ थियो । उनले यो देशका जनताको औद्योगिक र वैचारिक अवस्था सुधारलाई प्राथमिकता दिएका छन् । उनले आफ्नो जीवनमा समय–समयमा सुरु गरेका विभिन्न संस्थाहरूको वास्तविक उद्देश्य ती महत्त्वपूर्ण क्षेत्रहरूको विकास थियो ।’ कम्पनीको वेबसाइटमा तिनीहरूको मिशनका रूपमा यी कम्पनीहरू विश्वभरिका विभिन्न समुदायको जीवनको गुणस्तर सुधार गर्न स्थापना गरिएको उल्लेख गरिएको छ । भनिन्छ, उन्नाइसौं शताब्दीको अन्त्यमा टाटाका संस्थापक जमशेदजी टाटालाई बम्बईको महँगो होटेलमा उनको रङ–रूपका कारण प्रवेश गर्न दिइएको थिएन । यो घटनाले जमशेदजीमा गहिरो प्रभाव पारेको थियो । उनले यो होटलभन्दा राम्रो होटल बनाउने निर्णय गरे जसमा सबै भारतीय नागरिकलाई पनि आउन र जान दिइने छ । पहिलो लक्जरी होटल सन् १९०३ मा मुम्बईको समुद्री किनारमा ताज होटल स्थापना भएको थियो । यो सहरको पहिलो भवन थियो जसमा बिजुली, अमेरिकी फ्यान र जर्मन लिफ्टजस्ता सुविधा उपलब्ध गराइएको थियो । यसमा अङ्ग्रेज पकाउने काम गर्थे । अहिले अमेरिका र बेलायतसहित नौ देशमा यसका शाखा छन् । जमशेदजीको जन्म सन् १८३९ मा फारसी परिवारमा भएको थियो । उनका धेरै पुर्खाहरू फारसी धर्मका गुरु थिए। उनले कपास, चिया, तामा, पित्तल र अफिममा धेरै पैसा कमाए, जसको व्यापार त्यतिबेला अवैध थिएन । उनी एक विश्वयात्री थिए र नयाँ आविष्कारबाट धेरै प्रभावित हुन्थे । बेलायत भ्रमण क्रममा ल्यांकशायरमा कपास मिलहरू देखेपछि उनले महसुस गरे कि भारतले आफ्नो औपनिवेशिक मालिकसँग प्रतिस्पर्धा गर्न सक्छ । पहिलो कपडा कम्पनी सन् १८७७ मा जमशेदजीले महारानी मिलको नामबाट देशको पहिलो कपडा मिल खोलेका थिए । महारानी भिक्टोरियालाई भारतको महारानीको रूपमा राज्याभिषेक भएको दिनमा महारानी मिलको उद्घाटन भएको थियो । जमशेदजीको भारतको विकासको दृष्टिकोण स्वदेशी शब्दबाट बुझ्न सकिन्छ, जुन उन्नाइसौं शताब्दीको प्रारम्भमा भारतको स्वतन्त्रता आन्दोलनको एक महत्वपूर्ण हिस्सा थियो । उनले भनेका थिए, ‘समुदायको विकासका लागि सबैभन्दा कमजोर र असहाय व्यक्तिलाई सहयोग गर्नुको सट्टा सबैभन्दा सक्षम र प्रतिभाशाली व्यक्तिहरूले आफ्नो देशको सेवा गर्न सकोस् भनेर सहयोग गर्नु आवश्यक छ।’ पहिलो औद्योगिक सहर उनको सबैभन्दा ठूलो सपना स्टील फ्याक्ट्री बनाउने थियो, तर यो सपना साकार हुन नपाउँदै उनको निधन भयो । त्यसपछि उनका छोरा दोराबजीले उनको मृत्युपछि बुबाको सपना पूरा गरे र टाटा स्टीलले १९०७ मा उत्पादन सुरु गर्यो । यसरी भारत एसियाको पहिलो देश बन्यो, जहाँ स्टिल कारखाना निर्माण भयो । यस कारखानाको नजिकै एउटा सहर स्थापना भएको थियो जसको नाम जमशेदपुर थियो। आज यो भारतको स्टील सिटी भनेर चिनिन्छ । जमशेदले आफ्नो छोरा दोराबलाई पत्र लेखेर औद्योगिक सहर स्थापना गर्न आग्रह गरेका थिए। उनले लेखेका थिए, ‘यो सहरका सडक चौडा हुनुपर्छ । रुख, खेल मैदान, पार्क र धार्मिक स्थलहरूका लागि पनि ठाउँ हुनुपर्छ ।’ टाटा आफैंले आफ्ना कर्मचारीहरूको कल्याणका लागि कुनै पनि कानुनी प्रतिबन्ध बिना नै १८७७ मा निवृत्तिभरण, १९१२ मा आठ घण्टा काम गर्ने समय र १९२१ मा आमा बन्ने महिलाहरूलाई छुटसहितका नीतिहरू बनाए । पहिलो हवाई सेवा टाटा परिवारका अर्का सदस्य जहाँगीर टाटा १९३८ मा ३४ वर्षको उमेरमा कम्पनीको अध्यक्ष बने र करिब आधा शताब्दीसम्म यस पदमा रहे । उनी उद्योगपति बन्नुभन्दा पाइलट बन्नमा बढी चासो राख्थे, जुन इच्छा उनले लुइस ब्लेराइटलाई भेटेपछि जन्मेको थियो । जो अंग्रेजी च्यानलमा उडान गर्ने पहिलो पाइलट थिए । जेआरडी बम्बे फ्लाइङ क्लबबाट भारतमा पाइलट प्रशिक्षण लिने पहिलो व्यक्ति थिए। उनको एयर लाइसेन्समा नम्बर १ थियो, जसमा उनी धेरै गर्व गर्थे। उनले भारतको पहिलो हवाई मेल सेवा सुरु गरे । त्यो उडानले प्रायजसो मेलसँगै यात्रुहरू बोक्थ्यो । पछि यो हुलाक सेवा भारतको पहिलो एयरलाइन्स ‘टाटा एयरलाइन्स’ बन्यो, जसको नाम केही समय पछि ‘एयर इन्डिया’ राखियो । पछि ‘एयर इन्डिया सरकारले आफ्नो स्वामित्वमा लिएको थियो, तर फेरि टाटाले त्यो कम्पनी सरकारबाट किनेको छ । एयर इन्डिया फिर्ता लिएपछि टाटा सन्ससँग अब तीनवटा एयरलाइन्स छन् । एयर इन्डिया बाहेक ‘एयर भिस्टारा’ छ जसमा तिनीहरूको सिंगापुर एयरलाइन्ससँग साझेदारी छ। उनको अर्को कम्पनी ‘एयर एशिया’ हो जसको मलेसियासँग साझेदारी छ । एयर इन्डियाको स्वामित्व फिर्ता लिने सम्बन्धमा टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरले अक्टोबर २०२१ मा एक विज्ञप्ति जारी गर्दै यसलाई ‘ऐतिहासिक पल’ भनी देशको प्रमुख एयरलाइन्सको मालिक बन्न पाउनु गर्वको कुरा भएको बताएका थिए । चन्द्रशेखरले पनि आफ्नो बयानमा भनेका थिए, ‘भारतले गर्व गर्न सक्ने अन्तर्राष्ट्रियस्तरको एयरलाइन्स सञ्चालन गर्ने हाम्रो प्रयास हुनेछ। महाराजा ९एयर इण्डियाको लोगो० फिर्ता हुनु जेआरडी टाटालाई साँचो श्रद्धाञ्जली हुनेछ। जसले भारतमा हवाई सेवा सुरु गरे ।’ कम्प्युटरको दुनियाँमा पाइला यसअघि भारत सरकारले टाटा समूहका प्रमुख जेआरडी टाटालाई एयर इन्डियाको अध्यक्ष बनाएको थियो र उनी सन् १९७८ सम्म यो पदमा रहे । त्यसपछि भारत सरकारका अधिकारीहरूले त्यो पद कब्जा गर्न थाले। सन् १९६८ मा उनले आफ्नो परिवारको परम्परालाई निरन्तरता दिए र त्यसबेला विकसित देशहरूमा मात्र पाइने व्यवसाय सुरु गरे। यो व्यवसाय कम्प्युटरसँग सम्बन्धित थियो । ‘टाटा कन्सल्टेन्सी सर्भिसेज’ वा टीसीएस नामको यो कम्पनीले विश्वभरि सफ्टवेयर आपूर्ति गर्छ। हाल यो टाटा समूहको सबैभन्दा नाफा कमाउने कम्पनी हो । १९९१ मा उनका एक टाढाका नातेदार, रतन टाटाले कम्पनीको लगाम लिए र उनको नेतृत्वमा टाटाले संसारभरि आफ्नो व्यापार विस्तार गर्यो। टाटाले टेटली टी, एआईजी इन्स्योरेन्स कम्पनी, बोस्टनमा रिट्ज कार्लटन, देवुको हेभी भेइकल म्यानुफ्याक्चरिङ युनिट र कोरस स्टिल युरोप जस्ता कम्पनीहरू किनेका थिए । टाटाको सफलताको रहस्य टाटा सन्स टाटा कम्पनीहरूको मूल लगानी होल्डिङ कम्पनी र प्रवर्द्धक हो । टाटा सन्सको ६६ प्रतिशत इक्विटी सेयर पुँजी शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना र कला र संस्कृतिका क्षेत्रमा सहयोग गर्ने समाजसेवीहरूको स्वामित्वमा छ । टाटा कम्पनीले हालसम्म कम्पनीको सम्पत्तिको तथ्यांक सार्वजनिक नगरे पनि जुलाई ३१, २०२३ सम्म आफ्नो सम्पत्ति ३ खबृ डलर रहेको घोषणा गरेको थियो र कम्पनीमा विश्वभरि १० लाखभन्दा बढी कर्मचारी काम गर्ने बताएको थियो । कम्पनीका अनुसार टाटा कम्पनी वा इन्टरप्राइजले आफ्नो सञ्चालक समितिको नेतृत्व र सुपरीवेक्षणमा स्वतन्त्र रूपमा सञ्चालन गरिरहेको छ । टाटाको अभूतपूर्व सफलताबारे आर्थिक विज्ञ शंकर अय्यरले भने, ‘अम्बानी वा अडानीको नाम आउँछ किनभने तिनीहरूका कम्पनीहरू व्यक्ति हुन्, जबकि टाटा विभिन्न कम्पनीहरूको समूह हो र एक ट्रस्टअन्तर्गत सञ्चालित छ। त्यसैले यो त्यसरी चर्चा हुँदैन ।’ उर्जा क्षेत्रको कम्पनी जीई इन्डियामा अल्स्टम इन्डियाका पूर्वप्रबन्ध निर्देशक र हाल ह्योसुङ इन्डिया लिमिटेडका प्रबन्ध निर्देशक नागेश तलवानीले भने– टाटाको वृद्धिको मुख्य कारण भनेको नैतिक, निष्पक्ष र पारदर्शी प्रणाली हो जसले कर्मचारीहरूसँग बलियो सम्बन्ध सिर्जना गर्छ । बीबीसी
अफगानिस्तानको कृषि क्षेत्रमा ३० करोड अमेरिकी डलर विनियोजन
काबुल । युद्धग्रस्त अफगानिस्तानमा कृषि क्षेत्रको विकास गर्न कुल २.२ अर्ब अफगानी (करिब ३० करोड अमेरिकी डलर) विनियोजन गरिएको छ । कृषि, सिँचाइ र पशुधन मन्त्रालयले आइतबार यसबारे जनाएको छ। कृषि, सिँचाइ तथा पशुपक्षी कार्यवाहक मन्त्री मौलवी अत्तउल्लाह ओमारीको अध्यक्षतामा बसेको बैठकले गरिब मुलुकमा कृषिको विकास गर्ने प्रयासस्वरुूप उक्त निर्णय गरेको बताइएको छ । देशमा कृषि उत्पादनको प्रवर्द्धनका लागि किसान, पशुपालन र कृषि व्यवसायलाई सहयोग गर्ने सरकारी स्वामित्वको वित्तीय संस्था कृषि विकास कोष (एडिएफ) को नवौं अधिवेशनले यस्तो निर्णय गरेको हो । सहायता एजेन्सीहरूका अनुसार अफगानिस्तानमा करिब १ करोड ६० लाख मानिसहरू खाद्य असुरक्षाको सामना गरिरहेका छन्। अफगानिस्तानलाई वार्षिक ६.५ मिलियन टन गहुँ आवश्यक पर्ने र यस वर्ष अहिलेसम्म ५० लाख टन गहुँको उत्पादन भएको बताइएको छ । एजेन्सी
जापानले भूकम्प पीडितका लागि थप ६६ करोड डलर खर्च गर्ने
जापान । जापानले भूकम्पले क्षति पुर्याएका क्षेत्रको पुनः निर्माणका लागि थप ६६ करोड अमेरिकी डलर खर्च गर्ने योजना सार्वजनिक गरेको छ । जापानका प्रधानमन्त्री प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पले क्षति पुर्याएका क्षेत्रको पुनःनिर्माणका उक्त रकम खर्च गर्ने बताएका छन् । उनले शनिबार भूकम्प प्रभावित क्षेत्रको निरीक्षणपछि नयाँ आर्थिक सहायताको घोषणा गरेका हुन् । सन् २०२४ जनवरी १ मा गएको ७.५ म्याग्नीच्यूडको भूकम्प र त्यसपछिका पराकम्पनले जापानको समुद्री तटमा रहेको इशिकावा क्षेत्रको केही भागलाई तहसनहस बनाएको थियो । भूकम्पका कारण धेरै भवनहरू र सडकहरू भत्किएका थिए भने विशाल आगलागी समेत भएको थियो । भूकम्पमा परी अहिलेसम्म २४१ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १० हजार भन्दा बढी मानिसहरू शिविर र होटलमा शरण लिइरहेका छन्, र इशिकावाका केही भागहरूमा अझै पनि खानेपानीको सेवा सहज हुनसकेको छैन । ‘अस्थायी आश्रयस्थलमा बस्ने अवस्थामा सुधार भइरहेको छ, तर म यो कुरा मनमा राख्नेछु कि वास्तविकता पहिलेजस्तै कठिन छ,’ किशिदाले सबैभन्दा बढी प्रभावित शहर वाजिमामा पत्रकारहरूसँग भने । ‘निरीक्षणले ‘थप सहयोग प्रदान गर्ने दिशामा काम गर्ने सरकारको दृढतालाई पुनः पुष्टि गरेको छ’, उनले भने । किशिदाले चालू आर्थिक वर्षको सञ्चित कोषबाट करिब १०० अर्ब येन (६६ करोड अमेरिकी डलर) को अतिरिक्त खर्चलाई आगामी दिनमा आफ्नो क्याबिनेटले अनुमोदन गर्ने बताए । यो नयाँ वर्षको दिनको भूकम्पबाट पुनरुत्थानको प्रयासका लागि आपतकालीन कोषको तेस्रो विनियोजन हो, जुन रकम अब कुल २६० अर्ब येन (१.७ अर्ब डलर) भन्दा बढी हुने अपेक्षा गरिएको छ । किशिदाले भने, ‘नवीनतम कोषहरू अनुदान प्रणालीको वित्तपोषणको लागि डिजाइन गरिएको छ जसले युवा र बाल–पालन गर्ने परिवारहरूलाई उनीहरूको ध्वस्त घरहरू पुनर्निर्माण गर्न मद्दत गर्दछ ।’ प्रधानमन्त्री बिशिदाले पूर्वनिर्मित अस्थायी आवास निर्माणका लागि प्रयासलाई तीव्रता दिइने र वाजिमाको परम्परागत कलाकृति उद्योगका लागि थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । भूकम्पका कारण इशिकावा र दुई छिमेकी क्षेत्रमा १.१ ट्रिलियन येन (७.४ अर्ब डलर) देखि २.६ ट्रिलियन येन (१७.६ अर्ब डलर) को क्षति भएको सरकारी अनुमान छ । तर सन् २०११ मा उत्तरपूर्वी जापानमा गएको भूकम्प र सुनामीका कारण भएको १६.९ ट्रिलियन येनको क्षतिभन्दा पनि यो अनुमान निकै कम हो । त्यस विपत्तिमा लगभग १८ हजार ५०० मानिसहरू मृत्यु वा वेपत्ता भएका थिए । यसले फुकुशिमा आणविक केन्द्रमा विपत्ती निम्त्यायो, जुन चेर्नोबिलपछिको विश्वको सबैभन्दा खराब आणविक दुर्घटना थियो । रासस