श्रीलङ्काले जलवायु परिवर्तन विश्वविद्यालय स्थापना गर्ने

श्रीलङ्का । श्रीलङ्काले जलवायु परिवर्तन विश्वविद्यालय स्थापना गर्ने भएको छ । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले सन् २०२३ को संयुक्त राष्ट्रसंघ जलवायु परिवर्तन सम्मेलन (कोप२८) मा विभिन्न तीनवटा प्रस्ताव प्रस्तुत गर्नुहुने सरकारी सञ्चारमाध्यमले मङ्गलबार जनाएको छ। सरकारी स्वामित्वको डेली न्युजले उल्लेख गरे अनुसार श्रीलङ्काको मुख्य प्रस्ताव देशमा जलवायु परिवर्तन विश्वविद्यालय स्थापना गर्ने रहेको छ । त्यस्तै अन्य अन्य दुईवटा प्रस्तावहरूमा विकसित देशहरूको गतिविधिबाट असुविधा भएका विकासोन्मुख देशहरूका लागि जलवायु न्याय मञ्चको स्थापना र उष्णकटिबंधीय वर्षावनहरूको लागि ट्रपिकल बेल्ट फोरमको स्थापना गर्ने लगायतका विषय समावेश छन् । गैरसरकारी संस्थाको प्रायोजनमा श्रीलङ्काबाट २० जना युवा प्रतिनिधि सम्मेलनमा सहभागी हुने सरकारी सञ्चार माध्यमले जनाएको छ। रासस

जापानले चिकित्सकको प्रेस्क्रिप्सनबिना गर्भनिरोधक चक्की बिक्री गर्ने

जापान । जापानले परीक्षणका रूपमा चिकित्सकको प्रेस्क्रिप्सनबिना गर्भनिरोधक चक्की बिक्री गर्ने पाइलट प्रोजेक्ट सुरु गरेको छ । यद्यपि अभियानकर्ताहरूले उक्त प्रोजेक्टलाई अत्यन्त सानो भनेर आलोचना गर्दै सबै प्रतिबन्ध हटाउन आह्वान गरेका छन् । आपत्कालीन गर्भनिरोधक चक्की सामाजिकरूपमा रूढीवादी जापानमा चिकित्सकको प्रेस्क्रिप्सन र क्लिनिक वा फार्मेसीमा गएर मात्र उपलब्ध हुने भन्दै अधिकार समूहहरूले लामो समयदेखि गुनासो गर्दै आएका छन् । अभियानकर्ताहरूका अनुसार यसले धेरै महिला विशेषगरी बलात्कार पीडित र किशोरीहरूलाई टाढा राखेको छ । पाइलट प्रोजेक्टअन्तर्गत यौन सम्पर्कको ७२ घन्टाभित्र गर्भधारणलाई रोक्न सक्ने तर समयसँगै कम प्रभावकारी हुने चक्की एक सय ४५ फार्मेसीमा उपलब्ध गराउने तयारी छ । यद्यपि जापान फर्मास्युटिकल एसोसिएसनको वेबसाइटअनुसार महिलाहरूले अहिले पनि परिचयपत्र देखाउनुपर्ने र फर्मासिस्टको अगाडि औषधि लिनुपर्नेछ । चिकित्सकको प्रेस्क्रिप्सनबिना गर्भनिरोधक चक्की लिन न्यूनतम उमेर १६ छ तर १८ वर्षभन्दा कम उमेर भएकालाई बुबाआमा वा अभिभावक हुन आवश्यक छ । गर्भनिरोधक चक्कीको मूल्य सात हजारदेखि नौ हजार येन (४७ देखि ६१ अमेरिकी डलर) को बीच निर्धारण गरिएको छ । आपत्कालीन गर्भ निरोधकका लागि फार्मेसी परियोजना अभियान समूहले परीक्षण पर्याप्त नभएको बताएको छ । समूहका सह–अध्यक्ष असुका सोमेयाले भने, ‘फार्मेसीको छनोट अत्यन्तै कडा थियो, यो चक्की एक सय ४५ औषधि पसलमा मात्र उपलब्ध छ, यो जापानमा कूल ६० हजारमा शून्य दशमलव दुई प्रतिशत मात्र हो ।’ उनले बुबाआमाको सहमतिको आवश्यकताले नाबालिगहरूलाई ठूलो बाधा उत्पन्न गर्ने बताए । ‘यस्ता धेरै मानिस छन् जसले सम्भावित गर्भावस्थाका बारेमा आफ्ना बुबाआमासँग कुरा गर्न सक्तैनन्, उनीहरूलाई आफ्नो यौन अनुभव र गर्भावस्थाको चिन्ताका बारेमा बुबाआमासँग कुरा गर्न कठिन हुनेछ’, उनले भने, ‘हामीले फेरि पनि स्वास्थ्य मन्त्रालयसँग कुनै प्रतिबन्धबिना फार्मेसीहरूमा चक्की सम्पूर्णरूपमा र छिटो उपलब्ध गराउन अनुरोध गरेका छौँ ।’ पाइलट प्रोजेक्टले यो वर्ष स्वास्थ्य मन्त्रालयको सार्वजनिक परामर्शमा अत्यधिक सकारात्मक प्रतिक्रियालाई अनुसरण गरेको छ । परामर्शमा ४६ हजार उत्तरदाताहरूमध्ये ९७ प्रतिशतले पक्षमा राय दिएका छन् । विश्व स्वास्थ्य सङ्गठनले आपत्कालीन गर्भनिरोधक चक्की सबै राष्ट्रिय परिवार नियोजन कार्यक्रममा नियमितरूपमा समावेश गर्नुपर्ने आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । अभियानकर्ताहरूका अनुसार ९० भन्दा बढी मुलुकमा बिना प्रेस्क्रिप्सन गर्भनिरोधक चक्कीको बिक्रीलाई अनुमति दिएका छन् । रासस

जलवायु परिवर्तनले विश्व अर्थतन्त्रबाट अर्बौँ डलर कम गरिरहेको छ : प्रतिवेदन

पेरिस । जलवायु परिवर्तनले पहिले नै विश्व अर्थतन्त्रबाट अर्बौँ डलर कम गरिरहेको र यसबाट विकासोन्मुख मुलुकहरू सबैभन्दा बढी प्रभावित भएको कोप– २८ जलवायु शिखर सम्मेलनअघि मंगलबार प्रकाशित एउटा नयाँ प्रतिवेदनले बताएको छ । डेलावेयर विश्वविद्यालयको प्रतिवेदनले जनसंख्याको आधारमा मूल्यांकन गर्दा मानवजनित जलवायु परिवर्तनको असरले गत वर्ष विश्वव्यापी आर्थिक उत्पादन ६.३ प्रतिशतले घटेको अनुमान गरेको छ । उक्त आँकडाले कृषि र उत्पादनमा अवरोध र उच्च गर्मीबाट उत्पादकत्वमा कमीका साथै विश्वव्यापी व्यापार र लगानीमाथिको प्रभावजस्ता जलवायु परिवर्तनका दुवै प्रत्यक्ष परिणामहरूलाई प्रतिबिम्बित गर्दछ । ‘जलवायु परिवर्तनका कारण विश्व खर्बौँ डलरले गरिब भएको छ र यसको अधिकांंश भार गरिब मुलुकहरूमाथि परेको छ,’ डेलावेयर विश्वविद्यालयका मुख्य लेखक जेम्स राइजिङले भने, ‘यो जानकारीले धेरै मुलुकले सामना गरिरहेका चुनौती र तिनीहरूलाई सम्बोधन गर्न उनीहरूलाई तत्काल आवश्यक पर्ने सहयोगलाई स्पष्ट पार्न सक्छ भन्ने मलाई आशा छ ।’ औसत व्यक्तिले सामना गर्ने प्रभावहरूलाई ध्यानमा नराखी गणना गर्दा सन् २०२२ मा विश्वव्यापी कुल गार्हस्थ्य उत्पादन ९जिडिपी० को घाटा कुल गार्हस्थ्य उत्पादनको १।८ प्रतिशत अर्थात् करिब १५ खर्ब अमेरिकी डलर थियो । ‘ती दुई संख्याबीचको भिन्नताले कम आम्दानी भएका मुलुक र अत्यधिक गर्मी हुने क्षेत्रहरूमा केन्द्रित प्रभावहरूको असमान वितरणलाई प्रतिबिम्बित गर्दछ, यी मुलुकमा सामान्यतया उच्च जनसंख्या र कम जिडिपी छन्,’ लेखकहरूले एक विज्ञप्तिमा भनेका छन् । अतिकम विकसित मुलुकहरूमा जनसंख्या–भारित जिडिपीमा ८।३ प्रतिशतको नोक्सान भएको छ । यसबाट दक्षिणपूर्वी एसिया र दक्षिण अफ्रिकी मुलुकहरू विशेष रूपमा प्रभावित भएका छन् । यिनीहरूको जिडिपीमा क्रमशः १४।१ प्रतिशत र ११।२ प्रतिशतले नोक्सान भएको छ । अर्कोतर्फ केही विकसित मुलुकहरूले फाइदा लिएका छन् । कम जाडोका कारण युरोपमा गत वर्ष जिडिपीमा करिब पाँच प्रतिशतको शुद्ध लाभ देखिएको थियो । यद्यपि, तातो गृष्मकालले हल्का जाडोसँग सन्तुलन गर्ने भएकाले यस्तै प्रकारको लाभ ‘समाप्त हुने दिशातर्फ अग्रसर’ हुने भन्दै प्रतिवेदनमा चेतावनी दिइएको छ । गत वर्ष इजिप्टमा कोप– २७ शिखर सम्मेलनमा कमजोर मुलुकहरूलाई जलवायु प्रकोप र चरम मौसमबाट हुने ‘नोक्सान र क्षति’सँग सामना गर्न सहयोग गर्नका लागि एउटा समर्पित कोष स्थापना गर्न सहभागी मुलुकहरू सहमत भएका थिए । केही विवरणमा हालै सहमति भए पनि कोष र विशेष रूपमा यसमा कसले योगदान गर्ने र कति गर्ने भन्नेबारे बिहीबारदेखि सुरु हुने यो वर्षको कोप– २८ शिखर सम्मेलनमा छलफलको एउटा प्रमुख बिन्दु हुनेछ । प्रतिवेदनअनुसार पछिल्लो ३० वर्षमा न्यून र मध्यम आम्दानी भएका मुलुकहरूको पुँजी र जिडिपीमा संयुक्त रूपमा २१ खर्ब डलरको नोक्सान भएको छ । यो विकासोन्मुख विश्वको कुल २०२३ जिडिपीको करिब आधा हो । विश्लेषणमा गैरबजार घाटा र प्रभावहरूको गणना नगरिएको भन्दै लेखकहरूले नोक्सान ‘परम्परागत अनुमान’ भएको बताएका छन् । रासस