यी हुन् ‘रियल टाइम’ जीडीपी उच्च भएका पाँच देश
एजेन्सी । जब कोभिड–१९ महामारीले संसारभरि हमला गर्याे, तब विश्वको प्रगतिमा गम्भीर झट्का लाग्न पुग्यो । जसले संसारका सबै देशको विकास उल्टोपाल्टो हुन पुग्यो । सन् २०२१ मा बलियो सुधार देखिए पनि बढ्दो महँगी, ब्याजदर वृद्धि र ऋणका कारण २०२२ मा भारी समस्या देखिएको थियो । यिनै कारण विश्वभरि आर्थिक मन्दी चलिरहेको छ । यति हुँदा पनि केही देशले भने अर्थतन्त्रमा छलाङ नै मारेका छन् । यसैबीच संसारमा सबैभन्दा राम्रो अर्थतन्त्र भएका देशको ‘रियल टाइम’ सूची प्रकाशित भएको छ । उत्कृष्ट ३० अर्थतन्त्रमध्ये यहाँ पहिलोदेखि पाँचौं स्थानसम्म परेका देशबारे वर्णन गरिएको छ । ‘इन्साइडर मंकी’ नामक वेब पोर्टलले संसाभरिका देशको अर्थतन्त्रबारे तयार पारेको रियल टाइम सूचीले ती देशका कुल गार्हस्थ उत्पादन (जीडीपी) दरलाई मानक बनाएको छ । १. गुयना दक्षिण अमेरिकाको एक सानो देश गुयनाले तेल उत्पादन परिमाणमा व्यापक विस्तार गरेका कारण सन् २०२२ मा ६३.४ प्रतिशतको उच्च जीडीपी दर हासिल गरेको छ । यो दर संसारकै सबैभन्दा धेरै रहेको रेकर्ड हो । आगामी पाँच वर्षभित्र गुयनाले यो दर बढाउँदै १ सय १५ प्रतिशत पुर्याउने अनुमान गरिएको छ । २. पनामा दक्षिण अमेरिकाको मध्यभागमा पर्ने देश पनामाले लगानीकर्ताहरूलाई आकर्षित गर्न आफूलाई एक स्थिर अर्थतन्त्र भएको देशका रूपमा प्रस्तुत गर्दै आएको छ । गत वर्ष यसले ६ प्रतिशतको जीडीपी दर हासिल गरेको थियो । यो दर पछिल्लो दुई दशकयता ल्याटिन अमेरिककौ सबैभन्दा धेरै हो । तर, खानी विरोधी प्रदर्शनका कारण यसको अर्थतन्त्र प्रभावित हुन सक्छ । ३. संयुक्त राज्य अमेरिका अमेरिकाले चालू वर्ष २०२३ को तेस्रो त्रैमासिकमा अविश्वसनीय हिसाबमा ४.९ प्रतिशतको जीडीपी दर हासिल गरेको छ । संसारकै सबैभन्दा ठूलो र राम्रो अर्थतन्त्र भएको देश अमेरिकाबारे अर्को सकारात्मक खबर के छ भने केन्द्रीय बैंक फेडेरल रिजर्भले ब्याजदर स्थिर राखेका कारण यो सम्भव भएको हो । तर, यो दर अझै पनि २२ वर्षदेखिकै उच्च हो । ४. आइसल्याण्ड उत्तर युरोपेली देश आइल्याण्डले गत वर्ष ४.५० प्रतिशतको जीडीपी दर हासिल गरेको छ । यसको अर्थतन्त्र युरोप महादेशमै सबैभन्दा तीव्र गतिले अगाडि बढिरहेको छ । पछिल्लो १५ वर्षयता यसले उल्लेखनीय सुधार हासिल गर्दै आएको छ । तर, २००८ को विश्वव्यापी आर्थिक मन्दीले आइसल्याण्डको अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको थियो । त्यसयता यसको अर्थतन्त्र बिस्तारै ओरालो लाग्दै गयो र सार्वजनिक ऋणका सीमा उच्च तहमा पुगेको छ । ५. बारबाडोस क्यारेबियन देश बारबाडोसले २०२३ को नौ महिनामा ४.५० प्रतिशतको जीडीपी दर हासिल गरेको छ । यो दर २००६ यताकै सबैभन्दा धेरै हो । कोरोना महामारीबाट बाहिर आएपछि बारबाडोसको अर्थतन्त्र राम्रै लयमा फर्किएको छ ।
पाकिस्तानको महँगी नियन्त्रण बाहिर, ग्यासको मूल्य ११ सय प्रतिशत बढ्यो
एजेन्सी । अनेक प्रयास गर्दा पनि पाकिस्तानको अर्थतन्त्रमा सुधार आएको छैन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को सहयोग होस् वा काम चलाऊ सरकारको प्रयास होस्, उनीहरूले जनतालाई महँगी (मुद्रास्फीति) को भुंग्रोबाट बाहिर निकाल्न सकेका छैनन् । सरकारले जारी गरेको पछिल्लो तथ्यांक हेर्दा पाकिस्तानमा अल्पकालीन मुद्रास्फीति ४२ प्रतिशत उचाइमा पुगेको छ । ग्यासको मूल्य मुद्रास्फीतिले सबैभन्दा बढी मारमा परेको छ र गत वर्षको तुलनामा ११ सय प्रतिशतले महँगो भएको छ । डनको रिपोर्टअनुसार पाकिस्तानको छोटो अवधिको मुद्रास्फीति ४२ प्रतिशतमा रेकर्ड गरिएको छ, जुन पछिल्लो चार महिनामा सबैभन्दा उच्च हो। प्रत्येक हप्ता जारी हुने छोटो अवधिको मुद्रास्फीतिको तथ्याङ्कले पाकिस्तानको अवस्था अझै खराब रहेको स्पष्ट पार्छ। ग्यासको मात्रै नभई अन्य खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको र जनताको पहुँचभन्दा बाहिर बन्दै गएको छ । जसमा पिठो, चिनी, चिया, कुखुरा, चामललगायत अत्यावश्यक वस्तुको मूल्य हप्तादिनै बढिरहेको छ । पाकिस्तान ब्यूरो अफ स्ट्याटिस्टिक्स (पीबीएस) द्वारा जारी छोटो अवधिको मुद्रास्फीति दर तथ्याङ्कअनुसार पाकिस्तानको मुद्रास्फीति दर नोभेम्बर १६ मा समाप्त भएको हप्तामा ४१.९ प्रतिशत रेकर्ड गरिएको थियो। पाकिस्तानमा ग्यासको मूल्य १ हजार १ सय प्रतिशतले बढेको छ भने चुरोटको मूल्य ९४।५ प्रतिशतले बढेको छ । गत वर्षको तुलनामा गहुँको पिठो ८६।४ प्रतिशतले महँगो भएको छ भने टुक्रे बासमती चामलको मूल्य ७६।७ प्रतिशतले बढेको छ । यसबाहेक खुर्सानीको धुलोमा ८१.७ प्रतिशत, चियामा ५४.६ प्रतिशत र गुँद र चिनी क्रमशः ५१ र ५० प्रतिशतले महँगो भएको छ । पीबीएसको तथ्यांक हेर्दा गत साताको तुलनामा पाकिस्तानमा २५ अत्यावश्यक वस्तुको मूल्य बढेको छ भने दैनिक उपभोग्य १३ वस्तुको मूल्य घटेको देखिन्छ । साता अवधिमा मूल्यवृद्धि भएका सामानमध्ये ग्यासको मूल्य ४ सय ८० प्रतिशत, चियाको प्याकेटमा ८.९ प्रतिशत, कुखुराको मासु ४ प्रतिशत, नुनको धूलो २.९ प्रतिशत, गहुँको पिठोमा २.६ प्रतिशत र आलुको मूल्य २ प्रतिशतले बढेको छ । यसविपरीत प्याजको मूल्य सबैभन्दा बढी ३६ प्रतिशतले घटेको छ भने टमाटर १४ प्रतिशत, तोरीको तेल ४ प्रतिशत र घ्यु २ प्रतिशतले सस्तो भएको छ । उल्लेखनीय यो छ कि वार्षिक आधारमा एसपीआई मुद्रास्फीति २०२३ सुरुमा ४८.३५ प्रतिशतको रेकर्ड स्तरमा पुगेको थियो। तर, त्यसपछि भने यसमा गिरावट आएको थियो । लामो समयदेखि मुद्रास्फीति मारमा परेका पाकिस्तानी जनतालाई देशको कार्यवाहक सरकारले एकपछि अर्को गर्दै अनेकौं झट्का दिएको छ । यसै महिना सुरुमै अर्थात मंसिर १ गते सरकारले ग्यासको मूल्य १ सय ९४ प्रतिशतले बढाएको सूचना जारी गरेको थियो ।
पश्चिम बंगालमा भारतकै ठूलो व्यापार सम्मेलन हुने
एजेन्सी । भारत पश्चिम बङ्गालमा केही दिनभित्रै देशकै ठूलो व्यापार सम्मेलन हुने भएको छ । जसमा देशका प्रमुख व्यवसायीसँगै विदेशी व्यवसायीको पनि सहभागिता हुनेछ । प्रदेश सरकारका एक वरिष्ठ अधिकारीका अनुसार रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष तथा प्रबन्ध निर्देशक मुकेश अम्बानीसहित आईटीसी, अम्बुजा नेओटिया र हिरानन्दानी समूहजस्ता कम्पनीहरूका शीर्ष उद्योगपतिहरू अर्को साता कोलकातामा हुने ‘बेङ्गाल ग्लोबल बिजनेस समिट’ (बीजीबीएस) मा सहभागी हुने सम्भावना छ । अधिकारीका अनुसार अडानी समूहका अध्यक्ष गौतम अडानी दुई दिने शिखर सम्मेलनमा सहभागी हुनेछन् वा छैनन् भन्ने स्पष्ट भइसकेको छैन । यद्यपि, समूहका प्रतिनिधिहरूको उपस्थिति रहने छ । ती अधिकारीले भने, ‘मुकेश अम्बानी यस वर्षको बीजीबीएसमा सहभागी हुने सम्भावना छ। सञ्जीव गोयन्का, सञ्जीव पुरी, पूर्णेन्दु चट्टोपाध्याय, हर्षवर्द्धन नेओटिया र सज्जन जिन्दलजस्ता अन्य उद्योगपतिहरू उपस्थित हुनेछन् ।’ पश्चिम बङ्गालका मुख्यमन्त्री ममता बनर्जीले सेप्टेम्बरमा स्पेन र दुबई भ्रमणका क्रममा धेरै उद्योगीहरूसँग भेटघाट गरेकी थिइन् । सूचनाअनुसार यस वर्ष बीजीबीएस २१ र २२ नोभेम्बरमा आयोजना हुँदैछ । सहरको अलिपुर क्षेत्रमा रहेको धनधान्य थिएटरमा समापन समारोह हुनेछ । योसँगै बेलायतले बीजीबीएसको सातौं संस्करणमा अहिलेसम्मकै ठूलो प्रतिनिधिमण्डल ल्याउने छ । बेलायती उप–उच्चायोगले कोलकाताको बीजीबीएसमा व्यवसाय तथा संस्थाहरूको ५५ सदस्यीय प्रतिनिधिमण्डल आउने जनाएको छ । भारतका लागि बेलायतका उच्चायुक्त एलेक्स एलिसले भने, ‘म बेङ्गाल ग्लोबल बिजनेस समिटमा बेलायतको सबैभन्दा ठूलो प्रतिनिधिमण्डलको नेतृत्व गर्न तत्पर छु। मलाई आशा छ कि शिखर सम्मेलनले बेलायती व्यवसाय विस्तार गर्न मद्दत गर्ने छ र बङ्गाली कम्पनीहरूले बेलायतमा आफ्नो उपस्थिति बढाउन सक्षम हुनेछन् ।’