६ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सरकारको निर्णय
फाइल फोटो काठमाडौं । सरकारले विश्वबैकबाट प्राप्त हुने छ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । गत भदौ २९ गते (शुक्रबार) बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । विश्वबैंकको उक्त ऋण सहायता अपर अरुण जलविद्युत परियोजनाको पूर्व तयारीका लागि प्रयोग हुने छ ।
ब्राजिलमा विमान दुर्घटना, चौध जनाको मृत्यु
ब्राजिल । ब्राजिलको अमेजनमा शनिबार एउटा सानो प्रोपेलर विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । विमानमा रहेका १२ यात्री र चालक दलका दुई जना सदस्यको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् । घटनाको अनुसन्धान सुरु गरिएको जनाउँदै उनीहरूले प्रतिकूल मौसमका कारण दुर्घटना भएको बताएका छन् । अमेजनस राज्यका सुरक्षा सचिव भिनिसियस अल्मेडाले अतिकम ‘भिजिबिलिटी’मा अवतरण गर्दा दुर्घटना भएको बताएका छन् । ब्राजिलको विमान निर्माता कम्पनी एम्ब्रेरद्वारा निर्मित ट्वीन इन्जिन टर्बोप्रप विमानमा सुरक्षाका सबै पूर्वशर्त एवं उड्डयन नियमको पूर्णपालना गरिएको जनाइएको छ । विमान कम्पनीले एक विज्ञप्ति निकालेर यान्त्रिक खराबीका कारण दुर्घटना भएको मान्न सकिने आधार नभएको बताएको छ । धेरै राष्ट्रिय निकुञ्ज नजिक रहेको लोकप्रिय पर्यटकीय गन्तव्य बार्सिलोसमा माछामार्ने मनोरञ्जनात्मक खेलमा सहभागी हुन एक जना व्यापारीले उक्त विमान चार्टर गरेका थिए । विभिन्न प्रजातिका माछाका लागि परिचित उक्त स्थानमा हरेक वर्ष यो महिना माछामार्नेको भीड लाग्ने गर्दछ । रासस
फेरि बढ्यो ब्याजदर, २४ वर्ष यताकै उच्च
काठमाडौं । युरोपेली केन्द्रीय बैङ्क (ईसीबी)ले विश्वका राष्ट्रहरू उच्च मुद्रास्फीतिसँग जुधिरहेको बेला बिहीबार ब्याजदरलाई कीर्तिमानी उचाइमा पुर्याएको छ । बैङ्कले आफ्नो ब्याजदर वृद्धिको चक्र समाप्त हुन सक्ने सङ्केत गरेको छ । नीति निर्माताहरूले उधारो लागतलाई अर्को एक चौंथाइ बिन्दुले बढाएका हुन् । चासोका रूपमा हेरिएको निक्षेप दरलाई ४ प्रतिशतमा पुर्याएर सन् १९९९ मा यूरोको सुरुवात पछिको यो वृद्धि उच्चतम स्तरमा पुगेको हो । अर्थात् ईसीबीले २४ वर्ष यताकै उच्च बिन्दुमा ब्याजदर पुर्याएको हो । रूसले युक्रेनमा आक्रमण गरेका कारण ऊर्जा र खाद्यान्नको लागतमा वृद्धि भएपछि गत वर्षको जुलाईमा केन्द्रीय बैंकले आफ्नो इतिहासकै सबैभन्दा आक्रामक ब्याजदर वृद्धि चक्र सुरु गरेको थियो । र, यो लगातार १० औं वृद्धि हो । युरोको प्रयोग गर्ने २० देशहरूमा तीव्र रुपमा बिग्रदै गएको आर्थिक परिदृश्यको बढ्दो सङ्केतको बावजुद बैङ्कले अर्को वृद्धिको घोषणा गरेको हो । ईसीबीले मुद्रास्फीति अझै पनि ‘धेरै लामो समयसम्म निकै उच्च रहने अपेक्षा गरेको छ । बैङ्कले उधारो लागत उच्च स्तरमा पुगेकोले मूल्य वृद्धिलाई छोटो समयमै २ प्रतिशतको लक्ष्यमा ल्याउन मद्दत गर्ने पनि बताएको छ । ब्याजदरको निर्णयको घोषणा पछि ईसीबी अध्यक्ष क्रिस्टीन लेगार्डले भने, “दरहरू अब उच्च स्तरहरूमा पुगेका छन् जसले बढ्दो मूल्यहरू तत्काल नियन्त्रण गर्न पर्याप्त योगदान गर्नेछ । आर्थिक विश्लेषकहरूले ब्याजदर वृद्धिको हालको लय समाप्त हुँदै गएको सङ्केत गरेको विश्वास गरेका छन् । “ईसीबीको सञ्चार स्पष्ट छ ः आज वर्तमान चक्रमा अन्तिम वृद्धि थियो,” आईएनजी अर्थशास्त्री कार्सटन ब्रेजेस्कीले भने । बेरेनबर्ग बैंकका अर्थशास्त्री होल्गर स्माइडिङले यो अहिलेका लागि अन्तिम वृद्धि भएको र केन्द्रीय बैंकले ‘अबदेखि महत्वपूर्ण समयका लागि होल्डमा रहने सङ्केत गरेको’ बताए । ईसीबी रोकिने वा ब्याजदर बढाउने भन्ने विषयमा पर्यवेक्षकहरू बैठकअघि विभाजित भएका थिए ।एजेन्सी