महिलाले छैटौँ तलाबाट नवजात शिशु फ्याँकेपछि…
पाकिस्तान । एक जना पाकिस्तानी महिलाले आफ्नै नवजात शिशुलाई छैटौँ तलाबाट फ्याँकेकी छन् । कराँचीको लियाकताबाद क्षेत्रमा रहेको एउटा बहुतले भवनको छैटौँ तलाबाट ती महिलाले आफ्नै सन्तानलाई फ्याँकेको प्रहरीलाई उद्धृत गर्दै एआरवाई न्यूजले जनाएको छ । यो घटना शनिबार अपराह्नको हो । कराँची प्रहरीले तत्काल अनुसन्धान थालेको छ । प्रहरीले परिचय सार्वजनिक एक जना महिलालाई आफ्नो नवजात शिशुलाई कराँचीको लियाकताबाद क्षेत्रस्थित भवनको छैठौँ तल्लाबाट फ्याँकेको आरोपमा पक्राउ गरेको एआरवाई समाचारमा उल्लेख छ । प्रहरीले पक्राउ परेकी ती महिलासँग सोधपुछ गरिरहेको तथा उनको मानसिकस्थिति शङ्कास्पद रहेको जनाइएको छ । छिमेकीले ती महिला लागूऔषधको दुव्रयसनमा फसेकी बताएका छन् । प्रहरीले मनोचिकित्सकबाट उनको स्वास्थ्य परीक्षण गरिने एक विज्ञप्ति निकालेर बताएको छ । रासस
मध्यआकाशमा उडिरहेको विमानमा इन्धन हालिएपछि…
इजिप्ट । भारतीय वायु सेनाको विमानले मध्यआकाशमा इजिप्टको जेट विमानमा इन्धन हालिदिएको छ । ब्राइटस्टार सैन्य अभ्यासअन्तर्गत भारतीय वायुसेनाको आकाशमा नै इन्धन भर्ने आईएल–७८ विमानले इजिप्टको वायुसेनाको विमानमा आज इन्धन भरेको हो । ’इजिप्टको आकाशमा भारत–इजिप्ट मैत्रीलाई ब्राइट स्टार–२३ को माध्यमबाट अझ सुदृढ बनाउने प्रयास भएको छ,’ भारतीय वायुसेनाले आफ्ना केही सैन्य अधिकारी आगामी तीनसाता इजिप्टमा रहने जनाउँदै सामाजिक सञ्जालमा भनेको छ । यसैबीच, भारतको रक्षा मन्त्रालयले पारस्परिक प्रतिरक्षा सहयोग सुदृढ तुल्याउने उद्देश्यले उक्त द्विवार्षिकी बहुपक्षीय अभ्यासमा वासुसेनाका एक सय ५० जना कर्मचारी ब्राइट स्टार–२३ मा सहभागी हुन इजिप्ट पुगेका जनाएको छ । ब्राइटस्टार संयुक्त सैन्य अभ्यासमा अमेरिका, साउदी अरब ग्रीस र कतारका वायुसेनाका अधिकारीले पनि भाग लिएका रक्षा मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । रासस
विद्यार्थी भिसामा अष्ट्रेलिया जान कडाइ, बैंक खातामा साढे २४ हजार डलर देखाउनु पर्ने
काठमाडौं । नेपाली विद्यार्थीका लागि उच्च शिक्षा पढ्ने शैक्षिक गन्तब्यमध्ये अग्रस्थानमा आउँछ अष्ट्रेलिया । नेपाली विद्यार्थीका लागि अष्ट्रेलिया जान यसअघि केही सहज भएपनि अब भने कडाइ हुने भएको छ । अब विद्यार्थीहरुलाई भिसा पाउन कठिनसँगै पैसा पनि बढी बचत गर्नु पर्ने देखिएको छ । पढाइसँगै अवसर र कमाइको पनि आकर्षणको गन्तब्यको रुपमा लिइएको अष्ट्रेलिया सरकारले विद्यार्थी भिसामा कडाइ गर्दा त्यसको प्रत्यक्ष प्रभावमा नेपाली विद्यार्थी पर्ने भएका छन् । अष्ट्रेलियन सरकारले नयाँ नियमहरु ल्याएर स्टुडेन्ड भिसामा कडाइ गरेको हो । यसअघि एक वर्षका लागि बचत राख्नुपर्ने रकमको सीमा बढाएको छ । विद्यार्थीहरुले विदेश जानुअघि बैंक खातामा एक वर्षसम्म खान बस्न र पढ्नका लागि बैंकमा पैसा देखाउनु पर्ने हुन्छ । अब विद्यार्थीहरुले एक वर्षका लागि २४ हजार ५०५ डलर बचत गर्नु पर्ने नियम बनाएकाे छ । जुन पहिलेको तुलनामा १७ प्रतिशत बढी हो । पहिले २१ हजार डलर मात्रै खातामा देखाउनु पर्ने व्यवस्था थियो । आजको विनिमयदर अनुसार अब विद्यार्थीले खातामा १३ लाख ६८ हजार बढी रकम खातामा देखाउनु पर्छ । अब विद्यार्थीले वित्तीय कागजात बनाउँदा यसलाई नै आधार बनाएर काम गर्नु पर्ने हुन्छ । यस्तै, विद्यार्थीलाई कागजातमा पनि कडाइ गरिएको छ । के कस्तो कागजात माग गर्ने भन्ने विषय भने खुलाएको छैन । ५० प्रतिशतभन्दा कम भिसा लाग्ने अष्ट्रेलियन कलेजहरुलाई त्यहाँको सरकारले सस्पेन्सन सर्टिफिकेट दिने नियम पनि ल्याएको छ । त्यो भनेको त्यस्ता कलेजहरुले नयाँ विद्यार्थीहरुको भर्ना लिन पाउने छैनन् । यो व्यवस्थाले पनि नेपाली विद्यार्थीलाई भिसा आवेदनमा गाह्रो पर्नेछ । यो नियम भने अक्टोबरबाट लागू हुनेछ । अहिले करिब ८० हजार नेपाली विद्यार्थी अस्ट्रेलियाका विभिन्न कलेजमा उच्च शिक्षा लिइरहेका छन् । पछिल्लो समय त्यो संख्या झन बढ्ने अवस्थामा छ । हरेक नेपाली विद्यार्थीको रोजाइ विदेश बनिरहेको छ । पर्यटन र खानीपछि अस्ट्रेलियाको तेस्रो ठूलो आयस्रोत शिक्षा हो । शिक्षाबाट त्यहाँको सरकारले धेरै राजश्व संकलन गर्छ । चीन र भारतपछि नेपालका विद्यार्थी बढी अष्ट्रेलियामा जान्छन् । कोरोनापछि केही सहज गरेको अष्ट्रेलियाको सरकारले अहिले भने कडाइको बाटो अँगालेको हो ।