बीपीले तीन वर्षमा इजिप्टमा ३.५ अर्ब अमेरिकी डलर लगानी गर्ने

काठमाडौं । उर्जा क्षेत्रको विशाल कम्पनी ब्रिटिश पेट्रोलियम (बीपी) ले आगामी तीन वर्षमा इजिप्टमा आफ्ना साझेदारहरुसँग ३.५ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ । इजिप्टको राष्ट्रपति कार्यालयले सोमवार यसबारे एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो । इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसी र बीपीका कार्यकारी निर्देशक बर्नार्ड लुनीबीचको भेटपछि यो घोषणा गरिएको हो । लुनिनले लगानीले अनुसन्धान, अन्वेषण र विकासका क्षेत्रलाई समेट्ने बताए । इजिप्टका राष्ट्रपतिले बेलायती कम्पनीको इजिप्टमा बिस्तार भइरहेको र लगानीका साथै ग्याँस र तेलको खोज र उत्पादनमा योगदान हुने विश्वास व्यक्त गरे । बीपीले विगत ६० वर्षमा इजिप्टमा ३५ अर्ब अमेरिकी डलर भन्दा बढी लगानी गरेको बताएको छ ।

कम्प्युटरमा समस्या आउँदा टोयोटाले रोक्यो काम

एजेन्सी । यान्त्रिक गडबडीका कारण टोयोटा मोटरले उत्पादनसम्बन्धी सबै काम रोकेको छ । कम्प्युटर प्रणालीमा उत्पन्न खराबीका कारण जापानमा रहेका कम्पनीका १४ मध्ये १२ वटा एसेम्ब्ली प्लान्टको सञ्चालन मंगलबार बिहानैदेखि स्थगन गरिएको जनाइएको छ । टोयोटा मोटरका प्रवक्ताका अनुसार कारखानामा उपभोक्ताले मंगलबार बिहानैदेखि सवारी साधनका पार्टपुर्जा अर्डर गर्न नपाएकाे र  कम्प्युटर प्रणाली कहिले सञ्चालन आउँछ  भन्ने स्पष्ट छैन । फुकुओका प्रिफेक्चरको मियाता प्लान्ट र दाइहात्सु मोटर कम्पनीको क्योटो प्लान्ट बाहेक २५ कारखाना प्रभावित भएका छन् । गत वर्ष फेव्रुवरीमा टोयोटाले कम्पनीमा सरसामान र उपकरण आपूर्तिकर्ता कोजिमा इन्डस्ट्रिज कर्पोरेशनको प्रणालीमा समस्या हुँदा देशभरका सबै कारखाना बन्द भएका थिए । त्यस बेला १४ वटै कारखानामा काम नहुँदा १३ हजार सवारी साधन उत्पादन रोकिएिको थियो ।

सामाजिक सञ्जालमा आलोचना गर्नेलाई मृत्युदण्ड

काठमाडौं । साउदी अरबको एक अदालतले सामाजिक सञ्जालमा भ्रष्टाचार र मानवअधिकार उल्लङ्घनको निन्दा गरेका एक जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । आतङ्कवादीविरुद्ध मुद्दा चलाउन सन् २००८ मा स्थापना गरिएको विशेष फौजदारी अदालतले गत महिना मोहम्मद अलघामदीविरुद्ध उक्त फैसला सुनाएको हो । अलघामदीमाथि साउदी नेतृत्वविरुद्ध षड्यन्त्र गरेको, राज्यका संस्थालाई कमजोर पार्ने र आतङ्कवादी विचारधारालाई समर्थन गरेको अभियोग लगाइएको उनका भाइले एएफपीलाई बताएका छन् । यससम्बन्धमा टिप्पणीका लागि एएफपीले गरेको अनुरोधलाई साउदी अधिकारीहरूले जवाफ दिन अस्वीकार गरेको छ । मानव अधिकारकर्मीहरूले अलघामदीविरुद्धको यो निर्णयले साउदीमा सामाजिक सञ्जालमा प्रकाशित आलोचना कति घातक हुन्छ भन्ने प्रष्ट पारेको छ । सामाजिक सञ्जाल एक्स अर्थात् तत्कालीन ट्वीटरमा उनले सरकारी रवैया र भ्रष्टाचारको आलोचना गरेका थिए । देश जनाभन्दा कम ‘फलोवर्स’ भएका अलघामदीलाई प्राणदण्डको घोषणा भएकामा मावनअधिकारवादी संस्थाहरूले साउदी सरकारलको आलोचना गरेका थिए । मोहम्मदका भाइ र साउद अरब बाहिर निर्वासनमा रहेका मावनअधिकारकर्मी सइद अलका अनुसार घामदीले सरकारको आलोचना गर्दै जेलमा परेका आस्थाका बन्दी र धार्मि व्यक्तिहरूको समर्थन गरेका थिए । साउदी सरकार मृत्युदण्डका कारण अन्तरराष्ट्रिय जगतमा बारम्बार आलोचनाको पात्र बनेको छ । गत वर्ष १७४ जनालाई मृत्युदण्ड दिएको रियादले यो वर्ष ९४ जनाको प्राण हरण गरिसकेको छ । साउदीले मृत्युदण्ड कसरी दिन्छ भन्ने नखुलाए पनि क्रुर ढङ्गले शिरच्छेदन गर्ने उसको परम्परा छ । साउदी अरबका वास्तविक शासक युवराजाधिराज मोहम्मद बिन सलमानको नेतृत्वमा देशलाई विश्वव्यापी पर्यटन र व्यापार गन्तव्यमा रूपान्तरण गर्ने महत्वाकाङ्क्षी ‘भिजन २०३०’सुधार योजनालाई अघि बढाइए पनि मृत्युदण्डको कठोर सजायका प्रावधानमा उक्त मुलुक उदार हुन सकेको छैन ।