किन १४ वर्षअघि नै पृथ्वी फर्कियो नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ ?

काठमाडौं । अमेरिकी अन्तरिक्ष निकाय नासाको एक अन्तरिक्षयान अपेक्षाभन्दा धेरै वर्ष पहिला नै पृथ्वीको वायुमण्डलमा पुनःप्रवेश गरेको छ । नासाका अनुसार ‘भान एलेन प्रोब–ए’ नामक अन्तरिक्षयान बुधबार बिहान ६ बजेर ३७ मिनेटमा पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको हो ।  यो अन्तरिक्षयान सन् २०१२ को अगस्टमा प्रक्षेपण गरिएको थियो र करिब १४ वर्षपछि वायुमण्डलमा फर्किएको हो। उक्त अन्तरिक्षयानलाई यसको जुम्ल्याहा अन्तरिक्षयान ‘भान एलेन प्रोब–बी’ सँगै पृथ्वी वरिपरि रहेको भान एलेन विकिरण घेराको अध्ययन गर्न पठाइएको थियो ।  अमेरिकी अन्तरिक्ष बलका अनुसार ‘भान एलेन प्रोब–ए’ प्रशान्त महासागरको पूर्वी भागमाथि वायुमण्डलमा पुनःप्रवेश गरेको हो । पृथ्वीको वायुमण्डल हुँदै प्रवेश गर्दा अन्तरिक्षयानको अधिकांश भाग जलेर नष्ट भएको अनुमान गरिएको छ, यद्यपि केही भाग बाँकी रहन सक्ने सम्भावना पनि रहेको नासाले जनाएको छ । यी अन्तरिक्षयानहरूले सन् २०१२ देखि २०१९ सम्म सक्रिय रूपमा काम गर्दै पृथ्वीको विकिरण घेरासम्बन्धी तथ्यांक सङ्कलन गरेका थिए । यस अभियानका क्रममा वैज्ञानिकहरूले तीव्र सौर्य गतिविधिका बेला अस्थायी रूपमा तेस्रो विकिरण घेरा बन्न सक्ने नयाँ तथ्यसमेत पत्ता लगाएका थिए । सन् २०१९ मा दुवै अन्तरिक्षयानको इन्धन समाप्त भएपछि अभियान समाप्त गरिएको थियो । त्यस बेला वैज्ञानिकहरूले ती अन्तरिक्षयान सन् २०३४ तिर पृथ्वीको वायुमण्डलमा पुनःप्रवेश गर्ने अनुमान गरेका थिए । तर हालको सौर्य चक्रमा अपेक्षाभन्दा बढी सौर्य गतिविधि भएका कारण वायुमण्डलीय घर्षण बढ्यो र अन्तरिक्षयानको कक्ष चाँडै घट्दै जाँदा यो अपेक्षाभन्दा पहिले नै पृथ्वीमा फर्किएको हो । नासाका अनुसार यस अभियानबाट संकलित तथ्यांकले अन्तरिक्ष मौसम र त्यसले उपग्रह, अन्तरिक्ष यात्री तथा पृथ्वीका सञ्चार, नेभिगेसन र विद्युत् प्रणालीमा पार्ने प्रभावबारे बुझ्न अझ सहयोग पुर्‍याइरहेको छ । नासाले ‘भान एलेन प्रोब–बी’ भने सन् २०३० भन्दा पहिले पृथ्वीको वायुमण्डलमा पुनःप्रवेश नगर्ने अनुमान गरिएको जनाएको छ ।

होर्मुज जलडमरूमध्यमा अवरोधः विश्वभर तेलको मूल्य वृद्धि र एसियाली बजारमा संकटको बादल

काठमाडौं । विश्वको सबैभन्दा व्यस्त तेल ढुवानी मार्ग होर्मुज स्ट्रेटमा धेरै जहाजमाथि आक्रमण भएको खबर आइरहेका छन् । यूके मरिटाइम ट्रेड कर्पाेरेशनका अनुसार हालै निशाना बनाइएका जहाजमध्ये दुईवटा ट्यांकर पनि रहेका छन् । ती जहाजहरूमा इराकको तट नजिक ‘अज्ञात अस्त्र’ प्रयोग गरेर आक्रमण गरिएको बताइएको छ । यसका साथै युनाइटेड अरब इमिरेट्स (यूएई) को तट नजिक एउटा कन्टेनर जहाजमाथि आक्रमण भएको रिपोर्ट पनि आएको छ । इरानले चेतावनी दिएको छ कि यस जलडमरूमध्यबाट पार गर्न खोज्ने कुनै पनि जहाजलाई आक्रमण गरिनेछ । यद्यपि त्यसका बाबजुद पनि केही जहाजी आवतजावत भने जारी छ । सामान्यतया विश्वको करिब २० प्रतिशत तेल यही जलडमरूमध्यबाट भएर जाने गर्छ । युद्धका कारण अहिले विश्वभर तेलको मूल्यमा ठूलो उछाल आएको छ । होर्मुज जलडमरूमध्य के हो र कहाँ पर्छ ? होर्मुज स्ट्रेट विश्वका सबैभन्दा महत्वपूर्ण समुद्री ढुवानी मार्गमध्ये एक हो, विशेषगरी कच्चा तेल आपूर्तिका लागि यो अत्यन्त संवेदनशील र महत्त्वपूर्ण स्थान मानिन्छ । यसको उत्तरतर्फ इरान पर्छ भने दक्षिणतर्फ ओमन र युनाइटेड अरब इमिरेट्स पर्छन् । यसको प्रवेश र निकास क्षेत्र करिब ५० किलोमिटर चौडा छ भने सबैभन्दा साँघुरो भाग करिब ३३ किलोमिटर मात्रै छ । यही मार्गले खाडी क्षेत्रलाई अरेबियन सीसँग जोड्छ । यो जलडमरूमध्य यति गहिरो छ कि विश्वका सबैभन्दा ठूला तेल ट्यांकरहरू पनि सजिलै यसबाट आवतजावत गर्न सक्छन् । मध्यपूर्वका प्रमुख तेल तथा ग्यास उत्पादक देशहरू र तिनका ग्राहकहरूले यही मार्ग प्रयोग गर्छन् । यूएस इनर्जी इन्फरमेसन एडमिनिस्ट्रेसनका अनुमान अनुसार २०२५ मा दैनिक करिब २ करोड बैरल तेल होर्मुजज जलडमरूमध्यबाट पार भएको थियो, जुन वार्षिक रूपमा झन्डै ६०० अर्ब डलर बराबरको ऊर्जा व्यापारसँग सम्बन्धित छ । यस मार्गबाट जाने तेल केवल इरानको मात्र होइन, इराक, कुवेत, कतार, साउदी अरेबिया र युनाइटेड अरब इमिरेट्सबाट पनि आउँछ । यदि यो जलडमरूमध्य बन्द भयो भने के हुन्छ ? सामान्यतया हरेक महिना करिब ३ हजार जहाज यस मार्गबाट गुज्रन्छन् । ऊर्जा बजारसम्बन्धी जोखिम विश्लेषण उपलब्ध गराउने कम्पनी ग्लोबल रिस्क मेनेजमेन्टका प्रमुख विश्लेषक अर्ने लोहमन रासमुसेनले भनेका छन् कि जहाजहरूको सुरक्षामा जोखिम रहँदासम्म तेलको मूल्य र ढुवानी लागत दुवै बढ्नेछन् । उनले सीबीएस न्यूजसँग सँग भनेका छन्, ‘व्यावहारिक रूपमा हेर्दा यो मार्ग बन्द जस्तै भएको छ, किनकि धेरै जहाजहरू यहाँबाट जान डराइरहेका छन् ।’ उनका अनुसार जहाजमाथि आक्रमणको जोखिम, बीमा नपाउनु वा अत्यन्त महँगो बीमा हुनुले जहाजहरूलाई प्रतीक्षा गर्न बाध्य बनाइरहेको छ । यदि यस मार्गबाट आउने तेल र ग्यास रोकियो भने ऊर्जा बजारमा ठूलो प्रभाव पर्नेछ । इरानका विदेश मन्त्रालयका प्रवक्ता इसमेल बाघेईले सीएनबीसीसँग कुरा गर्दै यस जलडमरूमध्यबाट जाने तेल ट्यांकरहरूले ‘अत्यन्त सावधानी’ अपनाउनुपर्ने बताएका छन् । युद्ध सुरु भएदेखि ऊर्जा मूल्यमा ठूलो उछाल आएको छ । सोमबार तेलको मूल्य करिब १२० डलरसम्म पुगेको थियो, यद्यपि पछि केही घटेको छ । लन्डन स्टक एक्सचेन्ज ग्रुपका अनुसार मध्यपूर्वबाट चीनसम्म तेल लैजान सुपरट्यांकर भाडामा लिनुपर्ने लागत एक हप्तामा लगभग दोब्बर भएर ४ लाख डलरभन्दा माथि पुगेको छ । एसियामा पर्ने प्रभाव यो मार्ग लगभग बन्द जस्तै भएपछि ऊर्जा निर्यातमा निर्भर देशहरू जस्तै साउदी अरेबियालाई पनि ठूलो असर परेको छ । इन्टरनेसनल इनर्जी एजेन्सीका अनुसार इरानले दैनिक करिब १७ लाख ब्यारेल तेल निर्यात गर्छ । सेन्ट्रल बैंक अफ इरानका अनुमान अनुसार मार्च २०२५ मा समाप्त हुने आर्थिक वर्षमा इरानले ६७ अर्ब डलर बराबरको तेल निर्यात गरेको थियो, जुन पछिल्ला दस वर्षकै उच्च आम्दानी हो । एसियामा यसको असर झन् ठूलो पर्न सक्छ । यूएस इनर्जी इन्फरमेसन एडमिनिस्ट्रेसनका अनुसार २०२२ मा होर्मुजÞबाट बाहिरिने करिब ८२ प्रतिशत कच्चा तेल र कन्डेन्सेट एसियाली देशहरूतर्फ गएको थियो । विश्व बजारमा इरानले बेच्ने तेलको करिब ९० प्रतिशत चीनले किन्ने गर्छ । चीनले यही तेल प्रयोग गरेर सामान उत्पादन गर्छ र अन्य देशमा निर्यात गर्छ, त्यसैले तेल महँगो हुँदा विश्वभरका उपभोक्ताहरूका लागि सामानको मूल्य पनि बढ्न सक्छ । युद्धको रापबीच इरान–चीन तेल ‘कनेक्सन’ : हर्मुजको अवरोध छिचोल्दै करोडौं ब्यारेल बेइजिङतिर मध्यपूर्व द्वन्द्व : एसियामा इन्धन संकट, चारदिने कार्यसप्ताह र विद्यालय बन्द इरानको भविष्य मोज्तबा खामेनेईको हातमा, के उनले सत्ता चलाउन सक्लान् ? मध्यपूर्वको रापमा विश्व अर्थतन्त्र : केन्द्रीय बैंकहरूको ‘अग्निपरीक्षा’ र मुद्रास्फीति बढाउने जोखिम इरान : शून्यमा सत्ता, संकटमा शासन खाडी संकट गहिरिँदै : बीमा कम्पनीहरू पछि हट्दा विश्व ऊर्जा बजार त्रसित इरान र इजरायल : मित्रतादेखि कट्टर दुश्मनीसम्म, यस्तो छ नालीबेली  

खाडीमा इरानी आक्रमण, तेल १०० डलर नाघ्यो

तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजहरूलाई लक्षित गर्दै नयाँ ड्रोन तथा क्षेप्यास्त्र आक्रमण सुरु गरेपछि विश्व ऊर्जा बजारमा थप अस्थिरता देखिएको छ । बिहीबार बिहान मात्रै दुई तेल ट्याङ्करमा आक्रमण भएको केही घण्टामै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः उकालो लाग्दै प्रतिब्यारेल १०० डलर नाघेको छ ।      तेहरानले खाडी क्षेत्रका छिमेकी देशहरू तथा इजरायलतर्फ नयाँ आक्रमणको लहर चलाएपछि क्षेत्रीय तनाव झनै चर्किएको छ । इरानले यो युद्ध लामो समयसम्म चल्न सक्ने चेतावनी दिँदै त्यसले विश्व अर्थतन्त्रलाई ‘ध्वस्त पार्न सक्ने’ दाबी गरेको छ ।      यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान अन्ततः पराजयको दिशामा पुगेको दाबी गरेका छन् । यद्यपि उनले युद्ध तत्काल समाप्त नहुने चेतावनी पनि दिए । अमेरिकाले इरानको पूर्वाधारमा आक्रमण गर्न सक्ने सङ्केत दिँदै त्यसको पुनर्निर्माण गर्न एक पुस्ता लाग्न सक्ने उनले बताए ।      अमेरिका र इजरायलले सुरु गरेको यो युद्ध विस्तार हुँदै जाँदा क्षेत्रका विभिन्न देशहरू प्रभावित भएका छन् । लेबनानमा इजरायली आक्रमण तीव्र बनेको छ । त्यहाँ अधिकारीहरूका अनुसार हालसम्म ६३० भन्दा बढी मानिसको मृत्यु भएको छ भने आठ लाखभन्दा बढी नागरिक विस्थापित भएका छन् ।      खाडी क्षेत्रमा पनि सुरक्षा अवस्था तनावपूर्ण बनेको छ । इरानी आक्रमणपछि बहराइनले बासिन्दाहरूलाई घरभित्रै बस्न र झ्याल बन्द राख्न आग्रह गरेको छ । साउदी अरेबियाले सायबाह तेल क्षेत्रतर्फ गइरहेका ड्रोनहरू रोकिएको जनाएको छ । ओमानको सलालाह बन्दरगाहस्थित इन्धन ट्याङ्कीमा ड्रोन प्रहार भएपछि त्यहाँका केही सञ्चालन अस्थायी रूपमा रोकिएका छन् ।      होर्मुज जलडमरूमध्य आसपासका समुद्री मार्गहरू पनि प्रभावित भएका छन् । संयुक्त अरब इमिरेट्स नजिकै एउटा कन्टेनर जहाजलाई अज्ञात प्रक्षेप्यले प्रहार गर्दा सानो आगलागी भएको बेलायती समुद्री सुरक्षा एजेन्सीले जनाएको छ । सबै चालकदल सुरक्षित रहेका छन् ।      यसअघि इराक नजिक दुई तेल ट्याङ्करमा आक्रमण हुँदा कम्तीमा एक चालक दल सदस्यको मृत्यु भएको र ३८ जनालाई उद्धार गरिएको अधिकारीहरूले बताएका छन् । केही सदस्य अझै बेपत्ता रहेको खोजी जारी छ । विश्वको करिब पाँचौँ भाग तेल आपूर्ति हुने होर्मुज जलडमरूमध्य अहिले युद्धको तनावका कारण प्रभावकारी रूपमा अवरुद्ध हुने जोखिममा पुगेको विश्लेषकहरूले बताएका छन् । इरानले पनि खाडीबाट एक थोपा तेल निर्यात हुन नदिने चेतावनी दिएको छ ।      पछिल्लो केही दिनमा मात्रै जहाजहरू संलग्न कम्तीमा चार घटना रिपोर्ट भएका छन् । एउटा थाई बल्क क्यारियरमा प्रहार हुँदा चालक दलका तीन सदस्य बेपत्ता भएको यातायात कम्पनी प्रिसियस सिपिङले जनाएको छ ।      खाडीका अन्य स्थानमा पनि ड्रोन र क्षेप्यास्त्रको खतरा बढेको छ । कुवेतमा आवासीय भवनमा लागेको ड्रोनका कारण दुई जना घाइते भएका छन् भने युएईले पनि क्षेप्यास्त्र खतराको जवाफ दिइरहेको जनाएको छ ।    यसैबीच इरानको रिभोलुसनरी गार्ड्सले अमेरिका र इजरायलसँग सम्बन्धित आर्थिक केन्द्र तथा बैंकहरूलाई समेत निशाना बनाउन सक्ने चेतावनी दिएको छ । त्यसपछि केही अन्तर्राष्ट्रिय कम्पनीहरूले दुबईबाट आफ्ना कर्मचारीहरू हटाउन थालेका छन् ।      अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले बजार स्थिर पार्न सदस्य राष्ट्रहरूलाई रणनीतिक भण्डारबाट तेल निकाल्न अनुमति दिएको छ । यसअन्तर्गत ४० करोड ब्यारेल तेल बजारमा पठाउने सहमति भएको छ, जसमा १७ करोड २० लाख ब्यारेल अमेरिकाबाट आउनेछ । तर यो कदमले पनि लामो द्वन्द्वको डर कम गर्न सकेको छैन । विश्लेषकहरूले प्रतिब्यारेल ९० देखि १०० डलरको मूल्य केही समयसम्म नयाँ सामान्य बन्न सक्ने बताएका छन् ।        युद्धको मानवीय असर पनि तीव्र बन्दै गएको छ । बेरुतमा इजरायली हवाई आक्रमणका कारण आवासीय भवनहरू क्षतिग्रस्त भएका छन् । स्थानीय बासिन्दाहरूले डरले रातभर खुला ठाउँमा बस्न बाध्य भएको बताएका छन् ।      एक स्थानीय बेकरी सञ्चालकले आक्रमणको क्षण सम्झँदै भने, 'पहिलो विस्फोट हुँदा म कोठाबाट कोठामा दौडेर परिवारलाई बाहिर निकाल्दै पर्खाल पछाडि लुकाएँ, त्यसपछि दोस्रो आक्रमण भयो ।'      इजरायली सेनाले लेबनानभरि हिजबुल्लाहसँग सम्बन्धित पूर्वाधारलाई लक्षित गरी व्यापक कारबाही जारी राखेको जनाएको छ । साथै इरानबाट इजरायलतर्फ नयाँ क्षेप्यास्त्र प्रहार भएको पनि पत्ता लागेको बताइएको छ । इरानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च ८ सम्म युद्धमा एक हजार २०० भन्दा बढी मानिस मारिएका छन् । इजरायलमा १४ जनाको मृत्यु भएको छ भने खाडी क्षेत्रमा भएका आक्रमणमा ११ नागरिक र सात अमेरिकी सैनिकसहित २४ जनाको ज्यान गएको स्थानीय अधिकारीहरूले बताएका छन् ।      न्युयोर्क टाइम्सका अनुसार यो युद्धले अमेरिकालाई मात्रै हालसम्म ११ अर्ब ३० करोड डलरभन्दा बढी खर्च गराइसकेको छ । रासस