नेपालको वित्तीय सङ्घीयता सुदृढ गर्न विश्व बैंकका यस्ता छन् सुझाव

काठमाडौं । नेपालले वित्तीय सङ्घीयताको क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको भए पनि प्रदेश र स्थानीय तहमा नियामकीय संरचना, संस्थागत व्यवस्था, जनशक्ति क्षमतामा वृद्धि गर्नुपर्नेमा जोड दिइएको छ । सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउन थप काम गर्न आवश्यक रहेको विश्व बैंकद्वारा सार्वजनिक पहिलो वार्षिक नेपाल वित्तीय सङ्घीयता प्रतिवेदनमा उल्लेख गरिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलका अनुसार प्रतिवेदनले नेपालमा वित्तीय सङ्घीयताका उपलब्धिहरूमा सुधार ल्याउन गर्नुपर्ने काम, त्यसको अनुक्रम, समयसीमा र कार्यान्वयनका लागि जिम्मेवार निकायसम्बन्धी स्पष्ट विवरणसहितको वित्तीय सङ्घीयता मार्गचित्र तयार गर्नुपर्ने आवश्यकतामाथि जोड दिएको छ । आर्थिक वर्ष २०७७/७८ मा प्रदेश तथा स्थानीय सरकारहरूले सङ्घीय रकमको झन्डै ३६.७ प्रतिशत रकम अन्तरसरकारी वित्त हस्तान्तरणमार्फत प्राप्त गरेका थिए । उक्त रकम प्रदेश तथा स्थानीय सरकारको कुल आम्दानीको ६४.८ प्रतिशत बराबर हो । पछिल्ला ५ वर्षमा स्थानीय सरकारहरूलाई गएको अनुदानमध्ये सबैभन्दा बढी र तुलनात्मकरूपमा उच्च वृद्धि सशर्त अनुदानको रहेको छ । प्रतिवेदनअनुसार ठूलो मात्रामा छुट्याइएको सशर्त अनुदान निर्धारित कामका लागि मात्र खर्च गर्न पाइने भएकाले प्रदेश तथा स्थानीय सरकारको खर्च गर्ने क्षमता वृद्धि भएसँगै क्रमशः सशर्त अनुदान हिस्सा घटाउँदै समपूरकलगायत अन्य अनुदानको हिस्सा बढाउँदै जान आवश्यक देखिएको छ । विश्व बैंकद्वारा तयार यस प्रतिवेदनले नेपालको वित्तीय सङ्घीयतामा भएका प्रगतिको विस्तृत समीक्षा गरेको छ । सङ्घीय सरकारद्वारा विगतमा सञ्चालित आयोजना पछिल्लो चरणमा प्रदेश तथा स्थानीय सरकारहरूमा हस्तान्तरण भई कार्यान्वयन भइरहेको छ । स्थानीय सरकारमातहत कार्यरत शिक्षक तथा स्वास्थ्य क्षेत्रमा कार्यरत प्राविधिक कर्मचारीको तलबभत्ता हाल सशर्त अनुदानमार्फत भुक्तानी हुने अल्पकालीन व्यवस्थाले सुरुका वर्षहरूमा सशर्त अनुदानको हिस्सा केही बढी देखिएता पनि क्रमशः यसमा सुधार हुने प्रतिवेदनमा उल्लेख छ । अर्थ मन्त्रालयका राजस्व सचिव डा रामप्रसाद घिमिरेले ती सुझाव राष्ट्रिय विकास योजनासँग मेल खाने र यसले वित्तीय सङ्घीयतालाई अगाडि बढाउन भइरहेका प्रयासलाई थप सहयोग गर्ने बताए । प्रतिवेदनले नेपालमा वित्तीय सङ्घीयता सुदृढीकरणका लागि विगत पाँच वर्षमा गरिएका सुधारका पहलको अवस्था उजागर गर्दै वित्तीय सङ्घीयताका उपलब्धिहरूको अभिवृद्धिमा मद्दत गर्न आवश्यक पर्ने मुख्य सुधारका कार्यहरू पहिचान गरेको छ । प्रतिवेदनले यस क्षेत्रमा भएका सुधारको मार्गदर्शन तथा अनुगमनका लागि वित्तीय सङ्घीयताको मार्गचित्र तयार गर्न, अन्तरसरकारी वित्त हस्तान्तरण प्रणालीलाई अझ बढी सुदृढ बनाउन र प्रदेश तथा स्थानीय तहमा सार्वजनिक वित्तीय व्यवस्थापन कार्यसम्पादनसम्बन्धी एकीकृत डाटाबेस स्थापना गर्न सुझाव दिएको छ । साथै यसले तीनै तहका सरकारमा रहेका समवर्ती र साझा अधिकारहरूका बारेमा स्पष्टताका लागि कानुनी व्यवस्थामा संशोधन एवं परिमार्जन गर्न, सार्वजनिक वित्तीय व्यवस्थापनसम्बन्धी कार्यसम्पादनका लागि प्रदेश तथा स्थानीय सरकारका कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न र बजेटको थप विश्वसनीयता र प्रदेश तथा स्थानीय सरकारको सेवा प्रवाहमा सुधार ल्याउन यससम्बन्धी प्रणालीलाई सबल तुल्याउन समेत सुझाव दिएको छ । विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि राष्ट्रिय निर्देशक फारिस हदाद/जार्भोसले वित्तीय सङ्घीयता प्रदेश र स्थानीय सरकारहरूका लागि दिगो सेवा प्रवाहको एउटा महत्वपूर्ण आधार भएको बताउनुभयो । उहाँले त्यसका लागि सङ्घीयताको मर्मअनुरुप प्रदेश तथा स्थानीय तहमा पर्याप्त वित्तीय स्रोत र खर्च गर्ने निर्णय क्षमता हुनु आवश्यक रहेको बताए ।

भारतले भटमास तेल र सूर्यमुखी तेलको आयातमा भन्सार शुल्क घटायो

एजेन्सी । भारत सरकारले बिहीबारदेखि लागू हुने गरी भटमास तेल र सूर्यमुखी तेलको आयातमा लाग्ने भन्सार शुल्कमा पाँच प्रतिशत कटौती गरेको छ । तेलको आयातमा लाग्ने भन्सार शुल्क १७।५ प्रतिशतबाट घटाएर १२.५ प्रतिशतमा झारेको संघीय अर्थ मन्त्रालयअन्तर्गतको राजस्व विभागले जारी गरेको आधिकारिक सूचनामा उल्लेख छ । भारतमा खाना पकाउने दुवै तेल मुख्यतया अर्जेन्टिना, ब्राजिल, युक्रेन र रूसलगायत देशबाट आयात हुने गरेको छ । घरेलु माग पूरा गर्न र खाना पकाउने तेलको बढ्दो मूल्यलाई नियन्त्रण गर्न यी दुई उत्पादनहरूको थप आयातलाई अनुमति दिने उद्देश्यले यो कदम चालिएको हो । करिब छ महिनापछि भन्सार महसुलको दर पुनरावलोकन गरिएको थियो । सूचनामा भनिएको छ, ‘सार्वजनिक हितमा त्यसो गर्न जरूरी छ । यो सूचना जून १५ देखि लागु हुनेछ ।’ इन्डियन एक्सप्रेसको एक समाचारमा विश्वको सबैभन्दा ठूलो वनस्पति तेल खरीदकर्ता भारतले प्रशोधित भटमास तेल र सूर्यमुखी तेलमा आधार आयात शुल्क घटाएको जनाइएको हो ।

मृत घोषित महिला पाँच घण्टापछि कफिनबाट जिवित निस्किइन्

बाबाहोयो (इक्वेडोर) । चिकित्सकले मृत घोषणा गरेको पाँच घण्टापछि ७६ वर्षीया एक महिला जीवित भएकी छन् । बेइजिङ इक्वेडोरको बाबहोयो सहरकी सेवानिवृत्त नर्स बेला मोन्टोयालाई चिकित्सकहरूले मृत घोषणा गरेपछि शवलाई ‘कफिन’मा राखेर स्मृति सभा गरी अन्त्येष्टिका निम्ति समाधिस्थल लैजान उनका छोरासहित मलामीले कफिन उठाउँदा उनले  भित्रबाट ढकढक्याएकी अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्क सिएनएनले जनाएको छ । इक्वेडरको स्वास्थ्य मन्त्रालयले ती महिलालाई हृदयाघात भएको बताएको छ । चिकित्सकले उनलाई मृत घोषणा गरेको विषयमा अनुसन्धान गर्ने जनाउँदै त्यस निम्ति प्राविधिक समिति गठन गरिएको एक विज्ञप्ति निकालेर बताएको छ । स्वास्थ्य मन्त्रालयको विज्ञप्तिअनुसार मोन्टोयालाई बाबाहोयोको मार्टिन इकाजा अस्पताको सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो र पछि उनलाई मृत घोषणा गरिएको थियो । रासस/एएनआई