भारतमा रेल दुर्घटना भएको ५१ घण्टापछि सेवा पुनः सञ्चालनमा

भारत । शुक्रबार राति २७५ जनाको मृत्यु हुनेगरी भएको रेल दुर्घटनापछि बालासोरबाट सोमबारदेखि यात्रु र मालवाहक रेलहरू पुनः सेवामा फर्किएको अधिकारीहरूले बताएका छन् । अधिकारीहरूले भारतमा दशकौंपछि भएको घातक रेल दुर्घटनाको कारण सिग्नल प्रणालीसँग जोडिएको समस्याका कारण भएको बताएका छन् । भारतको पूर्वी राज्य उडिसाको बालासोर नजिकै भएको दुर्घटनामा २७५ जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएका छन् । अधिकारीहरूले सुरुमा मृत्यु हुनेको सङ्ख्या २८८ रहेको बताएका थिए, तर उडिसा राज्य सरकारले केही शवहरू गलत तरिकाले दुई पटक गणना गरिएको भन्दै मृतकको संशोधित सङ्ख्या २७५ भएको पुष्टि गरेको छ । एक हजार १७५ घाइतेमध्ये अधिकांश उपचारपछि घर फर्किसकेका छन् भने ३८२ जनाको अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले आइतबार जानकारी दिएका छन् । यद्यपि, घाइतेमध्ये केहीको अवस्था अझै पनि गम्भीर रहेको भन्दै मृतकको सङ्ख्या अझै बढ्न सक्ने स्वास्थ्यकर्मीले बताएका छन् । रेल मन्त्रालयले रेल दुर्घटना भएको ५१ घण्टापछि कोइला लोड गरिएको मालबाहक रेल लिकमा गुडेसँगै सेवा पुनः सञ्चालनमा आएको हो । यद्यपि,सबै लिकहरू पूर्ण रूपमा मर्मत गरिएको छ कि छैन भन्नेबारे तत्काल स्पष्ट भएको छैन । सोमबार रेलहरूले एउटा छेउमा लाइनहरू मात्र प्रयोग गरेको देखिएको छ । रासस

आसाममा १६ करोडको लागु औषध बरामद

आसाम । आसाम प्रहरीले शनिबार १६ करोड रुपैयाँ बारबरको लागुऔषध बरामद गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण अभियान अन्तर्गत कारबाही गर्दा दुई जना कारोबारीसहित उक्त परिमाणको लागुओषध बरामाद भएको हो । गोप्य सूचनाका आधारमा काछार जिल्ला प्रहरीको टोलीले शनिबार राति सिलचरको कातागष्टल क्षेत्रमा अप्रेसन गरी करिब २.२ केजी हेरोइन बरामद गरेको जिल्लाका अतिरिक्त प्रहरी उपरीक्षक सुब्रत सेनले बताएका छन् । उनले भने, ‘हामीले २.२ किलोग्राम हेरोइनसहितको एक सय ४३ साबुनका बट्टा बरामद गरेका छौँ । सोको अभियोगमा दुईजना अभियुक्तलाई पक्राउ गरेका छौँ । बरामद लागुऔषधको बजार मूल्य करिब १६ करोड रुपैयाँ अनुमान गरिएको छ । हाम्रो अनुसन्धान जारी छ ।’ साथै केन्द्रीय राजधानीमा पनि प्रहरीले लागुऔषध ओसारपसारका गतिविधिमाथि कडा निगरानी गरिरहेको छ । रासस

अष्ट्रेलिया सरकारद्वारा ८.६ प्रतिशतले न्यूनतम ज्याला वृद्धि, लाखौं नेपालीमा खुसीयाली

काठमाडौं । अष्ट्रेलिया सरकारले आगामी जुलाई १ देखि कामदारहरुको न्यूनतम पारिश्रमिकमा वृद्धि गरेको छ । बढ्दो मूल्यवृद्धिलाई मध्यनजर गरेर उक्त न्यूनतम ज्याला वृद्धि गरिएको हो । केही अर्थशास्त्रीहरुले भने सरकारको सो निर्णयले मुद्रास्फिति र ब्याजदरलाई वृद्धि गर्ने जोखिम बढेको बताएका छन् । स्वतन्त्र फेयर वर्क कमिसन (एफडब्लुयुसी)ले ज्याला आन्दोलनसँग जोडिएको मागलाई सम्बोधन गर्दै ५.७५ प्रतिशत ज्याला वृद्धि गरिएको फैसला गरेको हो । सो फैसलाले राष्ट्रिय न्यूनतम पारिश्रमिकमा प्राविधिक रुपले वर्गिकरण गरेको छ । जसको फलस्वरुप सबैभन्दा कम पारिश्रमिक पाउनेहरुको लागि ८.६ प्रतिशत वृद्धि हुनेछ । एफडब्लुसीले गरेको निर्णयले दुई मिलियन भन्दा धेरै श्रमिक प्रभावित हुने जनाइएको छ । अष्ट्रेलियन काउन्सिल अफ ट्रेड युनियनले ज्याला वृद्धिको लागि गरिएको निर्णयको स्वागत गरेको छ ।