ट्वीटरमा प्रयोगकर्ताले एक दिनमा ५ सय ट्वीट पढ्न पाउने

काठमाडौं । ट्वीटरले ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ कम्पनीहरूले साइटमा भएको तथ्याङ्कको प्रयोगमा कमी ल्याउनको लागि प्रति दिन बढीमा १० हजार ट्वीटहरू पढ्न सक्ने अस्थायी व्यवस्था गरिएको एलन मस्कले घोषणा गरेका छन् । पछिल्लो प्रावधानअनुसार ट्वीटरले प्रमाणित एकाउन्ट भएका ट्वीटर प्रयोगकर्तालाई एक दिनमा १० हजार ट्वीट पढ्न दिने र निः शुल्करूपमा ट्वीटरको प्रयोग गर्ने (अधिकांश प्रयोगकर्ता), जसलार्ई अप्रमाणित प्रयोगकर्ता भनिएको छ । प्रति दिन एक हजार ट्वीटहरू मात्र पढ्न पाउनेछन् । त्यस्तै, नयाँ तथा अपुष्ट प्रयोगकर्ताले ५०० मात्र ट्वीट पढ्न पाउनेछन् । मस्कले शनिबार अपराह्न एक ट्वीटमा भने, ‘तथ्याङ्क प्रेषण डाटा स्क्रैपिङ्गको चरम स्तरलाई सम्बोधन गर्न’ यो निर्णय गरिएको हो ।’ मस्कको घोषणापछि संयुक्त राज्य अमेरिकामा ‘गुडबाई ट्विटर’ ट्रेन्डिङको विषय बनेको थियो । ट्विटरका अर्बपति मालिकले यो नियम कहिलेसम्म लागू हुने भन्ने समयसीमा भने खुलाएका छैनन् । मस्कले अघिल्लो दिन अकाउन्ट बिना साइटमा ट्वीटहरू पढ्न सम्भव छैन भन्ने घोषणा गरेका थिए । अधिकांश ‘डाटा स्क्रैपिङग’ उनीहरूको एआई नमूनाहरू निर्माण गर्न प्रयोग गर्ने फर्महरूबाट आइरहेको र यसले साइटमा अवरोधको समस्याहरू निम्त्याइरहेको मस्कले बताएका छन् । मानव–जस्तै क्षमतामा प्रतिक्रिया दिन सक्ने एआई सिर्जना गर्न, धेरै कम्पनीहरूले कार्यक्रमहरूलाई सामाजिक मिडिया साइटहरूबाट वास्तविक जीवनको कुराकानीको उदाहरणहरू तान्ने गर्छन् ।

वाग्नर प्रमुख पैसाको लागि ‘रेलको लिकबाट बाहिरिएको’ रूसी दावी

काठमाडौं । वाग्नरको संक्षिप्त विद्रोहपछि मस्कोको नयाँ आख्यानले आकार लिइरहेका बेला एक शीर्ष रूसी प्रचारकले आइतबार वाग्नरका मालिकले अर्बौं सार्वजनिक कोष प्राप्त गरेपछि ‘रेलको लिकबाट बाहिरिएको’ आरोप लगाएका छन् । गत हप्ता वाग्नर भाडाका सैनिक समूहका प्रमुख येभगेनी प्रिगोजिनले रूसका उच्च सैन्य अधिकारीहरूविरुद्ध अल्पकालीन विद्रोहमा आफ्नो सेनाको नेतृत्व गरेका थिए । रूसी प्रोपोगान्डा कार्यक्रमका मुख्य अनुहार मध्येका एक दिमित्री किसेलेभले आइतबार आफ्नो साप्ताहिक टेलिभिजन कार्यक्रममा भने, ‘प्रिगोजिन ठूलो पैसाका कारण रेलबाट बाहिरिएका छन् उनले रक्षा मन्त्रालय, राज्य स्वयं र राष्ट्रपतिलाई व्यक्तिगत रुपमा चुनौती दिन सक्ने ठानेका थिए, नसकेपछि उनी बाहिरिएका छन् ।’ किसिलेभले वाग्नेरले राज्यकोषबाट ८५८ अर्ब रुबल (९.७ अर्ब अमेरिकी डलर)भन्दा बढी रकम प्राप्त गरेको दावी गरे । यद्यपि यसलाई पुष्टि गर्ने बलियो तर्क भने उनले पेश गरेनन् । यसै साताको सुरुमा राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलो पटक रूसी अधिकारीहरूले अर्धसैनिक संगठनलाई ‘पूर्ण रूपमा’ आर्थिक सहयोग गरेको बताएका थिए । मे २०२२ देखि मे २०२३ को बीचमा वाग्नरले रूसी राज्यबाट ८६ अर्ब रूबलभन्दा बढी रकम प्राप्त गरेको पुटिनले बताएका छन् । रूसी कानुनले निजी भाडाका समूहलाई प्रतिबन्धित गरेको छ । वासिङ्टन र ब्रसेल्सको प्रतिबन्धका कारण प्रिगोजिनले वर्षौंदेखि छायाँमा काम गर्दै आएका थिए तर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेनमा सेना पठाएपछि उनी चर्चामा आएका थिए । उनले रूसी सेनाले पूर्वी युक्रेनको वाग्नरबाट प्राप्त विजय ‘चोर्न’ खोजेको आरोप लगाउँदै मस्कोको ‘कर्मचारीतन्त्र’को आलोचना गरेका थिए । प्रिगोजिनलाई जेलबाट लडाकु भर्ती गर्न अनुमति दिइएको थियो र मार्चमा, रूसी संसदले वाग्नर जस्ता ‘स्वयंसेवी समूहहरू’ को आलोचना गर्नेहरूका लागि लामो जेल सजाय लागू गर्ने कानून पारित गरको थियो । धेरै राजनीतिक पर्यवेक्षकहरूले प्रिगोजिनको विद्रोहको प्रयासलाई पुटिनको सत्तामा पकड कमजोर हुँदै गएको सङ्केतको रूपमा हेरेका छन् । तर मस्कोका अधिकारी र प्रचारकहरूले भने रूसीहरू पुटिनको पक्षमा उभिएको दाबी गरेका छन् ।

युक्रेन–रूस–युद्धमा ईयुको तर्फबाट स्पेनले कुटनीतिक अग्रसरता देखाउँदै

एजेन्सी । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज शनिबार बिहान कीभ पुगेका छन् । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेटवार्ताका निम्ति उनी शनिबार बिहान कीभ पुगको बताइएको छ । ‘म युरोपेली सङ्घको काउन्सिलको स्पेनी अध्यक्षताको पहिलो कार्य युक्रेनमा यसको अध्यक्षसँग होस् भन्ने चाहन्छु’, सान्चेजले आफ्नो आधिकारिक ट्विटमा लेखेका छन् । उनले सिङ्गो युरोपको ऐक्यबद्धता व्यक्त गर्न पनि यो भ्रमण गरिएको बताएका छन् । ‘युरोपमा शान्ति नआएसम्म हामी युक्रेनी जनतालाई समर्थन गरिरहनेछौँ’, बिहीबार ईयु शिखर सम्मेलनको क्रममा भ्रमणको घोषणा गर्दै सान्चेजले भनेका छन्, ‘रुसको आक्रमणविरुद्ध लड्ने कीभलाई ईयुको समर्थन’, प्रदर्शन गर्ने उद्देश्य पनि यो भ्रमणको रहेको उनले उल्लेख गरेका छन् । एक वर्ष पहिले ईयु सदस्यताको उम्मेदवार बनेको युक्रेनले यस वर्ष सदस्यता प्राप्तिका निम्ति औपचारिक वार्ता गर्ने तयारी गरेको छ ।