विश्वकै सर्वाधिक जनसङ्ख्या भएको देश बन्यो भारत

भारत । भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष युएनएफपीएको पछिल्लो तथ्याङ्कअनुसार भारत चीनभन्दा २९ लाख बढी जनसङ्ख्या भएको देश बनेको हो । युएनएफपीएको ‘द स्टेट अफ वल्र्ड पपुलेसन रिपोर्ट, २०२३’ मा भारतको जनसङ्ख्या एक अर्ब ४२ करोड ८६ लाख पुगेको तथा चीनको जनसङ्ख्या एक अर्ब ४२ करोड ५७ लाख रहेको उल्लेख गरिएको छ । युएनएफपीएको प्रतिवेदनको जनसाङ्ख्यिक सूचकमा यो तथ्याङ्क समावेश गरिएको छ । सन् १९५० मा संयुक्त राष्ट्रसङ्घले जनसङ्ख्या तथ्याङ्क सङ्कलन र जारी गर्न थालेपछि भारतको जनसङ्ख्याले चीनलाई उछिनेको यो पहिलो पटक हो । गत वर्ष चीनको जनसङ्ख्या उच्च बिन्दुमा पुगेर घट्न थाल्योभने सोही अवधिमा भारतको जनसङ्ख्यामा बढोत्तरी भएको छ । प्रतिवेदनअनुसार सरदर आयुमा भने भारतभन्दा चीन अगाडि छ । चीनमा महिलाको सरदर आयु ८२ वर्ष तथा पुरुषको ७६ वर्ष छ भने भारतमा महिलाको सरदर आयु ७४ र पुरुषको ७१ वर्ष छ । विज्ञहरूका अनुसार भारतलाई अहिले जनसाङ्ख्यिक लाभ भएको छ । उपभोक्ता सञ्चालित अर्थतन्त्रमा युवा जनसङ्ख्याको अधिकताले देशको विकासलाई अघि बढाउन मद्दत गर्नेछ भने देशको आर्थिक वृद्धिका लागि पनि ठूलो अवसर प्रदान गर्नेछ । देशलाई आन्तरिक खपतका निम्ति श्रमिक आपूर्तिमा समस्या नहुने हुनाले बाह्य समस्याबाट पनि भारतलाई जोगिन सहज हुनेछ । कोभिड–१९ को महामारीका बेला यो वास्तविकता उजागर भइसकेको छ । रासस

अमेरिकी टेलिभिजन फक्स न्युजले गलत समाचार प्रवाह गरेवापत ७८७ मिलियन डलर तिर्नुपर्ने

एजेन्सी । अमेरिकी टेलिभिजन कम्पनी फक्स न्युजले गलत समाचार प्रवाह गरेवापत ७८७.५ मिलियन डलर रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ । सन् २०२० मा भएको राष्ट्रपतीय निर्वाचनको क्रममा भोटिङ मेसिनको विषयमा प्रवाह गरेको समाचारलाई लिएर उक्त जरिवाना तिर्नुपर्ने भएको हो । उक्त राष्ट्रपतीय निर्वाचनको समयमा फक्स न्युजले भोटिङ मेसिन कम्पनी डोमियनले आफ्नो विषयमा गलत समाचार प्रसारण गरेको भन्दै अदालतसमक्ष मुद्दा दायर गरेको थियो । डोमियनले समाचारको कारण आफ्नो कम्पनीलाई ठूलो क्षति भएको भन्दै फक्स न्युजसँग १.६ मिलियन डलर मागदाबी गरेकोमा आधा रकम तिर्ने सहमति भएको जनाइएको छ । फक्स न्युजले निर्वाचनको समयमा तत्कालीन राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पका विरुद्ध भोटिङ मेसिन प्रयोग गरिएको भन्दै समाचार प्रसारण गरेको थियो ।

मोनालिसाको तस्विर र विश्व अर्थतन्त्र

मोनालिसाले के गरिरहेकी छन् ? पहिलो हेराइमा नै विश्वको प्रशिद्ध तस्बिर मुस्कुराइरहेको देखिन्छ । फेरि हेर्नुहोस उनको मुस्कान बिग्रिएको देखिन्छ । अनि फेरि हेर्दा लाग्छ कि यो एक प्रकारको मुस्कान हो । लियोनार्दो दा भिन्चीले स्फुमाटो’को प्रयोगबाट मोनालिसाको अनुहारका रेखाहरुमा अस्पष्ट धमिलो प्रभाव पारेका छन् । तपाईंले जतिपटक तस्बिरमा हेर्नुहुन्छ तपाईंलाई तस्बिरमा के भइरहेको छ भन्ने लाग्छ । कोभिड महामारीपछिको विश्व अर्थतन्त्र पनि मोनालिसा जस्तै भएको छ । तपाईंले जतिपटक हेर्नुहुन्छ, फरक देख्नुहुन्छ । विश्वव्यापी बैंकिङ क्षेत्रमा देखिएको अराजकताका कारण धेरै विज्ञहरुले विश्वको अर्थतन्त्र मन्दीमा ‘हार्ड ल्यान्डिङ’ हुन लागिरहेको बताएका छन् । त्यस्तै, केहीले ‘नो ल्यान्डिङ’को समेत अनुमान गरेका छन् । पूर्वानुमान गर्न कठिन भएको छ । आइएमएफले आफ्नो गत अक्टुबर र अप्रिलमा प्रकाशन गरेको ग्लोबल आउटलुक संस्करणमा ६० पटकसम्म ‘अनिश्चितता’ शब्दको प्रयोग गरेको छ । अमेरिकाको फेडरल रिजर्ब बैंकले गत मार्चमा बैंकिङ ब्याजदरको विषयमा के निर्णय गर्छ भन्नेमा कसैको एकमत थिएन, कसैले बढ्ने, कसैले घट्ने त कसैले कटौति हुने अनुमान गरेका थिए, तर रिजर्ब बैंकका बैठकहरुले लगानीकर्ताहरुलाई अप्रत्यासित निर्णय दियो । गत महिनामा भएको युरोपियन केन्द्रीय बैंकको बैठकमा बैंककी अध्यक्ष क्रिस्टिन लागार्डले आगामी दिनहरु कसरी अगाडि बढ्छन भनेर भन्न नसकिने बताइन् । आधिकारिक तथ्यांकमा काम गर्ने अधिकारीहरुले वास्तविक तस्बिर बुझ्न संघर्ष गरिरहेका छन् । उनीहरुले जिडिपी देखि रोजगारीसम्मको तथ्यांकलाई अद्यावधिक गरिरहेका छन्, तर अनुमानभन्दा परिवर्तन भइरहेको छ । युरो क्षेत्रमा सामान्य भन्दा चारगुणा बढी मात्रामा जिडिपीको परिमार्जन गरिएको छ । मार्च महिनामा ब्रिटेनको तथ्यांक कार्यालयले ठूलो परिमार्जन गर्ने काम गरेको छ । गतमहिना अस्ट्रेलियाका तथ्यांकविदहरुले २०२२ तेस्रो त्रैमासको उत्पादन वृद्धिको अनुमान घटाएका छन् । विश्व कतातिर गइरहेको छ ? सायद विश्व धेरै अस्थिर अवस्थाबाट गुज्रिरहेको छ । युरोपले गतवर्ष विगत सात दशक यताकै ठूलो भू–युद्ध, आपूर्ति श्रृंखलामा अवरोध, उर्जा संकट र बैंकिङ क्षेत्रमा उथलपुथल देख्यो । तैपनी खेलमा गहिरो संरचनात्मक परिवर्तनहरु पनि भइरहेका छन् । जुन पहिलो कोभिड–१९ सँग सम्बन्धित छन् । पुरै विश्व नै महामारीका कारण भएका भिमकाय लकडाउनबाट लड्ने र उठ्ने काम गर्यो । जसले अर्थतन्त्रको संख्यात्मक वृद्धिलाई मौसमी हिसाबले प्रहार गर्ने काम गर्यो । फेबु्रअरीमा आम मानिसहरुको आधारभूत जीवनका आवश्यकताहरु हल गर्न मुद्रास्फितिले निकै कठिन स्थिति सिर्जना गर्न पुग्यो । सन् २०२२ को अन्तिम चौमासिक अवधिमा मुद्रास्फिति ३.१ प्रतिशतबाट बढेर ४.३ प्रतिशतमा पुग्यो । जसलाई युरो क्षेत्रमा सामान्य रुपमा लिन कठिन बन्यो । कामिल कोभारका मुडिज विश्लेषकले मौसमी समायोजनको आधारमा मार्च महिनामा न्यूनतम ०.२ र अधिकतम ०.४ प्रतिशत मुद्रास्फिति कायम रहेको बताएका छन् । महामारीको क्रममा मानिसहरुले अफिसियल सर्वेहरुमा आफ्नो मत व्यक्त गर्न अस्विकार गरिरहेको देखिन्छ । जुन कुरा अमेरिकामा भ्याक्सिन लगाउनको लागि गरिएको सर्वे र बेलायतमा श्रम शक्ति सर्वेमा देखिएको थियो । जतिबेला मानिसहरुले जनाएका प्रतिक्रियामा आधा मात्रै मिलेको थियो । मानिसहरु सरकारी सर्वेक्षणप्रति उत्साहित नभएको देखिन्छ । जसले सर्वेयरहरु अथवा तथ्यांकविदहरुलाई समस्या बनाएको छ । वास्तविक तथ्यांकको अभावले पनि बेरोजगार र मानिसहरुको भविष्यबारेको आफ्नो अनुमानलाई समेट्न समस्या भइरहेको छ । अहिले सामान्यतया मन्दीकै कारण आम मानिसमा आएको बिचलनले गर्दा कसरी समस्याहरुलाई सम्बोधन गर्ने भन्ने विषयमा कठिन भइरहेको तथ्यांकविदहरुले औंल्याएका छन् । तर, विश्वमा धनी मानिसहरुको सम्पत्ति भने वर्षेनी ९ प्रतिशतका दरले वृद्धि भइरहेको छ । लगानीकर्ता र तथ्यांकविदहरुले विश्वको अर्थतन्त्रमा देखिएको अस्थिरता र मन्दीलाई विस्तारै बझ्नेछन् । महामारीको प्रभाव फिक्का हुँदै जानेछ तर मौसमी समस्या समायोजनमा भने समस्या बढ्दै जानसक्छ । अर्थशास्त्रीहरु भविष्यवाणीको अनुमान गर्न सहयोग पुग्ने वैकल्पिक तथ्यांक संकलन गर्न सक्षम हुँदैछन्, जसले आगामी दिनमा आउन सक्ने समस्यालाई निर्णायक हिसाबले सम्बोधन गर्न केही हदसम्म सफल हुने अनुमान गरिएको छ । तर यो विषय सरकार र व्यवसायीहरुलाई सान्त्वना दिनको लागि र प्रयास गर्नको लागि सकारात्मक अन्वेषण हुनसक्छ तर, विश्व अर्थतन्त्रमा अझै केही समय ‘स्फुमटा’ रह्यो भने पनि अचम्म मान्नुहुँदैन । एजेन्सीको सहयोगमा ।