विश्व बैंकको अध्यक्ष बने भारतीय मूलका अजय बंगा
काठमाडौं । विश्व बैंकको अध्यक्षमा अजय बंगा नियुक्त भएका छन् । भारतीय मूलका अजयपाल सिंह बंगा विश्व बैंकको अध्यक्षमा निर्विरोध चयन भएका हुन् । बैंकका कार्यकारी निर्देशकहरुको बैठकले बंगालाई आगामी ५ वर्षका लागि अध्यक्ष पदमा नियुक्त गरेको हो । अध्यक्ष पदका लागि एकल आवेदन परेपछि उनी निर्विरोध चयन भएका हुन् । यसअघि अध्यक्ष रहेका डेभिड मालपासको कार्यकाल सकिएपछि उनलाई नियुक्त गरिएको हो । बंगा भारतीय मूलका अमेरिकी नगारिक हुन् । उनले यसअघि जनरल एट्लान्टिकमा उपाध्यक्ष पदमा रहेर काम गरेका थिए । साथै मास्टर कार्ड बन्ने कम्पनीका अध्यक्ष एवम् सीईओको रुपमा काम पनि गरेका थिए । उनको नेतृत्वमा, मास्टरकार्डले समावेशी विकास केन्द्रको सुरुवात गरेको थियो । इन्टरनेशनल चेम्बर अफ कमर्सको मानार्थ अध्यक्षको रुपमा उनले सन् २०२० देखि सन् २०२२ सम्म सेवा गरेका थिए । उनले सन् २०१६ मा भारतका राष्ट्रपतिद्वारा पद्मश्री पुरस्कार पनि प्राप्त गरेका छन् ।
बेलायती विशाल ऊर्जा कम्पनी नाफामा
बेलायत । बेलायती विशाल ऊर्जा शेलले बिहीबार कम ऊर्जा मूल्यको बावजुद पहिलो त्रैमासिकमा आफ्नो नाफा बढाएको छ । एक वर्ष पहिले रूसबाट बाहिर निस्कँदा ठूलो शुल्कको मारमा परेको कम्पनीले यस त्रैमाषिकमा नाफा बढाएको हो । करपछिको नाफा एक वर्ष अघिको तुलनामा २२ प्रतिशतले बढेर ८।७ बिलियन डलर ६।७ बिलियन युरो पुगेको छ । जुन मस्कोले युक्रेनमा आक्रमण गरेपछि रुसबाट बाहिर निस्कँदा ३।९ बिलियन डलर शुल्क लिएको थियो । रासस
आइएमएफले इसीएफको दोस्रो किस्ता वापतको ७ अर्ब रुपैयाँ दिने
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपाललाई दिने भनिएको ७ अर्ब रुपैयाँ सहुलियत ऋण उपलब्ध गर्ने निर्णय गरेको छ । नेपाललाई विस्तारित कर्जा सुविधा (इसीएफ)अन्तर्गतको ५ करोड २८ लाख अमेरिकी डलर अर्थात् ६ अर्ब ९० करोड रुपैयाँ नेपाललाई उपलब्ध गराउन सहमत भएको हो । अमेरिकाको वासिङ्टन डिसीमा बसेको आइएमएफ बोर्ड बैठकले नेपाललाई सो कर्जा सुविधा दिने निर्णय गरेको हो । कोषले विस्तारित कर्जा सुविधा लिँदा गरेको प्रतिबद्धतालाई समीक्षा गर्दै दोस्रो किस्ता प्रदान गर्ने निर्णय गरेको हो । आइएमएफले नेपाललाई उपलब्ध गारउने भनिएपनि १ वर्षदेखि दोस्रो किस्ताको रकम रोकिएको थियो । अर्थमन्त्री डा. प्रकाश शरण महत र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा लिँदा गरेका प्रतिबद्धता अनुसार नीतिगत सुधार गर्ने प्रतिबद्धता जनाएपछि दोस्रो किस्ता वापतको रकम निकासा गर्ने निर्णय गरेको हो । योसँगै नेपालले सुविधावापत १५ करोड ७४ लाख अमेरिकी डलर खर्च गर्न प्राप्त गर्ने भएको छ । यसअघि पहिलो किस्ता बापत ११ करोड अमेरिकी डलर प्राप्त गरिसकेको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आईएमएफसँग वि.सं. २०७८ पुस २८ गते विस्तारित कर्जा सुविधाअन्तर्गत ३९ करोड ८८ लाख अमेरिकी डलर प्रदान गर्न सम्झौता गरेका थिए ।