भारतमा बेरोजगारीदरमा उच्च वृद्धि, आठ प्रतिशत पुग्यो

काठमाडौं । पछिल्लो समय भारतको बेरोजगारीदरमा उच्च वृद्धि हुन पुगेको छ । पछिल्लो तीन महिनामा बेरोजगारीदरमा वृद्धि भएर ७.८० प्रतिशत पुगेको भारतीय मिडियामा रिपोर्ट प्रकाशित भएको छ । सेन्टर फर मनिटरिङ इन्डियन इकोनोमीले शनिबार भारतको बेरोजगारीदरको आंकडा प्रस्तुत गरेको छ । तथ्यांक अनुसार मार्च महिनामा भारतको शहरी क्षेत्रमा बेरोजगारीदर ७.९३ प्रतिशतबाट बढेर ८.५१ प्रतिशत पुगको छ । त्यस्तै भारतको ग्रामिण क्षेत्रमा पछिल्लो समयमा बेरोजगारीदर ७.४७ प्रतिशत पुगेको तथ्यांकले देखाएको छ । रिपोर्ट अनुसार मार्च महिनामा छत्तिसगढमा सबैभन्दा कम ०.८ प्रतिशत र सबैभन्दा बढी हरियाणामा २६.८ प्रतिशत बेरोजगारीदरमा वृद्धि भएको छ ।

६७५ कर्मचारीलाई निकाल्दै गर्दै स्याटेलाइट लन्च कम्पनी ‘भर्जिन अर्बिट’

वासिङ्टन । रिचार्ड ब्रान्सनले स्थापना गरेको ‘स्याटेलाइट लन्च’ कम्पनी भर्जिन अर्बिटले आफ्ना ८५ प्रतिशत कर्मचारीलाई हटाउने घोषणा गरेको छ । क्यालिफोर्नियास्थित कम्पनीले अमेरिकी सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनलाई दिएको जानकारी अनुसार कम्पनीले खर्च घटाउन करिब ६७५ जनालाई जागिरबाट विदा गर्न लागेको हो । रोजगारी कटौतीको काम अप्रिल ३ सम्ममा पूरा हुने बताइएकाे छ । बेलायती भूमिबाट अन्तरिक्षमा पहिलो रकेट प्रक्षेपण गर्ने प्रयास असफल भएपछि भर्जिन अर्बिटलाई यस वर्षको सुरुमा ठूलो धक्का लागेको थियो । कम्पनीले बेलायती अन्तरिक्ष एजेन्सी र कोर्नवाल स्पेसपोर्टसँग मिलेर नौ वटा भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्ने अभियानको आयोजना गरेको थियो । यस महिनाको सुरुमा, कम्पनीले धेरै दिनको लागि प्रक्षेपण स्थगित गरी वित्तपोषण वार्ताहरू गरेको थियो र रणनीतिक अवसरहरूको खोजी गरेको थियो । तर बिहीबार भएको सर्वदलीय बैठकमा प्रमुख कार्यकारी अधिकृत डान हार्टले आफ्ना कर्मचारीलाई ‘निकट भविष्यका लागि’ काम बन्द गर्ने बताएका थिए । सीएनबीसीलाई प्राप्त एक रिपोर्टमा हार्टले भने, ‘दुर्भाग्यवश, हामी यस कम्पनीको लागि स्पष्ट मार्ग प्रदान गर्न कोष सुरक्षित गर्न सक्षम भएका छैनौं ।’ न्यूयोर्क स्टक एक्सचेन्जमा भर्जिन अर्बिटको सेयर बिहीबार साँझ १६ प्रतिशतले घटेर ३४ सेन्टमा झरेको थियो ।

भारतमा बढ्न थाले कोरोना संक्रमित, सचेत रहन डब्ल्युएचओको आग्रह

नयाँदिल्ली । भारतमा पुनः कोरोनाका बिरामी बढेका छन् । बितेका पाँच महिनाको अवधिमा आज सबैभन्दा धेरै सङ्क्रमित फेला परेका हुन् । आज एकै दिन तीन हजार ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सङ्ख्या झण्डै छ महिना यताकै उच्च हो । बुधबार तीन हजार सङ्क्रमित फेला परेका थिए । उक्त मन्त्रालयले आज सार्वजनिक गरेको अद्यावधिक तथ्याङ्कअनुसार महामारी क्रमशः साम्य भएपछि गत अक्टोबर २८ मा सबैभन्दा दुई हजार दुई सय आठ जनामा सङ्क्रमण देखिएको थियो । बुधबार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ५०९ रहेकामा आज त्यसमा वृद्धि भई १५ हजार २०८ पुगेको छ । बितेका २४ घण्टामा एक हजार ३९० बिरामीले स्वास्थ्यलाभ गरेका छन् । उक्त मन्त्रालयले राष्ट्रव्यापी खोप अभियानअन्तर्गत हालसम्म दुई अर्ब २० करोड ६५ लाख मात्रा खोप लगाइएको तथा त्यसमा ९५ करोड २० लाख दोस्रो मात्रा र २२ करोड ८६ लाख मात्रा सावधानीका लगाइएको जनाएको छ । पछिल्लो २४ घण्टामा छ हजार ५५३ जनालाई खोप लगाइएको छ । सोही अवधिमा एक लाख १८ हजार ६९४ जनाको कारोना परीक्षण गरिएको छ । केन्द्र सरकारले स्वास्थ्य तथा चिकित्सा विभागका अधिकारहरूलाई मातहतका निकाय र सरोकारवालासँग सम्भावित महामारीको सामनाको तयारीका निम्ति समीक्षा बैठक गर्न तथा रोकथामका आवश्यक उपाय अवलम्बन गर्न निर्देशन दिएको छ । यसैबीच, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले महामारीको सम्भावित नयाँ चरणलाई दृष्टिगत गरी कारोनाविरुद्धका खोप लगाउन आह्वान गरेको छ । स्वस्थ बालबालिका तथा किशोरकिशोरीहरूलाई खोप आवश्यक नभए पनि वृद्ध र उच्च जोखिममा रहेका समूहलाई अन्तिम खोप लगाएको छ देखि १२ महिनाको अन्तरालमा ‘बुस्टर डोज’ लगाउन सुझाएको छ । गम्भीर रोगको सामना गरिरहेका वर्गलाई सङ्क्रमण प्रतिरोधी खोपमा प्राथमिकतना दिन सङ्गठनले संसारका सबै देशका सरकारलाई अनुरोध गर्दै राष्ट्रसङ्घीय निकायले परिस्थितिको निरन्तर अनुगमन गरिरहेको र सहयोगका लागि तत्पर रहेको बताएको छ । साथै सङ्गठनले सचेत रहन तथा स्वास्थ्य नियम पालना गर्न अनुरोध गरेको छ ।