थप ब्याजदर नबढाउन फेडरललाई अमेरिकी बैंकहरुको आग्रह

वासिङ्टन । तीन वटा क्षेत्रीय ऋणदाताको पतनलाई लिएर दुई हप्ताको बजार उथलपुथलपछि अमेरिकी बैंकहरूले बुधबार फेडरल रिजर्भको ब्याज दरको निर्णयमा विशेष ध्यान दिन आग्रह गरेका छन् । केन्द्रीय बैंकले उच्च मुद्रास्फितिसँग जुध्नका लागि ब्याजदर बढाउने क्रम जारी राख्ने वा वाणिज्य बैंकिङ क्षेत्रमा थप उथलपुथल हुनबाट रोक्न कडा कदम चालिरहेको जनाएको छ । फेडले अर्को दर वृद्धिको लागि तयारी गरिरहेका समय यस हप्ता विश्वका वित्तीय अधिकारीहरूले बढ्दो मुद्रास्फीति रोक्नका लागि अन्य उपायहरू अपनाएपछि शेयर बजार र बैंकिंग शेयरहरूको मूल्य वृद्धि भएको छ । सीएमई ग्रुपका अनुसार अधिकांश व्यापारीले फेडले आफ्नो ब्याजदरलाई तुलनात्मक रूपमा २५ आधार अङ्कले बढाएर ४.७५ देखि ५.०० प्रतिशतको दायरामा ल्याउने अनुमान गरेका छन् । यो अमेरिकी केन्द्रीय बैंकले गत फेब्रुअरीमा गरेको अघिल्लो दर वृद्धिको आकारसँग मिल्दोजुल्दो हुनेछ र गत वर्ष मौद्रिक अवस्थालाई कडाइ गर्न सुरु गरेयता नवौं वृद्धि हुनेछ । यी प्रयासहरूको बावजुद, मूल्य वृद्धि फेडको दुई प्रतिशतको दीर्घकालीन मुद्रास्फीति लक्ष्यभन्दा धेरै माथि रहेको छ । रासस

पुनः ९ हजार कर्मचारी हटाउँदै अमेजन, यसअघि १८ हजार कटौती

सान फ्रान्सिस्को । अमेजनले थप नौ हजार कर्मचारीलाई सेवाबाट हटाउने भएको छ । अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जसीले नौ हजार कर्मचारी कटौती गर्ने कम्पनीको योजना सोमबार घोषणा गरेका हुन् । एक ब्लग पोस्टमा उनले कर्मचारी कटौतीबाट कम्पनीको क्लाउड सेवा, विज्ञापन र ट्विच एकाइमा असर पर्ने उल्लेख गरेका छन् । यसअघि अमेजनले १८ हजार कर्मचारी जागिर कटौती गर्ने घोषणा गरेको थियो । कुन विभागका कर्मचारी कटौतीमा पर्ने भन्ने निर्णय भइनसकको जनाउँदै एन्डीले आगामी एप्रिलको मधयसम्ममा निर्णय कार्यान्वयन हुने बताएका छन् । अमेजन विश्वको सबैभन्दा ठूलो रोजगारदाता कम्पनी मध्येको एक हो । विश्वभर करिब १५ लाख कर्मचारी अमेजनमा आवद्ध छन् । रासस/सिन्ह्वा

पोर्नस्टारसँग मुछिएका डोनाल्ड ट्रम्प जेल पर्लान् ?

एजेन्सी । गल्फ टुर्नामेन्टको दौरानमा एक ६० वर्षको पुरुष र २७ वर्षिया पोर्नस्टारबीच भेटघाट हुन्छ । टुर्नामेन्ट सकिएपछि ६० वर्षीय पुरुषले उक्त पोर्नस्टारलाई आफ्नो होटलको कोठामा बोलाउँछन् । पोर्नस्टारका अनुसार उक्त धनी व्यक्तिले एक टेलिभिजन शो मा काम लगाइदिने बाचा गरेपछि उनीहरुबीच शारिरीक सम्बन्ध हुन्छ । त्यसपछि ती धनी व्यक्ति राष्ट्रपतिको चुनाव लड्छन् र उनी चुनाव जित्छन् पनि । उनीहरुबीचको त्यतिखेर भएको अफेयर दबाउनको लागि पार्नस्टारलाई डेढ करोड रुपैयाँ दिइन्छ । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि अहिले यो विषय घाँटीको पासो बनेको छ । अहिले ट्रम्प पक्राउ पर्न सक्ने सम्भावना रहेको छ । अमेरिकी पूर्व राष्ट्रपतिलाई आपराधिक मुद्दा लाग्न सक्ने अनुमान गरिएको छ । सन् २००६ साल तिरको कुरा हो । डोनाल्ड ट्रम्प अमेरिकी टिभी च्यानल एनबीसीको शो ‘द एप्रेन्टिस’ बाट निकै चर्चित भएका थिए । जुलाई २७ मा नेभाडामा भएको सेलिब्रेटी गल्फ प्रतियोगितामा उनले पहिलोपटक पोर्नस्टार स्टर्मी डेनियललाई देखेका थिए । त्यतिबेला ट्रम्प ६० वर्षका थिए भने स्टर्मी २७ वर्षकी थिइन् । टुर्नामेन्ट सकिएपछि ट्रम्पले पोर्नस्टार स्टर्मीलाई एक होटलमा बोलाएका थिए । जब पोर्नस्टार होटलको कोठामा पुगिन ट्रम्पले उनलाई टेलिभिजन शो मा काम लगाइदिने बाचा गरे । त्यसपछि दुबैबीचमा शारीरिक सम्बन्ध भयो । पोर्नस्टार डेनियलले यी सबै कुरा सन् २०१८ मा ‘६० मिनेट’ लाई दिएको अन्तर्वार्तामा बताएकी छन् । डेनियलले बताएकी छन् की ट्रम्पले उनलाई २००६ पछि पनि पटक-पटक बोलाइरहने गर्दथे । पहिलो भेटको एक वर्षपछि ट्रम्पले पोर्नस्टारलाई सन् २००७ मा लस एन्जलसको बेभर्ली हिल्स होटलको एक बंगालामा बोलाएका थिए । रियालिटी शो मा काम लगाइदिने विषयमा सो भेट गरेको डेनियलले बताएकी छन् । यो पटक भने उनले शारीरिक सम्बन्ध कायम गरेनन् । फेरि अगस्ट महिनामा ट्रम्पले उनलाई ‘सेलिब्रेटी एप्रेन्टिस’ शो मा सहभागी गराउन नसक्ने बताए । यसपछाडि यी दुई बीचमा भेटघाट पनि भएन र बोलचाल पनि बन्द भयो । सन् २०११ मा डेनियलले ‘इन टच’ म्याग्जिनलाई दिएको अन्तर्वार्तामा १२ लाख रुपैयाँ लिएर मात्रै उनले ट्रम्पसँग भेटघाट गरेकी थिइन् । तर, पछि उक्त म्याग्जिनका दुई कर्मचारीले सिबिएस न्युजलाई उक्त अन्तर्वार्तामा कहिल्यै बाहिर नआएको बताएका छन् । उक्त अन्तर्वार्ता छाप्नको लागि पत्रिकाले ट्रम्पको प्रतिक्रिया लिन खोज्दा उनको वकिल मिशेल कोहेनले मुद्दा हाल्ने धम्की दिएका थिए । त्यसको केही हप्तापछि डेनियललाई लस भेगासमा एकजना व्यक्तिले भेटेर सो अन्तर्वार्ता भुल्न र ट्रम्पलाई एक्लै छोडिदिन अनुरोध गरेका थिए । डेनियललाई नबोल्न डेढ करोड सन् २०११ मा डेनियलको अन्तर्वार्ता कोहेनको धम्कीको कारण प्रकाशित हुन सकेन । तर, सन् २०१८ मा म्याग्जिनले उक्त अन्तर्वार्तालाई अन्तिम प्रकाशन गर्ने काम गर्यो । यसै बीचमा अन्तर्वार्ता प्रकाशित भएको केही हप्ता पहिले डेनियलले ‘६० मिनेट’ कार्यक्रममा उनले बताइन् की उनले लस भेगासमा भएको भेटमा सोे घटना गुपचुप राख्न एक करोड ६० लाख लिएकी थिइन् । सन् २०१६ मा ट्रम्प राष्ट्रपतिको चुनाव लडन खोजिरहेका थिए र उनले आफ्नो परिवार सुरक्षित राख्नको लागि उक्त पैसा लिएको बताएकी छन् । पछि डेनियलले सन् २०१६ मा उनीहरु बीचको सम्झौता रद्द गर्न माग गर्दै अदालतमा अपील गरेकी थिइन् । सन् २०१८ मा वाल स्ट्रिट जर्नलले कोहेनले डेनियललाई पैसा दिएको खुलासा गरेको थियो । शुरुमा कोहेनले सो रिपोर्टलाई अस्वीकार गरेपनि सन् २०१८ फेब्रुअरीमा उनले आफ्नो फन्डबाट पैसा दिएको स्वीकार गरेका थिए । सन् २०१८ मा कोहेननले सोधपुछको क्रममा चुनावको केहीदिन अगाडि ट्रम्पले डेनियललाई नबोल्ने सर्तमा एक करोड ६० लाख दिन भनेको बताएका थिए । त्यसपछि मात्रै न्युयोर्कको म्यानहट्टन जिल्लाका न्यायाधिवक्ताले डेनियलको विषयमाथि अनुसन्धान प्रारम्भ गरे । पोर्नस्टार डेनियलसँगको विषयलाई लिएर अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प गिरफ्तार हुन सक्ने भन्दै धेरै सञ्चारमाध्यमहरुले विश्लेषण गरिरहेका छन् । यदि ट्रम्पविरुद्ध मुद्दा अगाडि बढेमा अमेरिकाको २३४ वर्षको इतिहासमा पूर्व राष्ट्रपति माथिको यो पहिलो मुद्दा हुनेछ । सन् १९९० मा राष्ट्रपति बिल क्लिंटन माथि पनि यौन दुव्र्यवहारको आरोप लागेको थियो । उनी विरुद्ध महाअभियोग लगाउने भनिए पनि उनले आरोप पहिल्यै स्वीकार गरेकाले विषय अदालत सम्म पुगेको थिएन ।