हृदय रोग सम्बन्धी रोकथाममा सिंगापुरको नयाँ प्रविधि

काठमाडौं । सिङ्गापुरले सन् २०२७ को सुरुमा हृदय रोग सम्बन्धीको उच्च जोखिममा रहेका व्यक्तिहरू पहिचान गर्न नयाँ उपकरण लागू गर्ने योजना बनाएको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार यो योजना सार्वजनिक गर्दै यो कदम रोकथाममुखी स्वास्थ्य सेवामा महत्वपूर्ण परिवर्तन ल्याउने भनेको छ । स्वास्थ्य प्रविधि एजेन्सीले विकास गरेको सहायक दीर्घकालीन रोग उपकरणले व्यक्तिको उमेर, स्वास्थ्य इतिहास, जीवनशैली, खानपान र अन्य व्यक्तिगत तथ्याङ्कको विश्लेषण गरी मधुमेह र उच्च रक्तकोष्ठ लाग्ने सम्भावना निर्धारण गर्छ । यसले हरेक व्यक्तिको जोखिम स्तर पहिचान गरेर स्वास्थ्य केन्द्रहरूमा लक्षित सेवा प्रदान गर्न सहयोग पुर्याउँछ । यो उपकरण लागू भएपछि, उच्च जोखिममा रहेका व्यक्तिहरूलाई हरेक वर्ष हृदय–सम्बन्धी रोगको जाँच गरिनेछ, जुन पहिले हरेक तीन वर्षमा गरिन्थ्यो । यसरी जाँचको आवृत्ति बढाएपछि प्रारम्भिक चरणमै रोगको पहिचान गर्न र समयमै रोकथामका कदम चाल्न सजिलो हुनेछ । जाँचका लागि आवश्यक पर्ने खर्च सरकारले व्यहोर्नेछ, जसले सबै नागरिकले सहज रूपमा यो सेवा पाउने सुनिश्चित गर्दछ । स्वास्थ्य मन्त्रालयका अनुसार, उपकरणले उच्च जोखिममा रहेका व्यक्तिहरूलाई चिन्हित गरेमा ती व्यक्तिहरूमा आगामी तीन वर्षभित्र मधुमेह, उच्च रक्तकोष्ठ, वा दुवै रोग लाग्ने सम्भावना ७५ प्रतिशतभन्दा बढी हुन्छ । यसको अर्थ, समयमै जाँच र उपचार सुरु गर्न सके स्वास्थ्य जोखिम कम गर्न सकिन्छ ।  मन्त्रालयले यो पहललाई प्रविधिमा आधारित रोकथाममुखी स्वास्थ्य सेवातर्फको महत्वपूर्ण कदमको रूपमा व्याख्या गरेको छ । यसले व्यक्तिगत जोखिमअनुसार लक्षित सेवा प्रदान गर्न सहयोग पुर्याउनेछ र दीर्घकालीन रूपमा स्वास्थ्य सुधारमा योगदान पु¥याउने विश्वास गरिएको छ । रासस

विश्वको ध्यान मध्यपूर्वतर्फ मोडिएपछि युक्रेन संकट ओझेलमा, रोकियो निर्णायक वार्ता

काठमाडौं । मध्यपूर्वमा चर्किएको इरानसम्बन्धी युद्धका कारण संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रूस र युक्रेनबीच यस साता हुने भनिएको नयाँ चरणको वार्ता स्थगित भएको युक्रेनी राष्ट्रपति भ्लादिमर जेलेन्स्कीले बताएका छन् । अन्तर्राष्ट्रिय ध्यान अहिले मध्यपूर्वतर्फ केन्द्रित भइरहेका बेला किएभले भने इरानी ड्रोनको सामना गर्ने आफ्नो अनुभवबारे विभिन्न देशबाट सहयोगको प्रस्ताव प्राप्त गरिरहेको जनाएको छ । जेलेन्स्कीका अनुसार संयुक्त राज्य अमेरिका र मध्यपूर्वका केही सहयोगी राष्ट्रहरूले इरानद्वारा प्रयोग भइरहेका साहेद ड्रोनविरुद्ध प्रतिरक्षा उपायबारे युक्रेनसँग सहयोग खोजिरहेका छन् ।  रूसले चार वर्षअघि युक्रेनमाथि आक्रमण सुरु गरेपछि हजारौं साहेद ड्रोन प्रयोग गरिसकेको अनुभव युक्रेनसँग रहेको उनले बताए । पछिल्लो समयमा इरानले पनि इरानी लक्ष्यहरूमा भएका संयुक्त अमेरिकी–इजरायली आक्रमणको जवाफ त्यही प्रकारका ड्रोनमार्फत दिएको उल्लेख गरिएको छ । छैटौं दिनमा प्रवेश गरेको इरानसम्बन्धी युद्धले दोस्रो विश्वयुद्धपछिको युरोपको सबैभन्दा ठूलो सङ्घर्ष मानिएको रूस–युक्रेन युद्धबाट अन्तर्राष्ट्रिय ध्यान केही हदसम्म मोडिएको छ । पश्चिमी सरकार र विश्लेषकहरूका अनुसार रूस–युक्रेन युद्धमा लाखौँ मानिसको ज्यान गइसकेको छ, तर एक वर्षदेखि जारी अमेरिकी नेतृत्वको शान्ति प्रयासले लडाइँ चाँडै अन्त्य हुने सङ्केत भने अझै दिएको छैन । जेलेन्स्कीले बुधबार राति सम्बोधन गर्दै इरान वरपरको सुरक्षा अवस्थाका कारण तीनपक्षीय कूटनीतिक बैठकका लागि आवश्यक वातावरण अझै नबनेको बताए । ‘अहिले इरानसँग सम्बन्धित अवस्थाका कारण त्रिपक्षीय बैठकका लागि आवश्यक सङ्केतहरू प्राप्त भएका छैनन्,’ उनले भने, ‘तर सुरक्षा अवस्था र समग्र राजनीतिक सन्दर्भ अनुकूल हुनेबित्तिकै त्यो कूटनीतिक प्रक्रिया पुनः सुरु गरिनेछ ।’ उनका अनुसार इरानी ड्रोनविरुद्ध प्रतिरक्षा उपायबारे सहयोगका लागि विभिन्न देशहरूले युक्रेनसँग सम्पर्क गरिरहेका छन् । हालैका दिनमा उनले संयुक्त अरब इमिरेट्स, कतार, बहराइन, जोर्डन र कुवेतका नेताहरूसँग सम्भावित सहकार्यबारे छलफल गरेका छन् । तर उनले युक्रेनले यस्तो सहयोग आफ्नो सुरक्षा कमजोर नपर्ने अवस्थामा मात्र उपलब्ध गराउने स्पष्ट पारे । साथै यस्तो सहकार्यले रूसी आक्रमण रोक्ने किएभको कूटनीतिक प्रयासलाई सहयोग पु‍र्याउनु पर्ने शर्त पनि उनले राखे । ‘हामीलाई, युक्रेनलाई, युद्धको उचित अन्त्य गर्न सहयोग गर्नेहरूलाई हामी पनि युद्धबाट जोगिन मद्दत गर्न तयार छौं,’ जेलेन्स्कीले भन्नुभयो । यसैबीच, युद्धको अध्ययन संस्थानका अनुसार युक्रेनी सेनाले करिब एक हजार २५० किलोमिटर लामो मोर्चामा केही स्थानहरूमा रूसी सेनालाई पछाडि धकेल्न सफल भएको छ । वासिङ्टनस्थित उक्त थिङ्क ट्याङ्कका अनुसार फेब्रुअरीको अन्तिम दुई सातामा युक्रेनी सेनाले स्थानीय स्तरका प्रतिआक्रमणमार्फत गुमाएको भन्दा बढी भूभाग पुनः नियन्त्रणमा लिएको छ । संस्थानले जनवरी १ यता युक्रेनले करिब २५७ वर्गकिलोमिटर (१०० वर्गमाइल) क्षेत्र पुनः आफ्नो नियन्त्रणमा ल्याएको अनुमान गरेको छ ।

मध्यपूर्वबाट सैन्य विमान तैनाथ गरी आफ्ना नागरिकको उद्धार गर्दै अष्ट्रेलिया

काठमाडौं । अस्ट्रेलियाले आफ्ना नागरिकको निस्कासनको आकस्मिक योजनाको रूपमा मध्य पूर्वमा दुइवटा सैन्य विमान तैनाथ गरी नागरिक उद्धारमा तल्लीन रहेको अधिकारीहरूलाई यदृत गर्दै एएफपीले जनाएको छ । अमेरिका-इजरायली आक्रमण पछि इरानका सर्वोच्च नेता आयाेतल्लाह अली खामेनीको मृत्यु भई क्षेत्रीय युद्ध भड्किए पछि यस हप्ता विभिन्न देशहरूले मध्यपूर्वबाट आफ्ना नागरिकहरूको सुरक्षित निस्कासनमा हतार गरिरहेका छन् । अस्ट्रेलियाले आफ्ना नागरिकहरूको सुरक्षित निस्कासनको योजनाको अनुरूपमा मध्य पूर्वमा विमान तैनाथ तथा यातायात सुविधा प्रवाह  गरेको अधिकारीहरूलाइ उद्धृत गर्दै एएफपीले जनाएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजले समेत बिहीबार संसदमा मध्यपूर्वमा सैन्य विमान तैनाथ गरिएको पुष्टि गरेका छन् । उनले अस्ट्रेलियालीहरूलाई मद्दत गर्न खतरनाक अवस्थामा यो कदम उठाउने अस्ट्रेलियालीहरूलाई धन्यवाद दिए ।  यस अघि बुधवार पहिलो उडान दुबईबाट सिड्नीमा भएको जनाउँदै अस्ट्रेलियाले यस क्षेत्रमा १ लाख १५ हजार नागरिक रहेको बताएको छ । न्युजिल्यान्डले पनि यस क्षेत्रबाट आफ्ना नागरिकहरूको सुरक्षित निस्कासनको लागि  बिहीबार मध्यपूर्वमा दुइवटा सैन्य विमान तैनाथीकोे आदेश दिएको छ ।