विश्वकप हेर्न कसरी भुक्तानी गर्ने ५ सय रुपैयाँ ?

काठमाडौं । नेपालमा विश्वकप फुटबल प्रसारणसम्बन्धी विवाद सर्वाेच्च अदालतले बुधबार टुंग्याएपछि नेपालीले पैसा तिरेर विश्वकप हेर्न पाउने भएका छन् । अब ५ सय रुपैयाँ तिरेर नेपालीले विश्वकप हेर्न पाउने भएका हुन । नेपालमा विश्वकप फुटबल प्रसारणको अधिकार खरिद गरेको मिडिया हबले बुधबार अदालतले थप शुल्क लिन पाउने गरी आदेश दिएपछि प्रसारणको तयारी थालिएको बताएको छ । मिडिया हबका अध्यक्ष सोमप्रसाद धिताल अदालतको आदेशपछि नेपालमा विश्वकप हेर्नका लागि रातदिन काम सुरु भएको बताउँछन् । ‘हामीसँग छोटो अवधि मात्र बाँकी छ, विश्वकप देखाउनका लागि आवश्यक कामहरु धेरै छन्, हामीले रातदिन नभनी काम गछौँ, ग्राहकले सुरुकै दिनदेखि थप शुल्कमा विश्वकप हेर्नपाउनुहुनेछ’, उनले भने, ‘नेपाली फुटबल प्रेमी ग्राहकले थप ५ सय शुल्क भुक्तानी गर्नुपर्याे त्यसमा हामी दुखी छौँ, तर उहाँहरुको फूटबल प्रतिको मोह हामी मार्न दिदौँनौँ, थप शूल्क लिनुपर्ने हाम्रो बाध्यता हो ।’ कसरी तिर्ने शुल्क ?  विश्वकप हेर्नका लागि ग्राहकले इन्टरनेट जडान गरिएको सेवाप्रदायक कम्पनीलाई थप शुल्ल भुक्तानी गर्नुपर्नेछ । ग्राहकले आफ्नो घरमा जुन केलवको सेटअप बस राखेको छ सोही केवल सेवा प्रदायक कम्पनीलाई थप ५ सय शुल्क तिुर्नपर्ने मिडिया हबले जनाएको छ । ‘जसरी तपाईंले इन्टरनेट र टेलिभिजनको शुल्क भुक्तानी गर्नुभएको छ, सोहीमा एड गरी अथवा प्याजेक अनुसार भुक्तानी गर्न पाइन्छ’, अध्यक्ष धितालले भने, ‘वार्षिक रुपमा भुक्तानी गर्ने ग्राहकको शुल्क प्याकेजमा नै राख्ने अधिकार सम्बन्धीत इन्टरनेट सेवा प्रदायक कम्पनीले गर्नेछ, कोहीले वार्षिक प्याकेजमा एड गर्नुहुन्छ, कोहीले नेटसँग जोडेर लिन सक्छन्, केबल, एनएसओ, डीटीएचको कम्पनीले आफ्नो तरीकाले थप ५ सय शुल्क लिनुहुनेछ ।’ उनका अनुसार मिडिया हबले भारतीय कम्पनी भायकमबाट प्रसारण अधिकार खरिद गर्न सम्झौता गरेको छ । भायकमबाट प्रसारण अधिकार लिन र विश्वकपको प्रचारप्रसार गर्नका लागि मात्रै मिडिया हबले ४१ करोड रुपैयाँ खर्च गरेको उनको भनाइ छ । उनका अनुसार विश्वकप फुटबल देखाउनका लागि ठूलो परिमाणमा खर्च लाग्ने भएपछि बाध्य भएर थप शुल्क लिनुपरेको हो । नेपालमा २० देखि २१ लाखसम्म टेलिभिजन सेटअप बक्सहरू रहेको र त्यसमध्ये १० देखि १२ लाख टेलिभिजन प्रयोगकर्ताहरूले विश्वकपको प्रत्यक्ष प्रसारण हेर्न सक्ने अनुमान मिडिया हबले गरेको छ । त्यसबापत १० लाख प्रयोगकर्ताहरूले मात्रै विश्वकप हेर्न शुल्क तिरे ५० करोडसम्म उठ्ने उक्त कम्पनीले प्रक्षेपण गरेको छ । मिडिया हबले ग्राहकबाट उठाएको थप ५ सय शुल्कमध्ये इन्टरनेट सेवा प्रदायक कम्पनीले ३० प्रतिशत रकम पाउनेछन् । ‘७० प्रतिशत मिडिया हबले र ३० प्रतिशत सम्बन्धीत कम्पनीले दिने गरी तयारी भएको छ तर यतिनै भन्ने यकिन भैसकेको छैन’, उनले भने, ‘७०–३० हुन्छ कि ६०–४० हुन्छ, फाइनल हुनबाँकी नै छ ।’ कतारको राजधानी दोहामा यही नोभेम्बर २१ देखि डिसेम्बर १८ तारिखको बीचमा विश्वकप फुटबल आयोजन हुनेछ ।

बङ्गलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन ४८ करोड पाउण्ड बढाउने

बङ्गलादेश । बङ्गलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने जनाएको छ । कपास उत्पादनका लागि धनी मानिने एसियाली मुलुक बङ्गलादेशले नयाँ प्रजातिको कपास उत्पादन गर्ने र खेतीको क्षेत्र विस्तार गर्ने लक्ष्य राखेको हो । कपास विकास बोर्डका अतिरिक्त निर्देशक मोहम्मद फख्रे आलम इब्ने ताबिबले भने, ‘कपास एक प्रमुख नगदे बाली हुन सक्छ किनभने कपडा उद्योगमा यसको बढ्दो माग पूरा गर्न हामीले यसको आयातका लागि हरेक वर्ष तीन अर्ब अमेरिकी डलर खर्च गर्नुपर्ने हुन्छ ।’ आधिकारिक तथ्याङ्कअनुसार बङ्गलादेशमा अहिले वार्षिक चार अर्ब ८ करोड पाउण्डको मागको तुलनामा वार्षिक नौ करोड ६० लाख पाउण्ड उत्पादन हुन्छ । उच्च मागको पृष्ठभूमिमा, बङ्गलादेशी टेक्सटाइल र स्पिनिङ मिलहरू र अन्य प्रयोगकर्ताहरूले भारत, संयुक्त राज्य अमेरिका, धेरै अफ्रिकी र मध्य एसियाली राष्ट्रहरू, अस्ट्रेलिया, ब्राजिल र पाकिस्तानबाट कपास आयात गर्छन् । ताबिबका अनुसार उर्वर बाँझो जमिनको ठूलो क्षेत्र प्रयोग गरी उच्च उत्पादन दिने नयाँ प्रजाती र हाइब्रिड जातका कपास उत्पादन गरी देशको दक्षिणपूर्वी पहाडी क्षेत्र र केही समतल जिल्लाहरू कपास उत्पादनलाई ४८ करोड पाउण्ड पुर्याउने लक्ष्य राखिएको छ ।

कार र ग्यासका कारण अक्टोबरमा अमेरिकी खुद्रा बिक्रीमा वृद्धि

अमेरिका । अक्टोबरमा अमेरिकी खुद्रा बिक्रीमा अपेक्षा गरिएभन्दा वृद्धि देखिएको छ । ग्याँसको उच्च मूल्य र कार बिक्रीका कारण बढेको मूल्यको दबाबको प्रभाबपछि खर्चमा लचिलोपन देखिएको सरकारी तथ्याङ्कले देखाएको छ । अमेरिकी उपभोक्ताहरूले किराना सामानदेखि लुगाफाटासम्मका सबै चीजहरू महङ्गो बनाएको कारण बढ्दो लागतलाई समायोजन गर्दा एक महिना अघि बिक्रीमा गिरावट आएको भएपनि अक्टोबरमा यसमा वृद्धि भएको छ । दशकौंपछिको उच्च मुद्रास्फीतिको स्तरको सामना गर्दै, अमेरिकी फेडरल रिजर्भले यस वर्ष आफ्नो मानक ऋण दरलाई पटकपटक बढाएको छ । विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्थालाई मन्दीमा धकेल्ने जोखिमको बाबजुद पनि यसमा लगातार चार उच्चस्तरका वृद्धिहरू समावेश छन् । तर अक्टोबरमा खुद्रा बिक्री सेप्टेम्बरको तुलनामा १।३ प्रतिशतले बढेर ६९४।५ अर्ब डलर पुगेको वाणिज्य मन्त्रालयले जनाएको छ । कार विक्रीमा १।५ प्रतिशतले वृद्धि भएको र इन्धनको मूल्य बढेसँगै पेट्रोल पम्पमा बिक्रीमा ४।१ प्रतिशतले वृद्धि भएको छ । यस वर्ष युक्रेनमा रूसले गरेको आक्रमणपछि ग्यास पम्पहरूले उच्च मूल्यमा ग्यास बेचेका छन् भने हालका हप्ताहरूमा यो रेकर्ड क्रमशः कम भएको छ । रेस्टुरेन्ट र बारको बिक्री पनि अक्टोबरमा लचिलो रह्यो, जुन अघिल्लो महिनाको तुलनामा १।६ प्रतिशतले बढेको छ । तथ्याङ्क मौसमी रूपमा समायोजित गरिएको छ तर मूल्यमा परिवर्तनलाई ध्यानमा राख्दैन, त्यसैले लागत बढ्दै जाँदा, किनमेलले डलरको भाउ विस्तार गर्दैन र अमेरिकी परिवारहरूले मुख्य सामानहरूमा आफ्नो कमाईको अधिक प्रयोग गर्नुपरेको छ । समग्रमा खुद्रा बिक्री गत वर्षको सोही अवधिको तुलनामा ८।३ प्रतिशतले बढी हो । विशाल ई–कमर्स कम्पनी अमेजनसहित प्रबिधि उद्योगमा समस्याको संकेतको बावजुद, अनलाइन खुद्रा विक्रेताहरूको बिक्री गत महिना १।२ प्रतिशतले बढेको छ । प्यान्थियन म्याक्रोइकोनोमिक्सका इयान सेफर्डसनले रिपोर्टअघि हालैको विश्लेषणमा भनेका छन्, ‘बढ्दो मूल्यका अलावा, वास्तविक आयमा उल्लेखनीय दबाबको बावजुद नागरिकले महामारीको समयमा जम्मा भएको बचतलाई उपभोग कायम राख्नका लागि कम गर्न चाहेका देखिन्छ ।’ सेप्टेम्बरमा कोभिड–१९ को अवधिमा थप व्यक्तिगत बचत १।३ ट्रिलियन अमेरिकी डलर रहेकोले यो प्रक्रिया अझै केही समयका लागि जारी रहने उनको अनुमान छ ।उनले भने, ‘तर, मानिसहरू बचतलाई अझ कम गर्न इच्छुक छन् कि छैनन् भन्ने कुरा स्पष्ट छैन ।’ रासस