लेबनानको हैजा नियन्त्रणका लागि खोप अभियान
लेबनान । लेबनानमा हैजा नियन्त्रणका लागि खोप अभियान सुरु गरिएको छ । उत्तरी लेबनानमा केही हप्तायतादेखि सुरु भएको हैजाको प्रकोपबाट यहाँ कैयौँ मानिसको ज्यान गएको छ भने हैजा अहिले पनि फैलिने क्रममा रहेको बताइएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयले उत्तरी लेबनानका हैजा प्रभावित जिल्लाहरुमा शनिबारदेखि यो अभियान सुरु भएको जनाएको छ । यो अभियान एक हप्तासम्म सञ्चालन गरिने जनाइएको छ । एक हप्तामा यहाँका कम्तीमा पनि छ लाख मानिसलाई हैजा विरुद्धको खोप दिइने यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको हो । गत अक्टोबर ६ तारिखमा यहाँको स्वास्थ्य मन्त्रालयले लेबनानमा हैजा देखिएको जनाएको थियो । त्यस यता यो रोगबाट १८ जनाको ज्यान गएको छ भने अरु हजारौँ जना विरामी भएका छन् । लेबनानले सहयोगका लागि विश्व समुदायलाई नै आग्रह गरेको थियो । यसैबीच संयुक्त राष्ट्रसंघले लेबनानको हैजा नियन्त्रणका लागि करिब ९५ लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको गत हप्ता जनाएको थियो । लेबनानमा केही समययतादेखि फैलिएको हैजा नियन्त्रण गर्न राष्ट्रसंघको सहयोगको याचना गरिएको लेबनानले जनाएको थियो । केही हप्ता यतादेखि लेबनानमा फैलिएको हैजाको प्रकोप नियन्त्रणका लागि खानेपानीको व्यवस्था, सरसरफाई एवं औषधि उपचारका लागि लेबनानले आर्थिक सहयोगको याचना गरेको थियो । यहाँ देखिएको हैजाबाट चार सय ९० जना विरामी अस्पतालमा राखिएको जनाइएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले गत अक्टोबर ६ देखि नै यहाँ हैजा भेटिएको र त्यसयता हैजाको संक्रमण फैलिएको जनाएको छ ।
क्रिप्टोमा लगानी जोखिम : एफटिएस ट्रेडिङ कम्पनीबाट १ बिलियन भन्दा धेरै फण्ड गाएब
एजेन्सी । एफटिएस ट्रेडिङमार्फत १ बिलियन डलर भन्दा धेरैको फण्ड गायब भएको छ । एफटिएक्स ट्रेडिङका संस्थापक सैम बैंकमैन फ्राइडले आफ्नै कम्पनी अल्मेडा रिसर्चमा ग्राहकको १० बिलियन डलर बराबरको फण्ड गोप्य रुपमा ट्रान्सफर गरेको रोयटर्समा लेखिएको छ । सोही क्रममा सो फण्ड गायब भएको बताइएको छ । सो फण्ड १ देखि २ बिलियन डलरको बीचमा हुनसक्ने अनुमान गरिएको छ । पछिल्लो बुधबार फ्राइडले आफ्ना अधिकारीहरुसँग सेयर गरेको सूचनाबाट उनको वित्तीय छलकपट बाहिर आएको हो । सो सूचना बाहिर ल्याउनेहरुले फ्राइडको कम्पनीको उच्च तहमा रहेर काम गर्ने गरेको बताइएको छ । रोयटर्ससँग टेक्स म्यासेजमा गरेको कुराकानीमा भने फ्राइडले गोप्य रुपमा आँफूले फण्ड ट्रान्सफर गरेको अस्विकार गरेको उल्लेख गरिएको छ । एफटिएक्स र अल्मेडाले भने सो विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।
अफगानिस्तानका जनता ‘विश्वकै सबैभन्दा जटिल’ भोकमरी सङ्कटमा
एजेन्सी । तालिबानले अफगानिस्तानमाथि कब्जा लिएदेखि नै अफगानिस्तानमा ‘विश्वकै सबैभन्दा ठूलो र गम्भीर भोकमरी’को सङ्कट देखिएको छ । संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले एक प्रतिवेदनमा अफगानिस्तानमा विश्वकै विकराल भोकमरीको समस्या रहेका जनाएको छ । एफएओले सन् २०२२ मा अफगानिस्तानमा थप खाद्य असुरक्षा बढेको जनाएको हो । खामा प्रेसका अनुसार लामो खडेरी, द्वन्द्व र राजनीतिक अस्थिरताका कारण भोकमरीको समस्याले दुई करोड २८ लाख मानिस प्रभावित भएका छन् । यो कूल जनसङ्ख्याको आधाभन्दा बढी हो । मार्च २०२२ सम्ममा अफगानिस्तानका जनताले विश्वको सबैभन्दा ठूलो र सबैभन्दा गम्भीर भोकमरी सङ्कटको सामना गरिरहेका छन् । लामो खडेरी, द्वन्द्व, राजनीतिक अस्थिरता र कोभिड–१९ का कारण जनसङ्ख्याको आधाभन्दा बढी अर्थात् दुई करोड २८ लाख मानिस प्रभावित भइरहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले सन् २०२२ मा तीव्र खाद्य असुरक्षामा तीव्र वृद्धिका साथै एशिया र प्रशान्त क्षेत्रको आर्थिक, वातावरणीय र विकासका मुद्दाहरूलाई पनि उजागर गरेको छ । यसबाहेक काबुलका बासिन्दाले देशमा आर्थिक सङ्कटका कारण खाद्यान्नको मूल्य बढेकोमा पनि चिन्ता व्यक्त गरेका छन् । काबुलका बासिन्दा रहमानुल्लाले भने, ‘खाद्यान्नको मूल्य बढेको छ । मानिसहरूले मासिक एक बोरा पीठो पनि किन्न पनि कठिनाई भइरहेको छ ।’ यसैबीच विश्व खाद्य कार्यक्रमले पनि अफगानिस्तानको आर्थिक सङ्कटबारे चिन्ता व्यक्त गरेको छ । भूकम्प र बाढीजस्ता अभूतपूर्व आर्थिक कठिनाइ र वातावरणीय विपत्तिको एक वर्षको सङ्घर्षपछि अफगानिस्तानका जनता अर्को कडा जाडोको सामना गर्न पहिलेभन्दा कम तयार रहेको डब्लुएफपीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । डब्लुएफपीको मूल्याङ्कनअनुसार १० घरधुरीमध्ये नौ घरधुरीले आफ्नो खाद्य आवश्यकता पूरा गर्न सक्दैनन् । ‘यो अफगानिस्तानका लागि तत्काल आवश्यकताको समय हो । चार दशक लामो द्वन्द्व, जलवायु सङ्कट, कोभिड–१९ र सामाजिक–आर्थिक सङकटका कारण विगत एक वर्षमा देशभरिका मानिसहरू रोजगारी र जीविकोपार्जनबाट बञ्चित भएका छन्’, अफगानिस्तानका लागि इयूका कार्यवाहक राजदूत रफाएला आयोडिसेले भने। ‘पहिले सहजरूपमा दुई छाक खान सक्षम मानिसहरूले अहिले अभावका कारण पेट भर्न संघर्ष गरिरहेका छन् र यस नयाँ वास्तविकतामा उनीहरूलाई स्थिर राख्न मद्दत गर्न मानवीय एजेन्सीहरूमा फर्किरहेका छन् । हामी विशेष गरी अति जोखिममा रहेको अफगानिस्तानको जनसङ्ख्या जोखिममा रहेकाहरूलाई सहयोग गर्न प्रतिबद्ध छौं ।’ अफगानिस्तानमा बढ्दो सङ्कटले साना उद्यमहरूलाई सबैभन्दा बढी असर पारेको छ र निजी कम्पनीहरूले बिक्रीमा कमी र उत्पादनहरूको लागि उपभोक्ताको मागमा भारी गिरावटको कारण आफ्ना आधाभन्दा बढी कर्मचारीहरूलाई कामबाट निकालेका छन् ।