कोरियामा एकैदिन ६२ हजारभन्दा बढी कोभिड सङ्क्रमित

काठमाडौं । दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहरुको सङ्ख्या बढेको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । स्वास्थ्य अधिकारीअनुसार गएको २४ घन्टा यता यहाँ ६२ हजारजना भन्दा बढी सङ्क्रमित भेटिएका छन् । यहाँ गएको २४ घन्टा यता ६२ हजार चार सय ७२ जना सङ्क्रमित थपिएका छन् । अघिल्लो दिन अर्थात् सोमबार यहाँ ६२ हजार दुई सय ७३ जना रहकामा मङ्गलबार ती सङ्क्रमित थपिएका हुन् । यहाँ कोभिड महामारी सुरु भएयता दुई करोड ५९ लाख ८१ हजारजना भन्दा बढी सङक्रमित भेटिएका समाचारमा जनाइएको छ । यहाँको रोग नियन्त्रण तथा निवारण निकायका अनुसार अघिल्लो हप्ताका तुलनामा मङ्गलबार सङ्क्रमित बढेका छन् ।अघिल्लो हप्तामा यहाँ बढीमा ५४ हजारमा मात्र संक्रमण देखिएको थियो । यहाँ पछिल्लो दिनमा ५९ जनाको यही सङ्क्रमणबाट ज्यान गएको छ । दक्षिण कोरियामा अहिलेसम्म कोभिडको सङ्क्रमणबाट ज्यान जाने व्यक्तिको सङ्ख्या २९ हजार चार सयभन्दा बढी रहेको बताइएको छ । रासस

युक्रेनले भन्यो : रुसी सेना फिर्ता भएपछि मात्र वार्ता गर्छौं

किभ । रुसले युक्रेनबाट आफ्ना सेना फिर्ता गरेपछि मात्र रुससँग वार्ता गरिने जनाएको छ । युक्रेनले पहिलेदेखि राख्दै आएका यो अडान मङ्गलबार पनि पुनः दोहोर्याएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्किीका सल्लाहकार मिखाइलो पोदोलियाकले सो कुराको जानकारी दिनुभएको युक्रेनी मिडियाले जनाएका छन् । इटालीको एक दैनिक पत्रिका ला रिपब्लिाकालाई दिएको अन्तर्वार्तामा उनले सो कुरा बताएका हुन् । उनले युक्रेन रुससँग वार्तामा बस्नका लागि पनि उसका सबै सेनाको फिर्ती पहिलो सर्त हो भनेकाे युक्रेनी राष्ट्रपतिको प्रेस सचिवालयले जानकारी दिएको छ । हाल रुसले युक्रेनमा एक प्रकारको युद्धविराम जस्तो गरेको र त्यो युद्धविरामको अवस्था उसले आफ्नो शक्ति थप सञ्चय गर्ने काममा पनि दुरुपयोग गर्न सक्ने भन्दै सल्लाहकार मिखाइलोले यदि रुससँग वार्ता गर्ने हो भने त्यस अगावै उसले आफ्ना सबै सेना युक्रेनबाट फिर्ता गरिसक्नुपर्छ भने । हालैमात्र युक्रेनका विषयमा संयुक्त राज्य अमेरिका र रुसका रक्षामन्त्रीका बीचमा कुराकानी भइरहेको भन्ने समाचारको पनि उनले सो अन्तर्वार्तामा खण्डन गरेका छन् । उनले युक्रेनको विषयलाई लिएर अहिले रुस र कुनै पनि पश्चिमा देशसँग छलफल र निर्णय नभएको पनि स्पष्ट गरेका थिए । उनले युक्रेनको सहभागिता र सहमति बिना युक्रेनका बारेमा कहीँपनि कुनै निर्णय हुन नसक्ने र युक्रेनी जनताले पनि आफ्ना बारेमा अरु कसैले गर्ने निर्णयलाई नमान्ने पनि स्पष्ट गरेका थिए । गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेको थियो । त्यसपछि मार्च २९ मा टर्कीको इस्तानबुल सहरमा रुस र युक्रेनकाबीचमा प्रत्यक्ष वार्ता भएको थियो । त्यसयता यी दुई देशबीचमा प्रत्यक्ष रुपमा वार्ता हुन सकेको छैन । रासस

गर्मीले युरोपमा पन्ध्र हजार जनाको मृत्यु

काठमाडौं । विश्वभर तापक्रम बढ्दै जाँदै यस वर्ष युरोपमा प्रचण्ड गर्मीका कारण १५ हजारजनाको मृत्यु भएको युरोपका लागि विश्व स्वास्थ्य सङ्गठन डब्ल्युएचओका क्षेत्रीय निर्देशकले बताएका छन् । क्षेत्रीय निर्देशक हान्स हेनरी क्लुगेले युरोपको पछिल्लो प्राप्त तथ्याङ्क उद्दृत गर्दै गर्मीले स्पेनमा चार हजार,पोर्चुगलमा एक हजार, तीन हजार दुई सय जनाभन्दा बढी संयुक्त अधिराज्यमा, झण्डै चार हजार पाँच सय जनाको जर्मनीमा ज्यान गएको सोमबार बताएका हुन् । युरोपका धेरै देशमा प्रचण्ड गर्मीका कारण अत्यधिक मृत्युका विवरण आएकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्ने अपेक्षा गरिएको डब्ल्यूएचओ क्षेत्रीय निर्देशकले वक्तव्य निकालेर बताएका छन् । मध्य साउनमा युरोपभर चलेको अतिउष्ण वायुले धेरैजना हताहत भएका फ्रान्सको राष्ट्रिय तथ्याङ्क तथा आर्थिक अध्ययन संस्थानले जनाएको छ । विश्व मौसम विज्ञान सङ्गठनले पनि विश्वको तापक्रम चरमरूपमा बढिरहको तथा मौसम र जलवायुजन्य घटनामा सयौंको ज्यान गएको बताएको छ । बितेका ५० वर्षमा युरोपमा एक लाख ४८ हजार चरमतापका कारण मृत्युवरण गर्न बाध्य भएका सङ्गठनले जनाएको छ । विश्वव्यापी औसत तापक्रममा १।१ डिग्री सेल्सियस वृद्धि भइरहेको छ । रासस