एनआरएनले जारी गर्यो १३ बुँदे घोषणापत्र
बैंकक । थाइल्याण्डको राजधानी बैंककमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवौँ एशिया क्षेत्रीय बैठक विभिन्न १३ बुँदे घोषणापत्र जारी गर्दै आज समापन भएको छ । शुक्रबारदेखि सुरु भएको सो सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधिहरु, युरोप, अमेरिका ओसियाना, अफ्रिका तथा मध्यपूर्वका गरी झण्डै ३०० प्रतिनिधिको सहभागिता रहेको थियो । घोषणापत्रमा दोस्रो विश्वयुद्धको समयदेखि म्यानमार, मलेसिया, थाइल्याण्ड, सिङ्गापुर, फिजी लगायतका देशमा रहेका करिब छ लाख नेपाली मूलका पिएनओ (पिपल अफ नेपाली ओरजिन) हरुलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली परिचयपत्रको व्यवस्था गर्न यो सम्मेलनबाट नेपाल सरकारसँग विषेश अनुरोध गरिएको छ । एनआरएनएले स्थापना कालदेखि उठाउँदै गरेको गैरआवासीय नेपालीले नेपाली नागरिक सरह सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता हालै संसद्बाट पारित भएको प्रति सम्मेलनले खुशी व्यक्त गर्दै गैरआवासीय नेपालीहरुको नागरिकतालाई सुनिश्चित गर्न आवश्यक कानूनी व्यवस्था तत्काल गर्न नेपाल सरकार र सम्बन्धित निकाय समक्ष हार्दिक अनुरोध गरेको छ । एसिया प्रशान्त क्षेत्रमा बसोबास गर्ने युवा, महिला तथा दोस्रो पुस्तालाई सङ्घको मूलधारमा समाहित गर्दै विदेशमा रहेका बालबालिकालाई नेपाली भाषा, लिपि, संस्कार र संस्कृति सिकाउने कार्य गर्न सङ्घका सबै राष्ट्रिय समन्वय परिषद्हरु सम्मेलनमार्फत प्रतिबद्धता जाहेर गरिएको छ । नेपालमा विदेशबाट पढ्न आउनेले पर्यटन भिसा लिएर जानुपर्ने अवस्था भएकोले सो को अनुकूल वातावरणका लागि विद्यार्थी भिसाको व्यवस्थाका लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ । गैरआवासीय नेपालीको लगानीलाई सुनिश्चित गर्नका लागि आवश्यक कानूनलाई समयाअनुकूल परिमार्जित गर्दै गैरआवासीय नेपालीको लगानीलाई नेपालको धितोपत्र विनिमय बजारमा प्रवेश गराउन आवश्यक पहलका लागि सरकार तथा सम्बन्धित निकायसँग अनुरोध गर्ने पनि घोषणापत्रमा उल्लेख छ । आगामी निर्वाचनमा विदेशमा बस्ने नेपाली नागरिकलाई मताधिकारको व्यवस्था मिलाउन आवश्यक ऐन, कानून निर्माणका साथै नेपाली नागरिकताबाहक गैरआवासीय नेपालीले सम्बन्धित विदेशस्थित नेपाली कूटनीतिक नियोग वा अनलाईनमार्फत मतदाता नामावली दर्ता एवं मतदान गर्ने तथा राष्ट्रिय परिचयपत्रसमेत बनाउन सक्ने व्यवस्था मिलाउन सरकार तथा सम्बन्धित निकायलाई बैठकले अनुरोध गरेको छ । यसैगरी हाल वैदेशिक रोजगारमा रहेका नेपालीको सुरक्षित भविष्यका लागि आवश्यक संयन्त्र बनाई सामाजिक सुरक्षा कोष कार्यान्वयन गर्ने तथा गन्तव्य देशसँग श्रम सम्झौता गर्दा अनिवार्यरूपमा सामाजिक सुरक्षामा आबद्ध गराउन अनुरोध गरिएको छ । विदेशमा भएका तथा वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुको ज्ञान, सीप, प्रविधि र अनुभव नेपालको सर्वाङ्गीण विकासमा योगदान हुने गरी सोको सहज प्रयोगका लागि आवश्यक संयन्त्र निर्माण तथा समन्वय गर्न सम्मेलनले अनुरोध गरेको छ । सङ्घले उद्धमशीलताको विकास गर्न विद्यालयस्तरबाटै पढ्दै कमाउँदै जस्ता मौलिक कार्यक्रमहरु सञ्चालनमा ल्याउने योजनाको यो सम्मेलने स्वागत गरेको छ । साथै युवा तथा महिलाहरुको उद्यमशीलता अभिवृद्धिका लागि आवश्यक सहयोग गर्ने, महिला फोरम र युवाको सक्रियतामा सुरु भएको सीप विकास तालिमलाई निरन्तरता दिने र गैरआवासीय नेपाली अभियानको हरेक क्षेत्रमा महिला तथा युवाको सहभागिता सुनिश्चित गराउन सम्मेलनले प्रतिबद्धता जाहेर गरेको छ । सम्मेलनले नेपालको प्रमुख आर्थिक स्रोत विप्रेषण (रेमिट्यान्स)लाई औपचारिक माध्यमबाट नेपाल पठाउने वातावरण बनाउँदै त्यसको केही निश्चित अंश उत्पादनमा लगानी गर्नै पर्ने वातावरण मिलाउन नेपाल सरकार सङ्घबीच सहकार्य गर्ने सम्मेलन निर्णय गरेको छ । साथै समस्त गैरआवासीय नेपालीहरुलाई नेपालमा डलर खाता खोली नेपालमा देखिएको वैदेशिक मुद्राको न्यूनतालाई परिपूर्ति गरी सहयोग गर्न सम्मेलनले अपिल गरेको छ । यसैगरी वैदेशिक रोजगारमा रहेका ससाना लगानी गर्न सक्ने नेपालीलाई सामूहिक लगानीमा आबद्ध गराउनका लागि नेपाल सरकारसहितको संलग्नतामा सञ्चलान गर्न लागिएको १० अर्ब रुपैयाँको लगानी कोष सञ्चालनमा आवश्यक कानून यथाशक्य छिटो परिमार्जन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ । सम्मेलनले मिलाप एसिया भेन्चरको स्थापना गरी नेपाली कोसेली उद्योगको स्थापना गरी नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने गरी घोषणापत्र जारी गरिएको छ । सम्मेलन सम्मानित श्रम बजार, गैरआवासीय नेपाली नागरिकता, विदेशबाट नै मताधिकार, सामाजिक सुरक्षा, पिएनओ साथै महिला तथा युवालगायत सङ्घले लामो समयदेखि पैरवी गर्दै आएका मुद्दा र सङ्घको संरचनागत सुधारका बारेमा केन्द्रित रहेको थियो । सङ्घका अध्यक्षत्रय कुल आचार्य, रविना थापा र डा बद्री केसी, संस्थापक, सङ्घका पदाधिकारी तथा सदस्य, एसिया प्रशान्त क्षेत्रका साथै अन्य क्षेत्रका राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष तथा प्रतिनिधिले सङ्घलाई आगामी दिनमा एकताबद्ध बनाएर लैजाने प्रतिबद्धता जनाएका थिए । सम्मेलनमा नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको प्रमुख आतिथ्यता एवं सांसद डा सूर्य पाठक, गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र कँडेल, राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना, राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापा, राष्ट्रिय मुस्लिम आयोगका सदस्य मिर्जा अर्सद बेग, नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष भवन भट्ट, संस्थापक अन्तर्राष्ट्रिय संयोजक (महासचिव) भीम उदासलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीको उपस्थिति रहेको थियो । रासस
पाकिस्तान बाढी :एक हजारभन्दा बढीको मृत्यु
काठमाडौं । देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी एक हजारभन्दा बढीको ज्यान गएको छ भने सयौँ घाइते भएका छन् । बाढीपहिरोका कारण दशौँ हजार विस्थापित भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार पाकिस्तानमा बितेका दुई महिनामा वर्षाजन्य दुर्घटनामा परेर हालसम्म एक हजार ३३ जनाको मृत्यु भएको छ भने एक हजार पाँच सय २७ जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा एक सय १९ जनाको ज्यान गएको तथा ७१ जना घाइते भएका छन् । बलुचिस्तान, गिलगिट बाल्टिस्तान, खैबर पख्तुनख्वा र सिन्ध प्रान्त बाढीपहिराबाट अति प्रभावित भएका छन् । बाढीपहिराले तीन हजार चार सय ५१ किलोमिटर सडक बगाएको, एक सय ४९ पुल भत्काएको, एक सय ७० पसल बगाएको, नौ लाख ४९ हाजर आठ सय ५८ घरमा क्षति भएको तथा सात लाखभन्दा बढी चौपाया मरेका छन् । रासस/एएनआई
चीनको प्रतिकार गर्न भारतले मुख्य भूमिका खेल्नुपर्ने-अमेरिकी नौसेना प्रमुख
एजेन्सी । अमेरिकी नौसेना अपरेसन प्रमुख एडम माइक गिल्डेले भारत भविष्यमा अमेरिकाको लागि महत्त्वपूर्ण साझेदार हुने र चीनको सामना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् । अमेरिकी उच्च सैन्य अधिकारी गिल्डेले बिहीबार वाशिङ्गटनमा हेरिटेज फाउन्डेशनद्वारा आयोजित सेमिनारमा भारतले चीनलाई दोहोरो समस्याको साथ प्रस्तुत गरेको निक्की एशियाले रिपोर्ट गरेको छ। चीन अब पूर्वतिर मात्र नभई दक्षिण चीन सागर र ताइवान स्ट्रेटतिर हेर्न बाध्य हुने र त्यसका लागि भारतको भूमिका महत्त्वपूर्ण हुने उनले बताएका छन् । ‘मैले अरू कुनै पनि देशको तुलनामा भारतको यात्रामा धेरै समय बिताएको छु किनभने म उनीहरूलाई भविष्यमा हाम्रो लागि रणनीतिक साझेदार मान्दछु’ गिल्डेले थपेका छन् । गत अक्टोबरमा आफ्नो पाँचदिने भारत भ्रमणको सन्दर्भ उल्लैख गर्दै हिन्द महासागर युद्धक्षेत्र हाम्रो लागि झन् झन् महत्त्वपूर्ण बन्दै गएको छ। भारत र चीनको सीमामा हाल अलिअलि झडप भइरहेको तथ्य यो रणनीतिक रूपमा महत्त्वपूर्ण छ । हिमालयमा भारत र चीनबीचको सीमा विवादले बेइजिङका लागि दोहोरो समस्या खडा गर्ने विचार अमेरिकी रणनीतिकारहरूमाझ देखिएको निक्की एशियाले रिपोर्ट गरेको छ।