खामेनेईको अवसान र तेहरानको हुँकार : मध्यपूर्वमा ‘महायुद्ध’को संकेत !

काठमाडौं । मध्यपूर्वमा बढ्दो द्वन्द्वले वासिङ्टनले इरानमा शासन परिवर्तनको लक्ष्य पछ्याइरहेको र त्यसको प्रतिकारमा तेहरानले कदम चालिरहेको सन्दर्भमा खाडी क्षेत्रदेखि युरोपसम्म अस्थिरता फैलिन सक्ने डर बढाएको छ । सम्भावित प्रभावको आंकलन गर्न विश्व नेताहरू हतारिँदै छलफलमा जुटेका छन् । सप्ताहन्तमा अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण गरेपछि इस्लामिक गणतन्त्रका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईको अवसान भएको बताइएको छ । त्यसपछि तेहरानले क्षेत्रभरि आक्रमणका लहरहरू सुरु गरेको जनाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार भिडियो सन्देशमार्फत आक्रमणको उद्देश्य ‘इरानी शासनबाट उत्पन्न तत्कालीन खतरा हटाउनु’ रहेको स्पष्ट पारे । उनले इरानी शासनलाई ‘क्रूर र अत्यन्तै खतरनाक समूह’ भनेका थिए । भूराजनीतिक विश्लेषकहरूले शनिबारको आक्रमणलाई इरानी शासन कमजोर पार्ने दीर्घकालीन सैन्य अभियानको सुरुआत हुन सक्ने चेतावनी दिएका छन् । उनीहरूका अनुसार विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल उत्पादन क्षेत्रमाथि प्रभुत्व जमाउने उद्देश्य पनि यसमा जोडिएको हुन सक्छ । द एशिया ग्रुपका अध्यक्ष रेक्सन र्युले भने, ‘अमेरिका र इजरायलको आक्रमणको व्यापकता र इरानमा शासन परिवर्तनको स्पष्ट लक्ष्यले द्वन्द्व तीव्र र अनिश्चित रूपमा चर्किन सक्ने संकेत गर्छ ।’ उनका अनुसार इरानले अब उपलब्ध जुनसुकै विकल्प प्रयोग गरेर प्रतिकार गर्न सक्छ, जसले क्षेत्रीय मात्रै होइन, विश्वव्यापी तनाव पनि निम्त्याउन सक्छ । कर्नेल विश्वविद्यालयका सैन्य इतिहासका प्राध्यापक डेभिड सिल्बीका अनुसार अघिल्ला आक्रमणहरू इरानको आणविक कार्यक्रमलाई लक्षित थिए । उनले गत वर्ष जुनमा १२ दिन चलेको युद्धतर्फ संकेत गर्दै त्यसक्रममा तीन प्रमुख आणविक स्थलमा क्षति पुर्यााइएको बताए । तर यसपटकको आक्रमण धेरै व्यापक हुन सक्ने उनको भनाइ छ । ‘यसपटक कमाण्ड तथा नियन्त्रण संरचना, मुख्यालय, नेतृत्व तह, सेना र गोप्य सुरक्षा संयन्त्रलाई लक्षित गरिनेछ,’ उनले भने । अमेरिकाले स्थलीय अभियान सुरु नगरेको अवस्थामा उद्देश्य आन्तरिक विद्रोह वा दरबारभित्रको ‘कू’ मार्फत शासन ढाल्नु हुन सक्ने उनले टिप्पणी गरे । सिल्बीले इरानले प्रतिकारस्वरूप इजरायल र फारस खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डा तथा जहाजहरूमा क्षेप्यास्त्र आक्रमण गर्न सक्ने चेतावनी दिए । साथै मध्यपूर्व, युरोप र अमेरिकामा समेत सम्भावित आतंकवादी गतिविधि हुन सक्ने उनको आकलन छ । ‘यदि शासनले आफूलाई अस्तित्वगत खतरा महसुस गर्यो भने उसले अझ कडा प्रतिक्रिया दिन सक्छ,’ उनले भने । नयाँ द्वन्द्व खाडी क्षेत्रका अन्य देशहरूमा समेत फैलिएको छ । इरानी क्षेप्यास्त्रहरूले इजरायलसँगै संयुक्त अरब इमिरेट्स, कतार, बहराइन, साउदी अरब, कुवेत र जोर्डनलाई लक्षित गरेको जनाइएको छ, जहाँ अमेरिकी सैन्य सम्पत्ति रहेको हवाई अड्डाहरू छन् । द एशिया ग्रुपकी आयशा चौध्रीका अनुसार इरानले खाडी मुलुकहरूसँग विगत वर्षहरूमा बनाएको सम्बन्ध अब समाप्त हुन सक्ने संकेत देखिएको छ । रूस र चीनको भूमिकाबारे विश्लेषकहरू भन्छन्—दुवैले अमेरिकाको कदमको आलोचना गरे पनि प्रत्यक्ष र ठोस सहयोग दिन सक्ने अवस्थामा छैनन् । पश्चिमी प्रतिबन्धबीच चीन इरानका लागि महत्त्वपूर्ण आर्थिक सहारा रहँदै आएको छ । सन् २०२५ मा चीनले इरानबाट निर्यात भएको ८० प्रतिशतभन्दा बढी तेल खरिद गरेको थियो । उता इरानले युक्रेन युद्धमा रुसलाई ड्रोन र क्षेप्यास्त्र आपूर्ति गर्दै आएको छ । तर युक्रेनमा लामो समयदेखि जारी युद्धका कारण रुसको बाह्य शक्ति प्रक्षेपण क्षमता कमजोर भएको विश्लेषण गरिएको छ । पश्चिमी प्रतिबन्धका कारण दबाबमा रहेको मस्कोको मध्यपूर्वमा प्रभाव झन् घट्न सक्ने बताइएको छ। आक्रमणअघि खाडी क्षेत्रमा अमेरिकाले सैन्य उपस्थिति बढाउँदै जाँदा बेइजिङले भने इरानको खुला समर्थन नगरी कूटनीतिक संवाद र क्षेत्रीय सुरक्षामा जोड दिएको थियो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले शनिबार राति अमेरिका र इजरायललाई ‘सैन्य कारबाही तुरुन्त रोक्न’ र संवाद पुनःस्थापित गर्न आग्रह गरे । उनले ‘इरानको सार्वभौमिकता, सुरक्षा र भौगोलिक अखण्डताको सम्मान’ गर्न आह्वान गरे । विश्लेषकहरूका अनुसार यो द्वन्द्वले अमेरिका–चीन कूटनीतिक सम्बन्ध र यस महिनाको अन्त्यमा ट्रम्पको बेइजिङ भ्रमण योजनामाथि असर पार्न सक्छ । फेब्रुअरी ४ मा ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको फोन वार्तामा इरान, ताइवान र व्यापारका विषय उठाइएको थियो ।  लन्डनस्थित च्याथम हाउसका फेलो अहमद अबौदूहका अनुसार बेइजिङले इरानबारे नरम अभिव्यक्तिको बदलामा ताइवान र व्यापारजस्ता आफ्ना प्राथमिक मुद्दामा सहुलियत खोज्न सक्छ । उनका अनुसार विडम्बनापूर्ण रूपमा कमजोर इरान चीनका लागि अनुकूल हुन सक्छ, किनकि इरानी शासन जति कमजोर हुन्छ, उसले कूटनीतिक, आर्थिक र प्राविधिक रूपमा चीनमाथि त्यति नै निर्भर हुनुपर्ने अवस्था आउँछ । दीर्घकालीन रूपमा चीनले क्षेत्रमा प्रभाव जमाउन दबाब महसुस गर्न सक्ने भए पनि तेल आपूर्ति असुरक्षाले तत्काल उसले विकल्प सीमित पार्न सक्छ । यसबीच सैन्य कारबाहीले इरानको आणविक कार्यक्रमबारे वार्ताको सम्भावना कम्तीमा हालका लागि ध्वस्त पारेको देखिन्छ । अमेरिका र इरानबीच आणविक तथा ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम र प्रतिबन्ध हटाउने विषयमा तीन चरणका अप्रत्यक्ष वार्ता भएका थिए । विश्लेषक म्याट गर्केनका अनुसार इरानी शासन ‘अत्यन्तै कमजोर अवस्था’को क्षणमा पुगेपछि वासिङ्टन र जेरुसेलमले तेहरानबाट पूर्ण परमाणु निरस्त्रीकरणको ग्यारेन्टी नपाएको ठहर गर्दै क्षेत्रीय शक्ति सन्तुलन पुनःआकार दिन मौका नगुमाउने निर्णय गरेका हुन सक्छन् । (सीएनबीसीबाट अनुदित तथा सम्पादित) इरान र इजरायल : मित्रतादेखि कट्टर दुश्मनीसम्म, यस्तो छ नालीबेली इरानमाथिको आक्रमणले तेलको मूल्य प्रतिव्यारेल १०० डलर नाघ्ने संकेत, एसियाली अर्थतन्त्रमाथि दबाब

खामेनीको हत्यापछि इरानमा सङ्क्रमणकालीन योजना सार्वजनिक, अन्तरिम नेतृत्वमा तीन नेता

काठमाडौं । इरानले सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहितका केही अधिकारी र दर्जनौं उच्च सैन्य अधिकारीको संयुक्त आक्रमणमा मृत्यु भएपछि तेहरानले सङ्क्रमणकालीन योजनाको घोषणा गरेको छ । सरकारले राष्ट्रपति, न्यायपालिकाका प्रमुख र ‘गार्जियन काउन्सिल’ का एक न्यायविद्सहित अन्तरिम नेतृत्व परिषदको गठन गरेको छ । यो अन्तरिम परिषदले इरानी कानुनको निरीक्षण र चुनावी उम्मेदवारहरूको जाँच गर्दछ । इरानका उच्च सुरक्षा प्रमुख अली लारीजानीले पनि केन्द्रीय भूमिका निर्वाह गरिरहेका छन् । इरानी संस्थापन नेता तथा राष्ट्रपति रहेका ७१ वर्षीय मसुद पेजेश्कियान नयाँ सर्वोच्च नेता निर्वाचित नभएसम्म देशको नेतृत्व गर्ने अन्तरिम परिषदका तीन सदस्यमध्ये एकको भूमिकामा रहने छन् । मुटु सर्जनबाट सुधारवादी राजनीतिज्ञ बनेका उनले सन् २०२४ जूनमा आफ्नो पूर्ववर्तीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि पदभार ग्रहण गरेका थिए । पेजेस्कियनको जन्म सन् १९५४ मा टर्की मूलका इरानी पिता र कुर्द आमाबाट पश्चिम अजरबैजानको उत्तर पश्चिमी प्रान्त महाबाद शहरमा भएको थियो । आफ्नो शान्त व्यवहारका लागि चिनिने प्राविधिज्ञ पेजेस्कियनले अशान्त समयमा सरकारको नेतृत्व गरेका छन्, उनको कार्यकालसँगै गत वर्ष इजरायलसँग १२ दिने युद्ध र जनवरीमा बढ्दो जीवन लागतको बारेमा ठूलो विरोध प्रदर्शन भएको छ ।  आइतबार उनले खामेनीको हत्यालाई ‘मुस्लिम विरुद्धको युद्धको घोषणा’ को संज्ञा दिँदै इरानको प्रतिक्रिया ‘वैधानिक कर्तव्य र अधिकार’ का लागि हुने बताए । अर्का नेता ६८ वर्षीय शिया धर्मगुरु घोलमहुसेन मोहसेनी इजेईलाई पनि नेतृत्व परिषदको सदस्य बनाइएको छ। उनको जन्म मध्य इरानको इस्फाहान प्रान्तको एजेह गाउँमा भएको थियो । इस्लामिक गणतन्त्रको न्यायपालिका र सुरक्षा संयन्त्रमा लामो समयदेखि अनुभव रहेका यी व्यक्तित्वलाई खामेनीले सन् २०२१ मा न्यायपालिकाको प्रमुख नियुक्त गरेका थिए । न्यायपालिकाको वेबसाइटका अनुसार इजेईले शिया धर्मको पवित्र शहर कोमबाट इस्लामिक अध्ययन पूरा र अन्तर्राष्ट्रिय कानुनमा स्नातकोत्तर गरेका छन् ।  उनले होजातोलेस्लामको लिपिकीय पद पनि पाएका छन् । यो पद अयातोल्लाहभन्दा एक पद तल मानिन्छ । सन् २००९ मा तत्कालीन राष्ट्रपति महमुद अहमदिनेजादले गुप्तचर मन्त्रीको रूपमा काम गरिरहेका बेला भएको प्रदर्शनमा भएको दमनको कारण उनलाई ‘गम्भीर मानवअधिकार उल्लङ्घन’ गरेको आरोपमा अमेरिकी प्रतिबन्धमा राखिएको थियो । खामेनीको हत्यापछि उनले भने, ‘अमेरिकाको दुष्ट शासन र अपमानित र निन्दक सियोनलाई थाहा हुनुपर्छ कि महान राष्ट्र इरानले आफ्नो वीर नेताको हत्यारालाई कहिल्यै माफ गर्नेछैन ।’ अन्तरिम नेतृत्व परिषदमा रहेका तेस्रो अधिकारी ६५ वर्षीय धर्मगुरु अलिरेजा अराफी इरानको शिया मदमिनहरूको व्यवस्थापन केन्द्रका प्रमुख हुन् । उनी ‘एसेम्ब्ली अफ एक्सपर्ट’हरूको दोस्रो उपाध्यक्षको रूपमा काम गर्छन् र यो सर्वोच्च नेताको नियुक्ति र निरीक्षण गर्ने निकाय हो । उनी गार्जियन काउन्सिलका सदस्य पनि हुन् । अराफी सन् १९७१ मा इस्लामिक विज्ञानको अध्ययन गर्न पवित्र शहर कोममा सरेका थिए । उनको आधिकारिक वेबसाइटका अनुसार शाह मोहम्मद रेजा पहलवीको विरोध गरेको आरोपमा १६ वर्षको उमेरमा जेल सजाय सुनाइएको थियो । तीन काउन्सिल सदस्यहरू मध्ये सबैभन्दा कान्छो र कम चिनिने उहाँले सामान्यतया शान्त तथा सावधानीपूर्वक आफ्ना धारणालाई नागरिक र विश्व समुदायबीच पुर्याउने गरेका छन् । तथापि, आइतबार उनले एक विद्रोही टिप्पणी राख्दै भने, ‘राष्ट्र क्रान्तिको बाटोमा अघि बढ्नेछ । मानिसहरूको, प्रिय युवाहरू र प्रिय विद्यार्थीहरूको रगतको बदला लिनेछु ।’ वर्तमान सरकारको नेतृत्वमा रहेका ६८ वर्षीय अली लारीजानी हाल इरानको सर्वोच्च सुरक्षा निकाय, सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका प्रमुख हुन् । इस्लामिक गणतन्त्रको सेना, मिडिया र विधायिकामा लामो सेवापछि उहाँले खामेनीको विश्वास प्राप्त गरेको विश्वास गरिन्छ । उनको जन्म सन् १९५७ मा इराकको नजाफमा एक प्रमुख शिया धर्म गुरुको घरमा भएको थियो जो इस्लामिक गणतन्त्रका संस्थापक अयातोल्लाह रुहोल्लाह दिवंगत खोमेनीका निकट मानिन्छन् । उनको परिवार दशकौँदेखि इरानको राजनीतिक प्रणालीमा प्रभावशाली रहँदै आएको छ । आइतबार लारीजानीले खामेनीपछि इरानको सङ्क्रमणकालीन योजनाको रूपरेखा प्रस्तुत गरेका थिए । र, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जस्तै भाषा प्रयोग गर्दै इजरायल र अमेरिकामाथि ‘उनीहरूले पहिले कहिल्यै अनुभव नगरेको शक्ति’ ले आक्रमण गर्ने वाचा गरेका थिए । 

चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको कडा विरोध र निन्दा

काठमाडौं । अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा इरानी सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको मृत्यु भएको घटनाको कडा शब्दमा विरोध गर्दै इरानमा सैन्य कारबाही रोक्न आग्रह गरेको छ । चीनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो हत्या इरानको सम्प्रभुता र सुरक्षाको गम्भीर उल्लङ्घन हो, संयुक्त राष्ट्र सङ्घको बडापत्रको उद्देश्य र सिद्धान्त तथा अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यतामाथि अतिक्रमण हो ।’ चीनले यसको कडा विरोध र निन्दा गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘चीनले इरानमाथिको सैन्य कारबाही तत्काल रोकिनुपर्छ ।’ चिनियाँ सरकारी सञ्चारमाध्यमले बेइजिङका उच्च कूटनीतिज्ञ वाङ यी र रुसी समकक्षी सर्गेइ लाभरोभबीच टेलिफोन वार्ता भएपछि चिनियाँ सरकारी सञ्चारमाध्यमले चीनले इरानमा उच्च अधिकारीलाई लक्षित गरी भएको आक्रमणको विरोध गरेको हो । अमेरिका र इजरायलले ’सार्वभौम नेताको खुलेआम हत्या र सत्ता परिवर्तनका लागि उक्साएको’ कुरा चीनका लागि ‘अस्वीकार्य’ भएको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले रूसी नेता लाभरोभको पहलमा भएको संवादका क्रममा वाङले बताएको जनाएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार वाङले लाभरोभसँग ‘मध्यपूर्वको अवस्थाले यस षेत्रको सुरक्षालाई खतरनाक मोडमा धकेल्न सक्ने भन्दै यसप्रति चीन निकै चिन्तित भएको बताए ।  वाङले भने, ‘अन्तर्राष्ट्रिय समुदायले ‘अराजक गतिविधि’ र विश्व प्रतिगमनको विरोध गर्दै स्पष्ट सन्देश पठाउनुपर्छ ।’ आक्रमणमा परी कम्तीमा एक जना चिनियाँ नागरिक घाइते भएको र केही अस्थायी यात्रु अलपत्र परेको बेइजिङको विदेश मन्त्रालयले आइतबार राति जनाएको छ । विज्ञप्तिमा यस क्षेत्रमा प्रभावित चिनियाँ नागरिकहरूको सङ्ख्या, भौतिक अवस्था र स्थानको बारेमा विस्तृत विवरण दिइएको छैन ।  बेइजिङले केही दिन अघि नै इरानमा रहेका आफ्ना नागरिकहरूलाई ‘जतिसक्दो चाँडो’ त्यहाँबाट बाहिर निस्कन आग्रह गरेको छ। चिनियाँ राहदानी धारकहरूले इरानबाट अजरबैजान, अर्मेनिया र टर्कीए जाने भिसामुक्त स्थलमार्गमा जान सक्ने विदेश मन्त्रालयले आइतबार उक्त आह्वान दोहोर्याउँदै जानकारी गराएको हो ।