ओडिशाको शिक्षिका भारतको राष्ट्रपति बन्दै
काठमाडौं। भारतको संसदमा सोमबार नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । सन्थाल जनजातिकी द्रौपदी मुर्मुलाई प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ भारतीय जनता पार्टीले औपचारिक रुपमा राष्ट्रपति पदका लागि मनोनयन गरेको छ । निर्वाचित भएमा उनी भारतको पहिलो आदिवासी राष्ट्रपति र दोस्रो महिला राष्ट्रपति हुनेछिन् । वर्तमान राष्ट्रपति रामनाथ कोविन्द दलित समुदायबाट राष्ट्रपति भएका हुन् । ६४ वर्षीया मुर्मु राजनीतिमा प्रवेश गर्नुअघि पूर्वी राज्यको ओडिशास्थित एक विद्यालयमा शिक्षक थिइन् । उनले राज्य सरकारमा मन्त्री पदहरू सम्हालिसकेकी छिन् र छिमेकी राज्य झारखण्डको गभर्नर भइन् । उनले आफ्नो जीवन समाजको सेवा गर्न र गरिब, दलित र सीमान्तकृतहरूलाई सशक्तिकरण गर्न समर्पित गरेकी छिन् । राष्ट्रपति पदका लागि मुर्मुका मुख्य प्रतिद्वन्द्वी अनुभवी राजनीतिज्ञ यशवंत सिन्हा पूर्व भाजपा सदस्य र पूर्व वित्त तथा विदेश मन्त्री हुन् । उनलाई कांग्रेसलगायत विपक्षी दलहरूले समर्थन गरेका छन् । उनी वर्तमान मोदी सरकारको आलोचक पनि हुन् । राष्ट्रपति पदमा द्रौपदी मुर्मु नै निर्वाचित हुने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । मत परिणाम आजै सार्वजनिक हुनेछ।
बिल गेट्सले सबै सम्पति गेट्स फाउन्डेसनलाई दिने
काठमाडौं । माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले आफ्नो सबै सम्पति गेट्स फाउन्डेसनलाई दिने घाेषणा गरेका छन् । सामाजिक संजाल ट्विटरमा ट्विट गर्दै उनले सबै सम्पति फाउन्डेसनलाई दिने घाेषणा गरेका हुन् । उनले यसै महिना फाउन्डेसनलाई थप २० अर्ब डलर (करिब २५ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ) दान गर्ने बताएका छन् । बिल गेट्स र उनी पूर्वपत्नी मेलिन्डा फ्रेन्च गेट्सले संयुक्त रूपमा सञ्चालन गर्दै आएको उक्त फाउन्डेसनले गरिबी निवारण, असमानता र रोगब्याधी न्यूनिकरणको क्षेत्रमा काम गर्दै आइरहेको छ । यस फाउण्डेशन विश्व स्वास्थ्य संगठनको लागि सबैभन्दा ठूलो निजी दाता हो । २०१८ मा यसको वार्षिक दान अमेरिका पछि दोस्रो थियाे ।
लस एन्जलसमा कारोनाको त्रास, मास्क अनिवार्य गर्ने सरकारी तयारी
लस एन्जलस । कोरोना भाइरसको सङ्क्रमण पुनः बढेकाले एक करोड जनसङ्ख्या भएको यो महानगरमा अनिवार्यरूपमा मास्क लगाउनुपर्ने प्रावधानलाई पुनः लागू गर्ने तयारी भइरहेको छ । अस्पताल भर्ना हुने बिरामीको चापलाई दृष्टिगत गरी मास्क लगाउनुपर्ने प्रावधानलाई पुनः लागू गर्ने सोचमा सरकार रहेको स्वास्थ्य निर्देशक बारबरा फेरेरले बताइन् । बिरामीको चापलाई हेरेर निर्णय गरिने पनि उनले बताइन् । महानगरका अधिकांश बासिन्दा अनुहार मास्क लगाउन बानी परेका छन् । केही वर्षदेखि लगातार मुखौटोले आफ्नो अनुहार छोप्दैआएका निक बारगन घरबाहिर काममा निस्कँदा मास्क लगाउन भुल्दैनन् । अब आफूलाई मास्क लगाउने बानी परेको उनी बताउँछन् । देशव्यापीरूपमा कोभिड–१९ नयाँ प्रजाति बिए फाइभको सङ्क्रमण बढेको छ । नयाँ ओमिक्रोनका प्रजातिले अमेरिकी राज्यहरूमा बिरामीको सङ्ख्या उल्लेख्यमात्रामा बढाएको छ भने बिरामीको मृत्युदरमा पनि वृद्धि भएको छ । रोगको रोकथामका लागि सरकारीस्तरमा सचेतना प्रयास जारी छ । केही स्वास्थ्य विज्ञले सुरक्षात्मक उपाय अवलम्बन गर्न बिलम्ब भएको बताएका छन् । स्क्रिप्स रिसर्च ट्रान्सलेसन इन्सटिच्युटका डा इरिक टोपलले बिए फाइभको सङ्क्रमण घातक भएको चेतावनी दिएका छन् । रासस/एपी