द्रौपदी मुर्मु बनिन् भारतको पहिलो आदिवासी महिला राष्ट्रपति
नयाँदिल्ली । भारत सरकारले द्रौपदी मुर्मुलाई देशको पन्ध्रौँ राष्ट्रपति राष्ट्रपति घोषणा गरेको छ । बिहीबार राति मतगणना समाप्तिसँगै राज्यसभाका महासचिव एवम् राष्ट्रपति चुनावका निर्वाचन अधिकृत पिसी मोदीले द्रौपदी मुर्मुलाई दिल्लीस्थित उनको निवासमा राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेर आधिकारिक रूपमा देशको पन्ध्रांैँ राष्ट्रपति घोषणा गरेका हुन् । मतपरिणामअनुसार मुर्मुले दुई हजार आठसय २४ र उनका प्रतिद्वन्द्वी यशवन्त सिन्हाले एक हजार आठसय ७७ मत प्राप्त गरेका थिए । निर्वाचनमा चार हजार सातसय ५४ मत मत खसेको थियो जसमा ५३ मत बदर भएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाले नवनिर्वाति राष्ट्रपति मुर्मुलाई उनको निवासमा भेटेर बधाई ज्ञापन गरेका थिए । अल्पसङ्ख्यक जातीय समुदायकी मुर्मु भारतको पहिलो आदिवासी महिला राष्ट्रपति भएकी छन् । आगामी सोमबार उनले पद तथा गोपनीयता शपथ लिने कार्यक्रम छ । भारतको संविधानअनुसार प्रधानमन्त्री कार्यकारी सरकार प्रमुख हुन् भने पदीय मर्यादाअनुसार प्रधानमन्त्रीभन्दा माथिको ठूलो औपचारिक पद हो । पूर्वी राज्य उडिसाकी ६४ वर्षिया मुर्मु सन् २०१५ देखि २०२१ सम्म झारखण्ड राज्यको राज्यपाल थिइन् । सन्थाल जातिकी अल्पसङ्ख्यक सदस्य उनको समुदायका मानिस पूर्वी नेपालको झापा र मोरङमा बसोबास गर्दै आएका समाचार संस्था एपीले जनाएको छ । राजनीतिमा प्रवेश गर्नु अघि उनी विद्यालय शिक्षिका थिइन् । प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीबाट दुई पटक सांसद भएकी उनका बुबा र हजुरबुवा उडिसाको मयुरभञ्ज जिल्लाको बैदापोसीमा गाउँका प्रमुख थिए ।
भारतमा एकैदिन २१ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि
नयाँदिल्ली । भारतमा बितेका २४ घण्टामा २१ हजार पाँच सय ६६ सङ्क्रमित फेला परेका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३८ लाखभन्दा बढी पुगेको छ । भारतमा हाल एक लाख ४८ हजार आठ सय ८१ जना सक्रिय सङ्क्रमित छन् । पछिल्लो एक दिनमा १८ हजार दुई सय ९४ कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३१ लाख ५० हजार चार सय ३४ पुगेको छ । कोरोना महामारीबाट हालसम्म पाँच लाख २६ हजार जना भन्दा बढीको मृत्यु भएको छ । महामारी शुरु भएयता हालसम्म ८६ करोड ८९ लाखभन्दा बढीको कोरोना परीक्षण भएको छ । भारतमा सन् २०२१ को जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको हो । हालसम्म कोरोनाविरुद्ध दुई अर्ब ९१ लाख मात्रा भन्दा बढी खोप लगाइएको छ । यसैबीच पाकिस्तानमा पछिल्लो २४ घण्टामा पाँच सय ९९ कोभिड–१९ का थप सङ्क्रमित थपिएका स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ । यसैसँग कूल सङ्क्रमितको संख्या १५ लाख ४८ हजार तीन सय ९४ पुगेको छ । पाकिस्तानमा कोभिड–१९ बाट ३० हजार चार सय ५५ जनाको मृत्यु भएको छ भने बुधबार थप तीन जनाको मृत्यु भएको छ ।
रनिल विक्रमासिंघे बने श्रीलङ्काकाको नयाँ राष्ट्रपति
काठमाडाैं । श्रीलङ्काकाकाे नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे चयन भएका छन् । बुधबार संसद्बाट २१९ मा १३४ मत प्राप्त गरी रनिल विक्रमासिंघे नयाँ राष्ट्रपतिकाे रुपमा चयन भएका हुन् । निवर्तमान राष्ट्रपति गोटाबाया राजापाक्ष देश छाडेर भागेपछि यहाँको संसद्ले नयाँ राष्ट्रपति चयन गरेकाे हाे । श्रीलङ्का पछिल्लो समयमा आर्थिक सङ्कटमा फसेको छ । देश आर्थिक सङ्कटमा फसेसँगै यहाँको राजनीतिक अस्थिरतामा पनि थप बढ्दै गएको बताइएको छ ।