राष्ट्रपति बाइडेनमा पुनः कोरोना सङ्क्रमण

काठमाडाैं । राष्ट्रपति जो बाइडेनलाई पुनः कोरोना सङ्क्रमण भएको छ । पहिलोपटक सङ्क्रमण पुष्टि भएको नौ दिनपछि पुनः परीक्षण गर्दा उनी कोभिड–१९ सङ्क्रमणबाट मुक्त नभएको उनका चिकित्सकले पुष्टि गरेका छन् । तीनदिनअघि एकान्तबासबाट बाहिर निस्किएका उनी फेरि सङ्क्रमित भएका राष्ट्रपति कार्यालयका चिकित्सक डा केभिन ओ कनरले बताएका छन् । उनासी वर्षीय सङ्क्रमित राष्ट्रपति पुनः एकान्तबासमा फर्केका छन् । उनले कोभिड–१९ विरुद्ध पूर्ण खोप र दुईपटक वुष्टर डोज लिएका थिए । सङ्क्रमणमुक्त नभएसम्म उनी एकान्तबासमा नै रहने चिकित्सका कनरले बताएका छन् । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम निर्देशिकाअनुसार उनले कम्तीमा पाँच दिन एक्लै बस्नुपर्नेछ । राष्ट्रपति भवनको एउटा कोठामा उनी एक्लै बस्नेछन् ।

आर्थिक संकटमा परेको श्रीलंकालाई माथि उठाउने प्रयासमा बिक्रमासिंघे, विदेश ऋण तिर्न जुटे

काठमाडाैं । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशलाई आर्थिक सङ्कटबाट पार लगाउन अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको सम्भावित सम्झौता मुलुकमा व्याप्त राजनीतिक अस्थिरताका कारण अघि बढाउन विलम्ब भएको बताउँदै राजनीतिक दलका नेताहरूलाई ऋण तिर्ने उपाय पहिल्याउन आग्रह गरेका छन् । देशले झेल्नु परेको वर्तमान चुनौतीलाई स्थायी रूपमा समाधानका निम्ति सबै राजनीतिक दलले सहकार्य गर्नुपर्नेमा जोड दिँदै उनले देशको अहिलेको आर्थिक सङ्कटका लागि पूर्वराष्ट्रपति गोटबाया राजापाक्षलाई दोष दिनुको कुनै अर्थ नभएको बताए । शनिबार क्याण्डीमा भएको एक कार्यक्रममा उनले देशलाई आर्थिक सङ्कटबाट मुक्त गरी वैदेशिक ऋण चुक्ता गर्न सबै राजनीतिक दललाई एकजुट हुन आग्रह गरे । साथै उनले त्यस निम्ति उपाय पहिल्याउन पनि आग्रह गरे । आईएमएफसँगको सम्झौताले श्रीलङ्काको समस्या पूर्ण रूपमा समाधान नहुने बताए । आफूले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि अगाडि बढेको आईएमएफसँगको सम्भावित सम्झौता देशमा व्याप्त अस्थिरताका कारण रोकिएको जनाउँदै उनले आगामी अगस्टको अन्त्यपछि सम्झौता हुनसक्ने बताए । आईएमएफसँग सम्झौता नभएसम्म अन्य देशले श्रीलङ्कालाई आर्थिक सहयोग गर्न इच्छुक नहुने दोहो¥याए । यसैबीच, सरकारी तथ्याङ्कअनुसार यसै वर्षको जुनमा २७ हजार नौसय जना रोजगारीको खोजीमा बाहिर गएका, अनुमतिप्राप्त वैदेशिक रोजगार प्रदायक निकायमार्फत नौ हजार आठसय ५४ जना रोजगारीका लागि विदेश गएका छन् । यस वर्षको जनवरीदेखि एक लाख ५० हजारभन्दा बढीले देश छाडेका छन् । चरम आर्थिक सङ्कटले पिरोलिएका श्रीलङ्काका जनता औषधि, इन्धन र खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरूको अभावमा सङ्घर्ष गरिरहेको छन् । राजापाक्षको कुशासनका कारण आफूहरूले अकल्पनीय अभावको सामना गर्नुपरेको भन्दै हज्जारौँ सर्वसाधारण विरोध प्रदर्शनमा उत्रेका थिए भने केहीले राष्ट्रपति निवासमा प्रवेश गरेर उनलाई देश छाड्न बाध्य पारेका थिए । एजेन्सी

दिगो आर्थिक विकासलाई प्रवर्द्धन गर्न अमेरिकी दूतावास र चेम्बर अफ कमर्सबीच सहकार्य

काठमाडौं । अमेरिकी दूतावास र चेम्बर अफ कमर्स (अमच्याम नेपाल) बीच दिगो आर्थिक विकासलाई प्रवद्र्वन गर्न सहकार्य भएको छ । उक्त सहकार्यमा नेपालमा दिगो आर्थिक विकासलाई प्रवर्द्धन गर्न व्यवसायी र सरकारी नेताहरुसँग एकदिने कार्यशाला आयोजना भएको हो । जसमा नेपालको व्यापारिक वातावरण र लगानी नीति प्रस्तावका विषयमा छलफल भएको छ । नेपालमा दिगो आर्थिक विकासलाई प्रवद्र्वन गर्ने सबै प्रमुख सरोकारवालाहरू-उद्यमीहरू, कार्यकारीहरू, व्यापार संघका प्रतिनिधिहरू, विकास एजेन्सीहरू, थिंक ट्याङ्कहरू र सरकारी अधिकारीहरू उपस्थित थिए । यो कार्यक्रम अमेरिकी दूतावासको लागि नेपालमा अमेरिकी व्यापार लगानी र संलग्नता बढाउनको लागि प्रोत्साहन गर्ने अवसर पनि थियो । कार्यक्रमको उद्घाटन मन्त्रिपरिषद्को कार्यभार म्यानपी माइकलर जुनियर, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेलले गरेका थिए । चार्ज डी अफेयर्स म्यानी पी. माइकलर जुनियरले भने, ‘नेपालमा, अन्य धेरै देशहरूमा जस्तै, निजी क्षेत्र आर्थिक विकास परिवर्तनको प्रमुख प्रतिनिधि हो साथै यसले रोजगारी सिर्जना र राष्ट्रिय आयमा सबैभन्दा बढी योगदान गर्दछ, त्यसभन्दा बाहिर, निजी क्षेत्रले उदाहरणको रूपमा नेतृत्व गर्नुका साथै जिम्मेवारी र समावेशी जस्ता मूल्यहरू प्रदर्शन गर्दछ, र सकारात्मक प्रभाव पार्छ जसले नेपालका सबै समुदायहरूलाई माथि पुर्याउँछ ।’ कार्यक्रमले नेपाल-अमेरिकी व्यापार र लगानी सम्बन्धलाई समर्थन गर्न काम गरिरहेको नयाँ र द्रुत गतिमा बढ्दै गइरहेको अमेरिकी च्याम्बर अफ कमर्स इन नेपाल (अमच्याम नेपाल) को उत्कृष्टता देखाइएको थियो । अमच्याम नेपालका अध्यक्ष अजित बी शाहले निजी क्षेत्रको प्यानलमा एफएनसीसीआई, सीएनआई/एनयूएसएसीसीआईका नेताहरूसँग मिलेर (अमच्याम नेपाल) को आवश्यकता र नेपालमा हाल सञ्चालनमा रहेका अमेरिकी व्यवसायहरूका लागि नीतिगत चुनौतीहरू न्यूनीकरण गर्न कसरी काम गरिरहेको छ भन्ने बारेमा जानकारी गराएका थिए । उनले नेपालबाट विश्वका अन्य भागमा आईटी सेवा पुर्याउने ठूलो अवसर रहेको र यस उद्योगलाई तिव्रता दिन न्यासकम जस्तो संस्थाको आवश्यकता रहेको बताए ।