होन्डुरसकाे पहिलो महिला राष्ट्रपति बनिन् सियोमरा क्यास्ट्रो
तेगुसिगला । होन्डुरसमा नयाँ राष्ट्रिपति निर्वाचित भएकी छिन् । यहाँको निर्वाचन आयोगले सोमबार सियोमरा क्यास्ट्रो नयाँ राष्ट्रिपति निर्वाचित भएकाे जनाएको हो । होन्डुरसको लिबर्टी एण्ड रिफाउन्डेसन पार्टीका नेता सियोमरा नयाँ राष्ट्रिपति निर्वाचित भएकाे घोषणा निर्वाचन आयोगले सोमबार गरेको हो । यहाँ अघिल्लो महिना नयाँ राष्ट्रिपतिका लागि निर्वाचन भएको थियो । तर ढिला गरी सोमबार मात्र उनलाई घोषणा गरिएको छ । सो घोषणामा उनको कार्यकाल आगामी जनवरी २७ देखि सुरु हुने र सन् २०२६ को जनवरी २७ सम्म हुने घोषणा पनि गरेको छ । उनले यहाँको निर्वाचनमा १७ लाखभन्दा बढी अर्थात् ५१.१२ मत प्राप्त गरेकी थिइन् । उनी होन्डुरसका पूर्व राष्ट्रिपति म्यानुअल जिलयाको श्रीमती हुन् । उनी होन्डेरसको पहिलो महिला राष्ट्रपति हुनेछिन् । रासस/सिन्ह्वा
टर्कीमा एकैदिन २० हजारमा देखियो कोरोना सङ्क्रमण
अंकारा । टर्कीमा कोरोना भाइरसको सङ्क्रमण घट्न नसकेको पाइएको छ । पछिल्लो समयमा टर्कीमा यसको सङ्क्रमण बढ्दै गएको देखिएको छ । प्राप्त समाचारअनुसार यहाँ सोमबार मात्र २० हजार जनामा यो सङ्क्रमण देखिएको हो । टर्कीको स्वास्थ्य मन्त्रालयले सोमबार मात्र यहाँ २० हजार ३३ जनामा संक्रमण भएको देखिएको जनाएको छ । यहाँ सोमबार मात्र यो सङ्क्रमणबाट १८७ जनाको ज्यान गएको छ । यहाँ यो संक्रमणबाट अहिलेसम्म ७८ हजार जना भन्दा बढीको ज्यान गएको पाइएको छ । रासस/सिन्ह्वा
दक्षिण कोरियामा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’
सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो । कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएका ती दम्पती नोभेम्बर १४ देखि २३ तारिखसम्म नाइजेरिया भ्रमणमा थिए । उनीहरू कोरिया प्रवेशपश्चात गरिएको परीक्षणमा ओमिक्रोन देखिएको हो । खोपको दुवै मात्रा पूरा गरेकाहरूका लागि समेत उत्तिकै खतरा हुने सङ्केत डब्लुएचओले दिएसँगै नयाँ भेरियन्ट ओमिक्रोनका बारेमा दक्षिण कोरिया सरकारले चिन्ता र चासोको विषय भएको जनाएको छ । कोरियाले शनिबारदेखि लागू हुने गरी दक्षिण अफ्रिकासहित बोत्स्वाना, जिम्बाबे, नामिबिया, लसोथो, मोजाम्विक, मालावीलगायतबाट हवाई उडानसहित आवागमनमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ । यसका साथै नयाँ भेरियन्ट देशमा फैलिनबाट रोक्नका लागि विभिन्न नियमको घोषणा गरिएको छ । केडिसीएले ओमिक्रोन भेरियन्ट देशका अन्य भागमा फैलिएकोबारे पत्ता लगाउन परीक्षण तिव्र पारेको छ । ओमिक्रोन कोरियामा देखिएपछि यहाँ रहेका नेपालीमा पनि त्रास फैलिएको छ । ओमिक्रोनका कारण नेपाली कामदार कोरिया ल्याउने क्रा फेरि रोकिन सक्ने खतरा बढेको छ । रासस