अभिनेता अजय देवगनले किने १ अर्बको नयाँ घर, ३० कराेड ऋण, यस्तो छ नयाँ घर
काठमाडाैं । भारतीय अभिनेता अजय देवगनले करिब १ अर्ब नेपाली रुपैयाँ अर्थात ६० करोड भारतीय रुपैयाँमा नयाँ घर खरिद गरेका छन् । उनले मुम्बईस्थित जुहु क्षेत्रमा ६० कराेड भारतीय रूपैयाँमा नयाँ घर खरिद गरेको भारतीय सञ्चार माध्यमले लेखेका छन् । उनले नयाँ घर खरिद गर्नको लागि १९ करोड भारु अर्थात ३० करोड नेपाली रुपैयाँ ऋण लिएको पनि बताइएको छ । यो नयाँ घर अजय र उनका आमा वीणा देवगनको नाममा रहेको बुझिएको छ । भारतको एक लोकप्रिय अखबरमा छापिएको समाचार अनुसार हालसम्म अजय देवगनले नयाँ घरको मूल्य नखुलाएपनि रियल स्टेट विजनेससँग जोडिएका सुत्रका अनुसार उक्त घर ६० करोड भारुको हाे ।
नेपालको लागि बेलायती अभिनेताले थाले मौन अभियान, हालसम्म पाँच हजार पाउण्ड बढी रकम उठ्याे
लण्डन । अभिनेता, टेलिभिजन प्रस्तोता एवं लेखकका सुपरिचित बेलायती नागरिक ब्रायन ब्लेस्डले नेपालमा कोभिड रोकथाम र नियन्त्रणमा सहयोग पुगोस् भनेर रकम सङ्कलन अभियान थालेका छन् । ‘जीवनको सबैभन्दा गाह्रो चुनौती’का रूपमा उल्लेख गरिएको यो अभियानमा उनी २४ घण्टा प्रयोजित मौन बसेका थिए । आइतबारदेखि थालनी गरेका अभियानमा हालसम्म पाँच हजार पाउण्डभन्दा बढी रकम उठिसकेको छ । २४ घण्टा चुप लागेर बस्दा राम्रै अनुभूति भए पनि आफ्ना समर्थकहरूसँग बोल्न नपाएकामा अब बोल्न पाइएको बताए । बेलायतको सरे शहरमा रहेको आफनो घरमा मौन समय बिताएका ८४ वर्षीय ब्लेस्डले आफ्नो अभियानमा साथ दिने सबैलाई धन्यवाद दिएका छन् । जस्ट गिभिङ नामक परोपकारी वेबसाइटमार्फत रकम सङ्कलन गरेका ब्रायनले नेपालसँग आफ्नो प्रगाढ सम्बन्ध रहेको र तीनपटकसम्म सगरमाथा चढ्न गरेको प्रयासको त्यो क्षण सम्झनलायक रहेको बताए । फ्यज नामक नेपाली परोपकारी संस्थाको संरक्षकका रूपमा सन् २०१५ देखि रहँदै आएको र यसैमार्फत नेपालीसँग निकटताको सम्बन्ध बढ्दै गएको बताउने ब्रायनले नेपाललाई परेको यो सङ्कटमा सबैले साथ दिन अनुरोध गरेका छन् । उनको अभियानबाट जुन महिनाको २५ तारिखसम्म जति रकम सङ्कलन हुन्छ त्यति बराबर नै बेलायत सरकारले पनि थपिदिने हुँदा यो रकमले यो सङ्कटमा केही भए पनि सहयोग पुग्ने उनको धारणा छ । यसरी उठेको रकम आफू संरक्षक रहेको फ्यज संस्थामार्फत प्रदान गरिने बताएका छन् । रासस
१० महिनामा १९.२ प्रतिशतले बढ्यो रेमिट्यान्स, श्रम स्वीकृति लिनेको संख्या घट्यो
काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को दश महिनामा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत बैशाख मसान्तसम्ममा रेमिट्यान्स रकम साे मात्राले बढेर ८०९ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो । त्यस्तै, अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६०.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.७ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४९.० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४.६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १७.२ प्रतिशतले वृद्धि भई ९०३ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ६.९ प्रतिशतले घटेको थियो ।