कोभिड-१९ विरुद्धको लडाइँमा सघाउन युरोपेली आयोगलाई आग्रह
काठमाडौं । युरोपेली सङ्घका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले कोभिड-१९ विरुद्धको नेपालको लडाडँमा सघाउन युरोपेली आयोगका अध्यक्षसमक्ष आग्रह गरेका छन् । आयोगका अध्यक्ष उर्सुला भोन डेर लिएनसमक्ष बुधबार आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेपछि भएको संक्षिप्त भेटमा राजदूत राजभण्डारीले कोभिड-१९ का कारण नेपालले झेल्नुपरेको सङ्कटबारे अवगत गराउँदै सहायताका निम्ति आग्रह गरेका ब्रसेल्सस्थित नेपाली राजदूतावासले जनाएको छ । खोप, अत्यावश्यक औषधि तथा जीवनदायी औषधि आपूर्तिका लागि उनले गरेका आग्रहको जवाफमा आयोगका अध्यक्षले युरोपेली सङ्घका संयन्त्रमार्फत महामारीविरुद्धको नेपालको लडाइँमा सघाउने आश्वासन दिएको उक्त दूतावासले जनाएको छ । राजदूत राजभण्डारीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अध्यक्ष लिएनमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । रासस
अमेरिकाको सिनेटमा नेपालको कोरोना भाइरसको असरका बारेमा छलफल
काठमाडाैं । अमेरिकी सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिमा बुधबार नेपालमा कोरोना भाइरसले पारेको असरका बारेमा छलफल भएको छ । कोभिड–१९ महामारी र अमेरिकाको अन्तर्राष्ट्रिय ‘रेसपोन्स’का बारेमा भएको सुनुवाइ कार्यक्रममा कनेक्टिकट राज्यबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्नुहुने सिनेटर क्रिस मुर्फेले नेपाल लक्षित भएर जिज्ञासा राखेका थिए । उनले नेपालको करिब तीन करोड जनसङ्ख्या कोरोना भाइरसको मारमा परेको भन्दै युएसएआइडीले हालै गरेको सहयोगका बारेमा समेत चर्चा गरेका थिए । सिनेटर क्रिसले नेपालमा स्वास्थ्य सामग्रीको निर्यातमा भारतले बन्देज लगाएकाले अवस्था झन नाजुक भएको भन्दै चिन्ता व्यक्त गरेका थिए । कोभिड महामारीको लागि युएसएआइडीका लागि वरिष्ठ सल्लाहकार जेरेमी कोन्डयाकले नेपालको अवस्था भयावह भएको उल्लेख गर्दै परीक्षण गरिएका अधिकांशमा कोरोनाको सङ्क्रमण पाइएको बताए । यो दर उच्च भएको उनको टिप्पणी थियो । उनले नेपाललाई अतिरिक्त सहायताका लागि योजना बनाइरहेको पनि सिनेटलाई जानकारी दिए । अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले सिनेटमा नेपालको विषयले प्रवेश पाएकोमा खुशी व्यक्त गर्दे भने, ‘अहिले नेपाललाई स्वास्थ्य आपतकालसँग जुध्न मित्रराष्ट्र अमेरिकाले सहयोग गर्नु विगतमा अन्य तरिकाको गरिएको सहयोगभन्दा पनि महत्वपूर्ण हुनेछ । उनले अमेरिकाका सम्बन्धित निकायहरुलाई नेपालको महामारीको असरको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउँदै नेपाललाई विभिन्न तरिकाले सहयोगको खाँचो रहेको र त्यसका लागि अमेरिकी सरकारसँग दूतावासले अनुरोध गरिरहेको बताए । अमेरिकाको मेरिल्याण्ड राज्यका लागि नेपाली मूलका पहिलो विधायक ह्यारी भण्डारीले अमेरिकी सरकारलाई सहयोग गर्न अपिल गर्दै राष्टपति जो वाइडेनको प्रशासनलाई दबाब दिन हस्ताक्षर अभियान चलाएका छन् । उनले मेरिल्याण्डबाट प्रतिनिधित्व गर्ने सिनेटरहरु क्रिस भ्यान होलान र वेन कार्डेनको कार्यालयलाई समेत नेपालको पछिल्लो अवस्थाको बारेमा जानकारी गराउँदै सहयोगको लागि सङ्घीय सरकारसँग अनुरोध गर्न पहलकदमी गरेको बताए ।भण्डारीले भने, ‘सिनेटरहरुले गर्नुभएको पहलकदमीले हामीलाई उत्साहित बनाएको छ ।’ अमेरिकाले नेपाललाई कोरोना भाइरससँग जुध्नका लागि स्वास्थ्य उपकरणहरु सहयोग गर्दै आएको छ । विगत एक बर्षको बीचमा युएसआइडीले तीन करोड ६८ लाख अमेरिकी डलर सहयोग गरेको छ भने डिपार्टमेन्ट अफ डिफेन्समार्फत ३१ लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री सहयोग प्रदान गरिसकेको छ । अमेरिकामा २५ करोड जनसङ्ख्याले कोरोना भाइरसको खोप लगाइसकेको छ र खोपको उत्पादन तीव्रगतिमा हुँदै गएकाले कोभ्याक्समार्फतको खोप केही साताभित्र नेपाल पुग्ने अपेक्षा गरिएको छ । रासस
चीनको जनसंख्या अझै केही वर्ष एक अर्ब ४० करोडभन्दा बढी हुने
बेइजिङ । चीनको राष्ट्रिय तथ्यांक ब्युरोले चीनको जनसंख्या अझै केही वर्ष एक अर्ब ४० करोडभन्दा केही बढी हुने जनाएको छ । ब्युरोका प्रमुख निङ जिघेले जनसंख्याको उच्चतम विन्दु अझै आइ नपुगेको जनाउँदै तर त्यस्तो उच्चतम विन्दु कहिले आउँछ यत्तिकै पूर्वानुमान गर्न कठिन रहेको बताए । हालैका वर्षका जनसांख्यिक प्रवृत्तिलाई आधार मान्दा चीनको जनसंख्या वृद्धि निरन्तर घट्ने देखिन्छ, उनले भने । उमेरको संरचना, छोराछोरी जन्माउने बारेमा मानिसका धारणा, सरकारको जनसंख्या नीति, बालस्याहारमा हुने खर्च, स्वास्थ्य सेवा र मानिसको स्वास्थ्य अवस्था जस्ता पक्षले पनि जनसंख्या वृद्धिमा असर पर्ने उनले औंल्याए । चीनको जनसंख्या एक अर्ब ४१ करोड पुगिसकेको छ । विगत एक दशकमा चीनको जनसंख्या वार्षिक औसतमा ०.५३ प्रतिशतले वृद्धि भएको मङ्गलबार सार्वजनिक विवरणमा देखिएको तथ्यांक ब्यूरोले जनाएको छ । ब्यूरोका अनुसार सन् २००० देखि २०१० सम्म वार्षिक ०.५७ प्रतिशतको जनसंख्या वृद्धि रहेकामा पछिल्लो दशकमा भने केही कमी आई ०.५३ प्रतिशत रहेको छ । निङका अनुसार चीनको जनसंख्या वृद्धि पछिल्लो दशकमा निरन्तर घट्नेक्रममा देखिएको छ । रासस–सिन्ह्वा