फोटनले ‘रोल आउट’ गर्यो एक करोड गाडी, मार्चमा मात्रै ५९ प्रतिशत बढी उत्पादन
काठमाडौं । चीनकै सबैभन्दा ठूलो कमर्शियल भेहिकल ब्रान्ड फोटन मोटरले एक करोड गाडी ‘रोल आउट’ गरेको छ । फोटन मोटरले स्थापना भएको २५ वर्षमै एक करोड गाडी उत्पादन गर्न सफल भएको हो । एक करोड गाडी उत्पादन गरेको अवसरमा फोटन डेमलर अटोमोटिभले चीनमा नयाँ अमान ग्यालेक्सी ट्रक सार्वजनिक गरेको छ जसलाई ‘प्रविधिक सुन्दरता र गतिशिलताको समीश्रण’ भनी व्याख्या गरिएको छ । फोटनले गएको मार्च महिना मात्रै एक लाख एक हजार एकसय ६६ वटा गाडी विक्री गरेको थियो जुन अघिल्लो वर्षको तुलनामा ५९ प्रतिशत बढी हो । विश्वको सबैभन्दा ठूलो ‘लजिस्टिक्स मार्केट’को नेतृत्व लिने लक्ष्यका साथ फोटनको स्थापना सन् १९९६ को अगस्टमा भएको थियो । लगत्तै फोटनले विश्वकै लोकप्रिय अटोमोबाइल क्षेत्रका कम्पनीहरु कमिन्ज्, डेमलर ग्रुप र जेडएफसँग नीतिगत साझेदारी गरेको थियो । कमिन्ज् हेभी-ड्युटी ट्रक बजारको आइकन हो जुन संसारकै सबैभन्दा ठूलो इन्जिन निर्माता समेत हो । त्यसैगरी, जर्मनीको डेमलर ग्रुप विश्वको सबैभन्दा ठूलो प्रिमियम कमर्शियल भेहिकल निर्माता कम्पनी हो भने जेडएफ संसारको सबैभन्दा ठूलो ट्रान्समिसन तथा च्यासिस् टेक्नोलोजी सप्लायर हो । नयाँ आविष्कार र उत्कृष्टताका लागि फोटनले चीन, जर्मनी जापानमा रिसर्च एन्ड डेभलपमेन्ट सेन्टरहरु स्थापना गरेको छ जहाँ ४० भन्दा बढी मुलुकका ६ हजार पाँच सय इन्जिनियरले पाँच हजारभन्दा बढी प्याटेन्ड निर्माण गरिसकेका छन् । फोटनका उत्पादन विश्वका २७ वटा एसेम्बली प्लान्टमा उत्पादन भई एक सय १० देशमा उपलब्ध छन् । नेपालमा एमएडब्लु वृद्धि कमर्शियल भेहिकलले फोटनका पिकअप, भ्यान र एम्बुलेन्सको विक्रीवितरण गर्दै आएको छ ।
कोभिड-१९ विरुद्धको खोप ल्याउन विश्व बैंकको पौने ९ अर्ब रूपैयाँ सहयोग
काठमाडौं । विश्व बैंकले कोभिड-१९ विरुद्धको खोपका लागि ८ अर्ब ७० करोड रुपैयाँ बराबरको अतिरिक्त वित्तीय सहायता प्रदान गरेको छ । कोभिड-१९ विरुद्धका सुरक्षित र प्रभावकारी खोपहरुको पहुँच विस्तार गर्न शुक्रबार अर्थ मन्त्रालयमा विश्व बैंक र नेपाल सरकारबीच ७ दशमलव ५ करोड अमेरिकी डलर अर्थात ८ अर्ब ७० करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोसले हस्ताक्षर गरेका हुन् । हस्ताक्षर कार्यक्रममा मन्त्रालयका सचिव ढुङ्गानाले ७२ प्रतिशत नेपाली जनसंख्यालाई खोप दिने सरकारको बृहत योजनाका लागि यो सहयोग महत्वपूर्ण र सान्दर्भिक हुने बताए । यस्तै खोप खरिदका साथै नेपालको राष्ट्रिय खोप वितरण योजना अनुरुपको प्रभावकारी खोप सेवा विस्तार र नेपालको स्वास्थ्य प्रणालीको सुदृढिकरण गर्न पनि प्राप्त सहयोग उपयोगी हुने बताए । माल्दिभ्स, नेपाल र श्रीलंकाकालागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जार्भोसले कोभिड-१९ विरुद्धका सुरक्षित र प्रभावकारी खोपहरुको समतामुलक र द्रुत पहुँच विस्तार गरी नागरिकको जीवन रक्षा गर्न र उत्थानशिल पुनर्लाभ प्राप्त गर्न यो रकम सहयोगी हुने बताए । उनले नेपालमा जीवन रक्षा, सार्वजनिक स्वास्थ्य तयारी प्रणालीको सुदृढिकरण र नेपालको आर्थिक पुनर्लाभलाई उत्प्रेरित गर्न सरकारको महामारी प्रतिकार्यलाई सहयोग गर्न विश्व बैंक प्रतिबद्ध रहेको बताए ।
भोकमरी शून्यमा झार्ने लक्ष्य प्राप्तिमा ढिलाई, नेपालको स्थिति भने सुधारोन्मुख
काठमाडौं । कोरोना महामारी र अन्य चुनौतीका कारण सन् २०३० सम्म भोकमरी शून्यमा झार्ने भनी दिगो विकास लक्ष्य अनुरुप अन्तर्राष्ट्रिय समुदायले लिएको लक्ष्य प्राप्तिमा ढिलाइ हुने भएको छ । विश्वव्यापी भोकमरी सूचांक (जिएचआइ) ले संयुक्त राष्ट्रसङ्घका विभिन्न एजेन्सीद्वारा उपलब्ध गराइएका तथ्याङ्कहरूमा आधारित रहेर तयार गरेको सन् २०२० को प्रतिवेदनले यो तथ्य औंल्याएको हो । यो प्रतिवेदन १३२ देशका तथ्याङ्कहरू मूल्याङ्कन गरी तयार गरिएको हो । आज ललितपुरमा आयोजित एक कार्यक्रममा प्रतिवेदन सार्वजनिकीकरण गरिएको हो । कार्यक्रममा नेपालको स्थितिबारे पनि समीक्षा गरिएको थियो । राष्ट्र सङ्घले सन् २०१५ मा नेपाल लगायत अन्य सदस्य राष्ट्रहरूद्वारा दिगो विकासका लक्ष्यहरू अवलम्बन हुने घोषणा गरेको थियो जसमध्ये भोकमरी शून्यमा झार्ने एउटा लक्ष्य हो । यो वर्षको प्रतिवेदनले मानव समुदाय भोकमरी शून्यमा झार्ने लक्ष्यबाट झन् धेरै टाढिएको देखाउँछ । दीर्घकालीन भोकमरीको समस्याले संसारभरका ६९ करोड मानिसलाई प्रभाव पारिरहेको छ भने १३ करोड ५० लाख मानिसले अहिले उपयुक्त पोषण नपाइरहेको अवस्थामा छन् । अहिले विश्वव्यापी भोकमरी सूचांक १८।२ छ । सन् २००० को तुलनामा यसमा सुधार भए पनि अझै धेरै सुधार हुन आवश्यक छ । पचास भन्दा बढी देशमा अहिले पनि भोकमरी दर उच्च छ । चौध करोड चार लाख बालबालिका अझै पनि कुपोषणका कारण आफ्नो उमेरभन्दा कम उचाइका छन् । चार करोड सात लाख बच्चाहरू कुपोषणको शिकार भएका छन् र सन् २०१८ मा ५३ लाख बच्चाहरूको पाँच वर्ष नपुग्दै मृत्यु भयो । यसको मुख्य कारण कुपोषण नै देखिएको थियो । नेपालको स्थिति सुधारोन्मुख विश्वव्यापी भोकमरी सूचांकमा नेपाल १०७ देशमध्ये ७३औं स्थानमा परेको छ । सन् २००० मा नेपालको जिएचआइ सूचांक ३७.४ थियो जुन जोखिमपूर्ण मानिन्छ । तर यो क्रमशः घट्दै सन् २०२० मा १९.५ छ । नेपाल भोकमरी अवस्थामा जोखिमपूर्णबाट गम्भीर हुँदै अहिले मध्यम अवस्थामा आएको छ । सन् २००० मा मानिसहरूमा कुपोषणको प्रतिशत करिब २४ प्रतिशत थियो भने सन् २०२० मा ७ प्रतिशत हाराहारी छ । त्यस्तै आफ्नो उमेरका तुलनामा कम उचाइ भएका पाँच वर्षमुनिका बालबालिकाको प्रतिशतमा पछिल्ला बीस वर्षमा नेपालले राम्रो सुधार गरेको छ । सन् २००० मा यस्ता बालबालिकाको सङ्ख्या ५८ प्रतिशत थियो भने सन् २०२० सम्म आइपुग्दा ३७ प्रतिशतमा झरेको छ । नेपालमा आफ्नो उमेर र शारीरिक बनावटको तुलनामा कम तौल भएका पाँच वर्षमुनिका बालबालिकाको प्रतिशतमा भने यी बीस वर्षमा खासै सुधार भएको छैन । सन् २०२० को जिएचआइले नेपाल र डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोको पोषण अवस्थालाई नजिकबाट नियालेको हो । सन् २००० मा यो संख्या ११ प्रतिशत थियो भने सन् २०२० मा ९ प्रतिशत छ । त्यस्तै नेपालको शिशु मृत्युदर (पाँच वर्ष नपुग्दै मृत्यु हुने) सन् २००० मा ८ प्रतिशत थियो भने २०२० मा ५ प्रतिशत हाराहारीमै छ । समग्रमा, द्वन्द्व, गरिबी, असमानता र तीव्र गतिमा भइरहेको जलवायु परिवर्तनका कारण भोकमरी बढिरहेको छ । अझ विश्वव्यापी कोरोना भाइरस महामारी र अफ्रिकी देशहरूमा आएको सलह महामारीका कारण दसौं लाख मान्छे भोकमरीको शिकार हुन सक्ने देखिएको छ । राष्ट्रसङ्घले संसारभर अब थप सात लाख बालबालिका भोकमरीको शिकार हुने अनुमान गरेको छ । त्यस्तै न्यून र मध्यम आय भएका देशमा छ करोड सात लाख बालबालिका कुपोषणको शिकार हुने अनुमान छ । कोरोना भाइरसले निम्त्याएका बन्देजहरुका कारण करिब एक लाख तीस हजार बालबालिकाले ज्यान गुमाउन सक्ने अनुमान गरिएको छ । रासस