कोरोना भाइरसबाट अस्तव्यस्त भएकाे चीनलाई नेपालले पठायाे १२ हजार थान मास्क

काठमाडौं । हालै मित्रराष्ट्र चीनमा फैलिएको नोवल कोरोना भाइरसका कारण जनजिवत अस्तव्यस्त भएको छ । हुवेई प्रान्तबाट फैलिएको उक्त भाइरस चीनका अघिकांश प्रान्त तथा विभिन्न मुलुकहरुमा फैलिएको छ । भाइरस फैलिएसँगै चीनमा सुरक्षाका लागि माक्सको माग बढ्दो छ । विशेषगरी नेपालसँग सिमा जोडिएको चिनिया प्रान्त तिब्बतमा समेत भाइरस फैलिएमा नेपालमा समेत फैलन सक्ने सम्भावना रहेको छ । तसर्थ यस संघले चाइना तिब्बत चेम्बर अफ बोर्डर टेनलाई सहयोग स्वरुप १२ हजार थान मास्क प्रदान गरेको छ । उक्त चेम्बरसँंग संघले २०१४ मा एक समझदारी पत्रमा हस्ताक्षर गरी विभिन्न आर्थिक, व्यापारिक, पर्यटन, लगानी आदिको प्रवद्र्धनका लागि सहकार्य गर्दै आइरहेको छ ।

युरोपियन युनियनको सदस्यबाट बाहिरियो बेलायत

लण्डन। करिब तीन वर्ष सात महिनाको उतारचढावपछि बेलायत युरोपियन युनियन (इयु) को सदस्यबाट बाहिर निस्किएको छ । युरोपियन युनियनको सदस्यबाट बेलायत बाहिर निस्किने प्रक्रियालाई बेलायतका मिडियाले ब्रेक्जिट भनेर नामाकरण गरे र हाल संसारभरका मिडियाले यही शब्दको प्रयोग गरेका छन् । शनिबार बेलायत र विश्वका मिडियाले ब्रेक्जिट सफल भएको लेखेका छन् । यसअघि राखिएको अन्तिम समयतालिका सन् २०२० को जनवरी ३१ अर्थात् शुक्रबार बेलायत युरोयिन युनियनबाट औपचारिक रुपमा नै अलग भएको छ । स्थानीय समयानुसार शुक्रबार राति ११ बजे बेलायत युरोपियन युनियनको सदस्यबाट बाहिर निस्किएपछि अब यसको सबै औपचारिकता पूरा भएको हो । युरोपेली युनियनको सदस्य रहेको करिब ४७ वर्षपछि बाहिरिएबाट युनियनको परिचय पनि फेरिन पुगेको छ र बेलायत बाहेकको युरोपेली युनियनको पहिचानमा अब यो युनियन रहेको छ । बेलायतका नागरिकको जनमतका आधारमा नै बेलायतले यो निर्णय लिन पुगेको हो । बेलायतमा सन् २०१६ जुन २३ मा बेलायत युरोयिन युनियनबाट निस्किने विषयमा जनमतसंग्रह भएको थियो । त्यस जनमत संग्रहमा बेलायती नागरिकले बेलायतलाई उक्त युनियनबाट बाहिर निस्किन जनमत दिएका थिए । त्यस निर्वाचनमा ५२ प्रतिशत मतदाताले ब्रेक्जिटको पक्षमा मतदान गरेका थिए । त्यस्तै बेलायत युरोपियन युनियनबाट बाहिरिन हुदैन भन्ने पक्षमा मतदान गर्नेको संख्या ४८ प्रतिशत थियो । त्यस जनमत संग्रहपछि नै बेलायत ईयूबाट बाहिरिने प्रक्रिया सुरु भयो । तर पछि आएर भने बेलायतले विविध खाले समस्याहरु ब्यहोरेको थियो । किन भने यिनै समस्याहरुका कारण नै यस अवधिमा प्रधानमन्त्री नै दुई जना बन्नु परेको थियो । त्यस जनमतसंग्रहकै कारण लगत्तै तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरुनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । डेभिडपछि प्रधानमन्त्री बनेकी थेरेसा मेले ब्रेक्जिटको एजेण्डा पूरा गर्ने भनेर लाग्नुभएको थियो । तर पनि यस प्रयोजनका लागि आवश्यक पर्ने विभिन्न सर्तहरूका विषयमा उनले संसदको समर्थन हासिल गर्न नसकेर राजीनामा दिए । उनको राजीनामापछि यो दायित्व वर्तमान प्रधानमन्त्री बोरिस जोनसनसमक्ष आएको थियो । उनले आफूले यो दायित्व पूरा गरेको बताए । ब्रेक्जिट हुने समय शुरुमा सन् २०१९ को मार्च २९ को लागि नै तय गरिएको थियो । तर पनि यस विषयमा विवादहरु उत्पन्न भए । ईयु र पूर्व प्रधानमन्त्री थेरेसा मेबीचमा सम्झौता भएपछि त्यसलाई संसदले अस्वीकार गरेपछि कैयौँ पटकसम्म पछि धकेलिएको थियो । यसै विषयमा गत डिसेम्बर महिनामा भएको निर्वाचनमा बेलायतको हाउस अफ कमन्सका ८० सदस्यको बहुमत प्राप्त भएपछि प्रधानमन्त्री जोनसनलाई बे्रक्जिटमा जान सहज सहमति प्राप्त भएको हो । सोही प्रावधानअनुरुप गएराति बेलायत बाहिरिएको हो । बेलायत बहिर्गमन भएपनि सुरुमा ११ महिनाको अवधिमा व्यापार, भ्रमण र व्यवसायका लागि इयु नियमको पालना गर्ने सहमति भएको पनि प्राप्त समाचारमा जनाइएको छ । यी दुई पक्षबीचको भविष्य र व्यापार सम्बन्धको वार्ता एक वर्षभित्र गरिने बताइएको छ । त्यसैले यस प्रक्रियाले पूर्णता पाउनका लागि थप ११ महिनाको अवधि आवश्यक पर्नेछ । रासस/सिन्ह्वा/एएफपी

चिनियाँ नागरिकलाई अष्ट्रेलिया आउन रोक, नागरिकलाई चीन नजान सरकारको घोषणा

सिड्नी ।अष्ट्रेलियाले चीनबाट आउनेहरुलाई आफ्नो देशमा प्रवेश गर्न नदिने घोषणा गरेको छ । अष्ट्रेलियाली सरकारले आफ्ना नागरिकबाहेक अरू कसैलाई पनि प्रवेश गर्न नदिने घोषणा शनिबार गरेको अधिकारीहरुले जनाएका छन् । पछिल्लो समय नोवेल कोरोना भाइरसको संक्रमण बढेसँगै अष्ट्रेलियन सरकारले आफ्ना नागरिकलाई चीन भ्रमण नगर्न आदेश दिएको छ । चीनमा पहिलोपटक देखिएको नोवेल कोरोना भाइरस अहिले विभिन्न फैलिन थालेपछि त्यसलाई नियन्त्रण गर्नका लागि अष्ट्रेलियाले यस्तो निर्णय लिएको हो । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले भने, “अष्ट्रेलियाका नागरिक, अष्ट्रेलियाका बासिन्दा, उनीहरुमा आश्रित, कानूनी संरक्षक तथा अविभावकलाई मात्रै चीनबाट अष्ट्रेलिया आउन अनुमति दिइनेछ ।” यो व्यवस्था शनिबारदेखि नै लागू भइसकेको उनले जानकारी दिए । उनले नाकाहरुमा यसका लागि सम्पूर्ण व्यवस्था गरिसकिएको र सरकारी अधिकारीहरु तथा प्राविधिक र विज्ञहरु पनि खटाइसकिएको बताए। अष्ट्रेलियाको विदेश मन्त्रालयले आफ्ना नागरिकहरुलाई चीनको भ्रमणमा नजानसमेत सूचना जारी गरेको छ । रासस/एएफपी