थप ६ करोडभन्दा बढी मानिस गरिबीको चपेटा: विश्व बैंक
काठमाडौं । विश्व बैंकले कोरोना भाइरस फैलिएसँगै विश्वभरी थप ६ करोडभन्दा धेरै मानिस गरिबीको चपेटामा पर्ने बताएको छ । विश्व बैंकका अध्यक्ष डेविड मालपासले महामारीका कारण अर्थव्यवस्थामा असर परी थप ६ करोडभन्दा धेरै मानिस गरिबीको चपेटामा पर्ने बताए । विश्व बैंकले महामारीको कारण उत्पन्न हुने आर्थिक संकट कम गर्न एक सयवटा विकासशील देशका लागि १ सय ६० अर्ब डलरको सहायता दिने घोषणा पनि गरेको हो । यो सहायता कार्यक्रम १५ महिनासम्म चल्ने जनाइएको छ । यी एक सय देशमा विश्वको ७० प्रतिशत र धेरैजसो अफ्रिकी देश रहेको पनि विश्व बैंकले जनाएको छ । सहयोगले विकासशील देशहरूले गरिब र जोखिममा रहका वर्गको रक्षा, स्वास्थ्य प्रणालीलाई सुदृढीकरण गर्न, निजी क्षेत्रको अवस्था कायम राख्न र आर्थिक सुधारमा सहयोग पु¥याउने बैंकले जनाएको छ । विश्वमा नै कोरोना भाइरसको त्राससँगै गरिएको लकडाउनले अधिकांश व्यापार, व्यवसायहरु बन्द भएका छन् । व्यवसाय बन्द भएसँगै उत्पादन घट्नु तथा मानिसहरुको रोजगारी गुम्दा गरिवीको संख्या बढ्ने गइरहेको छ । कोरोनको संक्रमण अहिले बिश्वका २ सय १३ देशमा फैलिसकेको छ ।
सबैभन्दा धेरै कोरोना संक्रमित भेटिनु अमेरिकाका लागि सम्मानको कुराः ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा संसारमा सबैभन्दा धेरै संक्रमित भेटिनु इज्जतको कुरा भएको तर्क गरेका छन् । ‘म यसलाई यो राम्रो भएको रुपमा हेर्छु किनकी यसको अर्थ हाम्रो परीक्षण धेरै राम्रो छु’ ह्वाइट हाउसमा उनले भने । अमेरिकामा कोरानाको प्रकोप शुरु भएपछि ह्वाइटहाउसमा पहिलो पटक क्याबिनेट बैठक राख्दै उनले भने, ‘म यसलाई निश्चित सम्मानको रुपमा देख्छु, यो एक राम्रो कुरा हो कि, यसको मतलब हाम्रो परीक्षण धेरै राम्रो छ ।’ संवाददाताहरूसँग कुरा गर्दै उनले भने, ‘तपाईंहरूले हामी संक्रमित संख्यामा अगाडि छौं भन्नुहुन्छ किनकी हामीले अरूको भन्दा धेरै परीक्षण गरेका छौं ।’ ‘त्यसैले हामीसँग धेरै केसहरू छन ।’, उनी भन्दै गए, ‘म यसलाई नराम्रो रूपमा हेर्दिन, म यसलाई राम्रो रुपमा हेर्छु किनकी हाम्रो परीक्षण धेरै राम्रो छ ।’ अमेरिकामा हालसम्म कोरोनाका १५ लाख संक्रमित भेटिएका छन् भने करिब ९२ हजार मानिसहरूले कोरोनाका कारण ज्यान गुमाएका छन् । ट्रम्पको उक्त टिप्पणीमा ‘अमेरिकामा १.५ मिलियन संक्रमित देखिनु नेतृत्वको पूर्ण विफलता हो’, भन्दै डेमोक्र्याटिक नेशनल कमिटीले ट्वीटर मार्फत आलोचना गरेको छन् । ३ लाख संक्रमित भएको रसिया संक्रमित संख्याका आधारमा दोश्रो स्थानमा रहेको छ । (एजेन्सीकाे सहयाेगमा)
रूसी प्रधानमन्त्री कोरोना निको भइ फर्किए काममा
काठमाडौं । रूसी प्रधानमन्त्री मिखाएल मिशुस्तिन कोरोना भाइरस (कोभिड–१९)को उपचारपछि निको भइ काममा फर्किएका छन् । गत अपिल ३० तारिकमा कोरोना भाइरसको संक्रमण भएपछि मङ्गलबार उनी काममा फर्किएको रूसी प्रशासन केन्द्र क्रेमलिनले जानकारी दिएको छ । प्रधानमन्त्री मिशुस्तिन विरामी भएका कारण अनुपस्थित रहँदा उनको जिम्मेवारी राष्ट्रपति भ्लादिमिर पुटिनको निर्देशनमा उपप्रधानमन्त्री एनड्रे बेलोउसोभले कार्यबहाक प्रधानमन्त्रीका रूपमा सम्हाल्लेका थिए । प्रधानमन्त्रीमा कोरोना पोजेटिभ देखिएपछि काममा फर्किएसँगै आफ्नो जिम्मेबारी पुन सम्हालेको क्रेमलिनले जनाएको छ । (एजेन्सी)