बंगलादेशमा बीएनपीको जितको अर्थ के ?
काठमाडौं । बंगलादेशमा जमात–ए–इस्लामी जसलाई अमेरिकाले प्रत्यक्ष समर्थन दिएको भनिएको थियो, नराम्रोसँग पराजित भएको छ । जमातलाई विद्यार्थी नेताहरूको साथ थियो, मोहम्मद युनुसको संयन्त्रले पनि पूरा सहयोग गरिरहेको थियो । बिहीबार सम्पन्न निर्वाचनमा यो कट्टरपन्थी पार्टीले अहिलेसम्म ५७ सिटमा जित हासिल गरेको छ । बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले १७६ सिटमा जित हासिल गर्नुले देशले कट्टर विचारधारालाई अस्वीकार गरेको संकेत गर्छ । साथै जनताले मुख्यधाराको पार्टीलाई नै देशको भविष्यका रूपमा हेरेको देखाउँछ । यसले शेख हसिनाका लागि बंलादेशमा फर्कने सम्भावित बाटो खुला रहेको र आगामी दिनमा अवामी लीग पुनः मुख्यधारामा फर्किन सक्ने अर्थ पनि लगाइएको छ । अगस्ट २०२४ मा शेख हसिनाको सरकार पतन भएपछि जमात–ए–इस्लामीले निकै सक्रियता देखाएको थियो । मोहम्मद युनुसले आतंकवादी घटनामा संलग्न भएको आरोप लागेका जमातका केही ठूला नेताहरूलाई जेलबाट रिहा गरेको उल्लेख छ । अमेरिकी अधिकारीहरूले जमातका नेताहरूसँग खुला भेटघाट गरेको, मुस्लिम समुदायबाट विदेशबाट आर्थिक सहयोग आएको दाबी गरिएको छ । यति हुँदाहुँदै पनि जमात पराजित भएको छ । यी हुन् बंगलादेशको निर्वाचनबारे पाँच महत्त्वपूर्ण बुँदा बीएनपीको जितको के अर्थ ? अवामी लीगलाई चुनाव लड्न अनुमति नदिइएको अवस्थामा बीएनपीमात्र प्रमुख मुख्यधाराको पार्टी थियो । बीएनपीले ठूलो सफलता हासिल गर्नुले जनताले मुख्यधाराको राजनीतिप्रति विश्वास कायम राखेको र मध्यमार्गी विचारधारालाई समर्थन गरेको देखाउँछ । ३०० संसदीय सिटमध्ये २०० भन्दा बढी सिट बीएनपीले जित्ने अनुमान गरिएको छ । महिला मतदाताको निर्णायक भूमिका बंगलादेशका महिला मतदाताले जमात–ए–इस्लामीविरुद्ध खुलेर मतदान गरेको देखिएको छ । मतदान प्रवृत्तिले महिलाहरूले जमातलाई सत्ताबाट टाढा राख्ने मनसायसहित मतदान गरेको संकेत गर्छ । विभिन्न क्षेत्रका महिलाहरूले बीएनपीलाई राम्रो विकल्पका रूपमा रोजेको विश्लेषण गरिएको छ । पश्चिमी देशलाई झट्का निर्वाचनमा पश्चिमी देशका सरकार र अन्तर्राष्ट्रिय एनजीओ समूहहरू सक्रिय रहेको उल्लेख छ । तर ती प्रयासका बाबजुद मोहम्मद युनुसको प्रभाव घटेको देखिएको छ । ‘जुलाई चार्टर रेफरेन्डम’ ले कति समर्थन पायो भन्ने स्पष्ट नभए पनि यूएस–यूके गठबन्धनको समर्थनले अपेक्षित असर नपारेको दाबी गरिएको छ । तारिक रहमानसँग भारतको संवाद बंगलादेशको राजनीतिमा भारतलाई सुरुमा केही झट्का लागेको भए पनि तारिक रहमानसँग प्रारम्भिक संवाद भएको बताइएको छ । उनकी आमा बेगम खालिदा जियाको निधनपछि भारतीय विदेशमन्त्री एस। जयशंकर ढाका पुगेका थिए र प्रधानमन्त्री मोदीले पनि प्रतिक्रिया जनाएका थिए । यसले दिल्ली र ढाकाबीच आगामी सरकारसँग स्थिर सम्बन्ध बन्ने सम्भावना देखाउँछ । बीएनपीले शेख हसिनाको दिल्ली बसाइबारे नरम संकेत देखाएको पनि उल्लेख छ । जमातका लागि ‘गर या मर’ स्थिति अवामी लीग चुनावबाहिर हुँदा प्रतिस्पर्धा सिधै जमात र बीएनपीबीच भएको थियो । जमातले आफूलाई सुधारिएको पार्टीका रूपमा प्रस्तुत गर्ने प्रयास गरे पनि ठूलो मतदाता वर्गलाई आकर्षित गर्न सकेन । यद्यपि प्रत्यक्ष प्रतिस्पर्धाका कारण केही सिट बढेको देखिएको छ । विद्यार्थी नेताहरूको पार्टी कमजोर निर्वाचनको रोचक पक्ष विद्यार्थी नेताहरूको प्रदर्शन रह्यो । शेख हसिनाविरुद्ध आन्दोलन गरेका विद्यार्थी नेताहरूले नेशनल सिटिजन पार्टी (एनसीपी) गठन गरेका थिए, जसलाई मोहम्मद युनुसको समर्थन रहेको भनिएको थियो । जमातसँग गठबन्धन गरे पनि एनसीपी नराम्रोसँग पराजित भएको र अधिकांश विद्यार्थी नेताहरू चुनाव हारेको उल्लेख छ । (नवभारत टाइम्सबाट अनुदित तथा सम्पादित)
बंगलादेश चुनाव : बीएनपीलाई पूर्ण बहुमत, अहिलेसम्म कसले कति सिट जिते ?
काठमाडौं । बंगलादेशमा सम्पन्न आम निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले बहुमत हासिल गरेको छ । बीबीसी बंग्ला सर्भिसका अनुसार बीएनपी नेतृत्वको गठबन्धनले अहिलेसम्म १७२ सिटमा विजय हासिल गरेको छ। त्यस्तै, जमात-ए-इस्लामी नेतृत्वको गठबन्धनले ५५ सिट जितेको छ भने अन्य दलहरूले १२ सिट जितेका छन् । मतगणना अझै जारी रहेको छ । ३५० सदस्यीय संसदमा ३०० सदस्य प्रत्यक्ष निर्वाचित हुने व्यवस्था रहेको छ भने ५० सिट महिलाका लागि आरक्षित छन् । सांसदहरू बहुलताका आधारमा चयन हुनेछन् र संसद्को कार्यकाल पाँच वर्षको हुनेछ। एक उम्मेदवारको निधनपछि एउटा निर्वाचन क्षेत्रमा मतदान स्थगित गरिएको निर्वाचन आयोगले जनाएको छ । सन् २०२४ को जेनजी नेतृत्वको विद्रोहले शेख हसिनाको सरकार अपदस्थ गरेपछि बंगलादेशमा पहिलो पटक संसदीय निर्वाचन भएको हो । नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले निर्वाचन गराएको हो । निर्वाचनमा करिब ५०० अन्तर्राष्ट्रिय पर्यवेक्षक र विदेशी पत्रकार उपस्थित रहेको जनाइएको छ, जसमा युरोपेली सङ्घ (इयु) र राष्ट्रमण्डलका प्रतिनिधिहरू पनि समावेश छन् ।
टेस्लाको भन्दा दोब्बर बिक्री गर्दै चीनमा साओमीको ईभी शीर्षस्थानमा
काठमाडौं । साओमीको विद्युतीय सवारीसाधन (ईभी) ले जनवरी महिनामा चीनमा टेस्लालाई उछिन्दै अग्रस्थान हासिल गरेको छ । चीन प्यासेन्जर कार एसोसिएसनका तथ्यांकअनुसार साओमीको वाईयू सेभेन एसयूभी गत महिनामा ३७ हजार ८६९ युनिट बिक्रीसहित चीनमा पहिलो स्थानमा रह्यो । सोही अवधिमा टेस्लाको मोडेल वाई १६ हजार ८४५ युनिटमा सीमित रह्यो । जुन साओमीभन्दा झण्डै आधा हो । डिसेम्बरमा सबैभन्दा धेरै बिक्री भएको मोडेल वाई जनवरीमा झरेर २०औं स्थानमा पुग्यो । नयाँ ऊर्जा सवारी (एनईभी) समूहभित्र पनि यो पहिलो स्थानबाट सातौं स्थानमा खस्किएको छ । यी तथ्यांकमा विद्युतीय र पेट्रोल दुवै प्रकारका सवारी समावेश छन् । तथ्यांक अनलाइन कार बिक्री प्लेटफर्म अटोहोमले बिहीबार राति सार्वजनिक गरेको हो । साओमीले आफ्नो दोस्रो विद्युतीय मोडेल वाईयू सेभेनको बिक्री सन् २०२५ को गर्मीयामदेखि सुरु गरेको थियो । स्मार्टफोनका लागि चिनिने चिनियाँ कम्पनी साओमीले टेस्लासँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने लक्ष्य लुकाएको छैन । कम्पनीले वाईयू सेभेनको प्रारम्भिक मूल्य चीनमा मोडेल वाईभन्दा १० हजार युआन ९करिब १ हजार ४५० डलर० कम राखेको थियो । साथै एक पटकको चार्जमा चल्ने दूरीजस्ता मुख्य सूचकमा टेस्लाभन्दा राम्रो प्रदर्शन गरेको दाबी गरेको थियो । विश्लेषकहरूले अघिल्लो वर्ष नै वाईयू सेभेनले टेस्ला मोडेल वाईको बजार हिस्सा खोस्ने अनुमान गरेका थिए । डिसेम्बरमा मोडेल वाई मासिक बिक्रीमा पहिलो स्थानमा थियो । त्यसबेला साओमी वाईयू सेभेन तेस्रो स्थानमा थियो । मासिक बिक्रीमा उतार–चढाव देखिन सक्छ । वाईयू सेभेनले अक्टोबरमा पनि मोडेल वाईभन्दा बढी बिक्री गरेको भए पनि पहिलो स्थानमा भने पुगेको थिएन । समग्र रूपमा टेस्ला बिक्रीमा अझै मजबुत देखिँदै आएको छ । पेट्रोल सवारी बाहेक हेर्दा टेस्ला गत वर्ष चीनको बिक्रीमा पाँचौं र साओमी दशौं स्थानमा थिए । सन् २०२५ भरिमा बीवाईडीले ३० लाखभन्दा बढी सवारी बिक्रीसहित अग्रता कायम गर्यो, त्यसपछि जीली २० लाख भन्दा बढी बिक्रीसहित दोस्रो स्थानमा रह्यो । यसअघि साओमीको एसयू सेभेन सेडान चालक सहायता प्रणाली र विद्युतीय ढोका ह्यान्डलसँग सम्बन्धित घातक दुर्घटनापछि आलोचनामा परेको थियो । त्यसपछि बेइजिङले लुकेका ढोका ह्यान्डलमा प्रतिबन्ध लगाएको छ । साथै चालक-सहायता सुविधा प्रयोगमा रहेको संकेत दिने बाह्य बत्ती जडान गर्ने प्रवृत्ति बढेको छ । अधिकांश चिनियाँ विद्युतीय सवारी कम्पनीहरू झैं साओमीले पनि आगामी वर्ष युरोपसहित विदेशी बजारमा विस्तार गर्ने योजना बनाएको छ ।