अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
अमेरिका । संयुक्त राज्य अमेरिकाको एक अपील अदालतले होन्डुरस, नेपाल र निकारागुआबाट आएका आप्रवासीहरूलाई प्रदान गरिएको कानूनी संरक्षण अन्त्य गरी उनीहरूलाई निर्वासनतर्फ लैजान सकिने बाटो सोमबार खुला गरिदिएको छ । ट्रम्प प्रशासनले गत वर्ष हजारौँ होन्डुरान, नेपाली र निकारागुआन नागरिकहरूको अस्थायी संरक्षित स्थिति (टिपिएस) समाप्त गर्ने निर्णय गरेको थियो, जसअन्तर्गत ती आप्रवासीहरूले कानूनी रूपमा अमेरिका बस्न र काम गर्न अनुमति पाएका थिए । यसअघि एक सङ्घीय न्यायाधीशले प्रशासनको उक्त निर्णय कार्यान्वयन नगर्न आदेश दिएका थिए । तर नवौँ सर्किट कोर्ट अफ अपील्सले सोमबार सरकारलाई उक्त आदेशविरुद्ध अपिल जारी रहँदासमेत निर्वासन प्रक्रिया अगाडि बढाउन सकिने भन्दै अनुमति दिएको छ । अदालतको निर्णयमा भनिएको छ, 'नेपाल, होन्डुरस र निकारागुआका लागि टिपिएस समाप्ति रोक्ने अघिल्लो आदेश अपिलको प्रक्रिया पूरा नहुन्जेल स्थगित गरिएको छ ।' टिपिएस कार्यक्रमले युद्ध, प्राकृतिक प्रकोप वा अन्य असाधारण परिस्थितिका कारण आफ्नो देश फर्किँदा जोखिममा पर्न सक्ने ठानिएका सीमित समूहका मानिसहरूलाई अस्थायी रूपमा अमेरिकामा बस्न र काम गर्न अनुमति दिन्छ । सन् १९९८ मा मध्य अमेरिकी क्षेत्रलाई विनाशकारी तूफान मिचले क्षति पुर्याएपछि अमेरिका पुगेका ५१ हजारभन्दा बढी होन्डुरान र करिब तीन हजार निकारागुआन नागरिकहरूले टिपिएस अन्तर्गत सुरक्षा पाएका थिए । त्यसैगरी, सन् २०१५ मा नेपालमा आएको विनाशकारी भूकम्पपछि करिब सात हजार नेपाली नागरिकलाई पनि यस कार्यक्रमअन्तर्गत अस्थायी संरक्षण दिइएको थियो । इतिहासमा हेर्दा, अमेरिकी राष्ट्रपतिहरूले यस्ता आप्रवासीहरूको टिपिएस स्थिति बारम्बार नवीकरण गर्दै आएका छन्, जसले उनीहरूलाई कागजातविहीन बनाउने र देशनिकाला गर्ने अवस्थाबाट जोगाएको थियो । तर ट्रम्पले सामूहिक निर्वासन अभियान चलाउने वाचा गर्नुभएको छ । गृहमन्त्री क्रिस्टी नोमले सोमबार ‘टिपिएस कहिल्यै स्थायी कार्यक्रमका रूपमा डिजाइन गरिएको थिएन’ भनेर स्पष्ट पारेका छन् । गृह मन्त्रालयले टिपिएस हटाउने निर्णयका क्रममा ती देशहरूमा अवस्था सुधार भएको र त्यहाँका नागरिकहरू सुरक्षित रूपमा स्वदेश फर्कन सक्ने अवस्थामा पुगेको निष्कर्ष निकालिएको बताएको छ । रासस
चिनियाँ व्यापारीका कारण सुनको बजारमा तीव्र उतार–चढाव आएको अमेरिकाको आरोप
काठमाडौं । अमेरिकाले गत हप्ता सुनको बजारमा देखिएको तीव्र उतार–चढावका लागि चिनियाँ व्यापारीहरूलाई जिम्मेवार ठहराएको छ । अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले चीनमा मार्जिन आवश्यकताहरू कडा बनाइँदै गएको बताएका छन् । यसकारण सुनको बजार ‘क्लासिकल स्पेकुलेटिभ ब्लोअफ’ (तर्कहीन तीव्र वृद्धि) जस्तो देखिन थालेको उनको भनाइ छ । यो अभिव्यक्ति त्यतिबेला सार्वजनिक भएको हो, जब बहुमूल्य धातुहरू उच्चस्तरमा पुगेका थिए । विशेषज्ञहरूले यस उछाललाई सट्टेबाजीको चाप, विश्वव्यापी भू–राजनीतिक उतारचढाव र फेडरल रिजर्भको स्वतन्त्रता सम्बन्धी व्यापक चिन्तासँग जोडेर व्याख्या गरेका छन् । बेसेन्टले फक्स न्युजको सन्डे मोर्निङ फ्युचर्स कार्यक्रममा भने, ‘सुनको चाल हेर्दा चीनमा कुरा अलि नियन्त्रणबाहिर गएको देखिन्छ ।’ ‘उनीहरू मार्जिन आवश्यकताहरू कडा गर्न बाध्य भएका छन् । त्यसैले सुन मलाई क्लासिकल स्पेकुलेटिभ ब्लोअफ जस्तै देखिन्छ,’ उनले थपे । सुनमा आएको उतारचढावले डलरलाई जनवरीको सुरुवातपछि पहिलो पटक साप्ताहिक लाभ दिलाउन मद्दत गर्यो । उता डाउ जोन्स इन्डस्ट्रियल एभरेज पहिलो पटक ५० हजार अंक नाघ्यो, जसले अमेरिकी अर्थतन्त्र र कर्पोरेट आम्दानीप्रति लगानीकर्ताको लगाव देखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । बेसेन्टले नोभेम्बरमा हुने मध्यावधि निर्वाचनको सन्दर्भ दिँदै डाउ जोन्सको रेकर्डलाई अमेरिकी अर्थतन्त्र उकालो चक्रतर्फ अघि बढिरहेको प्रमाणका रूपमा प्रस्तुत गरे, जसको फाइदा आम अमेरिकी जनताले पाउने उनको भनाइ छ । फेडरल रिजर्भको नीतिबारे उनले केन्द्रीय बैंकले आफ्नो ब्यालेन्स शीट घटाउने कुनै पनि प्रयासमा सावधानी अपनाउने आशा व्यक्त गरे । उनले भने, ‘म उनीहरूबाट कुनै पनि हतारो निर्णयको अपेक्षा गर्दिनँ । ‘उनीहरू एम्पल–रेजीम नीतिमा गइसकेका छन्, जसका लागि ठूलो ब्यालेन्स शीट आवश्यक पर्छ। त्यसैले मलाई लाग्छ, उनीहरूले के गर्ने भन्ने निर्णय गर्न कम्तीमा एक वर्ष समय लिनेछन्, ’ उनले थपे । बेसेन्टले भने कि फेडरल रिजर्भका आगामी प्रमुखका रूपमा राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा मनोनीत केभिन वार्श निकै स्वतन्त्र हुनेछन् । तर उनी यस तथ्यप्रति सचेत रहनेछन् कि फेड अमेरिकी जनताप्रति जवाफदेही छ । हालैका दिनहरूमा सुनको मूल्य क्रमिक रूपमा बढ्दै गएको छ । विश्लेषकहरूले यसलाई चीन र भारतमा बढ्दो माग, अमेरिकी डलरको सापेक्ष कमजोरी र वैश्विक आर्थिक अनिश्चितताको संयोजनको परिणाम मानिरहेका छन् । लगानीकर्ताहरू सुनलाई सुरक्षित सम्पत्ति मान्दै त्यसमा आकर्षित भएका कारण पनि मूल्य बढ्दो छ । विशेषज्ञहरूले भविष्यमा सुनको मूल्य अझ उच्च स्तरमा पुग्ने सम्भावना औंल्याएका छन् । यदि अमेरिकी–चिनियाँ व्यापार तनाव र विश्वव्यापी वित्तीय अनिश्चितता निरन्तर रह्यो भने सुनले लगानीकर्ताका लागि अझै आकर्षक सुरक्षित विकल्पको रूपमा काम गर्न सक्छ ।
जापानी चुनाव परिणामको प्रभाव, सेयर बजारमा उछाल
जापान । जापानी प्रधानमन्त्री साने ताकाइचीको सत्तारूढ दलले संसदीय चुनावमा दुई तिहाई बहुमत हासिल गरेपछि विश्व सेयर बजारहरू उकालो लागेका छन् र टोकियोको निक्केई २२५ सूचकाङ्क सोमबार करिब पाँच प्रतिशतले बढ्दै ऐतिहासिक स्तरमा पुगेको छ । युरोपको प्रारम्भिक कारोबारमा जर्मनीको डिएएक्स ०.६ प्रतिशतले बढेर २४,८६४.५९ मा पुगेको छ भने फ्रान्सको सीएसी ४० ०.२ प्रतिशतले बढेर ८,२८८.०६ मा पुगेको छ । बेलायतको एफटीएसई १०० पनि ०.३ प्रतिशतले बढेर १०,३९९.६१ मा पुगेको छ । अमेरिकी सेयर बजारले शुक्रबार बलियो पुनरागमन गरेपछि सोमबारका लागि अमेरिकी फ्युचर्स पनि माथि देखिएका छन् । एस एन्ड पी ५०० का फ्युचर्स ०.१ प्रतिशतले बढेका छन् भने डाउ जोन्स औद्योगिक औसतका फ्युचर्स ०।२ प्रतिशतले उकालो लागेका छन् । शुक्रबार एस एन्ड पी ५०० करिब दुई प्रतिशतले बढ्दै मेयता सबैभन्दा राम्रो दिन देखिएको थियो । डाउ २.५ प्रतिशतले बढेर पहिलो पटक ५०,००० को मनोवैज्ञानिक स्तर पार गरेको थियो भने नास्डाक कम्पोजिट २.२ प्रतिशतले उकालो लागेको थियो । टोकियोमा निक्केई २२५ ३.९ प्रतिशतले बढेर बन्द भएको छ र यसअघि सूचकाङ्कले ५७,३३७.०७ को नयाँ इन्ट्राडे रेकर्ड पनि बनाएको थियो । अमेरिकी डलर जापानी येनको तुलनामा केही कमजोर हुँदै १५६.७१ येनमा कारोबार भएको छ । चुनावी जितले प्रधानमन्त्री ताकाइचीलाई बजारमैत्री नीतिहरू अघि बढाउन बलियो जनादेश दिएको विश्लेषकहरूले बताएका छन् । जापानी सार्वजनिक प्रसारक एनएचकेको मतगणनाको नतिजाअनुसार लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले तल्लो सदनका ४६५ सिटमध्ये ३१६ सिट जितेको छ । यो सन् १९५५ मा पार्टी स्थापना भएयताकै सबैभन्दा ठूलो सफलता हो । एस्ट्रिस एडभाइजरी जापानका प्रबन्ध निर्देशक नील न्युम्यानले कमजोर सरकारबाट बलियो बहुमतको सरकार बनेकाले अब नीतिगत निर्णय अघि बढाउन सजिलो भएको बताउनुभयो । तल्लो सदन फेब्रुअरीको मध्यतिर पुनः बस्ने भएपछि बढ्दो जीवनयापन लागत र सुस्त ज्याला सम्बोधन गर्न बजेटसम्बन्धी काम पहिलो प्राथमिकतामा पर्ने अपेक्षा गरिएको छ । एसपीआई एसेट म्यानेजमेन्टका स्टिफन इन्सले चुनावी नतिजाले राजनीतिक अनिश्चितता हटाएकाले बजारले सहज प्रतिक्रिया दिएको टिप्पणी गरे । एसियाका अन्य बजारहरू पनि मजबुत देखिएका छन् । दक्षिण कोरियाको कोस्पी ४.१ प्रतिशतले बढेर ५,२९८.०४ मा पुगेको छ । हङकङको ह्याङ सेङ १.८ प्रतिशतले उकालो लागेर २७,०२७.१६ मा पुगेको छ भने साङ्घाई कम्पोजिट १.४ प्रतिशतले बढेर ४,१२३.०९ मा पुगेको छ । ताइवानको टाइक्स दुई प्रतिशतले बढेको छ र अस्ट्रेलियाको एस एन्ड पी/एएसएक्स २०० १.९ प्रतिशतले उकालो लागेर ८,८७०.१० मा पुगेको छ । वाल स्ट्रिटको पछिल्लो र्यालीमा चिप उत्पादक कम्पनीहरूको ठूलो योगदान देखिएको छ । एनभिडिया ७.८ प्रतिशतले बढेको छ भने ब्रोडकम ७.१ प्रतिशतले उकालो लागेको छ । यद्यपि, ठूला प्रविधि कम्पनीहरूको खर्च र एआई प्रविधिबाट सफ्टवेयर कम्पनीहरू प्रभावित हुनसक्ने चिन्ताले एस एन्ड पी ५०० अझै केही हप्ताको आधारमा दबाबमै रहेको विश्लेषण गरिएको छ । अन्य कारोबारमा बिटक्वाइन एक प्रतिशतले बढेर ७०,००० डलरभन्दा तल कारोबार भएको छ । धातु बजार केही शान्त देखिँदा सुन १.४ प्रतिशतले बढेर ५,०४८.९० डलर प्रतिऔंस पुगेको छ भने चाँदी ६.२ प्रतिशतले उकालो लागेर ८१.६४ डलर पुगेको छ । तेल बजारमा भने मूल्य घटेको छ । अमेरिकी कच्चा तेल ६० सेन्टले घटेर ६२.९५ डलर प्रतिब्यारेलमा झरेको छ भने ब्रेन्ट क्रुड पनि ६० सेन्टले घटेर ६७.४५ डलर प्रतिव्यारेलमा पुगेको छ । युरो डलरको तुलनामा बलियो हुँदै १.१८६६ डलरमा कारोबार भएको छ । रासस