चीनमा जेनेरेटिभ एआई प्रयोगकर्ताको संख्या ५० करोड नाघ्यो
बेइजिङ । चीनमा जेनेरेटिभ कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग तीव्र गतिमा बढिरहेको छ । सन् २०२५ को जुन महिनासम्म ५० करोडभन्दा बढी मानिसले यो प्रविधि प्रयोग गरिरहेको चीन इन्टरनेट सञ्जाल सूचना केन्द्र (सीएनएनआईसी) द्वारा सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार, पछिल्ला ६ महिनाभित्र मात्रै करिब २६ करोड ६० लाख नयाँ प्रयोगकर्ता थपिएका छन् । सन् २०२४ को अन्त्यमा २४ करोड ९० लाख प्रयोगकर्ता रहेका थिए भने अहिले यो सङ्ख्या बढेर ५१ करोड ५० लाख पुगेको हो। यो वृद्धिसँगै चीनमा जेनेरेटिभ एआई प्रविधिको प्रयोग दर ३६.५ प्रतिशत पुगेको जनाइएको छ। यसले प्रविधिप्रति जनताको चासो र पहुँच द्रुत रूपमा फैलिएको संकेत गर्छ । विशेषज्ञहरूका अनुसार यस्तो प्रविधिले शिक्षा, व्यापार, सञ्चार तथा मनोरञ्जनका क्षेत्रहरूमा महत्वपूर्ण परिवर्तन ल्याइरहेको छ ।
अत्यधिक हाइपले एआई बजार अस्थिर बन्दै
काठमाडौं । पूर्व मेटा कार्यकारी तथा बेलायती राजनीतिज्ञ निक क्लेगले बुधबार कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा बजार समायोजन (मार्केट करेक्सन) हुने सम्भावना ‘धेरै उच्च’ रहेको चेतावनी दिएका छन् । उनले कृत्रिम सुपर–इन्टेलिजेन्सको अवधारणामा पनि आपत्ति जनाएका छन् । बेलायतका पूर्व उपप्रधानमन्त्री रहेका क्लेगले पछि अमेरिकाको प्रविधि कम्पनी मेटामा नीति निर्माणको जिम्मेवारी सम्हालेका थिए । उनले भने, ‘एआईको बूमका कारण अहिले ‘क्रेजी भेलुएसन’ देखिएका छन् ।’ सीएनबीसीको अन्तर्वार्ताका क्रममा उनले भने, ‘अहिले लगभग दैनिक वा घण्टैपिच्छे सम्झौता हुने अति तीव्र लहर चलेको छ । तपाईंले सोच्नैपर्छ — यो बजार अब कुनै न कुनै समय समायोजनतर्फ जाँदैछ ।’ उनका अनुसार यस्तो बजार सुधार हुने सम्भावना ‘धेरै उच्च’ छ । सामान्यतया बजारमा ‘बबल’ भन्नाले कम्पनीको वास्तविक आर्थिक आधार (फण्डामेन्टल) भन्दा धेरै बढेर मूल्याङ्कन हुने अवस्थालाई जनाइन्छ । क्लेगका अनुसार बजार सुधार यस कुरामाथि निर्भर गर्छ — ठूला टेक कम्पनीहरू जसले सयौं अर्ब डलर लगानी गरेर विशाल डेटा सेन्टरहरू बनाइरहेका छन्, ती लगानीहरू फिर्ता गर्न र आफ्नो व्यापार मोडललाई दिगो सावित गर्न सक्षम हुनेछन् कि हुँदैनन् । ‘यसले केही चुनौतीहरू अवश्य ल्याउनेछ,’ क्लेगले भने, ‘विशेषगरी त्यो आधारभूत ढाँचा जसमा यो सम्पूर्ण उद्योग आधारित छ — अर्थात् ठूला भाषा मोडेलमा आधारित एआई प्रणालीहरू ।’ क्लेगका अनुसार यो ‘प्याराडाइम’ भनेको कृत्रिम सुपर–इन्टेलिजेन्स हो — जसमा एआईले मानव बौद्धिकताभन्दा माथि पुग्ने अवस्था जनाइन्छ । यसलाई प्रायः ‘पवित्र लक्ष्य’ का रूपमा हेरिन्छ । यसको विपरीत, कृत्रिम साधारण बौद्धिकता (एजीआई) ले मानव–स्तरको क्षमतासम्म सीमित रहने बुझिन्छ । धेरै ठूला प्रविधि नेताहरू र लगानीकर्ताहरू जस्तै सोफ्टबैंकका संस्थापक मासायोसी सोन र मेटाका सीइओ मार्क जुकरबर्ग, सुपर–इन्टेलिजेन्सको पक्षमा छन् । जुकरबर्गले यस वर्षकै सुरुमा सो प्रविधिको विकासका लागि विशेष एआई प्रयोगशाला पनि स्थापना गरेका छन् । तर क्लेग भन्छन्, ‘मलाई लाग्छ एआई प्रविधिको केही सीमाहरू छन् जसकारण यो सबैले सोचेजस्तो अद्भूत वा सर्वशक्तिशाली हुन सक्दैन । तर यसको अर्थ यो होइन कि यो प्रविधि हराउनेछ, यो अझै बढ्नेछ र संसारमा ठूलो प्रभाव पार्नेछ ।’ क्लेगले भनेजस्तै मेटा स्वयं ‘डटकम बबल’ फुटेपछि पनि जीवित रह्यो र अहिले विश्वकै ठूला कम्पनीहरूमध्ये एक बनेको छ । अमेजन र गुगल पनि त्यस्तै यात्राबाट गुज्रिएका थिए — जसले देखाउँछ, बजार बबल फुट्दा पनि सबै कम्पनीहरूको अन्त्य हुँदैन । भेन्चर क्यापिटल क्षेत्रमा प्रायः भनिन्छ, ‘सबैभन्दा सफल कम्पनीहरू कठिन आर्थिक अवस्थामा जन्मिन्छन् ।’ किनभने त्यतिबेला लगानीकर्ताहरूले नाफा–नोक्सानीमा बढी ध्यान दिन्छन् र विवेकपूर्ण लगानी मात्र गर्छन् । यसले व्यवसायीहरूलाई कम स्रोतमै दक्षतापूर्वक काम गर्न बाध्य बनाउँछ जसले दीर्घकालमा तिनै कम्पनीहरूलाई जीवित राख्छ । क्लेगको धारणा अरू धेरै लगानीकर्ता र प्रविधि नेताहरूसँग मिल्दोजुल्दो छ — उनीहरू मान्छन् कि एआई क्षेत्रमा बबल बनेको छ, तर यसको अर्थ एआई हराउँदैछ भन्ने होइन । अमेजनका संस्थापक जेफ बेजोसले समेत केही हप्ता अघि इटालियन टेक वीकमा भनेका थिए, ‘अहिले एउटा औद्योगिक बबल बनेको छ, तर एआई साँच्चिकै वास्तविक हो — यसले प्रत्येक उद्योग परिवर्तन गर्नेछ ।’ क्लेगका अनुसार एआई तत्काल लागू गर्न सकिने धेरै क्षेत्र छन्, तर समग्र समाजले यो प्रविधि विस्तारमा अपनाउन केही समय लाग्नेछ । ‘सिलिकन भ्यालीमा धेरै हाइप छ,’ उनले भने, ‘त्यहाँका मानिसहरू भन्छन्, मंगलबार प्रविधि बनायौं भने बिहीबार सबैले प्रयोग गर्छन् । तर वास्तविकता त्यस्तो होइन ।’ ‘डेस्कटप कम्प्युटिङ प्राविधिक रूपमा सम्भव भएपछि हामी सबैले त्यसमा पुग्न २० वर्ष लाग्यो,’ उनले थपे । त्यसैले यहाँ गति (पेस) नै मुख्य कुरा हो । यो क्षेत्रअनुसार देशअनुसार फरक पर्न सक्छ, तर अहिलेका प्रविधिविद्हरूले अनुमान गरेजस्तो तीव्र गतिमा एआई फैलिने सम्भावना त्यति धेरै नरहेको उनको निष्कर्ष छ । ट्रम्पको बयानले ऊर्जा बजारमा हलचलल, भारतले अब रूसको तेल नकिन्ने ! टेस्लाको तलब प्याकेजले मस्कलाई असफलतामै अर्बौं कमाइको बाटो
‘जेन जेड’ प्रदर्शनकारी : विश्वभर फैलिएको युवाको असन्तुष्टिको लहर
नयाँदिल्ली । एन्डिज पर्वतदेखि हिमालयसम्म युवा पुस्ताको असन्तुष्टि र निराशाबाट प्रेरित विश्वव्यापी विरोध आन्दोलनहरूको नयाँ लहर फैलिँदै गएको छ । सरकारहरूविरुद्धको आक्रोश र सुधारको मागले विश्वका विभिन्न मुलुकमा युवाहरू सडकमा उत्रिएका छन् । यसै साता मडागास्करका राष्ट्रपति एन्ड्री राजोलिनालाई सैनिक विद्रोहपछि पदबाट हटाइएपछि देश त्याग्न बाध्य हुनुपर्यो । यो परिवर्तन हप्तौँदेखि निरन्तर भइरहेका युवा नेतृत्वका आन्दोलनको परिणाम थियो । आफूहरूलाई ‘जेनेरेसन जेड मडागास्कर’ भन्ने ती प्रदर्शनकारीहरूले राजनीतिक प्रतिष्ठानविरुद्धको असन्तोषलाई सडकमा उतारेका थिए । हिन्द महासागरको उक्त टापु राष्ट्रमा उत्पन्न असन्तुष्टिको लहरले नेपाल, फिलिपिन्स, इन्डोनेसिया, केन्या, पेरु र मोरक्कोमा भइरहेका हालैका विरोध प्रदर्शनहरूको झल्को दिएको छ । यी आन्दोलनहरू विभिन्न तत्कालीन कारणहरूबाट सुरु भए पनि तिनीहरूलाई लामो समयदेखि जरा गाडेका असमानता, बेरोजगारी, भ्रष्टाचार र नेताहरूको नातावादले सघाएको छ । तर सबै आन्दोलनहरूको साझा विशेषता भनेको युवा पुस्ताको अग्रसरता हो । प्रायः नेतृत्वविहीन यी आन्दोलनका सहभागीहरू सन् १९९६ देखि सन् २०१० बीच जन्मिएका, इन्टरनेट युगमै हुर्केका ‘जेन जेड’ पुस्ताका हुन् । बेलायतस्थित अनुसन्धान संस्था सोसल चेन्ज ल्याबका निर्देशक स्याम नाडेल भन्छन्, 'यी विरोधहरूको साझा भावना भनेको परम्परागत राजनीतिक प्रणालीहरूले युवा पुस्ताका चिन्ताहरू चाहे भ्रष्टाचार, जलवायु सङ्कट वा आर्थिक असमानता सम्बोधन गर्न सकेका छैनन् भन्ने हो । जब संस्थागत बाटोहरू बन्द हुन्छन्, विरोध नै तर्कसङ्गत विकल्प बन्छ ।' विश्वभरको आन्दोलन एक अर्काबाट प्रेरित विभिन्न मुलुकका यी आन्दोलनहरू सरकारको अतिक्रमण, उपेक्षा वा अन्यायपूर्ण नीतिबाट भड्किएका छन् । कतिपय देशमा सुरक्षा निकायको कठोर दमन र हिंसात्मक प्रतिक्रिया पनि देखिएको छ । मोरक्कोमा ‘जेनेरेसन जेड २१२’ नामक नेतृत्वविहीन समूह राम्रो सार्वजनिक सेवा र स्वास्थ्य–शिक्षामा खर्च बढाउन माग गर्दै सडकमा उत्रिएको छ । पेरुमा पेन्सन ऐन र व्यापक भ्रष्टाचारविरुद्धको विरोधले शासन सङ्कट निम्त्याएको छ । इन्डोनेसियामा सांसदहरूको भत्ता र जीवनयापन खर्चको मुद्दाले घातक प्रदर्शन निम्त्यायो । त्यसपछि राष्ट्रपति प्रमुख मन्त्रीहरू हटाउन बाध्य भए । दक्षिण एसियामा भने सबैभन्दा प्रभावशाली ‘जेन जेड आन्दोलन’ नेपालमा भयो । सेप्टेम्बरमा प्रधानमन्त्रीको राजीनामासँगै समाप्त भएको यस आन्दोलनले सन् २०२२ को श्रीलङ्काली र सन् २०२४ को बङ्गलादेशी आन्दोलनबाट प्रेरणा लिएको थियो । त्यसैको प्रभावमा मडागास्करका युवाहरूले पनि आन्दोलनलाई सशक्त बनाए । मडागास्करमा सुरुमा नियमित पानी र बिजुली कटौतीविरुद्ध सुरु भएको विरोध केही सातामै सरकारविरुद्धको व्यापक आन्दोलनमा परिणत भयो । अन्ततः बुधबार सैन्य नेताले आफू ‘राष्ट्रपति बनेको’ घोषणा गर्दै सत्ताको बागडोर सम्हाले । ‘वन पिस’ झण्डा : पप संस्कृति र प्रतिरोधको प्रतीक यी आन्दोलनहरूमा एक साझा सांस्कृतिक प्रतीक पनि देखा परेको छ कालो झण्डा । यसमा मुस्कुराइरहेको खोपडी र परालको टोपीसहित क्रसबोन्स चित्रित छ । यो जापानी मङ्गा ‘वन पिस’ बाट प्रेरित प्रतीक हो । यसले अन्यायपूर्ण सरकारविरुद्ध लड्ने समुद्री डाकुहरूको कथालाई चित्रित गर्छ । नेपालमा सिंहदरबार र मन्त्रालयहरूमा यही झण्डा प्रदर्शनकारीहरूले फहराएका थिए । यही प्रतीक फिलिपिन्स, इन्डोनेसिया, मोरक्को र मडागास्करमा पनि देखियो । पेरुको राजधानी लिमामा २७ वर्षीय इलेक्ट्रिसियन डेभिड टाफुरले सोही झण्डा बोकेर साप्ताहिक विरोधस्थल सान मार्टिन स्क्वायरमा उभिँदै भने, 'हामी सबै भ्रष्ट र हत्यारा नेताहरूविरुद्ध एउटै युद्ध लड्दैछौँ ।' उनका अनुसार पेरुमा सन् २०१७ देखि हत्या र जबरजस्ती असुलीका घटनाहरू बढेका छन्, तर सरकारले अपराधविरुद्धका प्रयासलाई कमजोर बनाएको छ । 'शक्तिको दुरुपयोग र भ्रष्टाचारको विरोधमा हाम्रो आक्रोश स्वःस्फूर्त रूपमा सडकमा आएको हो', उनले भने । गत हप्ता पेरुकी राष्ट्रपति दिना बोलुआर्टे अनुसन्धानको घेरामा परेपछि पदबाट हटाइएको थियो र अन्तरिम राष्ट्रपति जोसे जेरी नियुक्त भएको थियो । तर टाफुरले भने, 'यो पर्याप्त छैन, किनभने नयाँ राष्ट्रपति पनि पुरानो सत्ताको सहयोगी हुनुहुन्छ ।' डिजिटल युगमा ‘जेन जेड’ आन्दोलनको रूपान्तरण इतिहासमा युवाले नै ठूलो आन्दोलनहरूको नेतृत्व गरेका छन् । सन् २०११ को अक्युपाई वाल स्ट्रिट, सन् २०१०–१२ को अरब स्प्रिङ र सन् २०१४ को हङकङको अम्ब्रेला क्रान्ति त्यसका उदाहरण हुन् । तर ‘जेन जेड’ ले डिजिटल मिडियाको प्रयोगलाई नयाँ उचाइमा पुर्याएको छ । 'सूचना आदान–प्रदान र जनसम्पर्कका लागि डिजिटल प्लेटफर्महरू अब शक्तिशाली हतियार बनेका छन् । सबैभन्दा सफल आन्दोलनहरू तिनलाई भौतिक सङ्गठनसँग मिलाएर अघि बढाउँछन्', नाडेलले स्पष्ट पारे । नेपालमा सरकारद्वारा सामाजिक सञ्जालमा लगाइएको अस्थायी प्रतिबन्धपछि युवाहरूले भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) मार्फत टिकटक, इन्स्टाग्राम र एक्स प्रयोग गरी आन्दोलनलाई सशक्त बनाए । तिनीहरूले राजनीतिज्ञका सन्तानहरूको विलासी जीवनशैली, गरिब–धनीबीचको असमानता र सरकारविरुद्धको योजनाबद्ध र्यालीहरू प्रचार गरे । कसलाई अन्तरिम नेता बनाउने भन्ने सुझावसम्म पनि उनीहरूले गेमिङ प्लेटफर्म डिस्कोर्ड मार्फत आदान–प्रदान गरे । 'भ्रष्टाचार र अन्यायविरुद्धको आवाज डिजिटल मिडियामार्फत विश्वभर फैलिन्छ । नेपालमा भएको जेन जेड आन्दोलनले अरू देशका युवालाई पनि सशक्त बनायो', नेपालका युवा प्रदर्शनकारी युजन राजभण्डारीले भन्छन्, 'हामी केवल नेपाली होइनौँ, विश्व नागरिक हौँ भन्ने हामीले महसुस गर्यौँ । डिजिटल स्पेसले हामीलाई जोडेको छ र यसले विश्वभर नयाँ युगको शक्ति प्रदर्शन गरेको छ ।' रासस