अमेरिकी उपराष्ट्रपतिको भनाइप्रति चीनको आपत्ति

बेइजिङ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले व्यक्त गरेको चीनसँग सम्बन्धित विचारप्रति चीनले आपत्ति जनाएको छ । अमेरिकी उपराष्ट्रपति पेन्सको विचार चीनको वास्तविकता र चिनियाँ समाजको वास्तविक प्रणालीको बारेमा विश्व समुदायमा भ्रम फैलाउन खोजिएको भनी चीनले टिप्पणी गरेको हो । अमेरिकी उपराष्ट्रपति पेन्सले दिएको अभिव्यक्ति चीनको मानवअधिकारको वास्तविक अवस्था, धार्मिक आस्था तथा अन्य सामाजिक प्रणालीकै विरुद्धमा रहेको चीनले प्रतिक्रिया दिएको जानकारी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनिङले शुक्रबार चिनियाँ राजधानी बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा सो धारणा राखेका हुन् । उनले भने – अमेरिकी उपराष्ट्रपति पेन्सले दिएको विज्ञप्ति हाम्रो आन्तरिक मामिलासम्बन्धी कानुन तथा परराष्ट्र नीतिको विरुद्धमा छ । उक्त भनाई राजनीतिक रुपमा पूर्णतः बायस भएको जानकारी दिए । चीनले आफ्नो सार्वभौमिकता, सुरक्षा प्रणाली तथा चीनको आफ्नो आन्तरिक मामिलाका विषयमा आउने यस्ता भनाइहरुको कडा रुपमा विरोध गर्दछ प्रवक्ता हुवाको भनाई छ । प्रवक्ता हुवाले ताइवान, हङकङ र चीनको सिनजियाङ प्रान्त चीनको विशुद्ध आफ्नो आन्तरिक मामिला भएकोले बाहिरबाट कसैको कुनै टिप्पणी आवश्यक नरहेको बताए । यी क्षेत्रहरुका बारेमा बाहिरबाट कसैले व्यक्त गर्ने विचारहरुमा चीनको कडा आपत्ति रहने जनाए । त्यस पत्रकार सम्मेलनमा उनले भने – ‘म अमेरिकीहरुलाई आफ्नै विषयमा कुरा गर्न, समस्याहरुको व्यवस्थापन गर्न तथा चीनको चासो नलिन सुझाव दिन चाहन्छु ।’ रासस/सिन्ह्वा

प्रदर्शन स्थलबाटै १८ लाख डलरको हीरा चाेरी

टोकियो । जापानी प्रहरीले शुक्रबार १८ लाख अमेरिकी डलरभन्दा बढीको चोरी भएको हीराको खोजीलाई तिव्र बनाएको छ । यो हीरा राजधानी टोकियो बाहिर आयोजित गरगहना व्यापार प्रदर्शनीका क्रममा हराएको थियो । टोकियोका प्रहरी प्रवक्ताले प्रदर्शन स्थलबाट चोरी भएको बहुमूल्य हीरा खोज्न प्रहरी परिचालन गरिएको जानकारी दिएका छन् । योकोहामा शहरमा तीन दिने गरगहना प्रदर्शनीका क्रममा हीरा चोरिएको हो । यो हीरा करिब ५० क्यारेटको थियो । यहाँ जापान, रुस, चीन र अरु मुलुकका बहुमूल्य गरगहना प्रदर्शनमा राखिएका थिए । जापानको सरकारी टेलिभिजन एनएचकेका अनुसार जापानी कम्पनीको यो हीरा चोरिएपछि प्रदर्शनी स्थलमा खैलाबैला भएको थियो । रासस

युरोपेली केन्द्रीय बैंक इसीबीले ब्याजदर यथावत राख्ने

फ्राङ्कफर्ट, जर्मनी । यूरोपेली केन्द्रीय बैंक (इसीबी)ले यूरो क्षेत्रका लागि निर्धारण गरेको ब्याजदर यथावत राख्ने बिहीबार निर्णय गरेको छ । इसीबीले यूरो क्षेत्रको आधारभूत ब्याजदर शुन्य प्रतिशतमा नै यथावत राखिने जनाएको हो । त्यस्तै उक्त बैंकले ‘मार्जिनल लेन्डिङ’ दर तथा निक्षेप दरलाई क्रमशः ०।२५ प्रतिशत र ०।५० प्रतिशत कायम गरेको छ । रासस/सिन्ह्वा