पाकिस्तानमा सरकार विरोधी प्रदर्शन
इस्लामावाद । पाकिस्तानको राजधानी इस्लामावादमा विपक्षी दलले सरकारका विरुद्धमा प्रदर्शन गरेको छ । इस्लामिक पार्टीले उक्त दलका नेताहरु समेतको उपस्थितिमा यस्तो प्रदर्शन गरेको अधिकारीहरुले जानकारी दिएका छन् । शुक्रबार पाकिस्तानका विभिन्न स्थानबाट राजधानी इस्लामावाद आएका विपक्षी दलका दशौँ हजार कार्यकर्ताले प्रधानमन्त्री इमरान खानको राजिनामा माग्दै विरोध प्रदर्शन गरेका अधिकारीहरुले जानकारी दिएका छन् । सुरक्षाकर्मीहरुले पाकिस्तानको विभिन्न भूभागबाट आएका प्रदर्शनकारीहरुलाई रोक्न कडा सुरक्षा व्यवस्था अपनाएका थिए । २० हजार भन्दा बढीको संख्यामा आएका इस्लामिक कार्यकर्ताहरुले राजधानी इस्लामावादमा प्रदर्शन गर्दै प्रधानमन्त्री खानको राजिनामा माग गरेका थिए । जमात उलेमा ए इस्लाम पाकिस्तानको सबैभन्दा ठूलो इस्लामिक पार्टी हो । सो पार्टीका अध्यक्ष मौलाना फजलुर रहमानको नेतृत्वमा उक्त विरोध प्रदर्शन भएको हो । सो दलले पाकिस्तानका क्रिकेट स्टारबाट राजनीतिमा आएका वर्तमान प्रधानमन्त्री इमरान खानको राजिनामा माग गरिरहेको छ । प्रधानमन्त्री खानको नेतृत्वमा रहेको वर्तमान सरकारले पाकिस्तानमा शान्ति सुरक्षा कायम गर्न नसकेको लगायतका धेरै कमी कमजोरीहरु देखाएर सरकारबाट हट्न भनिरहेको छ । पाकिस्तान मुस्लिम लिग नवाज पार्टीले पनि वर्तमान सरकारको कडा विरोध गर्दै आएको छ । उक्त दलले वर्तमान सरकारलाई अवैध सरकार भन्दै यो सरकारका प्रधानमन्त्री खानले अब तत्कालै राजिनामा दिनुपर्ने बताउँदै आएको छ । शुक्रबारको विरोध प्रदर्शनलाई पाकिस्तानका प्रधानमन्त्री खानका लागि एक प्रमुख चुनौतीका रुपमा लिइएको छ । रासस/ सिन्ह्वा
बाढीबाट सोमालियामा ५ लाख ७५ हजार व्यक्ति विस्थापित
मोगादिसु । सोमालियाका विभिन्न भूभागमा आन्तरिक द्धन्द्ध, खडेरी तथा हालैका केही हप्ता यताको बाढीमा परी ५ लाख ७५ हजार नागरिक विस्थापित भएका छन् । गतअक्टोबर महिनाभरमा आएको बाढीबाट २ लाख ७० हजार भन्दा बढी नागरिक विस्थापित भएका हो । संयुक्त राष्ट्रसंघीय एक एजेन्सीका अधिकारीहरुका अनुसार बाढीका कारण यसरी विस्थापित हुनेहरु सबैभन्दा बढी बियानी भन्ने ठाउँका परेका छन् । भारी मात्रामा परेको वर्षाका कारण त्यहाँको स्थानीय सियाली नदीमा आएको बाढीबाट यति ठूलो मात्रामा नागरिक विस्थापित भएका थिए । यस वर्ष बाढी मात्र नभएर खडेरी र आन्तरिक द्धन्द्धका कारण पनि ठूलो संख्याका नागरिक विस्थापित हुन पुगेका छन् । राष्ट्रसंघीय शरणार्थीसम्बन्धी एजेन्सी, युएनएचसिआरका अधिकारीहरुका अनुसार यस वर्षमात्र सोमालियामा विस्थापित मानिसको संख्या ५ लाख ७५ हजार रहेको बताइएको छ । अक्टोबर महिनामा आएको भारी वर्षाका कारण आएको बाढीबाट विस्थापित ती नागरिकको अवस्था निकै नाजुक रहेको पनि बताइएको छ । प्राप्त समाचारअनुसार उनीहरु कोही रुखमुनी त कोही अस्थायी टेन्ट बनाएर बसेका छन् । लाखौँ नागरिक विद्यालयमा आश्रय लिएर बसिरहेका छन् । उनीहरुको उद्धारको लागि शरणार्थीसम्बन्धी उक्त एजेन्सीले सबैमा आग्रह गरिरहेको छ । शरणार्थीहरुलाई आधारभूत आवश्यकताको लागि सोमाली सरकारले दाता निकाय र संयुक्त राष्ट्रसंघलाई आग्रह गरेको छ । रासस/सिन्ह्वा
बोइङका ५० बिमानमा क्षति भएको देखिएपछि उडानमा प्रतिबन्ध
सिड्नी । बोइङ कम्पनीका ७३७एनजी सिरिजका ५० वटा बिमानमा क्षति (क्राक्स) पुगेको भेटिएपछि उडान प्रतिबन्ध (ग्राउन्डेड) गरिएको कम्पनीले बिहीबार घोषणा गरेको छ । यसअघि नै दुई वटा घातक दुर्घटना व्यहोरेको बोइङका लागि यो अर्को गम्भीर समस्या हो । अस्ट्रेलियाली राष्ट्रिय ध्वजाबाहक क्वान्टासले एउटा बिमानमा समस्या भेटिएपछि ग्राउन्डेड गरेको जनाएको छ । क्वान्टासले यही सिरिजका अरु ३२ बिमानको पनि परीक्षण गर्न लागेको छ, तर कम्पनीले यात्रुहरुलाई चिन्ता नलिन आग्रह गरेको छ । गत अक्टोबरको शुरुमै दक्षिण कोरियाली अधिकारीहरुले बिमानमा क्षति देखिएको पत्ता लगाएसँगै नौ वटा बिमान ग्राउन्डेड गरेका थिए । यी बिमानमध्ये कोरियन एयरका पाँच वटा थिए । बिमानमा समस्या देखिएलगत्तै अमेरिकी नियामक निकायले बिमानको तत्काल परीक्षण गर्न बोइङ कम्पनीलाई आदेश दिएको थियो । क्वान्टासको घोषणालगत्तै बोइङ कम्पनीका एक जना प्रवक्ताले बिहीबार नै एक हजार बिमानमध्ये ५ प्रतिशतभन्दा कम बिमानमा स–साना दरार देखिएको बताएका छन् । प्रवक्तले ती बिमानको मर्मत शुरु भइसकेको पनि जानकारी दिए । क्वान्टासको इन्जिनियरिङ विभागका प्रमुख क्रिस स्नूकले बिमान पूर्णरुपमा सुरक्षित महसुस नगर्दासम्म कुनै पनि बिमान नउडाउने बताएका छन् । अमेरिकी नियामक निकाय संघीय नागरिक उड्डयन प्रशासनले ३० हजार पटकभन्दा बढी उडेका सबै ७३७एनजी सिरिजका बिमानको तत्कालै प्राविधिक जाँच गर्न आदेश दिइसकेको छ । तर क्वान्टासले ३० हजार पटकभन्दा कम उडेका बिमानमा पनि यस्तै समस्या देखिएको जनाएको छ । यी बिमानहरु सामान्यतया अस्ट्रेलियाभित्र र छिमेकी न्यूजील्यान्डसम्म मात्र उडाइएको क्वान्टासले जनाएको छ । अस्ट्रेलियाली नियामक निकायले अस्ट्रेलियाकै निजी क्षेत्रको भर्जिन एयरवेजले बोइङ ७३७एनजी सिरिजका सबै १७ वटा बिमानको प्राविधिक परीक्षण सम्पन्न गरिएको र त्यसमा कुनै समस्या नदेखिएको जनाएको छ । बोइङका ७३७ म्याक्स सिरिजका लगातार दुई वटा बिमान दुर्घटना हुँदा ३४६ जनाको मृत्यु भएपछि बोइङका बिमानहरुको सुरक्षाप्रति सर्वत्र चासो उत्पन्न भएको छ । रासस