पाकिस्तानी सीमाभित्र हवाई आक्रमण, सीमा उल्लङ्घन भयोः पाकिस्तान
इस्लामावाद । भारतीय हवाई सैन्यले भारत-पाकिस्तान सीमा (लाइन अफ कन्ट्रोल) उल्लङ्घन गरी पाकिस्तान-अधीनस्थ काश्मिर क्षेत्रमा भारतीय सैनिक विमान प्रवेश गरेको पाकिस्तानले जनाएको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल असिफ गफुरले भारतीय सैनिक विमानले मङ्गलबार बिहान बिना अनुमति पाकिस्तानी सीमाभित्र आएको जानकारी दिए । उनले पाकिस्तानी सैनिक विमानले तत्काल उक्त क्षेत्रमा उडान भर्नासाथ भारतीय सैनिक विमान फर्किएको पनि बताए । उनले ट्वीट गर्दै भने-भारतीय सैनिक विमानले भाग्नेक्रममा हतारमा बालाकोट नजिक केही बम खसालेको भेटिएको छ । तर यसबाट धनजनको क्षति भएको छैन । भारत र पाकिस्तानबीच हालैका दिनमा बढिरहेको विवादका बीच मङ्गलबार बिहान यो घटना भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । यही फेब्रुअरीको १४ तारिखमा भारत प्रशासित काश्मिरमा भएको आत्मघाती हमलामा कम्तीमा ४० जना सशस्त्र प्रहरीको ज्यान गएपछि यी दुई देशबीच तनाव उत्पन्न भएको छ । सो आक्रमणमा भारतले पाकिस्तानी पक्षको हात रहेको बताएको छ । तर पाकिस्तानले भने त्यो आरोपको खण्डन गर्दै आएको छ । मङ्गलबार बिहानको सो विमान पाकिस्तानको मुजफ्फरावाद क्षेत्रबाट पाकिस्तानतर्फ प्रवेश गरेको थियो । मुजफ्फरावाद पाकिस्तान प्रशासित काश्मिरमा पर्दछ । तर सो विमान प्रवेश गरेर तुरुन्तै फर्किएको र त्यसबाट कुनै पनि मानवीय या भौतिक क्षति भने नभएको पनि उनको भनाई छ । यसैबीच, भारतले काश्मिरी पृथकतावादी र अरु लडाकू लुकेर बसेको आशङ्कामा लाइन अफ कन्ट्रोल पार गरी पाकिस्तान–अधीनस्थ क्षेत्रमा हवाई कारबाही गरिएको जनाएको छ । यो हमलाबाट कैयौं आतङ्ककारी शिविरहरु ध्वस्त भएको भारतका कृषि राज्यमन्त्री गजेन्द्रसिंह सिखावतले पुष्टी गर्नुभएको छ । भारत–अधीनस्थ काश्मिरमा आत्मघाती आक्रमणमा ४० जना भारतीय अर्धसैनिक बलको मृत्यु भएपछि पहिलो पटक भारतले पाकिस्तानी क्षेत्रमा आक्रमण गरेको पनि मन्त्री सिखावतले बताए । भारत सरकारले यसअघि नै भारतीय सुरक्षाफौजमाथि आत्मघाती आक्रमण गर्नेमाथि फौजी कारबाही गर्न भारतीय सेनालाई पूर्ण अख्तियारी दिइसकेको छ । काश्मिरमा सङ्घर्सरत मौलाना अजहरको नेतृत्वमा रहेको जैस ए–मोहम्मद समूहले आत्मघाती आक्रमणको जिम्मेवारी लिएको छ । मौलाना पाकिस्तानमै रहेकाले भारतले उनलाई भारतसमक्ष सुपुर्दगी गर्न आग्रह गर्नुका साथै पाकिस्तान विरुद्ध अन्तर्राष्ट्रिय कुटनीतिक दबाब सिर्जना गरिरहेको छ । रासस/सिन्ह्वा/एएफपी
चिनियाँ सामानमाथि करबृद्धि स्थगन गर्ने ट्रम्पको घोषणा
वासिङ्टन । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र अमेरिकाबीचको व्यापार वार्तामा “सन्तोषजनक प्रगति” भएको भन्दै चिनियाँ सामानको आयातमा यसअघि घोषणा गरिएको करबृद्धिको प्रस्ताव स्थगन गर्न लागेको बताए । दुई मुलुकबीचको व्यापार सम्झौताका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शिखर वार्ता हुने अपेक्षा गरिएको पनि राष्ट्रपति ट्रम्पले जानकारी दिए । अर्को दुई साताभित्रै “निकै ठूलो समाचार” आउनेछ, राष्ट्रपति ट्रम्पले भने । वार्तामा थप प्रगति भएमा अमेरिकाको फ्लोरिडास्थित राष्ट्रपति ट्रम्पको मार–ए–लेगो रिसोर्टमा चिनियाँ राष्ट्रपति सीलाई भेट्ने योजना रहेको पनि ट्रम्पले बताए । आइतबार सम्पन्न भएको तर चार दिनदेखि वासिङ्टनमा जारी वार्तामा दुई मुलुकका वरिष्ट अधिकारीहरुले भाग लिए । संयुक्तराज्य अमेरिकाले वार्तामा सहमति नभए आगामी मार्च १ तारिखदेखि नै लागू हुनेगरी करिब २०० अर्ब अमेरिकी डलर बराबरका चिनीया सामानमा २५ प्रतिशत कर लगाउने राष्ट्रपति ट्रम्पले घोषणा गरिसकेका छन् । तर, राष्ट्रपति ट्रम्पले वार्ता निकै सन्तोषजनक रुपमा अघि बढेकाले मार्च १ तारिखको सीमालाई बढाउन आफू तयार रहेको जानकारी दिए । “चीनसँग जारी व्यापार वार्ता सकारात्मक रुपमा अघि बढेकामा मलाई खुशी लागेको छ । खासगरी, चीनले बौद्धिक सम्पत्तिको संरक्षण, प्रविधि हस्तान्तरण, कृषि, सेवा, मुद्रा तथा अरु विविध विषय समेतका महत्वपूर्ण संरचनागत मुद्दामा सकारात्मक जवाफ दिएको छ,” ट्रम्पले ट्वीट गर्दै भनेका छन् । चीनको सरकारी समाचार संस्था सिन्ह्वाले पनि वार्तामा निकै सकारात्मक प्रगति भएको जनाएको छ । चिनीया व्यापार वार्ता प्रतिनिधिमण्डलको नेतृत्व उपप्रधानमन्त्री लिउ हे ले गरेका हुन् । “वार्ता निकै सकारात्मक रुपमा अघि बढेकाले सम्झौतालाई अन्तिम रुप दिन फ्लोरिडामा शिखर बैठकको तयारीमा लागेका छौं,” ट्रम्पले भने । “अमेरिका र चीनका लागि निकै सन्तोषजनक सप्ताहान्त ।” रासस/एएफपी
बंगलादेशी विमान अपहरणको प्रयास गर्ने व्यक्ति ‘प्रधानमन्त्रीसँग कुरा गर्न चाहन्थे’
काठमाडौँ । आइतवार साँझ बंगलादेशको सरकारी वायुसेवा कम्पनीद्वारा सञ्चालित एउटा यात्रुवाहक विमान अपहरणको प्रयास भएको समाचार आयो । विमान अपहरण गर्ने खोज्ने एक व्यक्तिलाई पछि गोली हानेर मारिदिएको सेनाले पुष्टि गरेको छ । एक सय ४२ जना यात्रु र चालक दलका छ सदस्यसहित राजधानी ढाकाबाट दुबई उडेको सो विमानलाई चटगाउँमा आकस्मिक रूपमा ओरालिएको थियो । आफूसँग पेस्तोल भएको दाबी गर्ने एक युवकले व्यक्तिले विमान अपहरण गर्ने प्रयास गरेको बताइएको छ । आत्मसमर्पण गर्न नमानेपछि ती व्यक्तिलाई सेनाले विमानभित्रै गोली हान्यो । पछि उनको मृत्यु भयो । ती सन्दिग्धले किन विमान अपहरणको प्रयास गरे त्यो चाहिँ स्पष्ट भइसकेको छैन । को हुन् उनी ? पच्चीस वर्षको उमेर भएको ठानिएका ती व्यक्ति बंगलादेशी नागरिक हुन् । पहिला उनी मानसिक रोगी भएको ठानिएको थियो । उनको नाम मेहदी भएको बताइएको छ। उनले शङ्कास्पद गतिविधि गर्दै विमान अपहरण गर्न खोजेको सङ्केत दिएपछि विमानका कर्मचारीहरू चनाखो भएको अधिकारीहरूले बताएको समाचारसंस्था रोएटर्सले उल्लेख गरेको छ। त्यसपछि विमानलाई तुरुन्तै शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थलमा ओरालियो र सुरक्षाकर्मीले त्यसलाई घेरा हाले । आकस्मिक अवतरण गरेपछि सुरक्षाकर्मीहरू विमानभित्र छिरेका थिए र विमानमा भएका सबैलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो । सोही विमानमा यात्रा गरिरहेका सांसद मोइनउद्दिन खान बादलले सञ्चारकर्मीलाई बताएअनुसार एक यात्रुले हतियार देखाउँदै विमान अपहरण गर्न खोजेका थिए । ती व्यक्तिले प्रधानमन्त्री शेख हसिना र आफ्नी पत्नीसँग आफ्नो कुरा गराउन विमान चालकलाई भनेका थिए । बीबीसी बंगलामा प्रकाशित एउटा विवरणका अनुसार उनले विमानचालकको टाउकोमा पेस्तोल ताक्दै पत्नीसँग खटपट भएको र त्यसबारे प्रधानमन्त्रीसँग कुरा गर्न खोजेको बताएका थिए । मेजर जनरल मोतिउ रहमानले भने,–हामीले उनलाई पक्राउ गर्न वा आत्मसमर्पण गराउन खोज्यौँ। तर उनले मानेनन् र हामीले गोली हान्यौँ । ती सन्दिग्ध व्यक्तिको शरीरबाट एउटा पेस्तोल फेला परेको सेनाले जनाएको छ ।