क्युबाका दुई कूटनीतिज्ञलाई अमेरिका छाड्न आदेश, ‘तनाव उत्पन्न हुने’
वासिङटन । संयुक्तराज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघमा रहेका क्युबाका दुई कूटनीतिज्ञलाई अमेरिकाले देश छाड्न आदेश दिएको छ । अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताका अनुसार क्युबाका ती दुई कूटनीतिज्ञ अमेरिकाको राष्ट्रिय हितलाई हानि पुग्ने गतिविधिमा संलग्न रहेको आरोप छ । अमेरिकाले अन्य क्युबाली कूटनीतिज्ञको हिँडडुलमा पनि प्रतिबन्धहरू लगाउँदै राष्ट्रसंघको मुख्यालय रहेको परिसरभित्रै रहनुपर्ने उल्लेख गरेको प्रवक्ता मोर्गन ओर्टागुसले बताए । क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले अमेरिकाको यो कदम अनुचित भएको बताए । क्युबाका यी कूटनीतिज्ञलाई देशनिकाला गर्ने यस कदमबाट तनाव उत्पन्न हुने स्पेनिश भाषामा गरेको ट्वीटमा उनले बताए । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेयता अमेरिकाले क्युबामाथि दबाव बढाउँदै लगेको छ । अमेरिकाले सेप्टेम्बर २०१७ मा क्युबाबाट आफ्ना अधिकांश कूटनीतिज्ञ फिर्ता बोलाएको छ । ट्रम्पले १५ क्युबाली कूटनीतिज्ञलाई पनि अमेरिकाबाट निकालेका छन् । क्युबाली कुटनीतिज्ञलाई देश निकाला गर्ने यो पछिल्लो कदम संयुक्त राष्ट्रसंघको न्युयोर्कमा हुन लागेको ७४ औं महासभाको पूर्वसन्ध्यामा गरिएको छ । संयुक्त राष्ट्रसंघले जारी गरेको एक विज्ञप्तिमा यस प्रकारको परिस्थिति जारी रहेको र देश निकाला भएको पुष्टि गर्नु बाहेक यस बिषयमा कुनै टिप्पणी नगर्ने जनाएको छ । यस विषयलाई राष्ट्रसंघले नजिकबाट नियालीरेको पनि विज्ञप्तिमा उल्लेख छ । रासस/एएफपी
वनमन्त्री बस्नेत अमेरिका प्रस्थान
काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत संयुक्त राष्ट्रसङ्घको आयोजनामा हुने जलवायु कार्यशिखर सम्मेलनमा सहभागी हुन संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी गएराति त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलन आगामी २३ सेप्टेम्बर (सोमबार) देखि अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा शुरु हुँदैछ । मन्त्री बस्नेतले सम्मेलनका दुई सत्रलाई सम्बोधन गर्ने कार्यसूची रहेको उनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिएका छन् । उनले ‘अ कल फर एक्सनः रेजिङ एम्बीसन फर क्लाइमेट एडप्टेशन एण्ड रेजिलियन्स र ‘कम्युनिटी रेजिलियन्स पार्टनरसिप प्रोगाम’ विषयमा सम्बोधन गर्नुहुनेछ । यसैगरी, उनले आगामी मङ्गलबार संयुक्त राष्ट्रसङ्घको दिगो विकाससम्बन्धी विशेषसभामा सहभागी हुने कार्यक्रम छ । न्यूयोर्क प्रस्थान गर्नुअघि मन्त्री बस्नेतले जलवायु परिवर्तन अनुकूलनका दिगो र प्रभावकारी कार्यक्रम तय गर्न विश्व समुदायलाई अपिल गरिने जानकारी दिएका छन् । मन्त्री बस्नेतले नेपालका तर्फबाट जलवायु परिवर्तनको नकारात्मक प्रभावका कारण विश्व भयाबह सङ्कटको नजिक पुगेकाले यसको समाधान नियमित प्रयासबाट मात्र सम्भव नहुने भएकाले विश्वस्तरबाटै साझा पहल हुनुपर्ने विषय उठाइने जानकारी दिएका छन् । नेपालले यसपटक लजवायु परिवर्तनमा न्यून भूमिका रहेका तर असरबाट अतिप्रभावित नेपालजस्ता मुलुकको अनुकूलन क्षमता बढाउन आवश्यक स्रोतको व्यवस्था गर्न अपिल गर्ने भएको छ । त्यस्तै, नेपालले जलवायु परिवर्तनका कारण तीव्र गतिमा हिमाल पग्लनेक्रम बढेको र त्यसको प्रभावबाट विश्व नै प्रभावित भएको विषयमा समेत विश्व समुदायको ध्यानाकर्षण गराउने छ । आगामी नोभेम्बरमा चिलीमा हुने जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रको सम्मेलन (कोप) को तयारी स्वरुप सो सम्मेलन हुन लागेको हो । रासस
भारतमा विद्युतीय चुरोट प्रतिबन्ध, नागरिकको स्वास्थ्यप्रति चासो
नयाँ दिल्ली । भारतको केन्द्रीय सरकारले देशभरी विद्युतीय चुरोट प्रतिबन्ध लगाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विद्युतीय चुरोट प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको मन्त्रीहरुले जानकारी दिएका छन् । निर्णयका बारेमा बैठकपछि पत्रकारहरुलाई जानकारी दिँदै अर्थमन्त्री निर्मला सीतारमणले नागरिकको स्वास्थ्य हितलाई ध्यानमा राखेर विद्युतीय चुरोट प्रतिवन्धको प्रस्ताव पारित गरिएको बताए । “केन्द्रीय मन्त्रिपरिषद् बैठकले विद्युतीय चुरोट प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ, यसको अर्थ विद्युतीय चुरोट उत्पादन, किनबेच, ओसारपसार, भण्डारण र विज्ञापन गर्न नपाउने पनि हो,” उनले भने । संयुक्त राज्य अमेरिकामा गरिएको एक अध्ययनलाई उद्धृत गर्दै अर्थमन्त्री सीतारमणले सन् २०११ र २०१५ देखि २०१६ सम्ममा विद्युतीय चुरोट प्रयोगकर्ताको सङ्ख्या ९०० प्रतिशतले वृद्धि भएको बताए । विद्युतीय चुरोट प्रतिबन्ध निर्देशिका २०१९ मा विद्युतीय चुरोट प्रयोग गरेमा के के कारबाही हुने भन्ने व्यवस्था गरिएको छ । विद्युतीय चुरोट प्रयोग गरेको पहिलो पटक भेटिएकालाई एक प्रकारको र एक पटक कारबाही भइसकेर फेरी पनि प्रयोग गरेको भेटिएमा अझ कडा कारबाहीको व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् । सूचना तथा प्रसारणमन्त्री प्रकाश जाभादेकरले विद्युतीय चुरोट प्रतिबन्ध लगाउनुपर्ने बेला भएको बताए । उनले विद्युतीय चुरोट प्रतिबन्ध लगाउने प्रस्ताव पर्याप्त छलफलपछि मन्त्री परिषद्मा पेस भएको र पारित गरिएको पनि जानकारी दिनुभयो । “यो एकदमै स्वागत योग्य कदम भएको छ, यस्ता व्यवस्थाले जहिले पनि राम्रो गर्नेछन्,” उनले पत्रकारहरुसँग भने । रासस/एएनआई