चीनद्वारा केही अमेरिकी सामानमा कर छुट, वार्ताको वातावरण बनाउने प्रयास
बेइजिङ । चीनले अमेरिकासँग चाँडै गर्न लागेको व्यापार वार्ताअघि १६ किसिमका अमेरिकी सामानमा लगाइरहेको करमा छुट गरेको घोषणा गरेको छ । दुबै देशबीच अर्को महिना व्यापार वार्ता हुँदैछ । यी कर छुटहरु आगामी सेप्टेम्बर १७ देखि लागू हुने चीनको भन्सार आयोगले जनाएको छ । छुट हुने वस्तुको सूचीमा सामुद्रिक खाद्य सामग्रीहरु र क्यान्सर प्रतिरोधी औषधिहरु समेत रहेका छन् । यो कर छुट एक वर्षसम्म कायम हुनेछ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सर्वाधिक चासोका रुपमा रहेको अमेरिकी सोयाबिन र सुँगुरको मासुको आयातमा लागेका करहरु यथावत छन् । भन्सार विभागले बुधबार जारी गरेको विज्ञप्तिमा अरु अमेरिकी सामानमा कर छुट गर्दै जाने जनाइएको छ । दुबै देशबीच एक वर्षभन्दा बढी समयदेखि जारी व्यापार वार्तामा सहमति नभएपछि दुबै मुलुकले एकअर्काका अर्बौं डलर बराबरका सामानमा करवृद्धि गरेका छन् । विश्व व्यापार र विश्व अर्थतन्त्रमै प्रभाव सिर्जना गरिरहेको यस व्यापार युद्धले विश्व बजारमा त्रासको वातावरण सिर्जना गरेको छ । चीनसँग व्यापार सम्झौता हुन नसकेपछि राष्ट्रपति ट्रम्पले गतसाता सन् २०१९ को अन्त्यसम्ममा सबै चिनियाँ सामानमा कर वृद्धि गर्ने घोषणा गर्नुभएको थियो । अमेरिकातर्फ निकासी हुने कूल ५४० अर्ब बराबरका चिनियाँ सामानमा यसै वर्षको अन्त्यसम्ममा कर वृद्धि हुनेछ । ट्रम्पको घोषणापछि बेइजिङले पनि अमेरिकी सामानमा कर वृद्धि गरेको थियो । सेप्टेम्बर १ देखि लागू हुनेगरी चीनले ७५ अर्ब अमेरिकी डलर बराबरका अमेरिकी सामानमा कर बढाउने घोषणा गरेको थियो । सयौं अमेरिकी कम्पनी र व्यावसायिक समूहहरुले नयाँ कर घोषणा नगर्न राष्ट्रपति ट्रम्पसमक्ष आग्रह गरेका थिए । उनीहरुको विचारमा कर वृद्धिले रोजगारी गुम्ने र उपभोक्ताले खरीद गर्ने सामान महंगो हुने भन्दै चिन्ता व्यक्त गरेका थिए । तर राष्ट्रपति ट्रम्पले अमेरिकामा चुनावी प्रचारका क्रममा सामानको मूल्य बढ्छ भनेर चिन्ता गर्ने अमेरिकी कम्पनी र व्यवसायीमा दृष्टिदोष रहेको बताउनुभएको थियो । “राम्रोसँग नचलेका र कमजोर कम्पनीले मात्र यस्ता कुरा गरिरहेका छन् । उनीहरुको व्यवस्थापन पनि कमजोर छ ।” चिनियाँ सामानमा कर वृद्धि गर्ने मिति सार्न गरिएको आग्रहलाई बेवास्ता गर्दै राष्ट्रपति ट्रम्पले कर वृद्धिसँगै चीनसँग वार्ता पनि हुँदै जाने बताएका छन् । “हामीले चीनसँग कुराकानी गरिरहेका छौं । वार्ताका लागि मिति तोकिएको छ । एक अर्काबीच फोनमा संवाद भएका छन् । मेरो विचारमा सेप्टेम्बरमा वार्ता हुनेछ । वार्ताहरु रद्द भएका छैनन् । हेरौं के हुन्छ ।” राष्ट्रपतिले चीनसँग व्यापार युद्ध मार्च २०१८ मा आरम्भ गरेका थिए । उनले चीनमाथि अस्वस्थ व्यापार रोक्न, अमेरिकी कम्पनीबाट जबर्जस्ती प्रविधि हस्तान्तरण गर्ने प्रावधान हटाउन तथा चिनियाँ कम्पनीलाई सरकारले दिने सरकारी अनुदान रोक्न दबाब दिइरहेका छन् । चिनियाँ पक्षले व्यापार वार्ता सकारात्मक रुपमा अघि बढेको भने पनि कुनै सम्झौता भएको छैन । दुबै मुलुकले एकअर्का देशका सामानमा करवृद्धि गरेपछि व्यापार वार्ता अबरुद्ध भइरहेको छ । फ्रान्सको बियारिजमा सम्पन्न सात औद्योगिक राष्ट्रहरुको सम्मेलनमा सहभागी हुनुभएका राष्ट्रपति ट्रम्पले “चीनबाट फोन आयो, र उनीहरुको भनाइ वार्ताको टेबलमा बसौं भन्ने छ । त्यही भएर हामी पनि वार्तामा बस्न राजी भएका हौं” भनेका छन् । राष्ट्रपति ट्रम्पले चिनियाँ अधिकारीका भनाइ निकै सकारात्मक रहेका र उनीहरु कुनै सम्झौता गर्न तत्पर रहेको देखिएको बताएका छन् । दुबै देशले एकअर्का मुलुकका सामानमा लगातार करवृद्धि गरेपछि व्यापारमा मन्दी आएको अध्ययनहरुले देखाएका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्षको अगस्टमा चीनमा अमेरिकी सामानको आयातमा २२ प्रतिशतले कमी आएको छ । चिनियाँ भन्सारका अनुसार संयुक्तराज्य अमेरिकातर्फको निकासी पनि १६ प्रतिशतले घटेको छ । गत अगस्ट महिनामा करिब ४४ अर्ब अमेरिकी डलर बराबरका सामान मात्र अमेरिकातर्फ निकासी भएको छ । रासस/एएफपी
एशियाली बैंकद्वारा हिमालयन बैंकलाई अवार्ड प्रदान
काठमाडौं । एशियाली विकास बैंक (एडिबि.) ले हिमालयन बैंक लिमिटेडलाई ट्रेड फाईनान्स कार्यक्रम अन्तर्गत उच्चतम कारोबार गरे बापत ‘टिएफपि अवार्ड २०१९ लिडिङ पार्टनर बैंक इन नेपाल’ प्रदान गरेको छ । एशियाली विकास बैंकद्वारा हिमालयन बैंकलाई बैंकले एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाईनान्सलाई प्रवद्र्धन गर्न खेलेको प्रभावकारी भूमिकाको लागि उक्त अवार्ड प्रदान गरेको हो । सेप्टेम्बर ३, २०१९ मा सिंगापुरमा आयोजित एडिबि ट्रेड फाईनान्स प्रोग्रामको अवार्ड समारोहमा हिमालयन बैंकका महाप्रबन्धक सुशिल जोशी र मुख्य प्रबन्धक सतीश राज जोशीले उक्त अवार्ड ग्रहण गरेका छन् । बैंकले यस पटक समेत गरी तेश्रो पटक यो अवार्ड प्राप्त गरेको हो ।
चिनियाँ विदेशमन्त्री स्वदेश प्रस्थान
काठमाडौं । चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमण पूरा गरी आज अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गरेका छन् । उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शङ्करदास वैरागी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायतले बिदाइ गरेका हुन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा नेपाल भ्रमणमा आएका विदेशमन्त्री वाङले राजधानी बसाइका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका थिए । उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई पनि बेग्लाबेग्लै भेटेर समसामयिक राजनीतिक परिस्थितिबारे विचार विमर्श गरेका थिए । त्यसअघि दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता भएको थियो । वार्तामा पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी तीनवटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । मन्त्री ज्ञवालीले विदेशमन्त्री वाङको सम्मानमा रात्रिभोजको आयोजना पनि गरेका थिए । रासस