अमेरिकामा एक महिनामै तीन लाख नयाँ रोजगारी श्रृजना, बेरोजगारी दरमा सुधारको संकेत
वासिङटन । संयुक्तराज्य अमेरिकाको श्रम बजारमा गत डिसेम्बर महिनामा तीन लाख १२ हजार नयाँ रोजगारी सृजना भएको श्रम विभागले जनाएको छ । केही महिनादेखि वालस्ट्रिटमा अशान्त वातावरण देखिए पनि अमेरिकी रोजगारदाताले ठूलो संख्यामा मानिसलाई रोजगारी दिएका छन् । चीनसँगको व्यापारयुद्ध, अर्थतन्त्रमा विश्वव्यापी गतिहीनता तथा अमेरिकी सङ्घीय सरकारी कार्यालयहरुको आंशिक बन्दीबीच पनि श्रम बजारमा व्यापक सुधार आएको श्रम विभागको प्रतिवेदनमा उल्लेख छ । अमेरिकाको बेरोजगारी दर गत महिना केही वृद्धि भई ३ दशमलब ९ प्रतिशत पुगेको थियो, तर त्यसमा पनि सुधारका सङ्केत देखिएको छ । अमेरिकीहरुले कामको खोजीमा बढी ध्यान दिन थालेको श्रम विभागको भनाइ छ । अघिल्लो वर्षको तुलनामा प्रति घण्टाको औसत भुक्तानीमा ३ दशमलब २ प्रतिशतले सुधार आएको छ । श्रम विभागको नयाँ तथ्याँक सार्वजनिक भएलगत्तै शेयर बजारमा पनि सुधार आएको छ । अमेरिका र चीनबीच जारी व्यापार विवाद सुल्झाउने उपायको खोजी गर्न अर्को सातादेखि वार्ता शुरु गर्ने समाचारले पनि बजारमा सकारात्मक सन्देश दिएको छ । अमेरिकी केन्द्रीय बैंकका अध्यक्ष जेरोम पावेलले व्याजदर अरु वृद्धि गर्ने वा नगर्ने बारे बैंकले केही लचक नीति लिने बताएपछि पनि बजारमा सकारात्मक वातावरण बनेको छ । डाउजोन्स औद्योगिक परिसूचक ७४७ विन्दु अर्थात ३ दशमलब ३ प्रतिशतले बढेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै रोजगारी वृद्धिलाई मुक्तकण्ठले प्रशंसा गरेका छन् । रोजगारी वृद्धिले अमेरिकी उपभोक्ताको खर्च गर्ने प्रवृत्तिमा सुधार आएको सङ्केत गर्दछ । गत महिना स्वास्थ्यसेवा र शिक्षा क्षेत्रमा नयाँ ८२ हजार रोजगारी थपिएको छ । विगत नौ वर्षमै यो सबैभन्दा ठूलो बढोत्तरी हो । रेष्टुराँ व्यवसायमा ४० हजार ७०० नयाँ रोजगारी थपिएको छ । निर्माण व्यवसायले ३८ हजार तथा उद्योग व्यवसायमा ३२ हजार नयाँ रोजगारी सृजना भएको छ । व्यवसायीहरुले पनि बढी कामदारको माग गरिरहेका छन् । श्रम विभागका अनुसार सन् २०१८ मा २६ लाख नयाँ रोजगारी सृजना भएको छ, अर्थात् मासिक करिब २ लाख २० हजार रोजगारी थप भएको छ । गत वर्ष डिसेम्बरमा करिब ६३ लाख मानिसले रोजगारीका लागि निवेदन दिएको पाइएको थियो । अघिल्लो वर्षको यही महिना करिब ६५ लाख मानिसले रोजगार खोजी गरेका थिए । रासस/एपी
सन् २०१८ मा अमेरिकी मनोरञ्जन उद्योग डिस्नेको आम्दानी सात अर्ब डलर
काठमाडौं । मनोरञ्जन उद्योगमा विश्वकै ठूलो कम्पनी डिस्नेले लगातार दोस्रो वर्ष सन् २०१८ मा करिब ७ अर्ब अमेरिकी डलरको व्यापार गरेको छ । डिस्नेले सन् २०१८ मा विश्वव्यापी रुपमा चर्चित “ब्लाक प्यान्थर”, “एभेन्जर्सः इन्फिनिटी वार” देखि एनिमेटेड सिक्वेल चलचित्र “इन्क्रेडिबल २” र पछिल्लो “स्टार वार्स” चलचित्र बजारमा ल्याएको थियो । बक्स अफिसमा वार्षिक ७ अर्ब डलरभन्दा बढी आर्जन गर्ने विश्वकै एकमात्र कम्पनी डिस्नेको सन् २०१६ को आम्दानी ७ अर्ब ६० करोड डलर थियो । डिस्ने, पिक्सार, मार्भेल स्टुडियो र लुकास फिल्मलाई मन पराउने विश्वभरका समर्थकलाई धेरै धेरै धन्यवाद,” वाल्ट डिस्ने स्टुडियोका अध्यक्ष अलान होर्नले बताएका थिए । उत्तर अमेरिकामा डिस्नेले झण्डै ३ अर्ब १० करोड डलर आम्दानी गरेको थियो । डिस्नेका केही चलचित्र अहिले विश्वकै उत्कृष्ट १० स्थानभित्र रहेका छन् । “ब्लाक प्यान्थर”, “एभेन्जर्सः इन्फिनिटी वार”, “इन्क्रेडिबल २” र “स्टार वार्स” समेतका प्रत्येक चलचित्रले संयुक्तराज्य अमेरिका र क्यानाडामा ६० करोड अमेरिकी डलरभन्दा बढी कमाएका छन् । यी चलचित्रले कूल चार अर्ब ६४ करोड अमेरिकी डलर आम्दानी गरेका छन् । सन् २०१९ मा डिस्नेले अर्को फड्को मार्दैछ । “क्याप्टेन मार्भेल” र “एभेन्जर्सः इन्डगेम” नयाँ स्वरुपमा आउँदैछ भने “फ्रोजेन २” र “स्टार वार्सः इपिसोड नाइन” वर्षको अन्त्यमा बक्स अफिसमा आउनेछ । एनिमेटेड चलचित्रका नयाँ संस्करणका रुपमा “डम्बो”, “अल्लादीन” र “दी लायन किङ” बजारमा आउँदैछन् भने डिस्नेको सहायक कम्पनी पिक्सारको उत्पादनका रुपमा “टोय स्टोरी फोर” पनि यसै वर्ष बक्स अफिसमा आउनेछ । रासस एएफपी
नक्कली प्रमाणपत्रधारी तीन विमान चालकसहित ५० कर्मचारी बर्खास्त
इस्लामावाद । पाकिस्तानको राष्ट्रिय ध्वजाबाहक विमानका चालकसहित ५० जना कर्मचारीलाई बर्खास्त गरिएको छ । उनीहरुको शैक्षिक प्रमणपत्र नक्कली भेटिएकाले बर्खास्त गरिएको र बर्खास्त हुनेमध्ये तीन जना विमान चालक रहेको जनाइएको छ । पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाईन्स (पिआइए)ले आफ्ना ५० कर्मचारीको विद्यालय तहको शैक्षिक प्रमणपत्र नक्कली भएको अहिले पत्ता लगाएको हो । पिआइएका प्रवक्ता मसुद ताजवारले यसअघि पनि कम्तीमा छ जना विमान चालकलाई यही कारणले बर्खास्त गरिसकिएको जानकारी दिए । नक्कली प्रमणपत्र ठूलो चुनौतीका रुपमा देखिएको उहाँको भनाई छ । एयरलाईन्सले नक्कली प्रमाणपत्रधारी विमान चालकहरुको चालक अनुमतीपत्र पनि रद्ध गरिदिएको प्रवक्ता ताजवारले बताए । रासस/एएफपी