नक्कली लाइसेन्स भए पाँच वर्ष गाडी चलाउन प्रतिबन्ध
हनोई । भियतनामले नक्कली सवारी चालक अनुमतिपत्र बनाए वा परीक्षा अनुत्तीर्ण भई सवारी चलाएको पाइए पाँच वर्ष सवारी साधन चलाउन प्रतिबन्ध गर्नेगरी नयाँ नियम लागू गरेको छ । स्थानीय संचारमाध्यमका अनुसार नयाँ नियम आगामी सेप्टेम्बरदेखि लागू हुनेछ । भियतनाम सडक विभाग तथा गृह मन्त्रालयले नक्कली सवारी चालक प्रमाणपत्र बिक्री गर्ने गिरोहलाई पक्राउ गर्न देशव्यापी अभियान सञ्चालन गरिने जनाएको छ । सवारी चालक अनुमतिपत्र लिनेक्रममा गरिने परीक्षा प्रणालीलाई थप व्यवस्थित गरिनेछ । भियतनाममा नक्कली लाइसेन्स र स्वास्थ्य परीक्षण प्रमाणपत्र अनलाइनबाटै बिक्री गर्नेक्रम बढेको छ । लाइसेन्स लिनेक्रममा हाल ४५० वटा प्रश्नको साटो ६०० वटा प्रश्न सोध्ने नयाँ नियम बनाइएपछि नक्कली लाइसेन्स लिनेक्रम ह्वात्तै बढेको अध्ययनले देखाएको छ । यसै वर्षको पहिलो पाँच महिनामा भियतनाममा ६ हजार ७७९ वटा सवारी दुर्घटना भएका छन्, जसका कारण तीन हजार १२८ जनाको मृत्यु हुनुका साथै दुई हजारभन्दा बढी घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ । रासस/सिन्ह्वा
दक्षिण सुडानमा तलब विवादले रोकियो बजेट
काठमाडौं । कर्मचारीको तलब विवादका कारण दक्षिण सुडानको संसदमा बिहीबार आर्थिक वर्ष सन् २०१९–२०२० को बजेट प्रस्तुत हुन सकेन । सांसदहरुले सेना र कर्मचारीको वक्यौता तलब भुक्तानी नहुँदासम्म नयाँ बजेट ल्याउन नदिने बताएपछि बैठक स्थगित भएको हो । सभामुख एन्थोनी लिनो मकानाले सांसदहरुले उठाएका मागका बारेमा सुनिसकेपछि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको घोषणा गरेको हो । दक्षिण सुडानका अर्थमन्त्री साल्भाटोर गाराङ माबियोर्डिटले बिहीबार आगामी आर्थिक वर्ष सन् २०१९–२० का लागि संसदमा करिब एक अर्ब ३० करोड अमेरिकी डलरको बजेट प्रस्तुत गर्ने कार्यक्रम थियो ।दक्षिण सुडानमा विगत छ महिनादेखि निजामती र सैनिकले तलब पाउन सकेका छैनन् । दक्षिण सुडानमा राजश्वको मुख्य स्रोत तेल उत्पादन र विक्री हो । सन् २०१८ मा सुडानले दैनिक करिब १ लाख ७५ हजार ब्यारेल कच्चा तेल उत्पादन गर्दछ । रासस
फेरी राष्ट्रपति बन्न ट्रम्पले शुरु गरे प्रचार अभियान
वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो पटक पनि राष्ट्रपतिमा निर्वाचित हुन प्रचारप्रसार अभियान औपचारिक रुपमा शुरु गरेका छन् । आगामी सन् २०२० मा हुने निर्वाचनको प्रचारप्रसार अभियान उनले मङ्गलबार राति फ्लोरिडाको ओल्र्याण्डोबाट शुरु गरेका हुन् । ओल्र्याण्डोमा आयोजित र्यालीलाई सम्बोधन गर्दै उनले भने, “मैले अमेरिकाको राष्ट्रपतिमा अर्को एक पटक निर्वाचित हुनका लागि आजदेखि औपचारिक रुपमा प्रचार अभियान शुरु गरेको छु ।” सम्बोधनका क्रममा उनले फ्लोरिडा राज्य आफ्नो “दोस्रो घर” भएको बताउँदै समर्थकहरूलाई अर्को चार वर्षका लागि “एक ढिक्का रहन” आग्रह पनि गरे । बलियो अर्थतन्त्र र आप्रवासीबारे कडा नीतिका कारण आफ्नो पहिलो कार्यकाल सफल भएको दाबी गर्दै उनले आफू सधैँ अमेरिकी जनतालाई प्राथमिकता दिने पक्षमा रहेको बताए । थप चार वर्षको कार्यकालका लागि राष्ट्रपति बन्न खोजेका ट्रम्पले विपक्षी डेमोक्र्याटिक पार्टीका नेताहरुको चर्को आलोचना गरे । प्रारम्भिक मत सर्वेक्षणले डेमोक्र्याटिक तर्फका सम्भावित उम्मेदवारभन्दा उनी पछाडि रहेको देखाएकाले ट्रम्प उनीहरुप्रति थप आक्रोशित भएको बताइएको छ । सन् २०१६ को चुनावमा डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गर्दै ट्रम्प अमेरिकाको ४५औँ राष्ट्रपति बन्नु भएको थियो । अहिले शुरु भएको चुनावी र्यालीमा प्रथम महिला मेलानिया ट्रम्प पनि सहभागी भएका थिए । रासस/सिन्ह्वा