यात्रुको डाटा चोरेका अभियोगमा ब्रिटिस एअरवेजलाई २२ करोड ९० लाख डलर जरिवाना
लण्डन । बेलायती विमान कम्पनी ब्रिटिस एअरवेजलाई लाखौँ यात्रुको डाटा चोरीमा दोषी ठहर गर्दै १८ करोड ३० लाख ३९ हजार पाउण्ड सटर्लिङ (२२ करोड ९० लाख ७० हजार अमेरिकी डलर) जरिवाना गरिएको विमान कम्पनीको मातृ समूह इन्टरनेशनल एअरलाइन्स ग्रुप(आएजी) ले सोमबार जनाएको छ । कम्प्युटरका घुस पैठ (ह्याकर)हरूले गत बर्ष विमानका लाखौँ यात्रुहरूको तथ्याङ्क तथा बैंक विवरण चोरी गरी कानूनविपरित काम गरेको अभियोग लागेको हो । आइएजीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “बेलायतको तथ्याङ्क संरक्षण ऐन अनुसार बेलायतको सूचना आयुक्तको कार्यालयले ब्रिटिस एअरवेजलाई कुल १८ करोड ३० लाख ३९ हजार पाउण्ड स्टर्लिङको जरिवाना गरिएको छ ।” आइएजीका अनुसार यो जरिवाना रकम ब्रिटिस एअरवेजको सन् २०१७ मा भएको खूद मुनाफाको १.५ प्रतिशत बराबर हो । रासस/एएफपी
भारतको बजेटः अर्थतन्त्रको आकार पाँच वर्षमा दोबर पुर्याइने
काठमाडौँ । हालै चुनाव जितेर दोस्रो कार्यकाल सम्हालेको नरेन्द्र मोदी नेतृत्वको सरकारको शुक्रबार पहिलो बजेट प्रस्तुत गरेको छ । भारतकी प्रथम महिला अर्थमन्त्री निर्मला सीतारमणले बजेट पेस गरेकी हुन् । पाँच वर्षमा दोबर अर्थतन्त्र मन्त्री सीतारमणले भारतको अर्थतन्त्रलाई सन् २०२५ भित्र पाँच ट्रिलियन अर्थात् पचास खर्ब डलर बराबरको पुर्याउने घोषणा गरेकी छिन् । त्यसको अर्थ हो, आगामी पाँच वर्षमा भारतीय अर्थतन्त्रको आकार हालको भन्दा झण्डै दोबर पारिनेछ। संसदमा आफ्नो पहिलो बजेट प्रस्तुत गर्दै उनले त्यो लक्ष्य हासिल गर्न थुप्रै नयाँ योजनाको घोषणा गरिन् । त्यस्ता नयाँ योजनाहरूमा सामाजिक पूर्वाधार विकासदेखि लिएर अन्तरिक्ष तथा वातावरणसम्बन्धी कार्यक्रमहरू समावेश छन् । सन् २०२२ भित्र सबै ग्रामीण परिवारको पहुँचमा बिजुली र सफा खानपानको सुविधा पुर्याउने घोषणा उनले गरिन् । आलोचकहरू भन्छन्–यी काम गर्नाका लागि स्रोत कताबाट ल्याइनेछ भन्ने चाहिँ प्रस्ट छैन। बजेटमार्फत वार्षिक २ देखि ५ करोड भारु आम्दानी हुनेमाथि ३ प्रतिशतको अतिरिक्त कर लगाइने बताइएको छ । त्यस्तै वार्षिक ५ करोड भन्दा धेरै आम्दानी हुनेमाथि ७ प्रतिशतको अतिरिक्त कर लगाइने छ । बजेट ब्रिफकेसको परम्परा तोडियो भारतीय अर्थमन्त्री निर्मला सीतारमणले भारतमा ब्रिटिश औपनिवेशिक कालदेखि नै प्रचलनमा रहेको बजेटको ब्रिफकेस बोकेर संसदमा जाने परम्परा तोडेकी छन् । त्यसको साटो उनले गाढा रातो रङ्गको परम्परागत बहिखाता बोकेकी थिइन् । उनको प्रमुख आर्थिक सल्लाहकार कृष्णामूर्ति सुब्रहमन्यमले यो कदमले ुपश्चिमा सोचाइप्रतिको दासताबाट अलगु भएको प्रतीक प्रस्तुत गर्ने बताए । आकांक्षा यसपालिको बजेट त्यतिखेर प्रस्तुत भइरहेको छ, जतिखेर भारतमा मूल क्षेत्रहरूमा मन्दी छाएको, बेरोजगारी बढेको तथा विकासको गति पहिलेभन्दा खस्किएको चिन्ताहरू व्यक्त भएका छन् । तर ठूलो बहुमतका साथ दिल्लीको सत्तामा पुनः आएका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आम व्यवसायी तथा सर्वसाधारणको धेरै आकांक्षा छन् । त्यसैले यो बजेटमार्फत सरकारले कर्पोरेट जगतका लागि सुविधाहरू एवम् आम मानिसका निम्ति राहतहरू दिने कार्यमा सन्तुलन बनाउनु पर्ने देखिएको थियो । यसअघि बिहीवार भारत सरकारले त्यहाँको संसद्मा पछिल्लो आर्थिक सर्वेक्षण पेस गरेको थियो । त्यसमा बितेको वर्ष भारतको आर्थिक वृद्धि सात प्रतिशतमा रहने अनुमान गरिएको छ । (बीबीसीबाट)
चीनमा रोजगारको संख्या ७७ करोड, प्रति व्यक्ति आय अमेरिकी डलर ९७३२
बेइजिङ । नयाँ चीन स्थापना भएको सत्तरी वर्षयता रोजगार मात्रा विस्तृत हुँदैआएर रोजगारको संरचनामा क्रमशः सुधार भएको चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरोले जनाएको छ । ब्यूरोका अनुसार सन् २०१८ को अन्तमा चीनको रोजगारीको सङ्ख्या ७७ करोड पुगेको र यो चीनको हालको कूल जनसङ्ख्याको आधाभन्दा बढी हो । रोजगारीका संरचनामध्ये दोस्रो र तेस्रो उद्योगको रोजगारीको अनुपात क्रमशः तीस प्रतिशत र पचास प्रतिशत पुगेको छ भने नयाँ चीन स्थापना भएको प्रारम्भिक अवधिभन्दा निकै धेरै बढेको छ । रोजगार मात्रा विस्तृत भएसँगै चीनको अर्थतन्त्रको स्थिर र लगातार विकास भएको देखिन्छ र रोजगार संरचनाको सुधार र मात्रामा वृद्धिले चीनलाई सम्पन्न समाजमा पुग्न सुदृढ आधार प्रदान गरेको छ । प्राप्त पछिल्लो जानकारी अनुसार, नयाँ चीन स्थापना भएको सुरूमा अर्थात् सन् १९४९ को अन्तमा चीनका शहरमा बेरोजगार दर २३.६ प्रतिशत पुगेको थियो भने सन् २०१८ को अन्तमा ४.९ प्रतिशतमा झरेको छ । चुङयुआन बैङ्कका प्रथम अर्थशास्त्री वाङ च्युनको विचारमा रोजगार संरचना र मात्रा सुधार भएबाट सर्वसाधारणको आय बढाउन, उपभोग स्तरलाई उकास्न, समस्त समाजलाई खाना–कपडा स्तरबाट सम्पन्न समाजसम्म लैजान सुदृढ आधार बनाइएको छ । केही वर्षयता आफैँ व्यापार चलाउने अवस्था धेरै देखिएको छ । विभिन्न नयाँ उद्योग र मोड पनि उदाएका छन् जसले आर्थिक विकासलाई नयाँ शक्ति प्रदान गर्नका साथै रोजगारको स्थिरतालाई सुदृढ समर्थन पनि दिएको छ । पछिल्लो तथ्याङ्क अनुसार रोजगारको स्थिति स्थिर हुँदै राम्रो भएको मानिएको छ । सन् २०१३ देखि सन् २०१८ सम्म चीनको शहरमा नयाँ रोजगारीका अवसर थपिएको छ । विगत छ बर्षमा शहरी क्षेत्रमा रोजगारीको सङ्ख्या प्रतिबर्ष एक करोड तीस लाखभन्दा बढी पुगेको छ । सन् २०१८ मा डिजिटल अर्थतन्त्र क्षेत्रको रोजगार सङ्ख्या उन्नाइस करोड दश लाख पुगेको छ भने वर्षभरि कूल रोजगारी सङ्ख्याको पचीस प्रतिशत पुगेको छ । निरन्तर मूल्यको अवस्था हेर्दा सन् २०१८ को कुल ग्राहस्थ उत्पादन सन् १९५२ को तुलनामा १७५ गुणा बढेको छ भने प्रति वर्ष ८.१ प्रतिशत बढेको छ । सन् २०१८ मा चीनको प्रति व्यक्तिको आय नौ हजार ७३२ अमेरिकी डलर पुगेको छ भने मध्य आय स्तर मुलुकको औसत स्तरभन्दा बढी भएको छ । रासस/सिन्ह्वा