नासाले आफ्नो अन्तरिक्ष स्टेशन पर्यटकका लागि खुल्ला गर्ने
न्यूयोर्क । अमेरिकी वैज्ञानिक संस्था नासाले आगामी बर्षदेखि अन्तरिक्षमा रहेको आफ्नो स्टेशनमा पर्यटकलाई जान दिने घोषणा गरेको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसस) को भ्रमण गर्न एक जनाले प्रतिदिन ३५ हजार डलर शुल्क तिर्नुपर्नेछ र यो सन् २०२० पछि लागु हुनेछ । “पृथ्वीको परिक्रमा गर्ने सो स्टेशन पर्यटन तथा अन्य व्यापारिक प्रयोजनका लागि खुला गरिनेछ,” नासाले भनेको छ । आईएसएसका उप निर्देशक रोबिन गेटेन्सका अनुसार प्रत्येक वर्ष निजी खर्चमा दुईवटा छोटा अन्तरिक्ष भ्रमण हुनेछन् । अमेरिकी अन्तरिक्षयानमा बसेर जाने पर्यटकहरूले आईएसएसमा ३० दिनसम्म बस्ने अनुमति पाउने उनले बताए । रासस÷एएफपी
अमेरिकासँग ब्यापार विवाद जारी रहँदा चीनले भन्यो-‘प्रबिधिको सुरक्षाका नयाँ व्यवस्था गर्दैछौँ’
बेइजिङ । चीन–अमेरिका ब्यापार विवाद जारी रहेका समय चीनले प्रबिधिको ‘राष्ट्रिय सुरक्षा’ का लागि नयाँ उपाय अवलम्वन गर्ने बताएको छ । अमेरिकाले चिनियाँ टेलिकम कम्पनी हुवावेद्वारा विकशित फाइभ–जी प्रबिधिका कारण राष्ट्रिय सुरक्षाको समस्या देखाउँदै यसलाई अस्वीकार गरेको र सहयोगी मुलुकहरूमा पनि यही किसिमको सन्देश फैलाएको हुवावेको दावी रहेको छ । चीनले प्रबिधिको ‘राष्ट्रिय सुरक्षा’ का लागि नयाँ उपाय खोज्न एक शक्तिशाली ‘नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसन’ लाई जिम्मा दिएको छ । जसले प्रबिधिको राष्ट्रिय सुरक्षाका लागि आइपर्ने समस्याहरूको अध्ययन गरी प्रभावकारी नीति अवलम्बन गर्ने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । तर यो नयाँ उपाय व्यापार विवादसँग सम्बन्धित छ वा छैन भन्नेबारेमा केही खुलाइएको छैन । यद्यपि यसबारी थप जानकारी निकट भविष्यमा सार्वजनिक गरिने सिन्ह्वाले उल्लेख गरेको छ । रासस/एएफपी
अमेरिकी आर्थिक वृद्धिदरमा सामान्य सुधार, ‘सन् २०२० मा भने घट्ने’
वासिङ्टन । अमेरिकी आर्थिक वृद्धिमा गत अप्रिलमा गरिएको प्रक्षेपणको तुलनामा सामान्य सुधार देखिएको अन्तर्राष्ट्रिय मुद्रा कोषले बिहीबार जनाएको छ । यधपी यो चीन-अमेरिका व्यापार विवादका कारण अमेरिकी अर्थतनत्रमा पर्नसक्ने समग्र प्रभाव तथा ‘निर्माण सामग्री’ को अभावका कारण छायाँमा पर्नसक्ने मुद्रा कोषले बताएको छ । मुद्रा कोषले सन् २०१९ का लागि अमेरिकाको कुल ग्राहस्थ उत्पादनका लागि गरेको प्रक्षेपणमा केही सुधार देखिएको र २.६ प्रतिशत पुग्ने बताइएको छ । अर्थात् अप्रिलमा गरिएको अनुमानको तुलनामा तीन दशांश वृद्धि भएको छ । तर मुद्रा कोषले अमेरिकी अर्थतन्त्रको बार्षिक मुल्याङ्कन गर्दै आगामी सन् २०२० का लागि अमेरिकी आर्थिक वृद्धिमा सामान्य गिरावट आई दुई प्रतिशतमा झर्नसक्ने अनुमान गरेको छ । मुद्रा कोषका अनुसार अमेरिकी ऋणको अनुपात बढ्दो रहने र वृद्धिदरमा असमानता देखिने चेतावनी दिएको छ । मुद्रा कोषले अमेरिका लगायत विश्व अर्थतन्त्रमा देखिएको प्रभावलाई मध्यनजर गर्दै चीन–अमेरिका व्यापार विवादलाई समयमै समाधान गर्नसमेत भनेको छ । रासस/एएफपी