श्रीलङ्कामा सङ्कटकालको घोषणा, इस्लामिक समूहप्रति आशंका
कोलम्बो । श्रीलङ्कामा भएको शृङ्खलावद्ध बिस्फोटमा परी सयौँको मृत्यु भएपछि सङ्कटकालको घोषणा गरिएको छ । राष्ट्रपति मैत्रिपाला सिरिसेनाको कार्यालयद्धारा सोमबार जारी वक्तव्यका अनुसार सोमबार रातिदेखि लागु हुने गरी सङ्कटकाल लागु हुनेछ । श्रीलङ्कामा आइतबार भएका विस्फोटनका घटनाहरुमा परी झण्डै २९० जनाको मृत्यु भएपछि स्थितिलाई नियन्त्रणमा लिन सङ्कटकालको घोषणा गरिएको हो । राष्ट्रपति कार्यालयको सञ्चार विभागद्वारा जारी वक्तव्यमा नागरिकको सुरक्षा सुनिश्चितताका लागि सङ्कटकाल घोषणा गरिएको उल्लेख छ । राष्ट्रपति सिरिसेनाले अप्रिल २३ का दिन राष्ट्रिय शोक मनाउने घोषणा पनि गर्नुभएको सञ्चार विभागले जनाएको छ । बौद्धमार्गी बहुल श्रीलङ्कामा करिब छ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन् । गिर्जाघरमा बिस्फोट हुँदा इसाई धर्मावलम्बी इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी भइरहेका थिए । राजधानी कोलम्बोमा रहेका तीन वटा पाँचतारे होटल र दुई वटा गिर्जाघर ९चर्च०मा आइतबार भएका शृङ्खलावद्ध बिस्फोटमा मृत्यु हुनेको सङ्ख्या सोमबार मध्यान्हसम्म २९० जना पुगेको प्रहरीले जनाएको छ । घटनामा परी अन्य पाँच सय भन्दा बढी घाइते भएका छन् भने केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङख्या बढ्न सक्ने बताइएको छ । श्रीलङ्काली सुरक्षा निकायहरूले घटनाका दोषीहरूको खोजी गर्न व्यापकरूपमा सुरक्षाकर्मी परिचालन गरेका छन् । प्रहरीका अनुसार विस्फोटनमा संलग्न भएको आशङ्कामा अहिलेसम्म २४ जनालाई पक्राउ गरिएको छ । स्वास्थ्य मन्त्री रजिथा सेनारत्नेले स्थानीय अतिवादी इस्लामिक समूह राष्ट्रिय तोव्हीड जमात यस विस्फोटनमा जिम्मेबार रहेको बताएका छन् । उनले घटनाबारेमा अनुसन्धान भइरहेको र अन्तर्राष्ट्रिय समूहहरूको पनि संलग्नता रहेको हुनसक्ने आशङ्का व्यक्त गरे । घटनामा परी भारतीय, अमेरिकी, बेलायती, जापानी समेतका ३७ जना विदेशी नागरिक पनि रहेको श्रीलङ्काको विदेश मन्त्रालयले जनाएको छ । राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा बिस्फोट गराइएका थिए । यस्तै राजधानीका पाँचतारे होटल साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरीमा पनि बिस्फोट भएका थिए । सुरक्षाकर्मीहरुले राजधानी स्थीत बसपार्कबाट सोमबार साना ठूला गरी ८७ ओटा विस्फोटक पदार्थहरु फेला परेको जनाएका छन् । रासस/सिन्ह्वा/एएफपी
श्रीलङ्कामा प्रतिष्ठित होटल र गिर्जाघरमा आक्रमण, १८५ जनाको मृत्यु(अपडेट)
कोलम्बो । श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर (चर्च) सहित देशका पूर्वी भेगमा आइतबार भएका छ वटा शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या १८५ जना पुगेको प्रहरी र अस्पताल स्रोतले जनाएको छ । मृत्यु हुनेमा ३५ जना विदेशी नागरिक समेत छन् । बिस्फोटका कारण अरु करिब ५०० व्यक्ति घाइते भएका छन् ।राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र होटलमा गरी ४५ जनाको ज्यान गएको छ भने राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्च बिस्फोटमा ६७ जनाको मृत्यु भएको छ । सेन्ट एन्थोनी बिस्फोटमा कम्तीमा १६० जना घाइते भएका र उनीहरुलाई उपचारका लागि कोलम्बो नेसनल अस्पतालमा भर्ना गरिएको छ । चर्च सहित राजधानीका तीनवटा पाँचतारे होटलमा पनि बम बिस्फोटनका घटना भएको प्रहरीले जनाएको छ । राजधानी कोलम्बोका साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरी होटलमा पनि बिस्फोट भएका छन् । मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको चर्चमा भएको बिस्फोटमा २५ जनाको मृत्यु भएको छ । बाट्टिकोलोवा अस्पतालका एक अधिकारीले चर्चमा भएको बिस्फोटबाट घाइते भएका ३०० भन्दा बढी व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको बताएका छन् । बिस्फोट निकै शक्तिशाली भएका कारण चर्चभित्र व्यापक क्षति भएको देखिएको छ । चर्चको भुँइ टुटेफुटेका टाइल, भाँचिएका काठपात र रगत लतपतिएको देखिएको छ । बौद्धमार्गी बहुल श्रीलङ्कामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन् । गिर्जाघरहरुमा बिस्फोट हुँदा इसाई धर्मावलम्बीहरु इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी रहेको बताइएको छ । दश दिन अगाबै चेतावनी दिइएको थियो श्रीलंकाका प्रहरी प्रमुख पुजुथ जयासुन्दराले १० दिनअघि नै राजधानी कोलम्बोसहित देशका विभिन्न भागका महत्वपूर्ण चर्चहरुमा आत्मघाती आक्रमण हुनसक्ने भन्दै अलर्ट जारी गरेका थिए । एएफपीका अनुसार प्रहरी प्रमुख पुजुथले अप्रिल ११ का दिन प्रहरीका वरिष्ट अधिकारीहरुलाई गोप्य सूचना पठाएका थिए । “एउटा विदेशी गुप्तचर निकायले राष्ट्रिय थोवित जमाथ ९एनटीजे० नामको समूहले प्रमुख चर्चहरु र कोलम्बोस्थित भारतीय उच्चायुक्तको कार्यालयमा आत्मघाती आक्रमण गर्ने योजना बनाएको खबर प्राप्त भएको छ,” प्रहरी प्रमुखको चेतावनीमा उल्लेख छ । एनटीजे श्रीलङ्कामा सक्रिय अतिवादी मुस्लिम सङ्गठन हो र यो सङ्गठनका बारेमा गत वर्षमात्र जानकारी आएको थियो । यस सङ्गठनले गत वर्ष बौद्धमूर्तिहरुको तोडफोड गरेको पाइएको थियो । राष्ट्रपति र प्रधानमन्त्रीको समवेदना श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रका नाममा सम्बोधन गर्दै देशबासीलाई शान्त रहन अनुरोध गरेका छन् । उनले कायरतापूर्वक गरिएको यस आक्रमणका दोषीलाई पक्राउ गरी कानुनी कठघरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस्तै प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले आतङ्कवादी हमलाका कारण राष्ट्र शोकको घडीमा रहेको बताउँदै सबैलाई धैर्य रहन, घाइतेको उपचारमा विशेष ध्यान दिन तथा हमलाकारीको खोजीमा सरकारी सुरक्षाफौज सक्रिय रहने बताएका छन् । कोलम्बो नजिकको होटलमा पुनः बिस्फोट, २ जनाको मृत्यु शृङ्खलाबद्ध बम आक्रमणबाट प्रताडित श्रीलङ्काको राजधानी कोलम्बोको नजिक देहीवालामा आइतबार अपराह्न पुनः बम बिस्फोट भएको छ । बिस्फोटबाट दुई जनाको मृत्यु भएको श्रीलङ्काली प्रहरीका प्रवक्ताले जनाएका छन् । प्रहरी प्रवक्ता रुवान गुनसेकराले आइतबार भएको यो बिस्फोट सातौं रहेको जानकारी दिनुभयो । यसअघि देशको राजधानी कोलम्बोसहित छ वटा शृङ्खलाबद्ध बिस्फोट भएका थिए । यस्तै, राजधानी कोलम्बोको उत्तरी ओरुगोदावाट्टामा पनि आठौं बिस्फोट भएको छ । विश्वका नेताहरुद्वारा भत्र्सना श्रीङ्कामा भएको रक्तपातपूर्ण आक्रमणको पाकिस्तान, बेलायत, इजरायल, युरोपेली युनियन समेका मुलुक एवं संस्थाहरुले भत्र्सना गरेका छन् । कोलम्बोमा कफ्र्यु घोषणा श्रीलङ्काको राजधानी कोलम्बोमा पुनः दुईवटा बम बिस्फोटन भएपछि सरकारले आइतबार साँझदेखि सोमबार बिहानसम्मका लागि निषेधाज्ञा (कफ्र्यु) जारी गरेको छ । रासस/एएफपी
श्रीलङ्काका होटल र चर्चमा बिस्फोट, ४२ जनाको मृत्यु
कोलम्बो । श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर (चर्च)मा आइतबार भएका शृङ्खलाबद्ध बिस्फोटमा कम्तीमा ४२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बिस्फोटका कारण अरु सयौं व्यक्ति घाइते भएका छन् । पहिलो बिस्फोटन राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको सेन्ट सेबास्टियन चर्चमा भएका थिए । सेन्ट एन्थोनी बिस्फोटमा कम्तीमा १६० जना घाइते भएका र उनीहरुलाई उपचारका लागि कोलम्बो नेसनल अस्पतालमा भर्ना गरिएको छ । चर्चमा बिस्फोट भएलगत्तै राजधानीका तीनवटा होटलमा पनि आक्रमण भएको प्रहरीले जनाएको छ । मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको एक चर्चमा पनि बिस्फोट भएको छ । बाट्टिकोलोवा अस्पतालका एक अधिकारीले चर्चमा भएको बिस्फोटबाट घाइते भएका ३०० भन्दा बढी व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको बताएका छन् । सामाजिक सञ्जालमा राखिएका तस्वीरहरुमा चर्चको छाना ध्वस्त भएको देखिएको छ । चर्चको भुँइ टुटेफुटेका टाइल, भाँचिएका काठपात र रगत लतपतिएको देखिएको छ । तर यी तस्वीरको प्रामाणिकता पुष्टी हुन बाँकी छ । बौद्धमार्गी बहुल श्रीलङ्कामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन् । यो समाचार तयार पार्दासम्म उक्त घटनाको जिम्मेवारी कसैले लिएको छैन । रासस/एएफपी